नेपाली कम्यूनिष्ट आन्दोलनको संकट र आगामी बाटो

गणेश विश्वकर्मा ११ श्रावण २०७८, सोमबार १५:४५

हाल विश्व कम्यूनिष्ट आन्दोलनमा देखा परेको संकट नै नेपाली कम्यूनिष्ट आन्दोलनको मूल संकट हो । यो मूलतः राजनीति र सिद्धान्तको संकट नै हो । नेपालमा कम्यूनिष्ट पार्टीको स्थापना राष्ट्रियता, जनवाद र जनजीविका, बेरोजगारी, गरिबी र दरिद्रता, सबैप्रकारका विभेद तथा शोषणबाट मुक्ति दिलाउनका लागि वि.सं. २००६ सालमा भएको थियो । १०४ वर्षे निरंकुश राणाशासनको अन्त्यको उद्घोष गर्दै कमरेड पुष्पलालको नेतृत्वमा स्थापना भएको कम्यूनिष्ट पार्टीले विभिन्न आरोह अवरोहपूर्ण ७२ वर्ष पार गर्दै अनेकौँ राजनीतिक संगठनात्मक उपलब्धिकासाथ इतिहासकै गम्भीर मोडमा आइपुगेको छ । यसले भिन्न भिन्न परिचयबाट ठूला ठूला किर्तिमानी कायम गरेको छ । वि.सं.२००७ देखिको थाति रहेको संविधानसभाको एजेण्डालाई व्यवहारमा रुपान्तरण गर्न र २५० वर्ष पुरानो केन्द्रीकृत निरंकुश राजतन्त्रको लोकतान्त्रिक विधिबाट शान्तिपूर्ण ढंगले अन्त्य गर्ने आन्दोलनको नेतृत्व पनि नेकपाले नै गर्यो । नेपालको संविधान जारी भई सोको सफल कार्यान्वयन गर्ने ऐतिहासिक अविभारा समेत इतिहासले यही पार्टीलाई दियो । नेपाली कम्यूनिष्ट आन्दोलनमा माक्र्सवादी दर्शन, कम्युनिस्ट पार्टी, सादा जीवन, राजनीतिक नैतिकता र कार्यशैली आदिको आज वास्तवमै खडेरी परेको देखिन्छ । नेपाली समाजको समकालिन परिवेश, सन्दर्भ र आवश्यकतानुसार वर्गीय दृष्टिकोणकासाथ कार्यान्वयनका लागि राजनीतिक क्रान्ति सम्पन्न भएपछि आर्थिक क्रान्तिकासाथ सामाजिक–सांस्कृतिक रुपान्तरणको व्यवहारिक र विश्वासीलो अनि जनमुखी नीति तथा योजना नेपालका ५ जना कम्यूनिष्ट प्रधानमन्त्री हुंदा पनि सार्वजनिक गरिएन । ती कम्यूनिष्ट सरकारका नीति तथा कार्यक्रम र बजेटमा आर्थिक सामाजिक रुपान्तरणका मुद्दाले जुनस्तरको प्राथमिकता पाउनुपर्ने थियो, त्यो पाउन सकेन । कार्ल माक्र्सको भनाइमा उत्पादनका साधनमाथि पुँजीवादी स्वामित्व समाप्त नगरी, सामूहिक उत्पादन र आवश्यकताअनुसार वितरणप्रणालीको व्यवस्थापन नगरी समाजवादमा पुग्न सकिन्न भन्ने सत्यको जगमा बसेर भूमिसुधारलाई प्राथमिकतामा नराखी समाजवादउन्मुख यात्राको बहुप्रचार गरियो । जसकाकारण आमनेपाली उत्पीडितहरुमा निरासा उत्पन्न हुनपुग्यो ।

आज नेपाली कम्यूनिष्ट आन्दोलनमा राजनीतिक, आर्थिक र सामाजिक÷साँस्कृतिक पक्ष लथालिंगको अवस्थामा रहेको छ । परिणामस्वरुप बेलाबेलामा भएका राजनीतिक परिवर्तनले आधारभूत परिवर्तनको ढोका खोल्न सकेको छैन । शासन प्रणाली हिजोको सामन्तवादबाट मुक्त गरिएपनि आज दलाल पूजीवादको दलदलमा फसेको छ । तीन तीन वटा ठूला राजनीतिक परिवर्तनबाट शासनव्यवस्था परिवर्तन गरिएपनि राज्यसत्ता परिवर्तन गर्न सकिएको छैन । आज नेपाली कम्यूनिष्ट आन्दोलनमा प्रगतिशील, मध्यमार्गी र दक्षिणपंथी अवसरवादी गरी तीनवटा धारहरु रहेका छन् । यी धारहरु विभाजनको पीडा र एकताको संभावना बोकेर बसेका छन् । नेपाली कम्यूनिष्ट आन्दोलनको प्रगतिशील धाराको रक्षा र विकास आजको प्रमुख कार्यभार हो । दुःखको कुरा उच्च राजनीतिक नेतृत्वमा देखा परेको अदूरदर्शिता, व्यक्तिवादी अहं, अहंकार, मूल्यमान्यताप्रतिको विचलन, पार्टीहरूबीचको फुट, विभाजन र संकीर्ण मानसिकताका कारण हाम्रा सिद्धान्तले निर्धारण गरेका लक्ष्यहरू व्यवहारमा रुपान्तरण हुन सकेका छैनन् । कम्यूनिष्ट पार्टी निर्माणको प्रक्रिया लोकतान्त्रिककरणको नाउँमा बुर्जुवाकरणको दिशातर्फ उन्मुख भइरहेको छ । यसका अलावा विना मापदण्ड पार्टी सदस्यताको वितरण, वर्ग दृष्टिकोण र सिद्धान्तबाट विमुखता, क्रान्तिकारी गुणमा आधारित भन्दापनि संख्या अनि गुटमा आधारित असमावेशी संगठन, पार्टी र आन्दोलनमा लाग्नुको अर्थ वर्गीय र सामाजिक मुक्तिभन्दा पद र प्रतिष्ठालाई प्रमुखता दिने आम प्रवृति देखा परेको छ । कम्यूनिष्ट पार्टीमा नेता होइन नीति प्रधान हुन्छ भन्ने कमरेड पुष्पलालको मान्यता स्थापित हुनुपर्नेमा पार्टी नेतापिच्छेका गुटगत मानसिकताले घर गरेको देखिन्छ । राजनीति र विचारका अलावा सोच, शैली र व्यवहारमा रुपान्तरण हुन नसक्नु आजको कम्यूनिष्ट आन्दोलनको संकट हो ।

नेपाली कम्यूनिष्ट आन्दोलनको आगामी बाटो
सात दशक लामो सम्झौताहिन संघर्षको जगमा ऐतिहासिक जनआन्दोलनले राजनीतिक क्रान्तिको एउटा सन्दर्भ पूरा गरेपनि त्यो अझै संस्थागत हुन सकेको छैन र सामाजिक क्रान्तिको समग्र प्रक्रिया पूरा गर्न अझै बाँकी छ । त्यसो हुनाले समाजवादसम्म पुग्ने सामाजिक क्रान्तिको प्रक्रियालाई पूरा गर्न विचार र सिद्धान्तले सुसज्जीत क्रान्तिकारी पार्टी निर्माण नै आजको मूल बाटो हो । सिद्धान्तप्रतिको लगाव र विश्वास, विश्वासका आधारमा कार्यक्रम, कार्यक्रमका आधारमा पार्टी संगठन र पार्टी संगठन बलियो बनाउन जनवर्गीय संगठन परिचालन गर्दै आर्थिक सामाजिक प्रगतिशील रुपान्तरणको अभियान संचालन गरिनुपर्दछ । नेपालका कम्यूनिष्ट पार्टीहरु नेपाली विशेषतामा आधारित आधारभूत वर्गमा वर्गीय भावनाकासाथ पार्टी निर्माण गर्ने र यिनै पार्टीबाट मात्र जनताको सेवा गर्न सकिन्छ भन्ने विश्वास आम नेपाली जनतामा पैदा गर्न सक्नुपर्दछ । सम्पूर्ण नेपाली जनता आज पनि सामन्तवादका विभिन्न खाले अवेशषको चक्रब्यूहुबाट आक्रान्त छन् । परिवर्तित सन्दर्भमा वस्तुवादी ढंगले अध्ययन गर्ने र वर्गको विश्लेषण गरी रुपान्तरणका स्वरुपहरु निर्धारण गर्दै आम जनतालाई नेपाली विशेषताको वर्ग संघर्षको अभियानमा लामबद्ध गर्नु आजको मूल प्रश्न हो । नेपालको सन्दर्भमा वर्गसंघर्ष भनेको दलित, महिला, आदिवासी जनजाति, मधेशी, मुश्लिम, अपाँगता भएका व्यक्ति, यौनिक अल्पसंख्यक, दुर्गमक्षेत्रका जनताहरु, किसान, मजदूर, यूवा, विद्यार्थी, पेशागत क्षेत्रलगायतको सामाजिक न्यायसहितको समृद्धिको सवाल हो ।

आजको दिनमा कृषि क्षेत्रमा रहेको सामन्तवादका अवशेषहरुलाई प्रगतिशील भूमिसुधारमार्फत अन्त्य नगरी राजनीतिक तथा सामाजिक–आर्थिक क्षेत्रमा प्रगतिशील रुपान्तरण संभव छैन । आज हामीले जनवाद र राष्ट्रियताको कुरा केही हदसम्म उठाउने गरेको भएपनि जनजीविकाको कुरा र जातीय छुवाछूत र विभेद अन्त्यका कुराहरु उठाउन छोडेका छौं । आधारभूत रुपमा जनवादी क्रान्ति सम्पन्न गरिएको भनिएपनि उत्पीडित दलित समुदायले भोग्दै आएको चरम गरीवी, जातीय छुवाछूत र भेदभाव, महिलाहरुले भोग्दै आएका सबैप्रकारका हिंसा, मुश्लिम, आदिवासी जनजाति, दुर्गम क्षेत्रका जनताका आधारभूत आवश्यकताहरुको संबोधन कम्यूनिष्ट पार्टीले मात्र गर्न सक्दछ भन्ने व्यवहारिक विश्वास जनतामा स्थापित गर्न सक्नुपर्दछ । आज राज्यको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचना परिवर्तनको एजेण्डा बोकेका कम्युनिस्ट पार्टीले जनताको अविकास, गरिबी, बहिष्करण, भेदभाव, अशिक्षा, अस्वस्थता, बेरोजगारी, भष्टाचार, कमज्याला, मुद्रास्फीति, जलवायू परिवर्तनको लागि राज्यकोे समग्र संरचनागत परिवर्तन आवश्यक छ ।

नेपाली कम्यूनिष्ट आन्दोलनले केबल शास्त्रीय व्याख्या मात्र होइन मूल कुरा त बदल्ने हो भन्ने कार्लमाक्र्सको भनाईलाई आत्मसाथ गर्दै सोको सिर्जनात्मक प्रयोग गर्ने कमरेड मदन भण्डारीले अघि सारेको समाजको लोकतान्त्रिकरण, पार्टीको लोकतान्त्रिकरण र राज्यसत्ताको लोकतान्त्रिकण नै आजको सही बाटो हो ।

संविधानको कार्यान्वयन, राज्यको पुनःसरचनाको कार्यान्वयन र कम्यूनिष्ट आन्दोलनको मूल प्रवाहीकरणको उद्देश्यसहित एमाले र माओवादीबीच भएको पार्टी एकीकरणको काम नसकिदै विघटन हुनपुग्यो । विगतमा कम्यूनिष्ट आन्दोलनमा नेकपा उमाले नेतृत्वको ९ महिने शासनकाल स्वर्णीम मानिएको थियो सोही बेला जनयुद्धको शुरुवात हुनु संयोग मात्र थिएन । बरु कम्यूनिष्टप्रतिको ठूलो असन्तुष्टि पैदा गर्नु थियो । यस्तो खेल हरेक कम्यूनिष्ट सरकारमा दोहारिदै आएको छ । चाहे जनयुद्ध होस, चाहे मधेश आन्दोलन होस, चाहे रावत होस, चाहे विप्लव होस चाहे दलित, आदिवासी जनजाति, थारु आन्दोलनहरुलाई केवल व्यक्तिको व्यवस्थापनमा बुझेर विद्रोही व्यवस्थापन गरिएपनि विद्रोहलाई संबोधन नगर्ने शासकीय प्रवृति आज पनि कम्यूनिष्ट आन्दोलनको गम्भिर कमजोरी रहदै आएको छ ।

नेपाली कम्यूनिष्ट आन्दोलनको शक्तिमा दुई दुई वटा संविधानसभाबाट निर्माण भएको नेपालको संविधान जारी भएपछि स्थानीय, प्रदेश र संघीय सरकारमा झण्डै दुई तिहाईको कम्यूनिष्ट सरकार बन्यो । त्यस बेला कम्यूनिष्टहरुबीचको उच्चस्तरको एकता प्रदर्शन गरेर ७ दशकदेखि मुक्तिको सपना देखाइएका आमजनताका बीचमा राजनीतिक, आर्थिक र सामाजिक प्रगतिशील रुपान्तरणका कार्यक्रमहरुमार्फत समाजवादको आधार निर्माण गर्नुपर्नेमा खाली सत्तालोलुपता, गुटगत मानसिकता, दलालहरुबाट सरकार संचालनको विधि लागू गर्दा ऐतिहासिक अवसर गुम्न पुग्यो । जसको मूल कारण भने बाह्य भन्दा आन्तरिक थियो । यद्यपि वाह्य कारण कम शक्तिशाली थिएन ।

नेपाली जनता अहिले पनि कम्यूनिष्ट क्रान्तिकारीहरुका पक्षमा देखिन्छन् । त्यो खाली समर्थन मात्र होइन जनमतबाट स्पष्ट पारेका छन् । यस ऐतिहासिक जनमतको कदर गर्दै व्यक्तिगत आग्रहबाट मुक्त भएर अघि बढ्ने हो भने नेपाली कम्यूनिष्ट आन्दोलनको भविष्य अझ पनि उज्वल छ । आजको सूचना, विज्ञान र प्रविधियुक्त विश्वव्यापीकरणका कारण हिजोको सामन्तवादको स्थान आजको साम्राज्यवादले लिन खोजेको हुनाले सोको सामना गर्दै नेपालका दलित, महिला, आदिवासी जनजाति, मधेशी, मुश्लिम, दुर्गम क्षेत्रका जनताहरु र अपाँगता भएका व्यक्तिहरुको सवालको संबोधनलाई केवल शास्त्रीय वर्गीय रटान मात्र दिएर समाजवादको यात्रामा अघि बढ्न असंभव प्राय हुनेछ ।

दशकौँको राजनीतिक संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि संघीय लोकतन्त्र र नेपालको संविधानको भरपर्दो कार्यान्वयनका लागि विगतको गल्तीबाट पाठ सिक्दै जनतालाई न्याय दिन कम्यूनिष्ट पार्टी र यसको नेतृत्व एक–अर्काको तागत बन्न आवश्यक छ । राजनीतिक दल र जनताको सहकार्यमार्फत उनीहरूलाई आत्मनिर्भर गराउदै शोषण, उत्पीडन र गरिबीका कारण उत्पन्न विभेद अन्त्य गर्ने ठोस योजना निर्माण गरी कार्यान्वयन गर्नु उत्तिकै जरुरी देखिन्छ । अदालत, कर्मचारी संयन्त्र तथा नििज र गैसस क्षेत्रलाई विरोधीका रुपमा मात्र हेर्ने कम्यूनिष्ट आन्दोलनले आफूले निर्माण गरेको संविधान र राज्यको नयाँ संरचना हुन भन्ने नयाँ बुझाई निर्माण गर्न सक्नुपर्दछ । विशेषगरी प्रशासनिक र अन्य क्षेत्रको दलाल पूजीवादको अन्त्य गर्दै सामाजिक रूपान्तरण तथा जिम्मेवारीबोधको शिक्षासहित व्यवहारमै प्रस्तुत गरेर समग्र सुधार आन्दोलनमार्फत अबका दिनमा जनताको नेतृत्व गर्न सक्नुपर्छ । आजपनि नेकपामा लाखौंलाख वर्गीय तथा उत्पीडित समुदायका कार्यकर्ताहरूको ठूलो हिस्सा रहेको छ । यो वर्ग समुदायको पार्टीमाथि आफ्नो विश्वास टुटेको छैन । यदि यो विश्वास टुट्न गयो भने यो वर्गसमुदाय विभिन्न बहानामा पार्टीबाट क्रमशः टाढिदै जाने खतरा हुनेछ । नेपाली कम्यूनिष्ट आन्दोलनले केबल शास्त्रीय व्याख्या मात्र होइन मूल कुरा त बदल्ने हो भन्ने कार्लमाक्र्सको भनाईलाई आत्मसाथ गर्दै सोको सिर्जनात्मक प्रयोग गर्ने कमरेड मदन भण्डारीले अघि सारेको समाजको लोकतान्त्रिकरण, पार्टीको लोकतान्त्रिकरण र राज्यसत्ताको लोकतान्त्रिकण नै आजको सही बाटो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank