दलित समुदायको सिंगो गाउँ साहुको ऋणमा, स्थानीय सरकारका छैनन् लक्षित कार्यक्रम

कालीबहादुर नेपाली ३ पुष २०७८, शनिबार १३:३१

जाजरकोट— कटीगाउँ भेरी नगरपालिका–११ नम्वर वडाको एउटा टोल हो । यस टोलमा १ सय ५८ घरधुरी दलित समुदायको बसोबास रहेको छ । कटीगाउँका अधिकांश दलित समुदायहरु साहुको ऋण लिएर जीवन निर्वाह गर्दै आएका छन् ।

बाजेको पालादेखि साहुको ऋण बोक्दै आएका यहाँका दलित समुदायहरु ऋण तिर्न नसेर गाउँ छोडेर विस्थापित हुनुपर्ने बाध्यता छ । बाबु, बाजेको पालादेखि साहुबाट लिएको ऋणको व्याज तिर्नमै जीवनको कमाई नपुग्ने भएपछि यहाँका नागरिकहरु गाउँ छोड्न बाध्य भएको वडा सदस्य नन्दबहादुर विकले बताए । गाउँका अधिकांश स्थानीयको जग्गा जमिन साुहले लिईरसकेका छन् ।

साहुको ऋण तिर्न नसकेर आफ्नो घरजग्गा साहुलाई दिएर धर्मबहादुर वर पाँच जनाको परिवार सहित भारत गईसकेका छन् । दुई वर्ष पहिला कटीगाउँ छोडेका धर्मबहादुर अहिले भारतको दुर्गम गाउँमा मजदुरी गरिरहेका छन् ।

उनी जस्तै सोही गाउँका गोब्लो लुहारले पनि दुई वर्ष पहिला घरजग्गा साहुलाई दिएर गाउँ छोडी सकेका छन् । ६ जनाको परिवार सहित कटीगाउँ छोडेका गोब्लो लुहारले बर्दिया कोठीयाघाटको ऐलानी जग्गा खनेर बसोबास गरिरहेका छन् । ऋण तिर्न नसकेपछि स्थानीय विरमान विकको परिवार पनि एक वर्ष देखि विस्थापित जीवन विताउन बाध्य छन् । साहुँको ऋण तिर्न नसकेर गाउँ छोड्न बाध्य भएका यि त प्रतिनीधि पात्र मात्र हुन् ।
कटीगाउँका १ सय ५८ घरधुरीका दलित समुदाय मध्ये साहुको ५ लाखदेखि ८ लाख सम्मको ऋण नभएका कोही पनि नभएको वडा सदस्य विकले जानकारी दिए । बाइसे चौवीसे राज्यको वेला राजा बसेको जगतिपुर नजिकै रहेको छ ।

बत्तिमुनीको अध्यारो जस्तै भएको कटीगाउँका नागरिकहरुमा अत्याधिक गरिबी हुनु, शैक्षिक हिसाबले पछाडी पर्नु, पूर्वाधार विकास नहुनु, स्वरोजार बन्न सक्ने सीप विकास तालिम तथा उद्यमशिलताको विकास हुन नसक्नु नै त्यहाँको मुख्य समस्याहरु भएको स्थानीय रामबहादुर विकले बताए ।
गाउँसंगै जोडिएको जगतिपुर स्वास्थ्य चौकीबाट कटीगाउँका नागरिकहरुले स्वास्थ्य सेवा लिई रहेका छन भने, कटीगाउँमै रहेको जनज्योति प्राथमिक विद्यालयबाट त्यहाँका बालबालिकाहरुले प्रारम्भिक बाल शिक्षा देखि कक्षा ३ सम्मको शिक्षा पाई राखेका छन् । प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्म २ सय बढी जना विद्यार्थीहरुले उक्त बिद्यालयबाट शिक्षा लिई रहेको बताईएको छ ।

हालसम्म कटीगाउँबाट सरकारी जागिर खानेहरु मध्येका दिपक विक मात्र एक जना हुन् । २०५९/०६० सालतिर नेपाली सेनाको जवानमा भर्ती भएका दिपकले जागिर खाएपछि भेरी नगरपालिका–१३ कुदुमा घरजग्गा किनेर बसाई सराई गरिसकेका छन् । त्यस गाउँबाट हालसम्म एसएलसी पास गरेर अमृत बिकले पश्चिम रुकुम चौरजहारी स्थित शितल बहुमुखी क्यापस बाट बिएड पास गरेका छन् ।

किन डुबे सिंगो गाउँका मानिसहरु ?
आफ्नो खेतवारीमा उत्पादन भएको अन्नले वर्षमा छ महिना पुग्दैन् । त्यहाँका वासिन्दाहरुले स्थानीय साहुसँग उधारो खाद्यान्न लिएर खाने गरेका छन् । गाउँमा राम्रो उत्पादन नहुने, रोजगारीको अभावका कारण त्यहाँका अधिकांश पुरुषहरु कमाई गर्न भारत लगायत अन्य देशमा जाने गरेका छन् ।
‘श्रीमान् कमाई गर्न भारत जानुहुन्छ, हामी यही बस्छौ, स्थानीय साहुबाट चामल लगायत अन्य खाद्यान्न ल्याएर खाने गरेका छौ’ स्थानीय पवित्रा वरले भनिन् । हामी पसल बाट ल्याउदै गछौं, साहुको डायरीमा बढ्दै जान्छ, चाडपर्वका लागि श्रीमान् भारत बाट आउँनुहुन्छ पैसा तिर्नुहुन्छ, थौर बाँकी रहन्छ, फेरी अर्काे साल उत्तिकै हुने गरेको दुखेसो पोखिन् ।

काठमाडौको सिंहदरवार गाउँमा आएको नारा लागे तर कटीगाउँ बासीका लागि भने यो नाराले सार्थकता पाएको छैन् । सिंगो गाउँनै ऋणमा डुवेको छ, स्थानीय सरकारका कुनै कार्यक्रम कटीगाउँ बासीका लागि केन्द्रित छैनन् ।

स्थानीय साहूहरु इन्द्रलाल आचार्य र यदुकुमार आचार्यले खाद्यान्नको व्याज समेत जोडेर त्यहाँका मानिसलाई ऋणमा डुबाएको एक स्थानीयले काम नखुलाउने सर्तमा बताए । उनले दिएको जानकारी अनुसार, कटीगाउँका अधिकांश नागरिकहरु पढेलेखेका छैनन्, जति भनेपनि तिरिदिन्छन् भन्ने साहुको मानसिकताका कारण खाद्यन्नमा कानुन विपरित ब्याज समेत जोड्ने गरेका छन् ।

दर्जन परिवार विस्थापित
साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका ११ कटीगाउँमका दर्जन दलित समुदाय विस्थापित भएका छन् । १ सय ५८ घरधुरी भएको कटीगाउँका दलित समुदायले दैनिक जनजीविका चलाउनका लागि लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनु परेको हो ।

आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले तीन महिना खाना नपुग्ने कटीगाउँका दलित समुदाय साहुबाट ऋण लिएर दैनिक गुजारा चलाउँदै आएका छन् । यसरी लिएको ऋण तिर्न नसक्दा केही दलित समुदायका स्थानीयवासी विस्थापित हुन परेको स्थानीय नरबहादुर विकले बताए ।

स्थानीय, जनज्योति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने दलबहादुरका छोरा पारस विक भारतमा काम गरिरहेका छन् । साहुको ऋण तिर्ने अवस्था भएमा मात्र गाउँमा आउने उनीहरुको भनाई छ ।

