शूद्रको उत्पत्ति र छुवाछूत प्रारम्भ

रामलाल विश्वकर्मा १० पुष २०७८, शनिबार १८:३९

शूद्रको उत्पत्ति
शूद्र शब्द शुक(दुःख) +द्र(बेधित) अर्थात जो दुख बाट बेधित छ, उ शूद्र हो । तर यस विपरित धेरै प्रमाणहरुबाट यो खुल्न आएको छ कि शूद्र एक जाति थियो न कि कुनै दुखी मानिसहरुलाई शूद्र भनिन्थ्यो । (१)
पतञ्जलीले महाभाष्य १–२–३ मा आभीरहरुलाई शूद्र भनेका छन् । महाभारतको सभापर्वमा शूद्रहरुको राज्यको बारेमा वर्णन छ । विष्णु पुराण र ब्रह्म पुराण शूद्र जातिको वर्णन गर्छन् जोकि हिन्दुस्तानको विंध्यक्षेत्रको पश्चिममा बसोबास गर्दथे । (२)
अब प्रश्न यो छ कि शूद्रको अर्थ के हो ? यो जाति थियो कि वंश ? वैदिक समाजको विधान अनुसन्धान अझै पूर्ण रुपमा भएको छैन् । त्यतिखेर आर्यहरु साना–साना भागहरुमा विभाजित थिए । एक जातिलाई जन भनिन्थ्यो र प्रत्येक जनमा धेरै कुल वा थर हुन्थे । प्रत्येक थरका मानिसहरु एक आपसमा नातेदार हुन्थे । प्रत्येक कुलमा धेरै वंश हुन्थे । त्यसैले, शूद्र जाति, कुल या वंश के को नाम थियो, यो अहिले निश्चित रुपमा भन्न सकिन्न । (३)

केही विद्धानहरुको विचारमा ऋगवेदकालमा वर्ण व्यवस्था थिएन । उनीहरुका अनुसार पुरुष सूक्त धेरै पछि ऋगवेदमा थपियो । तर यदि मानौं पुरुष सूक्त पछि थपिएको भएता पनि यो कुरा मान्न सकिन्न किनकि ऋगवेदको समयमा वर्ण व्यवस्था थिएन । पुरुष सूक्त अतिक्रित धेरै स्थानहरुमा ऋगवेदमा ब्राह्मण र क्षेत्रीयहरुको बारेमा एकसाथ उल्लेख गरिएको छ । ब्राह्मणहरुको बारेमा वर्णको हिसाबले पन्द्रह चोटि र क्षेत्रीयहरुको बारे नौ चोटि उल्लेख गरिएको छ । तर “शूद्र” को नाम वर्णको रुपमा कहीं पनि उल्लेख गरिएको छैन् । यदि कुनै विशेष वर्णको नाम “शूद्र” हुन्थ्यो त यसको चर्चा ऋगवेदमा अवश्य हुन्थ्यो । यसबाट यो निश्कर्ष निकाल्न सकिन्छ कि ऋगवेदकालमा “शूद्र” नामको कुनै वर्ण थिएन । त्यतिखेर मात्र तीन वर्ण थिए । (७) यस अतिरिक्त पुरुष सूक्त ऋगवेदको मिश्रित भागमा पाईन्छ,यदि यो पुरानो हुन्थ्यो भने मुख्य भागमा पाईन्थ्यो । (८) अतः यस वास्तविकताबाट यो सिद्ध हुन्छ कि आदि कालमा आर्यहरुको मात्र तीन वर्ण थिए । शूद्र क्षेत्रीयहरु थिए र चौथो वर्ण पछि बन्यो । चातुर्वर्णको समर्थनको लागि पुरुष सूक्त पछि बनाएर ऋगवेदमा थपियो । पुरुष सूक्तमा जे लेखिएको छ त्यो समाजको स्थिति पहिले देखि नै त्यस्तो थिएन । (९)

यो चौथो वर्ण कसरी बन्यो भन्ने कुरा खोजबाट सिद्ध भयो कि, शूद्रहरु क्षेत्रीयहरुको एउटा शाखा थियो । एक समय ब्राह्मण र क्षेत्रीयहरु बीच द्धन्द भयो र यही क्रममा शूद्रहरु पराजित भए र उनीहरुलाई चौथो वर्णमा झारियो । डा. अमबेडकरले धर्मशास्त्रहरु र इतिहासको गहन अध्ययन पश्चात निम्न निश्कर्ष निकाले :
१) शूद्र आर्य जातिका सूर्यवंशी थिए ।

२) भारतीय आर्यहरुमा शूद्र क्षेत्रीय वर्णका थिए । ३) कुनै बेला आर्य अन्तरगत तीन वर्ण थिए अर्थात ब्राह्मण, क्षेत्रीय, वैश्य । शूद्रको वर्ण पृथक थिएन, उनीहरु क्षेत्रीय वर्णकै भाग थिए ।
४) शूद्र राजाहरु र ब्राह्मणहरु बीच निरन्तर द्धन्द भयो, ब्राह्मणहरुमाथि धेरै अत्याचार भयो । (पहिला ब्राह्मणहरुले क्षेत्रीयहरुमाथि अत्याचार गरेका थिए )
५) शूद्रको अत्याचारका कारण ब्राह्मणहरु शूद्रहरुलाई घृणा र विरोध गर्न लागे र उनीहरुको उपनयन (व्रतबन्ध) गर्न छाडिदिए । (आर्य हिन्दु समाजमा व्रतबन्ध एउटा महत्वपूर्ण धार्मिक संस्कार मानिन्छ । त्यतिखेरको युगमा त झन व्रतबन्ध नगरे पछि वेद अध्ययन गर्न पाईदनथ्यो । वेद अध्ययन भनेको त्यतिखेरको पाठशाला वा बिश्वविद्यालय थियो । व्रतबन्ध नगर्नु भनेको शिक्षाबाट वंचित हुनु, सामाजिक मान्यता र कुनै पनि शक्ति र योग्यताबाट वञ्चित हुनु थियो ।)
६) उपनयन (व्रतबन्ध) हुन नपाए पछि शूद्रहरुको पतन भयो । उनीहरु वैश्य भन्दा तल झारिए र उनीहरुको एउटा छुट्टै चौथो वर्ण बन्यो । (१०) आदि कालमा प्रत्येक माथिल्लो वर्ण तल्लो भन्दा श्रेष्ठ मानिए पनि उनीहरु बीच छुवाछूत थिएन् ।
आपस्तम्ब धर्मसूत्रमा चार वर्णको बारेमा उल्लेख गरिएको छ । यदि पछि थपिएको पुरुष सूक्तको अभिषापको बारेमा कसैले विरोध गरेमा हिन्दु समाजका निर्माता मानिने मनुले त्यो विरोधलाई समाप्त गरिदिए । उनले दुईटा कुरा गरे : पहिलो, पुरुष सूक्त लाई ईश्वरीय आदेश भने । उनका अनुुसार “बिश्वको वृद्धिको लागि ईश्वरले मुखबाट ब्राह्मण, भुजाबाट क्षेत्रीय, जाँघबाट वैश्य तथा पैतालाबाट शूद्रलाई उत्पन्न गरेका हुन् ।” ब्राह्मण, क्षेत्रीय तथा वैश्यको जन्म दुईचोटि हुन्छ तर शूद्रको केवल एक पटक । अर्को कुरा उनले वेदलाई धर्मको आधार बताए । यसरी पुरुष सूक्तले चातुर्वर्णलााई धार्मिक शासन तथा ईश्वरीय आदेशका दर्जा दिएर दृढ र कठोर बनायो ।

छुवाछूतको प्रारम्भ
यदि वर्णव्यवस्थाको शुरुवाती कालमा जातीय विभेद र छुवाछूत थिएन भने स्वभाविक प्रश्न उठ्छ कि यसको शुरुवात कहिले र कसरी भयो । यसबारे विभिन्न मतहरु रहेका छन् । धर्म शास्त्र र साहित्यहरुमा ईश्वर र शैतान वा भगवान र राक्षस, स्वर्ग र नर्क, धर्म र अधर्म, पाप र पुण्य, पवित्र र अपवित्र आदि सँग जोडेर श्रेष्ठ र नीच जाति वा समुदाय भनी व्यापक व्याख्या गरिएको पाईन्छ । नश्ल एवं पेशालाई अलि बढी कथित नीच जाति र छुवाछूतको कारक तत्वको रुपमा व्याख्या गरिएको छ । इतिहासकार एवं समाजशास्त्री मिस्टर स्टेनले राइसको विश्लेषण यस सम्बन्धमा उल्लेखनीय रहेको छ । उनका अनुसार नश्ल र व्यवसायका कारण छुवाछूतको जन्म भयो । तर छुवाछूतको उत्पत्ति सम्बन्धि राइसको यो सिद्धान्तको आफ्नो पुस्तक ‘अछूत’ मा डा. अम्बेडकरले सविस्तार र राम्रोसँग चर्चा गरेका छन् । अहिलेका अछूत भनिएका जात समुदाय कुनै एउटा छुट्टै नश्ल, जाति वा समुदाय अन्तरगत नभएर आर्य, द्रविड, नाग र दास जाति समुदायकै मिश्रित रुप हो । आर्य दुईः ऋगवैदिक आर्य जो यज्ञमा बिश्वास गर्दथ्यो र अर्थवैदिक जादू टोनामा बिश्वास गर्दथ्यो । ऋगवैदिक आर्य अतिवृष्टिमा बिश्वास गर्दथ्यो र आफ्नो नश्ल मनु द्धारा उत्पत्ति भएको मान्दथ्यो ।

जबकि अर्थवैदिक आर्य अतिवृष्टिमा बिश्वास गर्दैनथे तर आफ्नो नश्लको उत्पत्ति ब्रह्मा वा प्रजापति द्धारा निर्माण गरिएको मान्दथे । ऋगवैदिक आर्यहरुले ब्राह्मण, सूत्र तथा अरण्यकहरुको रचना गरे भने अर्थवैदिक आर्यहरुले उपनिषदहरुको रचना गरे । शुरुको चरणमा यी दुई खेमा बीच संघर्ष चले पनि पछि उनीहरुबीच सन्धि र मेलमिलाप भयो । (११) यसैगरि द्रविड, नाग, असुर र दास जाति समुदायको बारेमा पनि नश्लीय कुरा मिल्दोजुल्दो छ । द्रविड र नाग एउटै नश्लको दुई भिन्न नाम हुन् । द्रविडलाई दास र असुर पनि भनिन्छ । द्रविड शब्द तमिल शब्दको साँस्कृतिक स्वरुप हो । तमिल शब्द संस्कृतमा आएर दमिल हुँदै पछि द्रविड हुन गयो । उत्तर भारतका नाग हरुले आफ्नो मातृ भाषा तमिल छोडेर संस्कृतलाई अपनाए जबकि दक्षिणका द्रविडहरुले आफ्नो मातृ भाषा छोडेनन् । नाग जातिलाई दास भन्नुको पछाडि ऐतिहासिक कारण रहेको छ । दास एक भारती ईरानी शब्द ‘दाहक’ का सुसंस्कृत शब्द हो । दाहक नागाहरुको राजाको नाम थियो । परिणामस्वरुप आर्यहरुले नाग जातिहरुलाई संस्कृतमा दास भन्न शुरु गरे । यसबाट यो निश्कर्ष निकाल्न सकिन्छ कि नश्लको कारणले छुवाछूत उत्पन्न भएको होइन । प्राचीन नियम अनुसार दुई प्रकारका कार्य पवित्र र अपवित्र रहेको पाईन्छ । चार प्रकारका सेवकहरुको बारेमा उल्लेख गरिएको छ – पवित्र काम गर्ने वाला र अपवित्र काम गर्नेवाला । अपवित्र काम गर्ने सेवकहरुलाई दास भनियो । तर त्यतीखेर दास ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्र जुनसुकै वर्णको हुन सक्दथ्यो । यद्यपि आर्य जातिभित्र सफाइको कामलाई अपवित्र मानिंदैनथ्यो । यसकारण घृणित पेशा गर्ने भएकाले छुवाछूतको उत्पत्ति भएको अर्थात अपवित्र व्यवसाय बाट भन्ने सिद्धान्त पनि उपयुक्त देखिंदैन । त्यसो भए छुवाछूत उत्पत्तिको मुख्य कारण के हो त ? डा. अम्बेडकरका अनुसार ब्राह्मण र क्षेत्रीय बीचको संघर्ष नै कथित अछूत निर्माणको मूल कारण हो । स्थायी जाति समुदायका मानिसहरुले समाजका बिखण्डित जाति समुदायका मानिसलाई अछूत बनाए । अम्बेडकरले बिखण्डित मानिस भनेर उल्लेख गरेका समुदाय सम्भवत युद्धमा पराजित र आर्थिक विपन्न मानिसहरु हुन् ।

अहिलेका अछूत भनिएका जात समुदाय कुनै एउटा छुट्टै नश्ल, जाति वा समुदाय अन्तरगत नभएर आर्य, द्रविड, नाग र दास जाति समुदायकै मिश्रित रुप हो । आर्य दुईः ऋगवैदिक आर्य जो यज्ञमा बिश्वास गर्दथ्यो र अर्थवैदिक जादू टोनामा बिश्वास गर्दथ्यो । ऋगवैदिक आर्य अतिवृष्टिमा बिश्वास गर्दथ्यो र आफ्नो नश्ल मनु द्धारा उत्पत्ति भएको मान्दथ्यो ।

 

अम्बेडकरका अनुसार बिखण्डित ‘जाति’ थियो । (१२) यावत प्रमाणहरुबाट निसन्देह भन्न सकिन्छ कि कुनै समय यस्तो थियो जुन बेला हिन्दू अन्तरगत ब्राह्मण र गैर ब्राह्मण सबै मांसाहारी थिए अपितु गाईको मासु पनि खान्थे । ब्राह्मण र क्षेत्रीयहरु बीचको संघर्ष भारतीय प्राचीन इतिहासमा महत्वपूर्ण रहेको छ । शुरुमा ब्राह्मणले क्षेत्रीयहरुलाई पराजित गरि दमन गरे । पछि क्षेत्रीयहरुले ब्राह्मणहरुलाई पराजित गरि बदला लिए । क्षेत्रीय जातिको बर्चस्व रहेको बेला बौद्ध धर्म एक समय भारतका बहुसंख्यक मानिसहरुको धर्म थियो । यो १०० वर्ष सम्म कायम रह्यो । सामान्य रुपमा बौद्ध मत पशु बलि र मूर्ति पूजाको विरोधी थियो । बौद्ध धर्मको प्रचारको परिणामस्वरुप ब्राह्मणहरुले आफ्नो शक्ति तथा सम्मान राज–दरबार र जनता गुमाएका थिए । उनीहरु पराजयबाट पीडित थिए जो बौद्ध धर्मबाट उनीहरुले बेहोर्नु परिरहेको थियो र यसबाट उम्किने हरसम्भव प्रयास गरिरहेका थिए । बौद्ध धर्मले जनताको दिमागमा यति धेरै गहिरो प्रभाव जमाएको थियो कि ब्राह्मणहरुलाई बौद्ध धर्मका विरुद्ध लड्नलाई उनीहरुको बाटो र साधन, तौर तरिका आत्मसात गर्नु बाहेक अर्को उपाय रहेन । बुद्धको मृत्यु पश्चात उनका अनुयायीहरुले बुद्धको मूर्तीहरु र स्तुपा स्थापित गर्न प्रारम्भ गरे । ब्राह्मणहरुले यसको अनुसरण गरे । उनीहरुले बौद्ध पूजा बाट प्रभावित जनतालाई आफूतिर आकर्षित गर्नका लागि मन्दिर बनाउनुका साथै त्यसमा शिव, विष्णु र राम–कृष्ण आदिको मूर्तीहरु स्थापित गरे । (१३) बौद्धमार्गी जनता पशुबली विशेषगरी गाईको बली जो उनीहरुको कृषि पेशाका लागि महत्वपूर्ण मानिन्थ्यो, बाट ब्राह्मण प्रति क्रुद्ध थिए । ब्राह्मणका लागि बौद्ध धर्मभन्दा स्वयंलाई श्रेष्ठ सावित गर्नका लागि माँस भक्षण त्यागेर शाकाहारी बन्नु बाध्यता हुन गयो । यति मात्र होइन उनीहरुले गाई पूजा प्रारम्भ गरे र गौ हत्यालाई पापको संज्ञादिए । जसले गौ माँस भक्षण त्याग्न सकेनन् तिनीहरु बिखण्दित र तिरस्कृत भए । यसरी उनले निश्कर्ष निकाले कि बिखण्डित जाति बौद्ध थिए, उनीहरु घृणाको पात्र बने र गौ माँस भक्षण छुवाछूतको प्रमुख कारण बन्यो ।

छुवाछूत उत्पत्तिको अवधि ई. सं. ४०० रहेको छ । प्राचीन कालमा ‘वर्ण’ शब्दको अर्थ रङ्गको आधारमा आर्य र अनार्य छुट्टयाउनु नै थियो । भारतीय उपमहाद्धीपको समाज आर्य, मंगोल, द्रविड र शिथिएन प्रजातिहरुको समिश्रणबाट बनेको छ । पछि गएर वर्ण जात वा समुदायको रुपमा प्रयोग हुन थाल्यो । हिन्दु धर्म शास्त्र मध्य मनुस्मृति नै पहिलो ग्रन्थ हो, जसले जातीय भेदभावलाई कडाईका साथ लागू गरियो । मनुस्मृतिमा सात प्रकारका शूद्र या दास बनाइने अवस्था निर्धारण गरिएको छ ।

१) युद्धमा कैद भएका ।

२) पेट भर्नको निम्ति दासत्व स्वीकार गरेका । ३) घरमै जन्मिएको दासको सन्तान (दासीपुत्र) । ४) खरीद गरिएका मनुष्य । ५) दानबाट प्राप्त मनुश्य । ६) जसका पिता आदि पनि दास होइनन् । ७) राजदण्डबाट दास घोषित गरिएका । (१४)
शुरुमा शूद्रहरुका पनि दुई श्रेणी देखा परे ।
१) आर्य मालिकको घरमा काम गर्ने छूत शूद्र ।

२) समाजबाटै तिरस्कृत भएका अछूत शूद्र ।
भारतीय उपमहाद्धीपमा वैदिक आर्यहरुले अन्य कविलाईहरुलाई “असूर” नामाकरण गरेको इतिहास छ । दास प्रथाको अन्तिम चरणमा ती पराजित असूरहरुलाई दासदासी बनाउँदै किनबेच समेत गर्न थालेको पनि इतिहासमा पाईन्छ । यस अवधिमा पराजित कविलाका मान्छेलाई खाना, कपडा र बासको व्यवस्था मालिकले गर्नुपर्दथ्यो । त्यो क्रम पशुपालन युगको अन्तिमचरण सम्म कायम रहेको पाईन्छ । त्यसपछि कृषि उत्पादनमा वृद्धि, सिपको विकास, फलाम, तामा र काँसका औजार निर्माण शुरुवात पछि त्यसप्रकारको उत्पादनका साधनको विकासले गर्दा हिन्दु वैदिक आर्यहरु समाज सञ्चालनको नयाँ विधि खोज्न थाले । यसै क्रममा वर्णव्यवस्था, धर्म, सामाजिक परम्परा आदिको स्थितिको निर्माण भएको पाइन्छ । समाज सामन्ती प्रथाको प्रारम्भिक चरणमा प्रवेश गरेको देखिन्छ । यसैकालमा राजसंस्थाको शुरुवात भएको देखिन्छ । राजा जेष्ठ पुत्रले राजपद पाउने परम्पराको थालनी सामन्तीप्रथाको प्रथम चरणमै शुरु भएको थियो । अन्य पुत्रहरु पुरोहित बनाउने प्रचलन थियो । यसबाट स्पष्ट हुन्छ कि एउटै बाबुका छोराहरु राजा , पुरोहित बन्न सक्दथे । अतः राजाका सन्तानहरु, धनी मानिसका सन्तानहरु ब्राह्मण र क्षेत्रीय वर्णमा शुरुमै विभाजित हुन थालिएको देखिन्छ । तत्पश्चात समाज विकास भएको व्यापारी वर्ग, सिल्पकार, उद्यमीवर्ग आदि वैश्य श्रेणीमा भए । यसैकालमा वर्णविभाजन गर्न बिश्वमित्र र वशिष्ठ जस्ता कथित ऋषिहरुले वेदको रचना र चातुर्वण्र्य व्यवस्था शुरु गरेका थिए । (१५) उपर्युक्त तथ्यहरुबाट सहज अनुमान गर्न सकिन्छ कि यदि एउटै बाबुका सन्तानहरु राजा र पुरोहित हुने चलन थियो भने वैश्य र कालान्तरमा आएर शूद्र पनि एउटै बाबुका सन्तानहरु विभाजित भएर भएका हुन् ।

पाद टिप्पणी:
१. डा. भिमराव अमबेडकर, शूद्रो की खोज, पेज ३७ ।
२. उही, पृ. ३७–३८ ।
३. उही, पृ. ४९ ।
४. उही, पृ. ३० ।
५. उही, पृ. ३६ ।
६. उही, पृ. ४० ।
७. उही, पृ. ५० ।
८. उही, पृ. ५२ ।
९. उही, पृ. ५३ ।
१०. उही, पृ. ८६ ।
११. डा. भिमराव अम्बेडकर, अछूत, पृष्ठ ५८ ।
१२. उही, पृ. १२१ ।
१३. उही, पृ. ११२ ।
१४. प्रेम बराईली, जातीय भेदभावको अर्थ, उत्पत्ति तथा विकास,महान जनयुद्ध र दलित आन्दोलन, पृ. १०९ ।
१५. बोल्गा से गंगा–तिलक परियार, नेपालमा दलित समुदायको उत्पत्ति र मुक्तिको प्रश्न, पृ. ९२ ।
(रामलाल बिश्वकर्मा, लेखक राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank