दलितहरुले पृथ्वीनारायण शाहलाई कसरी सम्झिने ?

हिरा विश्वकर्मा २७ पुष २०७८, मंगलवार १६:०८

आज गणतान्त्रिक नेपालमा नेपालको  एकीकरण  गर्ने राजा पृथ्वीनारायण शाहको सम्झना गरिदै छ । केही समय राजतन्त्रका सवै अवशेषहरुलाई नामेट पार्ने अभियान चलेको थियो  ।  खास गरि माओवादीको नेतृत्वमा ।  तर उ पनि अहिले संसदीय राजनीतिको खेलाडी भएको हुँदा त्यो विषय उसका  लागि गौण भएको छ । अन्य शक्तिहरु त यथास्थिति र सामन्तवादमै रमाउने भएको हुँदा  पृथ्वीनारायणलाई नायक मान्ने त भई हाल्यो । यस्तोमा यो दिनलाई दलितहरुले कसरी वुझ्ने र सम्झिने जस्तो भएको छ ।

पंचायतकालको काल रात्रीमा पनि दलित नेताहरुलाई पंचायतकै उपयोग गर्दै आफ्ना एजेण्डाहरुलाई अगाडि बढाईरहेका थिए । त्यस्तैमा २०४५ सालको कुरा हो, नयाँ मुलुकी ऐन लागु भएको २५ वर्ष पुगेको थियो । त्यसलाई  रजत जयन्तीको रुपमा मनाउने भनि दलित नेताहरु लागेका थिए । त्यति  बेला कुनै पनि अधिकारका लागि सभा-सम्मेलन तथा जुलुसहरु गर्न पाईदैनथ्यो, यदि गरेमा तुरुन्तै अंचलाधिश वा सिडिओहरुले धरपकड गर्दै प्रहरी चौकीमा पुर्याई हाल्थे । प्रदर्शनकारीको हैसियत र काम हेरेर कसैकसैलाई त जेल पनि पुर्याउथे  । अतः शान्तिपूर्ण तरीकाले अधिकारको माग गर्नु भनेको पनि जेलको छिडि कुर्नु थियो । त्यस्तो बेलामा अहिलेको दलित नेताहरु मोती नेपाली, कमला हेमचुरी, चक्रमान विश्वकर्मा लगायतका तत्कालिन युवा नेताहरुले मुलुकी ऐन दिवसको सन्दर्भ पारेर देशव्यापी अभियान चलाएका थिए । जसको उद्देश्य थियो , – अधिकारको लागि जागरण ल्याउनु । त्यही रजत जत जयन्तीकै समापनको दिन अर्थात भाद्र १ गते राष्ट्रिय नाचघरको सभा कक्षमा भव्य कार्यक्रम सहित मनाउने भन्ने कुरा भयो । त्यो कार्यक्रमका प्रमुख अतिथि थिए तत्कालिन राष्ट्रिय पंचायतका उपाध्यक्ष पर्शुराम राई ।

सो कार्यक्रममा नयाँ कुरा के गर्ने भन्ने प्रसंग चल्दा भर्खरै स्थापना भएर वामे सर्दै गरेको दलित साहित्य प्रतिष्ठानको तर्फबाट विसे नगर्ची सम्वन्धि पुस्तिका छाप्ने र त्यसको विमोचन गर्ने । त्यसो गर्नेमा सो कार्यक्रमका आयोजकहरु सवै सहमत भएका थिए । तर पंचायतले राजा वाहेक अन्य व्यक्तिहरुको एकीकरणमा पुर्याएका योगदानको कदर त परको कुरा चर्चा समेत गराउन वा गर्न चाहदैनथ्यो । त्यस्तो अवस्था वुझेका तत्कालिन अवसरवादी दलित नेताहरुले कार्यक्रमको अन्तिम घडिमा विसे नगर्चीको सो कितावलाई विमोचन नगर्ने भनेर दरवारको चाकरी गर्नका लागि निर्णय गरेछन् । तर सो किताव विमोचन गर्न भनेर स्वीकृति दिएका पर्शुराम राईलाई पनि चित्त वुझेनछ र उनले एउटा जुक्ति सुझाएछन् ।

दलित आन्दोलनका अगुवा पद्यम सुन्दासले किताव ल्याउने । मुख्य अतिथि राईले भाषण गर्ने बेलामा सो किताव उनले सुटुक्क विमोचन गर्ने भन्ने भए अनुसार  करिब ४०० प्रति लिएर पद्यम सुन्दास राष्ट्रिय नाचघर पुगेछन् । नभन्दै राईले भाषण गर्दा उनले किताव हातमा दिए र उनले विमोचन गरे । उनले आफुसँग लगेको कितावहरु मन्चमा उपस्थित सवैलाई  बाँडिदिए ।  यो कुरा देख्नै वित्तिकै आयोजकहरुले पद्यम सुन्दासलाई मंचवाट तल झारी हालेछन् । उनले पनि आफुसँग भएका सवै कितावहरु सभामा उपस्थिति अन्यलाई बाँडेर  त्यहाँबाट सुईकुच्चा ठोकेछन् । सो कार्यक्रममा मुलुकी ऐन रजत जयन्तीभन्दा पनि विसे नगर्ची सम्वन्धि सो कितावको चर्चा चलेछ । पृथ्वीनारायण शाहको एकीकरण अभियानमा सल्लाह दिएर अहंम भूमिका निर्वाह गर्ने विसे नगर्चीलाई तत्कालिन राजतन्त्र तथा पंचायतले कस्तो रुपमा हेथ्र्यो भन्ने एउटा अनुपम उदाहरण हो ।

मलाई अहिले सोच्दा अचम्म लाग्छ, विसे नगर्चीलाई अस्तित्वमा ल्याउने तत्कालिन समयका अत्यन्त प्रगतिशिल साहित्यकार भीमनिधि तिवारी हुन । उनले विभिन्न विषयमा नाटक तथा उपन्यासहरु लेखेका छन्, त्यस मध्येको एउटा एकांकी नाटक हो विसे नगर्ची । सो एकांकी नाटक मैले ९/१० कक्षामा पढ्दा महेन्द्र माला भन्ने कितावमा पढेको हुं । पंचायतले राजा वाहेक अन्य कसैलाई पनि देश निर्माणको योगदानकर्ताको रुपमा उभ्याएन तर देश भरका सवै विद्यार्थीहरुले पढ्ने पाठ्य पुस्तकमा किन विसे नगर्चिको नाटक समावेश गर्न दियो यो अचम्म लाग्दो विषय रहेको छ । त्यो जानी जानी गरेको हो वा झुक्किएर भएको हो विषय सोचनीय छ, किनभने पंचायतले उनको किताव विमोचन पनि गर्न नरुचाउने अवस्थामा कसरी त्यो विषयलाई पाठ्य पुस्तकमा राख्यो ?

पृथ्वीनारायण शाह हाम्रा लागि अरु जस्तै एकजना सामन्ती र अवसरवादी थिए र हुन । उनले हामीहरुलाई उपयोग मात्रै गरे, अवसर र पुरस्कारको त परको कुरा हामीले गर्दै नगरेको अपराधमा पनि बाहुन र क्षेत्रीको वर्चस्व कायम गर्ने नाउँमा  जात व्यवस्था अन्तर्गत हामीलाई दण्डित गरि रहे । अतः आजको दिन हाम्रा लागि कौवालाई बेल पाके सरह हो।

 

राजाको गुणगान गाएर नथाक्ने पंचायति समाजले खासै महत्व नदिएको विसे नगर्चीलाई विम्वको रुपमा ख्याती दिलाउने काम गणतन्त्र स्थापनाको लागि भएको ०६२/०६३ को आन्दोलनका कवि श्रवण मुकारुमले गरे । विसे नगर्चिको वयान भन्ने सो कवितामा उनले एकीकरणमा त्यस्तो योगदान पुर्याएको व्यक्तिलाई समेत राजतन्त्रले कसरी ओझेलमा मात्रै पाएन दमन र अत्याचार समेत गर्यो भन्ने कुरा  बडो सुन्दर ढंगले प्रस्तुत गरेका छन् । उनले पृथ्वीनारायणका पुस्ताहरु देश र जनताको मालिक भएर कसरी रजाई गरेका छन् तर एउटा दमाईको हवीगत आधुनिक कालमा समेत कस्तो छ भन्ने अभिव्यक्ति दिए। ०६२/०६३ को सो आन्दोलनमा मुकारुम बास्तवमा सोही कविताकै कारणले जनकवि भएका थिए ।

अहिले पृथ्वीनारायण शाहको महिमा मण्डन गर्ने क्रम फेरि सुरु भएको छ । त्यसमा नेपालका प्रमुख राजनैतिक शक्तिहरु माओवादीबाहेक अन्य सवै यसमा लागेका छन् । एमाले र त्यसमा पनि मोदनाथ प्रश्रितहरु त धेरै पहिले देखि लागेका थिए ।  उनको बिडो थाम्दै एमालेबाट राष्ट्रपति भएकी विद्या भण्डारी समेत उनको स्तुति गानमा लागि परेकी छन् । किन हो ,आजको दिनमा सार्वजनिक विदा दिइएको छैन  ।आगामी वर्षहरुमो यो पनि नहोला भन्ने छैन ।

दलितका लागि पृथ्वीनारायण शाह कस्ता राजा हुन भन्ने कोणबाट हेर्दा, मेरो निष्कर्षमा उनी नितान्त एउटा सामन्ती राजा हुन र दलितहरुको अधोगतिमा अरु राजाहरु जत्ति जिम्मेवार छन् त्यत्तिकै जिम्मेवार उनी पनि छन्, अतः हामीले उनी प्रति नतमस्तक भएर सम्मान व्यक्त गर्नुको कुनै तुक छैन । उनको जीवन कालमा दलितको क्षेत्रमा दुईटा महत्वपूर्ण घटनाहरु भएको देखिन्छ । उनले मकवानपुरका आफ्ना ससुराली खलकभित्र पर्ने मग्राती ठकुरीहरुको जात च्युत गरेर सार्की बनाई दिएका थिए, त्यसको अर्थ उनीहरुलाई समाजमा अपहेलित भएर वांच्न विवश पारिनु हो । कीर्तिपुरको लडाईमा उनी दुई पटकसम्म हारेका थिए,  त्यही लडाईमा दोश्रो पटक हारेर मारिएका कालु पांडेको पनि अहिले महिमा गान गर्दै शालिक समेत स्थापना गरिएको छ ।

दोश्रो पटकको हारमा पृथ्वीनारायण शाहको ज्यान बचाईदिने एउटा दुवर जातिको व्यक्तिले रातारात बोकेर नुवाकोट पुर्याएका रहेछन । पछि उपत्यका जिते पछि उनको ज्यान बचाई दिएर गुण लगाएको दुअर जातिको जातलाई उचालेर अछूतबाट छुत बनाई दिएका रहेछन् । राजालाई बोकेर नुवाकोट पुर्याएका हुनाले उनीहरुको थर पनि राजवाहक राखि दिएछन्, यसरी मग्राती समूहलाई सजाय र दअर जातलाई पुरस्कृत गरेको देखिन्छ । उनको समय काल तथा पछिका राजाहरुले समेत एकीकरणमा सघाएका सवै जात जातिहरुलाई पुरस्कृति गरेको देखिन्छ । उनको एकीकरणमा सघाउ पुर्याउने क्षेत्री वंशका पांडे, वस्नेत, कार्कीलाई त भाई भारदार बनाएर शासन सत्तामा उनीहरुको हालीमहाली भई हाल्यो । उनलाई सघाएका जनजातिका   गुरुङर मगरहरुलाई पनि धेरैनै परस्कृत गरेको देखिन्छ त्यसैका परिणाम स्वरुप नेपाली सेनामा मगर र  गुरुङहरुको विशिष्ट स्थान धेरै पहिले देखि रहेको थियो भने छत्रप्रसाद  गुरुङ त प्रधान सेनापतिसम्म भए । चाहे आफ्नो पेशाको माध्यमबाट होस वा पराक्रम दलितहरुले पनि अग्रमोर्चामा रहेर पृथ्वीनारायण शाहलाई सहयोग पुर्याएका थिए । पृथ्वी नारायण बनारसबाट गोर्खा फर्किदा उनले एकजना मुस्लिम तथा एकजना कामी थरका व्यक्तिलाई हतियार बनाउनका लागि ल्याएका थिए र लाटो कामीले उनको सेनाको लागि हतियार बनाएका थिए भन्ने प्रसंग निस्कन्छ त्यो पनि कुनै इतिहासकारहरुले खोजेर होइन की हाम्रै अग्रजहरुले खोजेर पत्ता लागेको ।

जसरी पृथ्वीनारायणले अन्य जातजातिका परिवारलाई राज्यबाट दिईन सक्ने सुविधा तथा पुरस्कारहरु जमीन तथा मौजाको रुपमा दिएका थिए त्यसरी नै उनलाई सहयोग पुर्याएका दलितहरुलाई पनि दिन सक्थे । तर पुरै राजतन्त्र कालमा एक जना पनि दलित राज्यबाट पुरस्कृत भएको देखिदैन । ल पुरस्कार त दिएनन नै, कमसेकम उनलाई सहयोग गर्ने कामी, दमाई, सार्की र गन्धर्वहरुको पानी चल्ने बनाई दिएको भए पनि उनको केही जादैनथियो । तर उनी ठहरिय नेपाललाई असली हिन्दुस्थाना बनाउने राजा, त्यसको मतलव हुन्थ्यो हिन्दु धर्मले लादेको जात व्यवस्थालाई कडाईका साथ लागु गर्ने । यो सवै परिवेशमा पृथ्वीनारायण शाह हाम्रा लागि अरु जस्तै एकजना सामन्ती र अवसरवादी थिए र हुन । उनले हामीहरुलाई उपयोग मात्रै गरे, अवसर र पुरस्कारको त परको कुरा हामीले गर्दै नगरेको अपराधमा पनि बाहुन र क्षेत्रीको वर्चस्व कायम गर्ने नाउँमा  जात व्यवस्था अन्तर्गत हामीलाई दण्डित गरि रहे । अतः आजको दिन हाम्रा लागि कौवालाई बेल पाके सरह हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank