देश २ मा पीसीर परीक्षणमा तीव्रता : सप्तरीबाट १६१ स्वाब धरान पठाइयो

दलित अनलाईन १४ बैशाख २०७७, आईतवार १६:१७

राजविराज – प्रदेश २ का पाँचजनामा तथा सीमानाको जिल्ला उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा २८ जनामा कोरोना संक्रमित पुष्टि भएपछि सप्तरी, सिरहासहित प्रदेश २ मा ठूलो सङ्ख्यामा पीसीआर परीक्षणमा तीव्रता दिइएको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिका प्रमुख आतेश सिंह यादवका अनुसार प्राविधिकको टोलीले शनिबार बोदे बर्साइन-५ को चन्द्रा नमूना माविमा १५ महिलासहित १ सय ६१ जनाको स्वाब संकलन गरेको छ।

शिलाजित र हिंग बेच्न आएका जुम्लाका तीन घुमन्ते व्यापारीसहित सप्तरीको बोदे बर्साइनका १ सय १३, डाकनेश्वरीका २८, सुरुङ्गाका १२, खडक नगरपालिकाका दुई र बलान बिहुल गाउँपालिकाका तीनजनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय, सप्तरीले जानकारी दिएको छ।

यस्तै सिरहाको लहानमा ६९, गोलबजारमा ६४, मिर्चैया नगरपालिकामा ६० र अर्नमा गाउँपालिकामा ५० जना गरी २ सय ४३ जनाको स्वाब संकलन गरिएको सिराहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले भिटिएमसहित विज्ञ प्राविधिक स्वास्थ्यकर्मीको टोलीलाई प्रदेश २ का आठवटै जिल्लाको २७ स्थानमा कोरोना संक्रमितको स्वाब संकलन गर्न खटाएको छ । जोखिमयुक्त स्थानमा १ हजार ५ सय २० जनाको पीसीआर नमूना संकलन गर्ने लक्ष्यसहित खटिएको टोलीले आइतबार पनि स्वाब संकलन गरिरहेको छ । शनिबार नसकिएपछि सप्तरीको सुरुङ्गा र सप्तकोशी नगरपालिका तथा सिरहाको कल्याणपुर र सिरहा नगरपालिकामा आइतबार स्वाब संकलन गरिँदै छ ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान), नेपाली सेना, नेपाल प्रहरीबाट खटिएको प्राविधिक टोलीले स्वाब संकलन गरिरहेका छन् । सप्तरीबाट करिब ३ सय २० र सिरहाबाट ४ सय जनाको स्वाब संकलन गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका फणिन्द्र ज्ञवालीले जानकारी दिए ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले पीसीआर नमूना संकलन गर्न केन्द्रीय प्रयोगशाला काठमाडौंबाट आएको ६ र जनकपुरका दुई गरी ८ टोली स्वाब संकलनमा परिचालित भएको बताए। सप्तरीमा संकलन गरिएका स्वाबको नमूना परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रदेश २ का अन्य जिल्लाको स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशाला पठाइने ज्ञवालीले जानकारी दिए ।

बोदे बर्साइन नगरपालिका-५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको धार्मिक सभा ‘इज्तिमा’ मा सहभागी एक लाख भन्दा बढी इस्लाम धर्मालम्बी नै जमातीका हैसियतले विभिन्न मस्जिदमा गएकोले सो क्षेत्रलाई जोखिमयुक्त ठहर गर्दै स्वाब संकलन गरिएको हो ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा फेला परेका संक्रमित जमातीहरू सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपुरस्थित मस्जिदमा बसेर गएको तथा संक्रमित पुष्टि भएको भुल्केका २८ जनामध्ये दुईजना सप्तरीको सुरुङ्गा नगरपालिका-११ अरहा भजक्काको स्थायी वासिन्दा भएकाले सो क्षेत्रमा स्वाब संकलन गर्न लागिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank