शोभा दर्जीले न्यायको अनुभूति गर्न सक्लिन् ?

गणेश लम्साल ४ श्रावण २०७८, सोमबार १६:३३

जेठ १ मा मोबाइलको सिम चोरी आरोपमा छिमेकी महिलाहरुको कुटपिटबाट मोरङ कानेपोखरी गाउँपालिका ५ चिसाङ बस्तीकी २५ वर्षीया शोभा दर्जीले मानसिक सन्तुलन गुमाउन पुगिन् । उनी गाउँमा बर्बराउँदै ‘नाङगैभुतुङगै’ हिँडन थालिन् । खोलामा गिट्टी कुटेर जीवन धान्न बाध्य शोभाका आफन्तहरुले नत समयमै उपचार गराउन सके नत अन्यायविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएर न्याय खोज्न नै सके ।
बरु छोरीलाई सम्हालेर राख्न नसकेको भन्दै कुटपिट गर्नेहरुकै उक्साहटमा ‘ छोरीलाई सम्हालेर राख, नत्र ल्याएर थुनिदिन्छु ’भन्ने प्रहरीको मौखिक धम्की खेप्न बाध्य भए । प्रहरीले चेतावनी दिएपछि आमाबाबु र श्रीमानले शोभालाई घरमै बाँधेर राख्न थाले । तर जातिय विभेदयुक्त्त गालीगलौज सहेकी र मरणासन्न कुटपिटबाट घाइते भएकी शोभा मानसिक रुपले विक्षिप्त मात्र भएकी थिइनन् समयमा उपचार हुन नसक्दा उनी समान्य मानसिक समस्याबाट कडा खाले मनोरोगी (पागल) बन्न पुगिसकेकी थिइन ।
‘एक कान दुई कान मैदान’ हुदै घटना सार्वजनिक भएरै छाड्यो । त्यसपछि अधिकारकर्मीहरुले पिडित परिवारलाई प्रहरीमा किटानी जाहेरी दिन लगाए । चन्दा संङकलन गरेर शोभालाई उपचारका लागि अस्पताल पठाए । मानसिक सन्तुलन गुमाएकी र तीन महिनाको गर्भ समेत धारण गरेकी शोभाको एक महिना ढिलो गरि असार पाहिलो हप्ता मात्र बल्ल उपचार सुरु भयो । तर गर्भवती भएकोले उनको उपचार सहज भएन । धरानस्थित विपी प्रतिष्ठानको मानसिक विभागमा उनको उपचार सुरु भएसँगै जटिलता पनि थपिदै गयो । उनलाई आइसिुयुमा भर्ना गरेर उपचार गर्नुपर्ने बाध्यता आयो ।
निर्धन र निमुखा दर्जी परिवारलाई उपचार खर्चमा पर्नु समस्या पर्यो । त्यो बुझेर अधिकारकर्मी र सहयोगी मनहरुले चन्दा संकलन गरेर केही आर्थिक सहयोग गरे । तर महंङगो उपचारले गर्दा सहयोग पर्याप्त भएन । अधिकारकर्मीहरुको हारगुहारमा अस्पतालले शोभाको उपचारमा सकेको सहयोग गरिरहेको पनि छ । तर बाहिर विभिन्न ‘टेष्ट’ गराउनु पर्ने र औषधी खरिद गर्नुपर्ने बाध्यताले गर्दा दर्जी परिवार ‘ईन्तु न चिन्तु ’को अवस्था झेल्न बाध्य भैरहेको छ ।
यता शुन्य सहनशिलता भित्रको कसुर भएकोले प्रहरी किटानी जाहेरी दर्ता गर्न बाध्य भयो । तर तुरुन्तै आरोपीहरु पक्राउ गरेन । फेरि चर्को खबरदारीपछि प्रहरीले दुई जना मात्र आरोपीलाई पक्राउ गर्यो । दुई जना देखासेखी फरार भए ।

राजनैतिक लाभ नहुने र झन्झट र जोखिम धेरै हुने भएकोले यस्ता समस्याहरुलाई पहुँचवाला नेता र अधिकारकर्मीहरुले झिनो भन्दै देखेर पनि नदेखे झै गरिरहेका छन् । तर गहिरिएर सोचौ त —‘के साँच्चै शोभा दर्जी र उनको परिवारलाई न्यायको अनुभुति भएको छ त ?

शोभा दर्जी घटनाबारे थोरै र कम पहुँच भएका अधिकारकर्मीहरुले मात्र चासो राखे । मानव अधिकार आयोग , महिला आयोग र अन्य न्यायसँग सम्बन्धित सरोकारवालाहरुले निर्धामाथि भएको चरम अन्याय पनि मानव अधिकार उल्लंघन हो भन्ने बुझन चाहेनन् । यसैले कोही पनि घटना अनुगमनमा गएन । सञ्चार माध्यममा घटना सार्वजनिक भएपछि ढिलो गरि दलित आयोगको टोली सुटुक्क अनुगमनमा आयो र गयो । तर पिडित र उनको परिवारको संरक्षण र संबृद्धन गर्न र कानुनी सहायता दिलाउन कुनै पहल गरेन ।
प्रहरीले कसरी अनुसन्धान गर्यो र के प्रमाणहरु सङंकलन भए के बाँकी छन भनेर बुझने र सहयोग गर्ने कोही भएन । प्रहरीले ३० असारमा हदम्याद अनुसार अनुसन्धान सकेर मुद्दा अदालतमा बुझायो । ३१ असारमा अदालतबाट आरोपीहरु २६ बर्षिया पुष्पा र २५ बर्षिया निरमाया मगर जनही २५ हजार धरौटीमा छाडिए । फरार रहेका ५४ बर्षिया बिन्दा ,३० बर्षिया बबिता मगर अझै अदालतमा हाजिर भएकै छैनन् । हाजिर भएपछि ढिलोचाँडो भएमा उनीहरु पनि धरौटीमा छाडिने छन् ।

अझै शोभा दर्जी विपी प्रतिष्ठानको आइसियुमा अचेत अवस्थामा छिन । उनको तीन महिनाको गर्भ ३० असारमा खेर गएको छ । उनको जीवन बच्ने हो कि होइन अझै निश्चित भैसकेको छैन । आमा विष्णुमाया , बाबु हर्कबहादुर र श्रीमा उमेश घरिघरि आँखा उघारेर हेर्न थालेकोले शोभाको जीवन बाँच्नेछ भन्ने आशामा अस्पताल कुरिरहेका छन् ।

कुटपिटबाट मानसिक रोगी बनेकी शोभा निको भएर घर फर्किन भनेपनि उनले जीवनभरी औषधी सेवन गरिरहनुपर्ने छ । कम्तीमा पनि उनलाई औषधी सेवनमा मात्र ३ देखी ५ हजार मासिक खर्च लाग्नेछ । अझै केही बर्ष उनी काम गर्न सक्षम हुने छैनन् । परिवारको राम्रो माया स्नेह र पोषणयुक्त खाना अनि ‘डोज’ अनुसारको औषधी नियमित पाउन सकिनन् भने शोभाको रोग फेरि बल्झिने छ । र , उनी फेरि बर्बराउदै ‘नाङगैभुतुङग भौतारिनेछिन् । र अभावको दबाबले गर्दा आफन्तले फेरि उनलाई बाँधेर राख्न बाध्य हुनेछन् । शोभाको अवस्थाकै कारण उनको सिँगो परिवार मनोरोगी बन्न बाध्य हुनेछ ।
के शोभा दर्जी र उनको परिवारले साँच्चै न्यायको अनुभुति गर्न पायो त ? के जिल्ला अदालतले प्रतिवादीलाई धरौटीमा छाडेको आदेश उच्चमा पुनरावेदन गर्न आश्यक छैन ? के गर्भ खेर गएकोले अंङगभंगमा अर्को मुद्दा दर्ता हुनुपर्ने होइन र ? अनि कथंकदाचित शोभाको ज्यान बचेन भने त्यो कर्तव्य ज्यानको कसुर हुन्छ की हुदैन र हुन्छ भने दर्ता गराउन पहल गर्ने दायित्व कस्को हो ? र , शोभाको मुद्दा पुनरावेदन गर्न मात्र नभएर साक्षी बकपत्र गराउनेदेखि अन्य निशुल्क कानुनी सहायता कस्ले गरिदिने ? उता शोभाको उपचारमा लागेको लाखौ रुपैयाको खर्च बेहोर्ने जिम्मेवारी कसको हो ? कि त्यसवापत पनि आमाबाबु र श्रीमानले थप सजाय पाउनुपर्ने हो कि ? शोभा घर फर्किन भने उनको जीवनभरि खानुपर्ने औषधीको व्यवस्था कसले गरिदिने ? पिडकहरु सबै धरौटीमा छाडिएका छन् । साक्षीहरुलाई धाकधम्की र प्रलोभनमा पारेर उनीहरुले प्रमाणहरु नष्ट गराउने प्रयत्न गर्नेछन् । अनि पिडित परिवारलाई पनि ‘तिमेरुले हामीसँग जोरी खोजेर के ख्यास्न सक्यौ त ?’ भनेर धाकधम्की दिदै बासोवास असुरक्षित गराउने अवस्था पनि सृजना गराउनेछन् । यसका लागि सचेत सहयोगी बन्ने जिम्मेवारी कसको हो ?

सुन्दा झिनो जस्तो लागेपछि सर्वहारा वर्गीय परिवारकी शोभा दर्जी र उनको परिवारले भोगेको जातिय विभेदको असर र प्रभाव नयाँ होइन । देशभरि वर्षाैदेखी यस्ता अमानविय घटना र अत्याचारहरु हुँदै आएका छन् । फरक यत्तिमात्र हो भर्खर भर्खर यस्ता अत्याचारहरु ढिलोचाँडो बाहिर आउन थालेका छन् ।

संविधान र कानुनले कसुर ठहर गरिसक्दा पनि अझै तल्लो वर्गमा पनि जातिय विभेद र छुवाछुत चरम अवस्थामा सक्रिय रहेको छ । कथित माथिल्लो जातको भएकोमा गर्व गर्दै अझै गरिबले गरिबलाई नै विभेदयुक्त यातना दिइरहेका छन् । पिडित र पिडक गरिब र एकै खाले पार्टीको भएकै कारण उठनुपर्ने आवाजहरु उठ्न सकिरहेका छैनन् । राजनैतिक लाभ नहुने र झन्झट र जोखिम धेरै हुने भएकोले यस्ता समस्याहरुलाई पहुँचवाला नेता र अधिकारकर्मीहरुले झिनो भन्दै देखेर पनि नदेखे झै गरिरहेका छन् । तर गहिरिएर सोचौ त —‘के साँच्चै शोभा दर्जी र उनको परिवारलाई न्यायको अनुभुति भएको छ त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank