गुरुकुलमा सबैले वेद, पुराण पढ्न पाउनुपर्ने समानता अभियान नेपालको माग

दलित अनलाईन २० फाल्गुन २०७८, शुक्रबार १७:४१

काठमाडौं — समानता अभियान नेपालले गुरुकुलमा सबैले वेद, पुराण पढ्न पाउनुपर्ने माग गरेको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा समानता अभियान नेपालले पत्रकार सम्मेलन गरी गुरुकुलमा जातीय विभेद अन्त्य गरेर सबैले वेद र पुराण पढ्न पाउनुपर्ने माग गरेको हो ।

कार्यक्रममा पुर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता शंकर भण्डारीले वेदलाई आधुनिक विज्ञानले पनि ज्ञान र विज्ञानको सृष्टिको रुपमा परिभाषित गरेको बताए । भण्डारीले वैदिक सनातन धर्मलाई नै हिन्दुधर्म भनिने पनि स्पष्ट पारे । उनले भने,‘उच्च जात भनेर ब्राह्मण भनियो र उनीहरुलाई उच्च स्थान दिइयो तर कामी र दमाईबीचको विभेद के हो ? उहाँहरुबीच किन विवाह हुँदैन् ।’

मानवको रुप लिएपछि दुईवटा कर्म हुने उल्लेख गर्दै उनले भने, ‘एउटा जन्मदिने आमा बुवाप्रतिको कर्म र अर्को जन्मिएको माटोप्रतिको कर्म ।’ मातृभुमिको पवित्रतालाई दुषित बनाउन खोजिएको र त्यसको दुश्प्रभाव अहिलेको अवस्था सिर्जना भएको उनको धारणा छ ।

भण्डारीले कर्म अनुसारको पहिचान हुनुपर्ने बताए । वैदिक सनातन धर्मको आधार चाहीँ नेपाल नै भएको उनको दाबी छ । तर अभ्यासमा त्रुटि भएको उनले स्वीकार गरे । उनले भने,‘यो वेदव्यास जन्मिएको भुमि हो, गौतम बृद्ध जन्मिएको भुमि हो ।’ संसारका १० औं करोड व्यक्तिहरु धार्मिक पर्यटनको लागि नेपाल आउने भएपनि त्यसको बारेमा कहिल्यै बहस नभएको भण्डारीको गुनासो छ ।

वाचन शिरोमणी दिनबन्धु पोखरेलले छुवाछुत शब्द हिन्दु धर्ममा नभएको स्पष्ट पारे । उनले संसारमा जात भन्ने वास्तवमा मानव जाति मात्र भएको उल्लेख गरे । मानवको एउटै मात्र जात हुने तर पहिचान भने भिन्न हुने उनको भनाई थियो । पोखरेलले जातियताभन्दा पनि जातबारे समुदायमा विभेद भएको स्वीकार गरे । केही व्यक्तिले जातको कुरा उछालेर समुदायमा विकृति र विसंगती भित्र्याएको उनले आरोप लगाए । उनले भने,‘यो विसुद्ध रुपमा पाखण्डपन हो ।’ जन्मँदा जो पनि सामान्य हुने र कामले मात्र विद्धान हुने उनले धारणा राखे ।
कार्यक्रममा बोल्दै नेपाल दलित पार्टीका केन्द्रीय अध्यक्ष मेघबहादुर कामीले आफ्नो पार्टीले मानववादी सिद्धान्त लिएर आएको र पार्टीभित्र जातिय विभेद नहुने स्पष्ट पारे । उनले सबै श्रमजिवीको सम्मान गर्नुपर्ने धारणा राखे ।

सबै जातिले गुरुकुलमा पढ्न पाउनुपर्नेमा उनले जोड दिए । वर्णश्रम व्यवस्था नै जात व्यवस्था भएको जिकिर गदै उनले पृथ्वीमा मानव जात, बृक्ष, पशु र पंक्षी गरी मात्र चार जात भएको बताए । यी कुरालाई धर्म संस्कारले नै बिगारेको पनि उनले आरोप लगाए । धर्ममा भएका बिसंगतिलाई हटाएमा मात्र जातिय विभेद अन्त्य हुने उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले ब्राह्मण जातियताको आधारले नभई मानिसहरुको योग्यता र क्षमताको आधारमा हुनुपर्ने बताए । नेपालमा जातिय विभेदले जरा गाडेको भन्दै यसलाई अन्त्य गर्नपर्ने उनले धारणा राखे । भगवानको मुर्ति बनाउनेलाई नै जातिय विभेद गर्नु सबैभन्दा अपराध हुने उनको भनाई थियो । उनले भने, ‘सबैभन्दा महत्वपूर्ण त मानिसहरुको व्यवहारमा परिवर्तन आउनुपर्छ ।’

दलित आत्मरक्षा अभियानका अध्यक्ष डा.मित्र परियारले नेपालमामात्र नभएर अष्ट्रेलियामा पनि जातिय विभेद भएको सुनाए । गुरुकुलमा सबैले पढ्न पाउनुपर्छ भन्नेहरुलाई बौलाएको आरोप लाग्ने गरेको पनि बताए । उनले भने,‘कथित उच्च जातले दलितले नै बनाएको हसियाँ प्रयोग गर्छन् ।’ अष्ट्रेलियाबाट फर्केर आफुँले दलितको निम्ति आत्मरक्षा अभियान चलाएको सुनाए । उनले नेकपा माओवादी केन्द्रले दलितलाई माथि ल्याउने आँट गरेपनि खासै केही नगरेको बताए ।

राष्ट्रिय एकता अभियानका संयोजक बिनय यादवले हिन्दु धर्ममा छुवाछुत शब्द कतै नभएको बताएका छन् । उनले भने, ‘नश्लीय चिन्तनको कारणले हिन्दु संस्कृति र सनातनको बदनाम भइरहेको छ ।’ उनले धार्मिक र जातिय समस्या नेपालमा मात्र नभएर विश्वभर हुने सुनाए ।

हिन्दुधर्ममा मनोस्मृतिको कुरा आउने तर जातियताको बारेमा व्याख्या नगरिएको उनले स्पष्ट पारे ।

प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य दिनेशराज पन्तले आफुँ धेरै सनातनी भएको भन्दै वैज्ञानिक चिन्तन भएकाहरुलाई पछि गएर हेप्ने कार्य सुरुवात भएको बताए । गुरुकुलमा जातिय विरोध अन्त्य भई सबैले पढ्न पाउने वातावरण विस्तारै बन्दै जाने उल्लेख गरे । उनले भने, ‘गुरुकुलमा महिलाले पनि हिजो पढेका थिए । दलितले पनि पढिरहेका छन् ।’ उनले ३ र ५ दिन किरिया गर्नेहरुलाई पातकीको संज्ञा दिए ।

गुरुकुलहरुलाई स्वतन्त्र ढंगले छाड्नुपर्ने धारणा राख्दै उनले भने,‘पाहुना गएपछि पाहुनालाई कहाँ राख्ने अधिकार घरको परिवारलाई हुन्छ । सबै परिवर्तन आफ्नै तरिकाले हुँदै जान्छन् ।’

कार्यक्रममा अभियानका संयोजक चन्द्रकान्त पौडलले गुरुकुलमा सबैले वेद, पुराण पढ्न पाउनुपर्ने माग सबै गुरुकुलले सम्बोधन नगरे देशव्यापी रुपमा अभियान संचालन गर्ने र त्यहीबाट दलित समुदायहरुले गुरुकुल शिक्षा हासिल गर्नसक्ने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank