विराटनगर— पहिले घरगाउँ छाडेर हिँडन बाध्य हुने दलित र गैरदलितबीच विवाह गर्ने जोडीहरु समयक्रमसँगै आजकल खुलेर जीवन जिउन थालेका छन । तीनै मध्ये कथित बाहुन समुदायकी युवतीसँग अन्तरजातीय विवाह गर्ने एक दलित युवाले चाँहि कानुन र संविधानमा अन्त भएपनि समाजमा कायमै रहेको जातीय विभेद र छुवाछुतको व्यवहारकै कारण सात वर्षसम्म ससुराली जान नपाएको पीडा स्वरुप लाखौ लगानी गरेर ‘ससुराली’ नामको क्याफे खोलेर समाजिक अन्तर्घुलनका लागि विद्रोह गरेका छन ।
विराटनगर ४ हनुमानदास रोड उत्तर जलजला चौक पश्चिम नजिकै करिव ५० लाख लगानी गेरर ‘ससुराली नामको ‘क्याफे’ खोल्ने युवा हुन विराटनगर ४ का ३० वर्षीय सुमन मगराती । आफु दलित समुदायको भएपनि २०७१ सालमा छिमेकी ब्राम्हण थरकी उर्मीला खतिवडासँग प्रेम भएपछि कानुनी विवाह गरेका मगराती अझै बाहुन समाजमा नस्वीकार्य हुँदा ससुराली जान पाएका छैनन ।
फार्मेसी, मार्केटिङ, आईटी र डान्स कलाले निपूर्ण सुमनले थप रेष्टुरेन्ट व्यवसायमा लगानी गर्ने भएपछि उनले विवाहकै कारण ससुराली जान नपाएको पीडा आफनो क्याफेको नाम नै ससुराली राखेर समाजमा सकारात्मक विद्रोहको सन्देश दिएको बताउँछन । मझौला कद(काठी भएका फुर्तिला जोशिला सुमनले भने , ‘हाम्रो प्रेमको समर्पण , शिक्षित व्यवहार र स्टाटसका अगाडी समाजले हामीलाई सम्मान गरिसकेको छ तर अझै ससुरालीले चाँहि अझै खुलेर स्विकार गरेका छैनन यसैले क्याफेको नाम नै ससुराली राखेर सकारात्मक सन्देश दिन खोजेको हुँ ।’,
युनिक नाम भएको सुमनको ‘ससुराली क्याफे’ मा अघोषित ससुरा अर्थात सहयोगी साझेदार बनिदिएका छन विराटनगरकै औषधी र अस्पताल व्यावसायी रंजित अग्रवाल ।
उनले आफनो खाली गोदाम घर सुमनलाई न्युनतम भाडामा उपलब्ध गराएका छन । सुमनका सहयोगी बनेका व्यावसायी रंजितका अनुसार सुरुमा उनले क्याफेको नाम ‘टिपटप’ राख्न सुझाएका थिए । तर हर्ताकर्ता सुमनले आफनो विवाह र विद्राहेको कथा सुनाउदै क्याफेको नाम ‘ससुराली’ राख्न चाहेपछि उनले पनि झन प्रोत्साहन दिए । रंजित भन्छन , ‘अब समाजमा जातकै कारण कोही ठूलो सानो छैन यसैले सुमनको ईच्छा अनुसारको नाम राम्रो लागेको छ र क्याफे चर्चित पनि भएको छ ।’,
कोरोना महामारी हुँदाहुदै दुई महिना अघि मात्र खुलेको सुमनको ‘ससुराली क्याफे’ नामकै कारण विराटगरमा चर्चित भएको छ । प्रत्यक्ष देखिने किचन सहित आन्तरिक साजसज्जा चिकिटक्क भएको उनको क्याफेमा युवायुवतीहरुो भीड लाग्ने गरेको छ । बैक र बित्तिय कार्यालयका कर्मचारीहरुले पनि उनको क्याफेलाई औधी रुचाएका छन । सत्तरी जना सम्म ग्राहकले एक पटकमा बसेर खान सक्ने क्षमता भएको सुमनको ससुराली क्याफेमा १५ जना रोजगारी पाएका छन ।
संघर्षमय छ सुमन र उर्मीलाको प्रेम विवाहको कथा
२०७१ सालमा प्रेममा परेका पढेलेखेका उर्मिला खतिवडा र सुमन मगरातीले अदालतमा कानुनी विवाह गरेका थिए । तर उनीहरुको विवाहलाई ब्राम्हण समाजले रुचाहेन । आफन्तले उर्मिलालाई बन्धक बनाएर अदालतमा सम्बन्ध विच्छेद गराउन दबाब दिए । तर साँचो प्रेमलाई आफन्तले जित्न सकेनन । उर्मिला फेरि घरबाट फुत्किएर सुमनसँग आइन । त्यसपछि उर्मीलाका आफन्तले सुमनलाई युवती अपहरण गरेको झुटो आरोपमा पक्राउ गराए । तर आधारप्रमाण नहुँदा प्रहरीले उनलाई मुद्दा लगाउन सकेन । बरु उल्टै सुमनले कानुनी रुपमा आफनो भैसकेकी श्रीमतीलाई अपहरण गरेर बन्धक बनाएको भन्दै प्रहरीमा जाहेरी दिए । अधिकारकर्मीहरुले साथ दिएपछि प्रहरी उर्मीलाका आमाबाबुलाई पक्राउ गर्न बाध्य भयो ।
आमाबाबुलाई पक्राउ गरेपछि समाजले पहुँचवालाहरु प्रयोग गरेर उर्मीलालाई सुमनको जिम्मा लगाउने र आमाबाबुलाई मुद्दा नचलाउने भन्दै मिलापत्र गरयो । त्यसपछि प्रहरी र अधिकारकर्मीहरुकै रोहबरमा सुमन र उर्मीला तामझाम सहित टिकाटालो गर्दै गृहप्रवेश गरे ।
तत्काल प्रतिनिधि सभा सदस्य अमनलाल मोदी , अधिकारकर्मी उमेश विश्वकर्मा , पत्रकार गणेश लम्साल जिप्रका मोरङका ईन्स्पेक्टर ढुण्डि न्यौपाने लगायतको टोली सुमनको घरमा गएर उनीहरुलाई टिका माला लगाएर गृह प्रवेश गराएका थिए । विएस्सी पढदै गर्दा विवाह गरेकी उर्मीलाले विवाहपछि विएन गरिन । हाल उनी नीजि अस्पतालमा स्टाप नर्स छिन । उनीहरुको दुई बर्षको ‘रेबेल खतिवडा मगराती’ नाम गरेको एक छोरा छन ।
हालसम्म खुलेर उर्मीलाले माइती र सुमनले ससुराली जान नपाएपनि उनीहरु समाजमा खुलेर बाँचिरहेका छन । प्रत्यक्ष घरमा नबोलाएपनि बाहिर भने आमाबुबा र आफन्तसँग भेटघाट हुने गरेको छ । फार्मेसीमा डिप्लाोमा गरेका सुमन डान्स स्कुल चलाउने, कमप्युटर पढाउने र प्रसिद्ध कम्पनीको मार्केटिंगको कामसँगै विराटनगरमा ‘ससुराली’ नामको क्याफे पनि सञ्चालन गरिरहेका छन ।
Leave a Reply