मन्त्री नेपालीले भनेपछि जुम्लामा दर्ता भयो जातीय विभेदको उजुरी

दलित अनलाईन २५ असार २०७८, शुक्रबार १८:१४

काठमाडौँ — जुम्लामा वडाध्यक्षले दलित युवा विवेन्द्र नेपालीमाथि कुटपिट र जातीय गालीगलौज गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । कर्णाली प्रदेशकी आन्तरिक मामिला तथा कानुनमन्त्री सीता नेपालीले भनेपछि जुम्ला प्रहरीले नेपालीको उजुरी दर्ता गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी दानबहादुर थापाले उजुरी दर्ता भएको पुष्टि गरे । ‘किटानी जाहेरी नै दर्ता भएको छ’ उनले भने, ‘अब अनुसन्धान गरेर दोषी भेटिए कारबाही गर्छौ ।

जुम्लाको सिँजा गाउँपालिका ६ का वडाध्यक्ष कालीबहादुर बुढाले नेपालीलाई जातीय गालीगलौज गर्दै कुटपिट गरेका थिए । वडाध्यक्ष र उनका छोराले नेपालीमाथि कुटपिट गरेर सार्वजनिक ठाउँमै जातीय विभेद समेत गरेका थिए ।

स्थानीय दलित अधिकारकर्मी, पत्रकारको सरसहयोगमा पीडित युवा बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय पुगेर उजुरी दर्ता गराउन खोजेका थिए । तर प्रहरीले यसबारे बुझ्नुपर्ने भन्दै वडाध्यक्षलाई बचाउन उजुरी दर्ता गर्न आनाकानी गरेको थियो । पीडित युवाले वडाध्यक्ष बुढा र उनका छोरा नवीनविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् ।

दुई दिनसम्म प्रहरी कार्यालय जाँदा पनि उजुरी दर्ता नभएपछि युवाले पत्रकारसँग गुनासो गरेका थिए । यसका साथै उनले राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगमा पनि उजुरी टिपाएका थिए ।

बिहीबार प्रहरीले वडाध्यक्ष बुढा र पीडित युवालाई बोलाएर छलफल गरेर घटना मिलाउन खोजेको थियो । उजुरी नै दर्ता गर्न नमानेको प्रहरीको आनाकानीको विषयमा समाचार आएपछि कर्णाली प्रदेशकी आन्तरिक मामिलामन्त्री नेपालीले घटनाबारे चाँसो राखेकी थिइन् ।

मन्त्री नेपालीले जातीय विभेदमा उजुरी किन दर्ता नगरेको भन्दै भनेपछि शुक्रबार दिउँसो जुम्ला प्रहरी उजुरी दर्ता गर्न सहमत भएको हो । ‘मैले चाँसो राखेपछि उजुरी दर्ता भएको छ । जातीय विभेद गरेको पुष्टि भएमा कारबाही गर्नु पनि भनेकी छु’ मन्त्री नेपालीले भनिन्, ‘मैले घटनाबारे बुझिरहेकी छु । बेखबर छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank