चन्द्रे कामी र रमिला मल्लबीच राजीखुसी विवाह गर्न सक्ने सहमति

दलित अनलाईन ११ पुष २०७८, आईतवार २२:२३

हुम्ला —हुम्लाका चन्द्रे कामी र मुगुकी रमिला मल्लबीच उ मेर पुगेपछि राजीखुसी विवाह गर्न सक्ने सहमति भएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका-१ जैर नात्ताका १९ वर्षीय कामी र मुगुकाे सोरु गाउँपालिका-४ लिप्रुगाउँकी १९ वर्षीया मल्लको परिवारबीच उमेरपुगेपछि दुवै जनाले उमेर नपुगुञ्जेल आ-आफ्नो घरमा बस्ने र उमेर पुगेपछि केटा र केटीले चाहेमा राजीखुसी विवाह गर्न सक्ने सहमति भएको हो ।

शनिवार दुवै पक्षबीचको छलफलपछि कानुनी प्रक्रियामा अघि नबढ्ने र उमेर पुगेपछि (कानुनले विवाह गर्न दिएको उमेर २० वर्ष) चाहेको खण्डमा विवाह गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माले दुवै पक्षबीच सहमति गराएर आ-आफ्नो घरमा बस्नेगरी पठाइएको बताए ।

चन्द्रेले गएको मंसिर ५ गते रमिलालाई भगाएका थिए । घरमा बस्न सक्ने अवस्था नआएपछि उनी सर्केगाड-२, रिपगाउँमा लुकीछिपी बस्दै आएका थिए ।

पछि रमिलाकाे परिवारले केही नगर्ने भन्दै उनीहरूलाई घर बोलाएका थिए । दुवै जना मंसिर २४ गते घर फर्किएका थिए । घर फर्किएसँगै मंसिर २९ गते मध्यराति करिब २० जनाको समूहले चन्द्रे र रमिलालाई उठाएर लगेका थिए । चन्द्रेलाई हातपात गर्दै केही पर छोडिदिएका थिए भने रमिलालाई आफ्नै घर लगेका थिए ।

चन्द्रेलाई नग्न बनाई निर्घात कुटपिट गरी बेपत्ता पारेको उनको परिवारले आरोप लगाएको थियो । तर, केटा आफैँ डराएर जंगलतिर भागेको खुल्न आएको डिएसपी शर्माले बताए ।

केही दिन सम्पर्कविहीन भएका चन्द्रे ७ पुषमा हुम्लाको खार्पुनाथ गाउँपालिका-५, याङ्चुबजारमा फेला परेका थिए । उनको खोजीका लागि हुम्ला जुम्लाबाट व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले खोजी गर्ने क्रममा उनी एक्लै हिँडिरहेका थिए ।

केही समयदेखि दुवै जना प्रेममा थिए । घर परिवारले सहज रूपमा विवाह गर्न नदिने भएपछि उनीहरू भागेर विवाह गर्न बाध्य भएका थिए ।

चन्द्रे फेला परेपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेको थियो । छलफलको क्रममा युवती पक्षले हातपात र तोडफोड गरेकोमा माफी मागेको थियो । यसै क्रममा युवतीले समेत दुवै जना राजीखुसी भागेको बयान दिएको प्रहरीले जनाएको छ ।

चन्द्रे पत्ता नलाग्दासम्म भने युवतीले टुनामुना लगाएर भगाएको बयान दिएकी थिइन् । पछि भने सहमतिमै भागेको बयान दिइन् ।

दुवै जना भागेपछि उनीहरूले वडाअध्यक्षलाई फोन गरेर विवाह दर्ता गराइदिन अनुरोध गरेका थिए । तर, वडाअध्यक्ष गोकुल बुढाले उमेर नपुगेकाले विवाह दर्ता गराउन नमिल्ने बताएका थिए । जसले गर्दा उनीहरू लुकिछिपी बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank