सांस्कृतिक क्रान्तिबाट मात्रै दलित समुदायको मुक्ति : प्रचण्ड

दलित अनलाईन १४ फाल्गुन २०७८, शनिबार २२:५५

काठमाडौं–  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने घोषणा गरेका छन् ।

रम्तेलको स्मृतिमा नेपाल दलित मुक्ति मोर्चाले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीले निश्चित रकम राखेर अक्षय कोष बनाउने घोषणा गरेका हुन् ।

माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा २०५२ फागुन १४ गते गोरखामा दिलबहादुरको शहादत प्राप्त भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जनयुद्धको भूमिका महत्वपूर्ण रहेको बताए ।

जनयुद्ध र त्यसबाट स्थापित भएको मूल्य तथा मान्यतालाई उल्ट्याउने प्रवृत्ति, विचार देखिएको भन्दै प्रचण्डले पछिल्लो पटक संविधान, गणतन्त्र, उत्पीडित जनताको अधिकार खोस्ने षड्यन्त्रलाई निष्काम बनाइए पनि त्यस्ता शक्ति अझै कायम रहेको उल्लेख गरे ।

गठबन्धन सरकारको साझा कार्यक्रम बनाएर उत्पीडित वर्ग तथा समुदायको अधिकार स्थापित गर्ने प्रयास गरिरहेका भए पनि पछिल्लो दिनमा जनताले प्राप्त गरेको अधिकार गुम्ने त होइन भन्ने आशङ्का पैदा भएको अध्यक्ष दाहालको भनाइ छ । संविधान, गणतन्त्र, लोकतन्त्रको रक्षाका लागि गठबन्धन स्थापना भएको भएपनि एमसिसीका कारण गठबन्धन टुट्ने, फेरि प्रतिगमनकारी शक्ति हाबी हुनसक्ने प्रचण्डले औल्याए ।

जनयुद्धमा दलित समुदायको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पार्दै उनले समावेशी र समानुपातिक अधिकार दिएर मात्रै नपुग्ने भएकाले राज्यले विशेषाधिकार दिनुपर्ने व्यवस्था गर्नुपर्नेमा आफूँहरु स्पष्ट रहेको बताए । दलित समुदायलाई अधिकार सम्पन्न बनाउन विशेष अधिकारसहितको व्यवस्था गर्न राज्य लाग्नुपर्ने र एक स्थानबाट मात्रै पहल गरेर नपुग्ने भएकाले सबै क्षेत्रबाट पहल गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

सांस्कृतिक क्रान्तिबाट मात्रै दलित समुदायले खास अर्थमा मुक्ति पाउने भन्दै त्यसका लागि प्रतिबद्ध भएर लाग्न आग्रह गरे । विगतको क्रान्तिकारी स्पिरिटबाट कही न कही स्खलन देखिएकाले त्यसलाई सुधार गरेर जानुपर्ने आवश्यकता औँल्याए । अध्यक्ष प्रचण्डले संविधानमा दलित समुदायका लागि महत्वपूर्ण अधिकार स्थापित गरिए पनि त्यसलाई कार्यान्वयन गर्नेतर्फ केही न केही शिथिलता देखिएको भन्दै सबै क्षेत्रबाट दबाब जरुरी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank