कल्पना परियारको राष्ट्रिय कीर्तिमान

दलित अनलाईन ९ श्रावण २०७८, शनिबार १५:१८

काठमाडौं — जापानको राजधानी टोकियोमा भइरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत  खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोडे ।

परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ६१४ दशमलव पाँच अङ्क बनाएकी थिइन् । त्यो बेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। परियार सागमा चौथो भएकी थिइन्। उनी टोकियो ओलम्पिकमा छनोट चरणमा ५० खेलाडीमध्ये ४६औँ स्थानमा रहनुका साथै प्रतियोगिताबाट बाहिरिएकी छन् ।

परियारले प्रतिस्पर्धा गरेको समूहबाट आठ खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उनी वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन्। सो समूहमा नर्वेकी खेलाडी ६३२ दशमलव नौ अङ्कका साथ पहिलो, कोरियन खेलाडी ६३१ दशमलव सात अङ्कसहित दोस्रो तथा अमेरिकी खेलाडी ६३१ दशमलव चार अङ्कका साथ तेस्रो भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank