प्रकाश सपूतको लालित्यपूर्ण नृत्यले सजिएको डाँडा घरे साइँली

हिरा विश्वकर्मा २४ कार्तिक २०७८, बुधबार १४:४२

 

प्रकाश सपूत पछिल्लो समयका चर्चित युवा कलाकार हुन । गलबन्दी दोहोरी गीतवाट हिट भएका उनले कलाका विभिन्न माध्यमबाट नेपाली गीत संगीत मात्रै नभएर राजनैतिक चेतना समेत जगाएर नेपाली समाजलाई सम्वृद्ध बनाएका छन् । उनको सवैभन्दा मनपर्ने पक्ष भनेको, चर्चाको तथा ख्यातीको शिखरमा पुगे पछि दलित समुदायवाट जन्मेका कलाकारहरुले आफ्नो परिवेश विर्सन्छन र त्यस्तै पर्यो भने आफ्नो समुदायलाई पनि दुत्कार्न थाल्छन, किनभने त्यति वेला उनीहरुको ख्यातीलाई गैरदलितका स्वार्थपरक तत्वहरुले आफ्नो हितमा प्रयोग गर्न दलितका कलाकारलाई उनीहरु सरह भएको भ्रम दिन्छन । जव उनीहरुको ख्याती घट्छ र त्यति उपयोगी ठहरिदैनन उनीहरुलाई घोक्रेठ्याक लगायर निकाल्छन् । तर प्रकाश सपूत यो मामिलामा विल्कुलै फरक देखिन्छन्, किनभने उनले आफ्नो परिवेश, आफ्नो जीवनकालमा भोगेका विभेद तथा यातना र संघर्षलाई भुलेका मात्र छैनन, विभेद विरुद्धको अभियानमा आफुलाई सशक्त ढंगले उभ्याएका पनि छन्, त्यसको पछिल्लो उदाहरणको रुपमा समता फाउण्डेशनले तयार पारेको जातको प्रश्नको टेलिभिजन कार्यक्रममा जोडिनु हो । त्यस्तै यो देश हाम्रो पनि हैन र भन्ने भिडियो गीतमा पनि नेपालको जातीय विविधता तथा उनीहरुले भोग्नु परेको शोषण दमन र उत्पीडनलाई कलात्मक शैलीमा प्रस्तुत गर्नु अर्को सशक्त उदाहरण हो ।

प्रकाश सपूत कलाक्षेत्रका वहुमुखी प्रतिभा हुन किनभने उनी लेखन, संगीत, गीत, नृत्य तथा अभिनयमा पारंगत व्यक्ति हुन । त्यति मात्रै नभईकन उनको निर्देशन पनि सशक्त र मार्मिक रहेको देखिन्छ । यस्तो वहुप्रतिभाका धनी संसारमा विरलै भेटिन्छन । भारतको वलिउडका सशक्त निर्देशक संजयलिला भंसाली यस्तै वहुमुखी प्रतिभाका धनी देखिन्छन, किनभने उनी पनि लेखन, निर्देशन तथा संगीत भर्न सिद्धहस्त छन् । प्रकाशले चलचित्र निर्देशन गरेको ज्ञान भएन तर जुन तरीकाले उनले बनाएका तथा निर्देशन गरेका म्युजिक भिडियोहरु पनि उद्देश्यपूर्ण हुन्छन त्यो हेदा उनले वनाउने चलचित्र पनि उद्देश्यपूर्ण तथा कलाले भरिएको हुने छ भन्ने आशा गर्न सकिन्छ ।

नशा–नशा रगतमा छौं तिमी, पिरतीको अर्को नाम हौ तिमी
तिमी मलाई प्रलय नै मनपर्नी
तिमी मलाई प्रलय नै मनपर्नी
तिम्ले छड्के आँखाले नहेर्ने, मैले हत्ते गरेर के गर्नी
ओई, डाँडा घरे साइँली, मैले हत्ते गरेर के गर्नी ।।।

डाँडा घरे साइँली उनको लालित्यपूर्ण नृत्यले सिंगारिएको यस्तो लोकशैलीको गीत हो जुन गीतलाई जति पटक हेरे पनि मन भरिन्न । तीन महिना अगाडि सार्वजनिक भएको सो गीतले करोडौं भ्युज पाउनु पर्ने भएता पनि अहिले सम्म करिव ७५ लाख भ्युज पाएको देखिन्छ, यसलाई हेर्दा करोडौ भ्युज पाउने अन्य गीतको तुलनामा कमजोर देखिएला र पनि मेरो विचारमा यो चीरस्थाई हुने गीत हो ।
एउटा दलितको आँखावाट हेर्दा यो गीतले सम्पूर्ण नेपालको जातीय विविधताको दुई तिहाई हिस्सा ओगटेको छ । यो गीतका श्रष्टा अर्थात लेखक तथा कम्पोजर श्रीकृष्ण बम मल्ल ठकुरी क्षेत्री हुन, गायिका पनि लक्ष्मी मल्ल क्षेत्री हुन भने गायक स्वरुप आचार्य वाहुन, यसका कलाकारहरुमा दुईटी वाहुनी र प्रकाश सपूत दलित हुन । करिव ११ मिनेटको यो म्युजिक भिडियोले एउटा त्रिकोणात्मक प्रेम कथालाई लगभग गीति नाटकको शैलीमा प्रस्तुत गरेको छ । प्रकाश सपूतले खेलेको हिरे भन्ने पात्रलाई गाउँकी दुईटी महिला चन्द्रा र दिलमायाले प्रेम गर्छन, त्यस मध्ये दिलमाया जो गायिका हुन्छे त्यसलाई हिरेले पनि मन पराउँछ तर उसले चन्द्रालाई उपेक्षा पनि गर्दैन । यहि त्रिकोणात्मक प्रेम कथालाई यसका निर्देशक देवेन्द्र वव्लुले अत्यन्त सुन्दर ढंगमा गीत मार्फत प्रस्तुत गरेका छन् ।

नेपालको जातीय विविधताका यी अवयवहरुको सुन्दर समीश्रण हुंदा एउटा कस्तो सुन्दर कलाको श्रृजना हुन सक्दो रहेछ भन्ने कुराको यो गीत एउटा अनुपम उदाहरण हो ।

 

यो गीतका नर्तक तथा नर्तकीहरु प्रकाश सपूत, शिल्पा पोख्रेल तथा करिष्मा ढकाल ले गीतलाई अत्यन्त न्याय गरेका छन् । गाउँघरमा प्रस्तुत हुने रोधी वा झ्याउरे गीत त्यसमा सालैजो जुन मगर समुदायको मौलिक गीत होको समेत समायोजन गरेर प्रस्तुत गरेका छन् । यी तीनै नर्तकहरुले अत्यन्त लालित्यपूर्ण ढंगले नृत्यलाई प्रस्तुत गरेकै छन् तर त्यसमा अत्यन्त प्रभावी छन् प्रकाश सपूत । यो हेर्दा कोईमिलगया भन्ने हिन्दी चलचित्रमा ऋरितक रोशन र प्रिती जिन्टाले गरेको मनमोहक नृत्यमा सम्पूर्ण रुपमा ऋरित रोशन हावी देखिन्छन त्यस्तै यो गीतमा प्रकाश सपूत, तर यसको अर्थ ती दुई महिला कलाकारले गरेको नृत्य कम छ भन्न खोजेको होइन । खास गरि गजल तथा आधुनिक गीतका गायकको छवी वनाएका स्वरुपराज आचार्य पनि यो लोकगीतमा अत्यन्तै जमेका छन् र लक्ष्मी मल्लको स्वरले सम्पूर्ण रुपमा साथ दिएको छ । यो गीतको नृत्य निर्देशकले पनि गीत तथा भेषभुषालाई पूर्ण न्याय गरेका छन् । यसमा कुनै तडक भडक देखाइएको छैन गाउँका युवतीहरु जुन लंगी र व्लाउज तथा स्वीटर र पछ्यौरामा देखिन्छन त्यहि भेषभुषा यसमा देखाइएको छ, अर्थात हाम्रो गाउँको जुन वास्तविक रुपहो त्यसैलाई यो भिडियोमा देखाईएको छ अत यसको कला पक्ष पनि उत्कृष्ट छ । यसमा जुन वत्ती देखाइएको छ त्यो अलि अस्वाभाविक लाग्छ किनभने टर्चलाईटको व्याट्रीवाट भिडियोमा देखाईएको विजुली वल्दैन । यो वाहेक अरु सवै दृष्य तथा अभिनयहरु स्वाभाविक लाग्छन् । प्रकाश सपूत र शिल्पा पोख्रेलको नृत्यको स्वप्न दृश्यमा भेषभुषामा अलि वढि ध्यान दिएको भए यो पनि अत्यन्त राम्रो हुने थियो । यो गीतमा जुन प्रकारको नृत्य देखाइएको छ त्यो नृत्य गाउँघरमा हुने रोधी वा झ्याउरेमा देखाइने नृत्य भन्दा केही परिष्कृत भएता पनि त्यसलाई अस्वाभाविक वनाएको छैन ।

यो गीतको सवैभन्दा वलियो पक्ष भनेको यसले देखाएको नेपालको जातीय सदभाव तथा स्वरुप हो । माथि भनिएझै यो गीतमा क्षेत्रीहरुको कम्पोजिशन र गायन, वाहुनहरुको गायन तथा नृत्य र एउटा दलितको शीर्ष भूमिका तथा नृत्य हो साथै यसमा साथ दिने प्राविधिक रुपमा जनजाति हुन । नृत्य निर्देशक मौसम हिमाली भनिएको हुंदा उनी कुन समुदायका हुन भन्ने छुट्टिन्न । कला निर्देशक विशाल घिमिरे यदि वाहुन हुन भने पनि उनले नेपालको जनजाति तथा दलित भित्रको ठेट लोकशैलीलाई न्याय गरेका छन् । नेपालको जातीय विविधताका यी अवयवहरुको सुन्दर समीश्रण हुंदा एउटा कस्तो सुन्दर कलाको श्रृजना हुन सक्दो रहेछ भन्ने कुराको यो गीत एउटा अनुपम उदाहरण हो । नेपालको शासन व्यवस्थामा पनि यस्तै सुन्दर समीश्रण हुन सके यो डाँडा घरे साइँली गीत जस्तै हाम्रो देश पनि सुन्दर र गर्व गर्न लायकको हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank