नेपाली दलित आन्दोलन सङगठित रुपमा सङघर्षको मैदानमा पाइला टेकेको पचहत्तर बर्ष पूरा भएको छ । भगत सर्वजित विश्वकर्माले विश्व सर्वजन संघ नामक संस्था मार्फत दलित आन्दोलनलाई संस्थागत गरेका थिए । जहानिय राणा शासन सक्रिय भएकै बेला दलित आन्दोलनले आफ्ना स्पष्ट माग सहित सङघर्षमा होमिएको थियो । प्रजातान्त्रिक र नेपाली कम्युनिष्ट आन्दोलन भन्दा पुरानो दलित आन्दोलनले अहिलेसम्म कति उपलब्धि प्राप्त ग¥यो वा कति बाँकी छ ? के हामीले प्राप्त गरेको उपलब्धिले दलित मुक्ति सम्भव छ ? थप सङघर्षहरु के के हुन ?
२१ औं शताब्दीको मानव चेतनाले किन जातिय विभेद जस्तो अमानविय व्यवहारलाई यो वा त्यो बहानामा स्वीकार गरेको छ ? २१ शताव्दीको मानव चेतनालाई प्रहार गर्ने दलित आन्दोलन सम्भव छ ? राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाली दलित आन्दोलनको विरासत बोकेको नेपाली दलित सङगठनको मुलप्रवाह नेपाल उत्पीडित जातिय मुक्ति समाजको छैठौं सम्मेलन चलिरहँदा यी र यस्ता विषयमा बहस हुन जरुरी देखिन्छ । २०४५ सालमा स्थापना भएको उजाउ मञ्च विभिन्न हण्डर ठक्कर खादै आजको नेपाल उत्पीडित जातिय मुक्ति समाजमा रुपान्तरण भएको हो ।
सुरुमा सबै विचार समूहका दलित नेताहरु आवद्व भएको पाईन्छ भने २०५१ पछि दलित समुदायको मुद्दालाई राजनीतिसँग जोड्नु पर्छ र यसलाई दलित समुदायको मुद्दामा मात्र सिमित नराखि राष्ट्रिय मुद्दा रुपमा स्थापित असल नियतका साथ पार्टीकरण गरियो तथा राजनीतिक दलको भातृ सङगठनको रुपमा विकास गरेको पाईन्छ । यो परिघटनाले दलित समुदायका मुद्दा सबै परिवर्तनकारी राजनीतिक दलको मुद्दा हुन पर्छ भन्ने त देखायो तर राजनीतिक दलले दलित मुद्दाको ओज लाई बुझ्न भने सकेनन् । यसमा दलित समुदायका नेताले पनि दलित मुक्तिका मुद्दा कम पार्टी को झोला बढि बोक्न थाले जुन अहिलेको आन्दोलन कमजोर हुनुको पहिलो कारण हो । यसले राजनीतिक रुपमा केही नेता र केही मुद्दा लाई स्थापित त गरायो तर दलित आन्दोलनको मुल मर्मलाई भने सधै उपेक्षा ग¥यो ।
राजनीतिक दलहरुले दलित समुदायलाई भोट बैंक र भर्याङको रुपमा मात्र प्रयोग गरेको स्पष्ट छ । अहिले पनि नेपालका मुख्य राजनीतिक दलहरु दलित समुदायको मुक्तिको सवालमा स्पष्ट दृष्टिकोण राख्दैनन् । दलित मुद्दालाई यति सामान्यीकरण गर्दिन्छन् कि बिस्तारै हुन्छ , म र मेरो परिवार ले विभेद गर्दैन , उ फलानो परियार मेरो साथी हो उसँग म बसेर खाएको छु । म त दलितको लागि लडेको मान्छे मलाई नपुग्दो के थियो र जस्ता भावानात्मक कुरा गरेर यो धेरै ठुलो समस्या होईन हुँदै जान्छ जस्ता अभिव्यक्ति हामीले सुनिरहेको भोगीरहेका छौं ।
नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाजको छैठौं राष्ट्रिय सम्मेलन अहिले चलिरहेको छ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले साङ्केतिक रुपमा हात बाधिएको साङ्लोलाई खोलेर सम्उद्घाटन भई सकेको छ । नेकपा एमाले कम्युनिष्ट आन्दोलन लाई लोकतान्त्रिकरण गर्दै समाजवाद लाई न्युनतम र साम्यवाद लाई उच्चतम लक्ष्य लिएको मुलुकको जिम्मेवार राजनीतिक पार्टी हो । दलिय व्यवस्थामा राजनीतिक रुपमा सचेत दलित समुदायहरु कुनै न कुनै राजनीतिक पार्टीमा जोडिन वा आवद्व हुन स्वतन्त्र छन् र हुन्छन् । नेपालको कम्युनिष्ट आन्दोलनको विश्वविद्यालय नेकपा एमालेसंग नेपालका अधिकांश राजनीतिक र सामाजिक रुपमा सचेत दलित समुदाय आवद्व छन् । उनीहरु नेकपा एमालेले अंगिकार गरेको नेपाली क्रान्तिको बाटो मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शन मान्दै दलित मुक्ति आन्दोलनमा आफुलाई होमेका छन् । नेपाली क्रान्तिको बाटोमा दलित मुक्तिको बाटो देखिरहेका छन् खोजीरहेका छन् ।
नेपाली दलित आन्दोलन पचत्तर वर्ष पुगेको छ। यस बिचमा हामीले नयाँ संविधान प्राप्त गरेका छौं । नेपालको संविधानमा अहिलेसम्म दलित समुदाय र दलित आन्दोलनले उठाउदैं आएका अधिकांश मुद्दालाई लेखाउन सफल भएको छ। जसको श्रेय नेपाली दलित आन्दोलनको मुलप्रवाहको नाताले नेपाल उत्पीडित जातिय मुक्ति समाजलाई जान्छ । के यत्ति उपलब्धिमा शान्त हुने अवस्थामा मुक्ति समाज पुगेको हो त ? पक्कै होईन हुनुहुदैन ।
छैठौं राष्ट्रिय सम्मेलनको राजनीतिक प्रतिवेदन कस्तो छ प्राप्त नभएकाले त्यता तिर बहसलाई लैजाउनु उपयुुक्त हुदैन । तर मुक्ति समाज जस्तो गतिशील संगठन १२ वर्ष सम्म नेतृत्व जाम भएर बस्दा यसले उठाउने मुद्दाहरु ओझेल परेका छन् र समयानुकूल हुन सकेको छैन । यो सत्य लाई स्वीकार गरि सम्मेलनलाई नेतृत्व चयनको विषय मात्र नबनाएर नेपालको संविधान बनिसके पछिको अवस्थालाई ठोस रुपमा अध्ययन गरि अबको दलित आन्दोलनको रुपरेखा कोर्ने आगामी कार्यदिशा निर्माण गर्न बहस लाई अगाडी बढाउन जरुरी छ ।
अबको मुक्ति समाजले २१ औ शताव्दीको मानव चेतनालाई धक्का दिने गरि सांस्कृतिक रुपान्तरण आन्दोलनलाई अगाडी बढाउनु अनिर्वाय हुनसक्छ । दलित आन्दोलनलाई नयाँ शिराबाट अगाडी बढाउन जरुरी छ । पाईला-पाईलामा संघर्ष गर्दै स्वतन्त्रता मात्रै होईन हामीले खोजेको समानता सहितको स्वतन्त्रता हो भन्ने कुरा बुझाउन अब ढिला गर्नु हुन्न।
कस्तो खाले संघर्ष गर्ने ? सशस्त्र गर्ने कि शान्तिपुर्ण ? यी र यस्ता खाले प्रश्नहरु नेपाली दलित आन्दोलनमा उठ्ने गरेका छन् । स्वभाविक रुप मा हामी नेकपा एमालेसंग आवद्व नेता कार्यकर्ता भएको नाताले हाम्रो संघर्ष शान्तिपुर्ण नै हुन्छ । तर मार्क्सवाद ले संगठन र संघर्षको कुनै एउटा मात्र रुपलाई क्रान्तिकारी संघर्ष एक मात्र र अन्तिम रुप मान्दैन । क्रान्तिकारीहरुले सङघर्षका सबै खाले रुप , तरिका हरुलाई कुशलतापुर्वक संचालन गर्न सक्ने क्षमता विकासमा ध्यान दिन जरुरी छ । कमरेड जननेता मदन भण्डारीले भने जस्तै ‘यथार्थ विश्लेषणका आधारमा पुर्वतयारी गर्दै विद्यमान सङघर्षमा दृढता पुर्वक लाग्नुपर्छ। लक्ष्य अनिवार्य र निर्णायक तत्त्व हो । बाटो त्यसलाई सकेसम्म छिटो र सुगम बनाउने ढंगले प्राप्त गर्ने साधन हो । त्यसकारण लक्ष्य प्रमुख हो र साधन गौण । जुन साधनबाट लक्ष्यमा पुग्न सकिन्छ, त्यसलाई क्रान्तिकारी रुपले दृढतापुर्वक प्रयोग गर्नु पर्छ। ’
हामीले पनि दलित आन्दोलन लाई स्पष्ट खाका सहित आगाडी बढाउन सक्यौं भने शान्तिपुर्ण कि सशस्त्र भन्ने प्रश्न कम आउने गर्दछ। अहिले सम्म को प्राप्त उपलब्धिलाई रक्षा गर्दै थपसंघर्ष कार्यक्रमहरु अगाडी बढाउन जरुरी देखिन्छ। तत्काल बढाउन पर्ने केही कार्यक्रमहरु –
१. दलित आन्दोलनको मुलप्रवाह शब्द मा मात्र सिमित नगरि व्यवहार मा लागू गर्न टोल- वडा तह सम्म संगठनलाई विस्तार गरि सबै दलित समुदाय लाई जागरुक गराउदै दलित समुदायको मुद्दा को बारे मा नेकपा एमालेको स्पष्ट दृष्टिकोण माग गर्ने ?
२. संविधानमा व्यवस्था भएको हक अधिकार लाई प्रयोग गर्दै पुर्ण समानुपातिक समावेशी लागू गराउन संघर्ष गर्ने ।
३. जातिय भेदभाव पुर्ण अन्त्य गर्न सबै राजनीतिक दल लाई राष्ट्रिय अभियान संचालन गर्न दबाव दिने ।
४. भारतीय दलित आन्दोलन र नेपाली दलित आन्दोलन लाई मसिनो गरि त्रुटि हरु केलाउने र दलित मुक्ति आन्दोलनको आगामी कार्यदिशा निर्माण गर्ने ।
यी बुँदाहरु दलित मुक्ति आन्दोलन मा टेवा पुग्ने मात्र हुन। निश्चय पनि पर्याप्त छैनन् र यति ले दलित आन्दोलन लाई न्याय गर्दैन । हामीले खोजेको आत्मसम्मान सहितको समानता प्रदान गर्दैन स्पष्ट नै छ । अबको मुक्ति समाजले २१ औ शताव्दीको मानव चेतनालाई धक्का दिने गरि सांस्कृतिक रुपान्तरण आन्दोलनलाई अगाडी बढाउनु अनिर्वाय हुनसक्छ । दलित आन्दोलनलाई नयाँ शिराबाट अगाडी बढाउन जरुरी छ । पाईला-पाईलामा संघर्ष गर्दै स्वतन्त्रता मात्रै होईन हामीले खोजेको समानता सहितको स्वतन्त्रता हो भन्ने कुरा बुझाउन अब ढिला गर्नु हुन्न।
Leave a Reply