हामी जहाँबाट उठ्यौँ त्यसप्रति न्याय गर्न सकेका छौँ कि छैनौँ ?

छबिलाल विश्वकर्मा २४ पुष २०७६, बिहीबार २०:०४

अहिले विभिन्न चरणको परिवर्तन हुँदै हामी संघीय लोकतान्त्रिक गणतान्त्रत्मक राज्य व्यवस्थामा आइपुगेका छौँ । त्यसैले अब राजनीतिक परिवर्तनका निम्ति दलितका मुद्दा चाहिएन, जमिनका मुद्दा आवश्यक परेन । ओझेलमा परेका मुद्दाहरु पनि चहिएजस्तो देखिएन । जे व्यवस्था आउनु थियो, त्यो त आयो । तर, यसलाई टिकाउन सही ढंगले अभ्यासमा लिए मात्र सफलता प्राप्त हुन सक्छ भन्ने अहिले मान्छेलाई परेको छैन । राजनीतिकर्मीहरुलाई पनि परेको छैन । मूलधारका मिडियालााई पनि परेको छैन ।

तर, व्यवस्था परिवर्तन भए पनि सही अभ्यासमा लिएर जान यी विषयहरु नभइ हुनेवाला छैन । अब हामीले खोतल्नुपर्ने विषयहरु यी हुन् । संविधान बनाइहालियो, यति भए पुगिहाल्यो नि भनेजस्तो व्यवहार भएका छन् अहिले । विधिको व्यवस्था त भयो । तर, हामी कहाँबाट उठ्यौँ ? कुन विधिले हामीलाई यहाँसम्म ल्यायो भन्नेतर्फ चाहिँ हामी फर्किन सकेका छैनौँ ।

स्थानीय तहमा साढे ३६ हजार जनसंख्यामध्ये दलितको संख्या ठिक्कै खालको छ, माथिदेखि तलसम्म । समस्या तल छ र अधिकार पनि तलै छ । तर, हामी त्यहाँ छैनौँ । नेपालको दलित आन्दोलन, यसका अभियन्ता, अगुवाहरु सबै कि काठमाडौं, कि प्रदेश वा जिल्ला सदरमुकाममा छौँ । यस मानेमा व्यक्तिगतरुपमा म साह्रै दुःखी छु ।

त्यसैले, हामीले जहाँबाट उठ्यौँ त्यसप्रति न्याय गर्न सकेका छौँ कि छैनौँ ? जुन विधि छ, त्यसलाई ठीक ढंगले अभ्यासमा लिएर जान सकेको छौँ कि छैनौँ ?

अहिले वर्गको मात्र गरे पुग्छ भन्ने मान्यता स्थापित हुन थालेजस्तो देखिन्छ । तर, हामीले भनेको संघीयता त गरिव, दलित, पिँधका जनता, हेपिएका, अपमानित भएका, अछुत भएका जनताका लागि भनेका हौँ । अधिकार त्यहाँ पुग्नुपर्ने हो । हामीले चल्ते चलाते लोकतन्त्रको कुरा गरेका त होइनौँ ।

हामी अहिले तलदेखि जुन कलस्टरबाट प्रतिनिधित्व गर्छौं, त्यसैका लागि काम गर्नुपर्ने हुन्छ । विधिलाई सही अभ्यासमा लिएर जानका लागि हाम्रो लडाइँ हुनुपर्छ । विधिको व्यवस्था भयो प्रतिनिधित्व भइयो भनेर आराम गर्ने ठाउँमा छैनौँ । बनेको विधिको मर्मअनुसारको ऐन कानुन बनाउनुपर्‍यो, ऐन कानुनअनुसारको नियमावली, कार्यविधि बनाउनुपर्‍यो । कार्यविधि वा नियमावली अनुसार संरचना बनाउनुपर्‍यो । बनेको संरचनामा सही नेतृत्व हुनुपर्‍यो, राम्रो हाम्रो नेतृत्व हुनुपर्‍यो । यसका लागि हामी निरन्तर चरणवद्ध लडाइको मैदानमा छौँ । भलै, लडाइका प्रकृतिहरु फरक–फरक हुन सक्छन् ।

सधैं एउटै प्रकृतिको संघर्षले पनि ठीक ठाउँमा पुगिँदैन । दलितका मुद्दाप्रति कसैको फरक मत देखिँदैन । संसदको कुराले मात्र पनि पुग्दैन, सडकको कुरा पनि छ । अहिले संघीयतामा छौँ । तीन तहभित्र लडाइँ लड्नुपर्ने परिस्थिति छ । पार्टीभित्रै पनि ठूलो र दूरदर्शी लडाइ अपेक्षित छ । किनकि दलीय व्यवस्थामा त धेरै कुरा दलभित्रै हुन्छन् । अझ दुई पुस्ताले त यो लडाइँ निरन्तर लड्न अति आवश्यक छ ।

अहिले दलितका मुद्दा कमजोर हुँदै गएका छन् । मुद्दा हेपिएको अनुभूत हुने ठाउँमा छौँ हामी । व्यक्तिले के गर्‍यो या गरेन भन्दा पनि समग्रतामा हामीले विगतबाट शिक्षा लिनुपर्छ । अनि अहिले सुशुप्त भएको यो मुद्दालाई फेरि उजागर गर्न जरुरी देखिन्छ ।

अहिले वर्गको मात्र गरे पुग्छ भन्ने मान्यता स्थापित हुन थालेजस्तो देखिन्छ । तर, हामीले भनेको संघीयता त गरिव, दलित, पिँधका जनता, हेपिएका, अपमानित भएका, अछुत भएका जनताका लागि भनेका हौँ । अधिकार त्यहाँ पुग्नुपर्ने हो । हामीले चल्ते चलाते लोकतन्त्रको कुरा गरेका त होइनौँ । समानुपातिक तहसम्म पुर्‍याउने समावेशी लोकतन्त्रको कुरा गरेको हौँ । त्यसका लागि लडेका हौँ, शहीद भएका हौँ र अंगभंग भएका हौँ । हामीले त सहभागितामूलक लोकतन्त्र र सामाजिक न्यायसहितको गणतन्त्रको कुरा गरेको हौँ ।

त्यसैले, अहिले हामीले मुद्दामा पर्याप्त छलफल बहस गर्दै सही अभ्यासमा लिएर जान जरुरी छ । दलितका मुद्दामा इमानका साथ बोल्दै लड्दै आउने दलित र गैरदलितको सिंगो पंक्तिलाई उद्देलित गरेर अगाडि बढाउनुपर्ने छ ।

हामीले समृद्धिका कुरा त गरेका छौँ । तर, त्यो समृद्धि अमूक वर्ग, समुदायका लागि होइन । पिँधमा परेका जनताको स्तर नउठेसम्म कसरी समृद्धि हुन्छ ? दुःखेका मनहरुका चाङ लिएर नेपाली सुखी हुन्छ !

धेरैतिर चर्चा सुनिन्छ, राजनीतिक अधिकारको लडाइ सकियो, अब त आर्थिक विकास मात्र बाँकी छ । त्यो हुन सक्दैन । हो, राजनीतिक व्यवस्था परिवर्तनको काम सकियो होला । तर, यसलाई सही अभ्यासमा लिएर जाने आन्दोलन राजनीतिक आन्दोलन नै हो । त्यो हाम्रो आन्दोलन हो ।

त्यसैले आन्दोलन सकिएको छैन । सामाजिक परिवर्तनको मुद्दा पनि त हामीसँगैको हो भने कसरी आन्दोलन सकिएको मान्छौँ हामी ? यो व्यवस्थाले त आर्थिक परिवर्तन मात्र होइन, सामाजिक परिवर्तन, सांस्कृतिक रुपान्तरण कल्पना गरेको हो । त्यसलाई नै यो राजनीतिक परवर्तनले सेवा गर्ने हो र मात्रै हामीले भनेजस्तो व्यवस्था हुने हो ।

(नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद विश्वकर्माले क्रियाशील दलित पत्रकार संघको ‘मिडियामा दलित सांसद’ कार्यक्रममा व्यक्त मन्तव्यको सम्पादित अंश ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank