माओवादी नेता-कार्यकर्ता अरु दलका नेतृत्व र कार्यकर्ताभन्दा धेरै प्रगतिशील हुन्छन् भन्ने आँकलन थियो। जनयुद्धताका त्यस्ता केही छनक देखिएकाे पनि थिए। जनवादी विवाह, सहभाेज, जातवादीविरुद्ध कार्वाहीलगायतका धेरै प्रगतिशील गतिविधिले माओवादी पुराना रुढीवादी दलभन्दा अलग छ भन्ने जनमानसमा विश्वास थियो। विशेषगरी दलितमा माओवादीप्रति धेरै सम्मान र विश्वास थियो।
विडम्बना जनयुद्धको समाप्तीपछि ठ्याक्कै उल्टो दृश्य देखिन थालेको छ। कमरेडहरुमा पुनः बाजेबराजुकाे संस्कार झल्किन थालेको छ। पुनः बाहुनवादी प्रवृत्तिले उनीहरूको मस्तिष्कमा जातवादी किरा हालेको उनीहरूका गतिविधिबाट पुष्टि भएको छ।
गत हप्ता जुम्लाकाे हिमा गाउँपालिकामा जनयुद्ध लडेका कार्यकर्ताले आफ्नै सहयाेद्वामाथि आफ्नो कथित उच्च जातीय रवाफ देखाए। जातीय गाली गलाेजसहित नारा लगाए। आफूभित्रकाे संकिण जातवादी साेच उजागर गरे।
हिमा गाउँपालिकाले उपाध्यक्षकाे लागि जनयुद्ध लडेकी जुझारु आफ्नै सहयाेद्वा कल्पना दमाईलाई अवसर दियो। गाउँपालिका कमिटीले दमाईलाई आधिकारिकताकाे साथ टिकट प्रदान गर्याे। तर, केही आफ्नै पार्टीका सहयाेद्वा कमरेडले बाहुनवादी उपहार दिए। युद्धको तमाम घाउमा बाहुनवादी मलम लगाइदिए। कथित उच्च जातीय अहंकार देखाएर जनयुद्धका सपनालाई बाहुनवादका गाेलीबाट जातवादी राजनीतिकाे नयाँ मार्गचित्र काेरिदिए। हामी बदलिएका छैनौं है भनी खबरदारी पनि गरिदिए।
सदियाैंदेखि दबाइएकाे समुदायलाई अगाडि बढाउनुपर्छ भन्दै माओवादीले समावेशी समानुपातिक सिद्धान्त अगाडि सार्याे। ताकि झाेवा विक, कल्पना दमाईहरु अगाडी बढुन्, अवसर प्राप्त हाेस्, प्रतिनिधित्व हाेस् भन्ने थियो। तर विडम्बना दबाइएकाे समुदायलाई थप दबाउनुपर्छ, कसरी सत्ता र शक्तिबाट टाढा राख्नुपर्छ जस्ता जातवादी अवधारणा हिजोआज जनयुद्ध लडेको दलमा देखिएका छन्।
साेहीअनुरुप एउटा पदको लागि एउटै पार्टीभित्र दुईवटा उम्मेदवार खडा गरिन्छ। हिमामा त्यसै भयो, गाउँपालिका कमिटीले उपाध्यक्षकाे लागि कल्पनालाई मनाेनित गर्याे। अर्कोतिर, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गजेन्द्रबहादुर महतले उपाध्यक्षकाे टिकट विनासा राेकायलाई थमाइदिए।
एउटा पदको लागि एउटै पार्टीबाट दुईवटा व्यक्तिलाई टिकट दिएको घटनाले हिमामा हंगामा भयो। अन्ततः पार्टी र निर्वाचन कार्यलयले कल्पना दमाईलाई आधिकारिकता दियो। विनासा राेकायकाे टिकट खाेसिदियाे। तर, घटनाले उग्ररूप लियो, विनासाका तर्फबाट नियाेजित ढङ्गले कल्पना दमाईमाथि सार्वजनिकस्थलमा मानसिक, शारीरिक र सामाजिक यातना दिने काम भयो।
जातीय गाली गलाेजसहित चुनावी प्रचारप्रसारमा कल्पना दमाईकाे समूहमाथि ढुङ्गामुडा प्रहार भयो। मदिरा सेवन गरी आएका युवाहरुको आक्रमणमा परी ६/७ जना घाइते भएका छन्। आक्रमणबाट स्थानीय छत्रबहादुर अधिकारी गम्भीर घाइते भए, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको छ।
सहयोग र साथ हुनुपर्ने ठाउँमा बाहुनवादी नीति अविलम्ब गरेर आफ्ना जात, आफ्ना पकेटका मान्छेलाई मात्र समेट्न पाइँदैन। दलितलाई भाेट बैंककाे रुपमा हेर्न अब मिल्दैन।
चुनावकाे टिकट वितरणअघि धेरैलाई लागेको थियो, कल्पनाहरुलाई उसका कमरेडकाे साथ अवश्य मिल्नेछ। हिजो कल्पनाहरु दत्तचित्तसहित कमरेडलाई साथ, सहयोग र अवसर दिलाएकी थिइन्। तर, आज जब उनको पालाे आयो, आफ्ना प्रिय कमरेड विरोधी भए। हाैसला र उत्साह दिनु कता हाे कता, बरु नियाेजित तबरले एउटै पार्टीभित्रका दुई उम्मेदवार उनका विरुद्ध चुनावी मैदान उठेका छन्। स्वतन्त्र उम्मेदवारकाे खाेल ओडेर कसरी हुन्छ कल्पनालाई उपाध्यक्षकाे पद कल्पनामा सिमित राख्न लागिपरेका छन्।
जनयुद्धताका कल्पनाहरुले थुप्रै कल्पना गरेका थिए। हिजोकाे अवस्थालाई जित्नु नै पहिलो कल्पना थियो। पछाडिबाट अगाडि बढ्नु नै सङ्कल्प थियो। राजनीतिक प्रतिनिधित्व, अवसरका र बहिष्करणका तमाम ढाेका खाेल्ने दृढता थियो। त्यसकाे लागि कल्पनाहरुले आफ्नो बाल्यकाल, युवाकाल, घरपरिवार जनयुद्धको नाममा अर्पण गरे। विभिन्न बाधा अवरोधका बाबजुद आफ्नो संघर्षको यात्रालाई निरन्तरता दिए। घाम पानी, अभाव, दबाब र प्रभावकाे केही प्रवाह नगरी पार्टीको उत्थानकाे लागि सदैव खटिरहे। सरकार बनाए, जिताए तर आज कल्पनाहरुलाई कल्पनामा सिमित राख्ने ग्रान्ड डिजाइन बुनिँदै छ। हिमा घटनाले त्यसको पुष्टि गरेको छ।
कल्पना दमाईहरु जनयुद्वमा त्यसै हाेमिएका हाेइनन्। हजारौं कल्पनाले त्यत्तिकै सहादत प्राप्त गरेका थिएनन्। कल्पना दमाईहरुलाई माओवादीले एउटा सपना देखाएको थियो। समता, समानता, सामाजिक स्वतन्त्रता र राजनीति प्रतिनिधित्व दिलाउँछु भनी बन्दुक थमाएकाे थियो। थुप्रै आशा भराेसा र सपनाका ताँती देखाएर लडाइँ लड्न तम्साएकाे थियो। कल्पनाहरुले रगत बगाएर लडाइँ लडे। प्रचण्डहरुकाे आदेश सदैव माने।
नरेश भण्डारी, कार्माहरुलाई सधैं अगाडि बढाए, जिताए। तर आज भण्डारी, कार्माहरु हिमामा आफ्नाे रुप देखाउँदै छन्। जातवादी नारामार्फत जनयुद्धका तमाम सपना हिमामा बगाएका छन्। यस्तो घटनामाथि काठमाडौंका प्रचण्ड माैन छन्। जनयुद्धमा प्रचण्ड र कल्पनाको मिसन एउटै थियो। कल्पनाहरुकाे रक्षाका निम्ति प्रचण्डहरुले कल्पनाहरुकाे गाेली कहिल्यै थापेनन्। अहिले किन कल्पनाहरुकाे अवसर खाेस्न लागिपरेका छन् ?
प्रचण्डहरुले जनयुद्धको अन्तिम रेखा कल्पना दमाईहरुलाई तपाईंहरू बाँच्नुपर्छ भनेर कहिल्यै लुक्न पठाएनन्। दलजित श्रीपालीहरुलाई तपाईंले अहिले लड्नु हुँदैन, गाेली खानुहुँदैन, तपाईं सुरक्षित गन्तव्यतिर जानुस्, पछि सत्तामा बस्नुपर्छ, आफ्नो समुदायको प्रतिनिधित्व गर्नुपर्छ कहिल्यै भनेनन्। युद्धको रुणभूमिमा तपाईंहरू सामाजिक रुपान्तरणकाे लागि बाँच्नुपर्छ कहिल्यै भनेन्।
बरु बलिदान, शहीदका अमर कथा सुनाइए, ज्यानको बलिदानकाे निम्ति तयार बनाइयो। कल्पनाहरु पनि जिउज्यान लगाएर लडे। पार्टीलाई सत्तामा पुर्याए, प्रधानमन्त्री बनाए। तर जब कल्पनाहरुकाे पालाे आउँछ, तब जनयुद्धका जातवादी बाहुनवादीहरु कसरी हुन्छ छेक्न, बहिष्कार गर्न, हराउन लागिपरेका छन्। कसरी हुन्छ अवसरबाट टाढा राख्नपर्छ भन्नेमा सक्रिय भएका छन्।
कल्पना दमाईहरुले आफ्ना समकालीनकाे कहिल्यै विरोध गरेनन्। सहयाेद्वाकाे सदैव साथ दिए। अझ आफू हाँसीहाँसी पछाडि बसेर सहकर्मीलाई साथ दिए, जिताए र सत्तामा पुर्याए। पहिलो स्थानीय तहको निर्वाचनमा कल्पनाको टिकट अरुलाई दिइयो। उनी त्यो बेला चुपचाप बसिन्। यसपटक पनि त्यस्तै प्रपञ्च रचिँदै थियो।
केन्द्र जिल्लाकाे दबाबका बाबजुद हिमा गाउँपालिकाले कल्पनाकाे राजनीतिक सक्रियतामा र बलिदानलाई टिकट दियो। हिमामाले आफ्नो हिम्मत हारेन र कल्पनालाई अवसर दियो। तर बाहुनवादी, मनुवादी दासहरुले कल्पनालाई स्वीकार्न सकेनन्। अझ बहिष्कारको नीति अविलम्ब गरे।
जब कल्पनाहरु सत्ता र शक्तिकाे नजिक पुग्छन्, अवसरलाई नजिकबाट हेर्ने माैका पाउँछन्, तब विनाशा र लक्ष्मीहरु मित्रतालाई मेटाउन लागिपर्छन्। जनयुद्धको साथ, सहयोगलाई हिमामा बगाउन तयार हुन्छन्। कसरी हुन्छ आफ्ना सहयाेद्वालाई पराजित गर्न लागिपर्छन्। चाहे उक्त व्यक्ति आफ्नै पार्टीको किन नहाेस्, ऊ असहाय छ। बरु विरोध जनाउ तयार हुन्छ। पार्टी त्याग्न तयार हुन्छन्, तर दलित अगाडि बढेको हेर्न नसक्ने रहेछन्।
जनयुद्ध शब्द अरुको निम्ति विवादित भएपनि, अस्वीकार्य भएपनि दलितको लागि जनयुद्ध सम्भावना सपना र सत्तामा पुग्न सकिन्छ भन्ने युद्ध थियो। जनयुद्धले युद्धसँगै सिमान्तकृत, दलित, अल्पसंख्यकलाई स्वतन्त्रताको सपना देखाएको थियो। अधिकारकाे निम्ति लड्नुपर्छ भन्ने सिकाएको थियो। फलतः दलित, जनजातिहरुकाे ठूलो संख्या जनयुद्धमा हाेमियाे। समानता, समता र सामाजिक स्वतन्त्रताको निम्ति आफ्नो ज्यानको प्रवाह नगरी ठाउँठाउँमा बलिदान दिएर आफ्नो भावी सन्ततिकाे लागि नवीन बाटो काेरिदियाे।
जनयुद्ध हुन्जेल डरत्रासले भएपनि जनता सबै समान थिए। करिब दश वर्षसम्म जातीय विभेदबाट आजित भएका दलितले मुक्ति पाएका थिए।जातीय छुवाछुत गर्नेलाई माओवादीले ठूलै कार्वाही गरेकाे थियो। तर, आज अर्को कथा सुरु भएको छ। प्रचण्ड पुष्पकमल दाहाल भएका छन्।चट्याङ, बारुद नामका कमरेडहरु आफ्नो कथित जातमा अल्झिएका छन्।
अन्त्यमा, राजनीतिक पार्टीभित्र सत्ता र शक्तिकाे लडाइँ संसारमा जहाँ पनि देखिन्छ। एउटै पार्टीभित्र अन्तसंघर्ष पनि हुन्छ। तर, पार्टीको आन्तरिक कलहमा जातीय गाली गलाेज गरेर कसरी हुन्छ उम्मेदवारलाई मानसिक र शारीरिक यातना दिन पाइँदैन। सहयोग र साथ हुनुपर्ने ठाउँमा बाहुनवादी नीति अविलम्ब गरेर आफ्ना जात, आफ्ना पकेटका मान्छेलाई मात्र समेट्न पाइँदैन। दलितलाई भाेट बैंककाे रुपमा हेर्न अब मिल्दैन।
शक्ति र सत्ताका प्रत्येक पदमा दलितको सहभागीता हुनुपर्छ, अनि मात्र समावेशीकरणले सार्थकता प्राप्त गर्छ। अझ विशेषगरी माओवादी पार्टीले, उनीहरू सधैं भन्ने गरेका छन्, ‘हामी पुरातनवादी रुढीवादी शक्तिभन्दा फरक हाैं। सिमान्तकृत, दलित, आदिवासी-जनजातिकालाई अगाडि बढ्न अवसर दिन्छौं।’
अब समय आएको छ, माओवादीले आफ्नो संकल्पअनुसार काम गर्नुपर्ने बेला आएको छ। अन्यथा कल्पनाहरु विद्रोहमा अवश्य उत्रिने छन्। जसरी भक्तपुरमा मादल र बाग्लुङमा गिलासकाे अवस्था छ, त्यस्तै अवस्था माओवादीकाे नहाेला भन्न सकिन्न। स्मरण रहाेस्, विद्रोह विस्फाेटले नयाँ रुप लिने गर्छ।
(यो लेख ब्रेकलिंक डटकमबाट साभार गरिएको हो )
Leave a Reply