पुस्तक-समिक्षा
लेखक टेकबहादुर विश्वकर्माद्वारा लिखित “विश्वकर्मा जातिको गौरवशाली ईतिहास” नामक पुस्तक विश्वकर्मा सुनचाँदी व्यवशायी सन्जाल, चितवनको प्रकाशनमा भर्खरै विमोचन भएको छ ।
विश्वमा ज्ञान मुलक सूचनाको बाढी नै आएको आजको अवस्थामा लेखक विश्वकर्माले यो पुस्तक बाहिर ल्याएर प्राचिन कालदेखि मानव सभ्यताको एक अभिन्न हिस्साहुँदै आएको शिल्पीकलाका मूल श्रोत मानिने विश्वकर्मा समुदायको ऐतिहासिक गाथाको कमीलाई पूरा गर्ने तर्फ योगदान गर्नु भएको छ । अझै नेपालमा त यो विषयबारे ठोस ऐतिहासिक दस्तावेजिकरण हुनु समय सापेक्ष मात्र नभई महत्वपूर्ण पनि यसकारणले छ कि विश्वकर्मा समुदायमा गणना हुने जनता नेपालको कुल जनसंख्यााको ५% भन्दा बढी भएता पनि अधिकांश उत्पीडित समुदायमा परी सिमान्तकृत अवस्थामा छ्न ।
यस पुस्तकका लेखकले परापूर्व कालदेखिको श्रुतिमा आधारित वैदिक र पौराणिक धार्मिक ग्रन्थहरु लगायत पछि विकास भएका ऐतिहासिक दस्तावेजहरु, शिला–लेख, कलावस्तु आदिका प्रकाशित सामग्रिहरुको अनुसन्धान र खोज गरी केलाएर प्रष्ट हुने गरी विश्वकर्मा समुदायको ऐतिहासिक आख्यान प्रस्तुत गर्नु भएको छ । यस पुस्तकमा आख्यान गरिएका विश्वकर्मा जातिका ऐतिहासिक विवेचना धेरै गहन र जटिल (complex) छन, जस्लाई बुझ्न सहज होस भन्ने अभिप्रायले यहाँ मैले केहि मात्र वस्तुगत विवेचना गर्ने जमर्को गरेको छु ।
खासगरी वैदिक तथा पौराणिक गाथाहरुका पात्रहरु, जस्तै ब्रम्हाका पुत्र शिल्पकलाका देवता मानिने स्वयम विश्वकर्मा, स्वर्गका देवता इन्द्र लगायत शिव तथा पार्वती युग–युगान्त्तर प्रकट भई राख्ने आख्यानले उनीहरु ऐतिहासिक रुपमा कहाँ र कहिले थिए भन्ने कुराको कुनै प्रमाणिकरण हुन सक्ने कुरा भएन ।
एउटा उदाहरणका लागि महादेवले आफ्नो लागि विश्वकर्माजीले निर्माण गरिदिएको स्वर्ण दरवार रावणलाई दिक्षाका रूपमा प्रदान गरेको भन्ने पौरणिक (Mythical) आख्यान ऐतिहासिक रुपमा कतै मिल्ने कुरा भएन । त्यस्तै गरी, अर्को एउटा तिब्बतीय बोधी ग्रन्थका अनुसार ईन्द्र देवले विश्वकर्मालाई डाकी बुद्धका आठ, पन्ध्र र पच्चिस वर्षको उमेरका तीन हस्तकला चित्र बनाउन लगाए,जसमध्ये एक उनले स्वर्गमा लिई गए भने बाँकी दुई नेपालमा छोडे । ती दुई चित्र अंशुवर्माकी छोरी भृकुटीले तिब्बत लिएर गइन, जसमध्ये एक उनकी सौता तिब्बतकी अर्की रानीले आफ्नो माईत चीन लिएर गइन्, र ती तत–तत स्थानमा सुरक्षित छन भन्ने उल्लेख छ । यस प्रशंगमा चित्रहरुको बस्तुगत प्रमाण तथा सबै पात्रहरुको ऐतिहासिक समयावधी, स्थान्नान्तरको मेलजोल हुन असंभव छ ।
नेपाल राष्ट्र र समस्त नेपाली जनताको विश्व परिचित सान र मानको प्रतिक खुकुरीको सिर्जनाकार, मुल र अन्तिम मालिक केवल नेपालकै मुलवासी विश्वकर्मा जाति हुन्, जुन तथ्यलाई पुस्तक लेखकले राम्रोसँग उजागर गरिदिनु भएको छ । साथै, यो पुस्तक एक नविनतम रचना भएकोले पाठकहरुले यसमा निकै पठनिय सामग्री पाउनुहुनेछ भने यसैमा कतिपय विषय–बस्तुहरुमा इतिहासका अनुसन्धान्कर्ताबाट गहन अध्ययन गर्न मार्ग प्रशस्त गर्नेछ ।
परापूर्व कालदेखि शिल्पीकलाका देवता मानिदै आएका विश्वकर्मा बाबा हरेक युगमा प्रकट भएका गाथाहरु प्रशस्तै भएता पनि हामीले आजको भौतिक प्रमाणिकरणको युगमा भने उनलाई एकै व्यक्ति भन्दा पनि एक पदविको रुपमा लिन सकिन्छ, जहाँ कि उक्त पदवि प्राप्त गर्ने व्यक्ति हरेक युग वा कालखण्डमा कोही न कोही हुन्थे भन्ने मान्न सकिन्छ । किनभने, युगौं युगसम्म शिल्पीकला, पुर्वाधार निर्माण, घरायसी तथा सामरिक महत्वका औजार र सामग्रिहरु सबै विश्वकर्मा जातिकै भरमा रह्यो । ती सबै जसो हालै मात्र आधुनिकताको विकास, उपभोज्ञ वस्तुको व्यापारिकरण तथा भूमण्डलीकरण भएका कारण विश्वकर्मा जातिको पकडबाट बाहिरिन गए । पुस्तकका लेखकले प्रस्तुत गरेका प्रमाणिक आधारहरु पनि यी कुरासँग मेल खान्छन ।
भारत वर्षमा श्रम विभाजनका आधारमा क्रमशः विकासहुँदै गएको वर्णाश्रम व्यवस्थालाई स्थापित गर्न मनुस्मृति जारी भएपश्चात जन्मका आधारमा हुने जाति व्यवस्था र त्यस अनुसारको तहगत सामाजिक भेदभावले शासकीय नियमको रुप लियो । त्यो भन्दा अगाडीसम्म वास्तविकता के थियो भने हरेक श्रममा आधारित वर्णहरुमा कम्बोज, आर्य, द्रबिड एवम मंगोल आदि मुल–जातिका सदस्यहरु आफ्नो श्रम प्रतिको ज्ञान, सीप, जांगर र भौतिक समिपता र दक्षताका कारण जो कोहि पनि सामेल हुन सक्थे । यीनै दक्षता कारणले गर्दा अधिकांश आर्य मुल जातिका मानिसहरु वैदिक ज्ञान हासिल गरी ऋषि हुन्थे र ऋषिका सन्तान ब्राह्मणको काम गर्दथे । तर, कम्बोज, द्रबिड एवम मंगोल आदि मुल–जातिका मानिसहरु पनि ऋषि भएका प्रमाण छन, र तीनका सन्तान ब्राह्मण हुने नै भए । त्यसैले, हालसम्म आउँदा उनिहरु बीच शारिरिक रंग, बनौट, उचाई, आदिमा अनेक विविधता भएको पाइन्छ । त्यसरि नै कुनै पनि मुल जातिका मानिसहरु शिल्पीकला श्रममा त्यस प्रतिको ज्ञान, सीप, जांगर र भौतिक समिपताका कारण लाग्द्थे, जो श्रम अनुसार विश्वकर्मा हुन गए, र अन्त्वगत्वा विश्वकर्मा जातिमा समेटिए । तसर्थ, समस्त विश्वकर्मा जाति, नेपालमा भनिने कामी जातिमा कुनै एक मुल जातिबाट मात्र नभई सबै मुल–जातिहरुबाट आएका कला–कौशल भएका मानिसहरु र तीनका सन्तान समेटिएका हुन भन्ने प्रष्ठ हुन्छ । त्यसैले, उनीहरु बीच शारिरिक रंग, बनौट, उचाई, आदिमा अनेक विविधता भएको पाइन्छ । हालसम्म आईपुग्दा ब्राह्मण भनिने जाति होस या विश्वकर्मा भनिने जाति होस, दुबैमा अति नै गोरा देखि अति नै काला वर्णका अनुहार, अग्लो देखि होचो उंचाई, चुच्चे देखि झन्डै मंगोल जातिका मानिसको जस्तै नाक आदि शारिरिक प्रकटन (physical appearance) जहाँ काँही भएको पाईन्छ । यी दुवै वर्गका जातिहरु प्राचीन कालमा समान्नान्तर रुपले विकास भई आएता पनि मनुस्मृति कालपछि विश्वकर्मा जाति शासन शक्ति, स्रोत र साधनको पहुँचबाट अलग्गिदै गएर ह्रासोन्मुख हुन गएको अनुमान लगाउन कठिन नहोला । विश्वकर्मा जातिमा केहि मंगोल जातिको केहि बढी अन्तर्घुलन हुन गएको हुनाले तिनमा मंगोल जाति विशेषका शारिरिक प्रकटन (physical appearance) अलि बढि अनुपातमा पाईन्छ, तर, ब्राह्मण जातिमा आर्य बाहेकको अन्य कुनै वंशको समिश्रण हुने अवस्था पर्दा, संमिश्रित सन्तानलाई छेत्रीय जातिमा झारी समिश्रण न्यूनिकरण गर्ने गरिएकोले पनि मंगोल जाति विशेष थ्याप्चो नाकको प्रकटन (appearance) ज्यादै कम देखिन्छ ।
अन्तमा, नेपाल राष्ट्र र समस्त नेपाली जनताको विश्व परिचित सान र मानको प्रतिक खुकुरीको सिर्जनाकार, मुल र अन्तिम मालिक केवल नेपालकै मुलवासी विश्वकर्मा जाति हुन्, जुन तथ्यलाई पुस्तक लेखकले राम्रोसँग उजागर गरिदिनु भएको छ । साथै, यो पुस्तक एक नविनतम रचना भएकोले पाठकहरुले यसमा निकै पठनिय सामग्री पाउनुहुनेछ भने यसैमा कतिपय विषय–बस्तुहरुमा इतिहासका अनुसन्धान्कर्ताबाट गहन अध्ययन गर्न मार्ग प्रशस्त गर्नेछ ।
“हामी हौं कर्मजन, प्रविधि हो हाम्रो बपौती !
हातमा छ खुकुरी, सिर्जनाको आफ्नै कसौटी !!”
( लेखक एड्जन्क प्रोफेसर डा. रसाली स्कूल अफ पपुलेशन एन्ड पब्लिक हेल्थ युनिभर्सिटि अफ ब्रिटिश कोलुम्बिया, भ्यान्कूभर, क्यानाडामा कार्यरत छन् ।)
Leave a Reply