यस समुदायका अधिकांश बालबालिका कक्षा ३ मा पढेर विद्यालय छाड्ने गरेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय निरन्तरता दिन नसकेको उनीहरु बताउँछन् । आधा दर्जन स्थानीयवासीको जग्गा साहुले आफ्नो नाममा लिएपछि जीवन निर्वाहका लागि भारत गएर विस्थापित भएका छन् । कटीगाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विक लगायत अन्य स्थानीयवासी साहुको ऋण तिर्न नसकेर साहुलाई जग्गा पास गरी भारत विस्थापित भएका हुन् ।

२५ घरधुरी अति विपन्न
कटिगाउँका १ सय ५८ घरधुरी मध्ये २५ घरधुरी अति विपन्न रहेको एक तथ्यांकले देखाएको छ । भेरी नगरपालिकाको समन्वय, रिसर्च इनपावरमेन्ट (काठमाडौ) र नेप्सकोन सुर्खेतको सहजिकरणमा गरिएको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षण अनुसार ३१ घरधुरी विपन्न, ३५ घरधुरी एक बर्ष काम गरी छ पाँच महिना खान पुग्ने, ५१ घरधुरी तीन महिना सम्म खाना पुग्ने सर्वेक्षणले देखाएको नेप्सकोन सुर्खेतद्धारा सञ्चालित दलित महिला तथा सिमान्तकृत समुदायको अधिकार सुनिश्चितताको लागि स्थानीय शासन सुदृढिकरण कार्यक्रममा कार्यरत अमृत विकले जानकारी दिए ।

स्थानीय सरकारको पुग्दैन नजर
देश संघीयतामा गएसंगै गाउँगाउँमा सिंहदरवार आए । काठमाडौको सिंहदरवार गाउँमा आएको नारा लागे तर कटीगाउँ बासीका लागि भने यो नाराले सार्थकता पाएको छैन् । सिंगो गाउँनै ऋणमा डुवेको छ, स्थानीय सरकारका कुनै कार्यक्रम कटीगाउँ बासीका लागि केन्द्रित छैनन् ।

भेरी नगरपालिकाले कटीगाउँबासीका लागि कुनै कार्यक्रम नल्याएको स्थानीय नरबहादुर विकले गुनासो गरे । उनले भने, ‘नगरपालिकाले हाम्रो गाउँ लक्षित कुनै कार्यक्रम ल्याएको छैन, गाउँका बासिन्दा सबै ऋणमा डुवेको पटकपटक जानकारी गरायौं, खासै चासोको रुपमा लिएको देखिदैन् ।’ ‘हाम्रो गाउँमा क्षमता अनुसारको रोजगारी व्यवस्था गरेको भए हामीलाई सहज हुने थियो ।’ गत आर्थिक बर्ष २०७७/०७८ मा नगरपालिकाले कटीगाउँ बासिका लागि १३ लाख रकम विनियोजन गरी सधारिएको चुलो वितरण गरेको थियो ।

कटीगाउँका २-४ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृतिको व्यवस्था गरिदिएको भए भोलीका पुस्ताहरुले राम्रोसंग जिउन सक्ने थिए स्थानीय रामबहादुर विकले बताए । यता नगरपालिकाले थालेको छुवाछुतमुक्त नगर घोषणा कार्यक्रममा ४४ लाख विनियोजन गरेको छ । पुषको तेस्रो सातादेखि उक्त अभियान सञ्चालन गरिने नगरपालिकामा कार्यरत अधिकृत अनिश शाहले बताए । उनले भने, ‘कटीगाउँबासीका लागि चुलो वितरण, जातीय छुवाछुत मुक्त नगरपालिका घोषणाका कार्यक्रम गरेको छ ।’ जातीय छुवाछुत मुक्त नगर घोषणा कहिलेदेखि सञ्चालन हुने भन्ने विषयमा छलफल समेत भएको छैन् ।

स्थानीय सरकारले दलित समुदायका लागि प्रभावकारी काम गरेको पाईदैन् । नगरपालिकाको जनसंख्याको आधा हिस्सा ओगटेको दलित समुदायका लागि कुनै कार्यक्रम नहुनुले नगरपालिकाको सेवा प्रवाहमा समेत प्रश्न उठ्ने निश्चित देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank