कुटपिटले मनोरोग बनेकी गर्भवती दलित महिलाको उपचारमा समस्या

दलित अनलाईन १९ असार २०७८, शनिबार १९:१५

धरान  —  छिमेकीले जातिय गालीगलौज गर्दै कुटपिट गर्दा मानसिक सन्तुलमन गुमाएर मनोरोगी बन्न पुगेकी दलित महिलाको उपचारमा आर्थिक समस्या भएको छ ।
मोबाइलको सिम चोरी गरेको आरोपमा छिमेकी दलित महिलाहरुले जातीय गालीगलौज गर्दै कुटपिट गर्दा मानसिक सन्तुलन गुमाएकी मोरङ कानेपोखरी गाउँपालिका ५ चिसाङ बस्तीकी २५ वर्षीया शोभा दर्जीको आर्थिक अभावले उपचारमा समस्या भएको हो ।
शोभाको करिब एक महिनादेखी सुनसरीको धरान स्थित विपी प्रतिष्ठानको मानसिक विभागमा उपचार भैरहेको छ । तर आर्थिक अभावले गर्दा सिटि स्काउन गराउन , इलेक्ट्रिक शक दिन र औषधी खरिद गर्न समस्या भएकोले उपचार अगाडी बढन नसकेको श्रीमान उमेशले बताए ।
श्रीमान उमेशका अनुसार मनोरोगी बनेकी शोभाको पेटमा तीन महिनाको गर्भ पनि रहेको छ । खोलामा गिट्टी कुटेर जीविका चलाउने निर्धन परिवारकी शोभाको उपचारमा आर्थिक समस्या भएको भन्दै दलित महिला सञ्जाल र केही दयालुहरुले १० हजार रुपैया सहयोग पनि गरेका थिए । तर उक्त्त रकम केही दिनमै सकिएको र हाल पसलेले औषधी पनि दिन छाडेको छ । श्रीमान उमेशले भने,‘ पैसाको अभावमा तीन हजार रुपैया तिरेर हरेक हप्ता लगाउनु पर्ने इलेक्ट्रिक शक पनि नियमित हुन नपाउँदा विरामी झन झन बढेर गैरहेको छ , कतैबाट ऋण पाउने उपाय पनि कुनै छैन अब कसरी उपचार अगाडी बढाउने होला ?’
अधिकारकर्मी दुर्गा नेपालीले आर्थिक अभावमा शोभाको उपचारमा समस्या भैरहेको थाहा पाएपछि आफुहरुले सहयोग गर्न पहल गरिरहेपनि समयमा रकम संलकन हुन नसक्दा समस्या भैरहेको बताइन । उनले अति निर्धन दलित समुदायकी महिलाको सरकारले सबै उपचार सेवा निशुल्क गरिदिन आग्रह गरिन । भनिन ,‘विरामीलाई लामो समय अस्पताल राख्नुपर्ने अवस्था छ यसैले चन्दा उठाएर दिएको एक दुई हजारले पुग्नेवाल छैन यसैले उनको उपचार सरकारबाटै निशुल्क हुन जरुरी छ ।’
पिडित परिवार र स्थानियका अनुसार २०७७ मंसिरमा शोभाकी ७ बर्षिया छोरी मेरियाले मोवाइलको सिम भेट्टाएर ल्याएकी थिइन । उक्त्त सिम शोभाले आफनो मोवाइलमा प्रयोग गरेकी थिइन । छिमेकी मगर परिवारले शोभालाई ‘सानो जातको तँ दमिनी नै चोर होस ’भन्दै सिम चोरी गरेको आरोप लगाएको थियो । सोही बिषयमा पछिल्लो पटक भनाभन हुँदा १ जेठमा शोभालाई एक्लै अवस्थामा जातिय गालीगलौज गर्दै ५४ बर्षिया बिन्दा ,३० बर्षिया बबिता , २६ बर्षिया पुष्पा र २५ बर्षिया निरमाया मगरले सामुहिक कुटपिट गरेका थिए ।

खोलामा गिट्टी कुटेर जिवन धान्दै आएका शोभाका श्रीमान र आमाबाबुको बिलौना,‘ कसैले ऋण पत्याउदैन बिक्रि गर्ने जायजेथा पनि केही छैन उपचार कसरी पुरा गर्ने होला ?’ आर्थिक अभावले गर्दा हरेक हप्ता शोभालाई तीन हजार तिरेर “इलेक्ट्रिक शक’ लगाउन र नियमित औषधी खुवाउन समस्या भैरहेको छ ।

मानसिक सन्तुलन गुमेको थाहा नपाउँदा उपचार र जाहेरीमा ढिलाई
निर्घात कुटपिटपछि शोभालो मानसिक सन्तुलन गुमाएपनि परिवारले विरामीबारे थाहा नपाउँदा प्रहरीमा जाहेरी दिएको थिएन । बरु धामी झाँक्री लगाएर घरमै शोभाको उपचार गराएको थियो । तर बिरामी छिप्पिएर शोभा बौलाएर हिँडन थालेपछि मगरपरिवारले उल्टै आफुहरुलाई गाली गरेर दुख दिएको भन्दै प्रहरीमा मौखिक उजुरी गरेका थिए । त्यसपछि प्रहरीले आफनो छोरीलाई नियन्त्रणमा राख्न प्रहरीले बुबा हर्कबहादुरलाई मौखिक चेतावनी पनि दिएको थियो । त्यसपछि हर्कबहादुरले छोरीलाई घरमै बाँधेर राख्न थाले । तर बाँधेर राख्दा समेत चिच्याउन नछाडेपछि उपचारकालागि गाउँपालिकामा आर्थिक सहयोग गरिदिन याचना गरे । वडा अध्यक्षले १० हजार रुपैया सहयोग गरेपछि बल्ल परिवारले शोभालाई अस्पताल भर्ना गरेको थियो । त्यसपछि बल्ल घटना सार्वजनिक भएपछि स्थानिय अधिकारकर्मीहरुको सहयोगमा प्रहरीले जातिय विभेद तथा छुवाछुत कसुर ऐन अनुसार इलाका प्रहरी पथरीले ४ असारमा किटानी जाहेरी दर्ता गरेको थियो । हाल प्रहरीले पुष्पा र निरमाया मगरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । दुई जना आरोपीहरु अझै फरार छन ।

मिलापत्र गर्न पिडित परिवारलाई दबाब
प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि मगरपरिवारले घटना मिलापत्र गर्न दर्जी परिवारलाई कुटपिट गर्नेहरुले चर्को दबाब दिइरहेका छन । उनीहरुले शोभाको सबै उपचार खर्च तिरिदिने र केही पैसा क्षतिपुर्तिबापत पनि दिने भन्दै जाहेरी फिर्ता लिन र साक्षीहरुलाई झुठो बयान दिन धाकधम्की दिइरहेका छन । स्थानियका अनुसार घटना मिलापत्र गराउन केही जनप्रतिनिधिहरु पनि लागिरहेका छन । शोभाकी आमा देबी दर्जीले भनिन , ‘कुटपिट गर्नेहरुलाई जोगाउनेहरु आएर गाउँको समस्या गाउँमै मिलाउनुपर्छ नत्र भोलि मिलेर बस्न गाह्रो हुन्छ भन्दै धमक्याइरहेका छन हामीलाई शान्तिसँग बस्न पनि गाह्रो हुनेभयो ।’
इलाका प्रहरी पथरीका डिएसपी कृष्ण खडकाले आरोपीहरु मध्ये दुई जनालाई पक्राउ गरेर अनुसन्धान थालिसकेको र फरार रहेकालाई पनि चाँडै पक्राउ गरेर मुद्दा अदालतमा बुझाउने बताए । उनले भने , ‘जधन्य फौजदारी मुद्दा पिडितले फिर्ता लिन चाहेपनि हुदैन यसैले दबाब दिएर केही हुदैन अदालतबाट छिनोफानो ढुक्क भए हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank