कर्णालीका दलितहरु

टासी टेवा १४ चैत्र २०७७, शनिबार १३:०५

काठमाडौं र कर्णालीको  सम्बन्ध

गृहमन्त्री राम बहादुर थापाले २०१८ अगस्ट १० मा नेत्र विक्रम चन्दले नेतृत्व गरेको पार्टीको खड्ग बहादुर विश्वकर्मा वा प्रकाण्डलाई ‘कानून मिच्नेहरु सबै अपराधीहरु हुन्’ र प्रकाण्ड विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएको हुनाले समातिएको भनेर प्रेस व्रिफिङ गरे । त्यसमा गृहमन्त्रालयको काम अपराधलाई तह लगाउने हो भनेर पनि सम्झाए ।

केही हप्ता अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको दर्शन मात्र गरेनन् राज्यको ढुकुटीबाट तीन करोडको दान समेत गरे । त्यसैको केही दिनपछि चितवनमा आफू पक्षधर नेकपाको आमसभामा सम्बोधन गर्दै प्रधानमन्त्रीले रामको मूर्ति तयार भईसकेको र राममन्दिरसँगै सीता, लक्ष्मण, र हनुमानको मूर्ति समेत बनाउन गुरुयोजना तयार  हुँदैन गरेको भईसकेको र ‘अर्को वर्षको रामनवमीमा रामजन्म अयोध्यापुरीमा भव्यढंगले प्राणप्रतिष्ठा’ गर्ने समेत घोषणा गरे ।

दलितहरु माथि घटाइने हत्या, बलात्कार र दमनको साथै यी माथिका वाक्यहरु केही मिडियामा आएका र केही नआएका विषयहरु हुन् । मिडियामा आएको विषयबस्तुहरु मात्र सामाजिक विषयहरु हुन् तर अरु असामाजिक विषयहरु हो भन्ने पनि हैन । वर्तमान नवउदारवाद हिन्दुवादी समाजमा कस्तो खालको मिडियाले विभिन्न कालखण्डमा कस्तो आवाजहरुलाई कसरी साथ दिईरहेको छ छुट्टै अनुसन्धानको विषय हुन सक्छ । सत्ता र बजारको परिधिमा सपना र भविष्य बुन्ने र भत्काउने, वैधानिक र अवैधानिक बनाउने क्रममा विभिन्न सम्बन्धहरु, कथाहरु, ज्ञानहरु र अनुभवहरु छुटेका र दबाइएकामध्ये एउटा विषय भनेको कर्णालीको दलित पनि हो । के काठमाडौंले कर्णालीलाई कैलाश पर्वत जाँदा, चुनाव गर्दा, यार्सागुम्बाबाट कर उठाउन, केन्द्रबाट कर्मचारीहरु भर्ना र सरुवा गर्न, र नदी बेच्दा खेरी मात्र सम्झने हो ? किन सत्ताले ठेकेदारको मिलेमतोमा पठाउने पुरानो चामल जस्तै गन्हाउने भएको छैन काठमाडौं र कर्णालीको असमान सम्बन्ध ? विभिन्न आन्दोलन र हरेक दिनको प्रतिरोधले अघि सारेका यस्ता सामाजिक सांस्कृतिक प्रश्नहरुप्रति नैतिक समर्थन र विशेषगरि दलित आन्दोलनप्रति आलोचनात्मक ऐक्यबद्धता जनाउँदै दुई चार कुराहरु केलाउने र त्यस्तै अप्ठ्याराहरु र केही सिक्ने भन्ने प्रेरणाबाट तयार पारिएको लेख हो ।

पहिलो रुपमा प्रष्ट पार्न पर्ने भनेको हाल नेपालको दलित आन्दोलनले परिभाषित गरेको दलित शब्दभित्र म पर्दिन । नेपालको दलितहरुले जस्तो छुवाछुत, दमन र हत्याको शिकार म हुन परेको छैन । तर मेरै डोल्पो समुदायको २ जनाले भने राज्यसत्ताकै कारण केही वर्ष अघि ज्यान गुमायो । साथै, अझै पनि काठमाडौंको धेरै ठाउँमा हाम्रै समुदायको व्यक्तिहरुलाई भोटे भन्दै हेला गरेको र कोठा पाउन पनि समस्या भएको र राज्य सत्तामात्र नभई हरेक आन्दोलनमा समेत अनागरिक बनाइएको र मेरो समुदाय कत्ति किनारमा पारिएको र समुदायको व्यक्तिहरुमात्र नभई समुदायको ज्ञान, निर्णय गर्ने संस्थाहरु र पद्धतिको साथै भूमी, यार्सागुम्बा, हिउँचितुवा, याक जस्ता अमानवहरुलाई प्रत्यक्ष असर पारिरहेको बेलिविस्तारको पनि अर्कै लेख लेख्नु पर्ला । त्यस्ता अमानवीयकरणलाई बाहुनवाद र नवउदारवादको समीश्रणमा खोज्न उपयुक्त हुन्छ भन्दा अतियुक्ति नहोला । ती समीश्रणहरुबाट निर्माण भएका सामाजिक तथा राजनैतिक कानूनी चक्रव्यूहबाट कर्णालीका दलितहरुलाई पनि असर गरेको छ र कर्णालीका दलितहरुले नयाँ भविष्य निर्माण गर्न सक्छन् भन्ने विश्वासका साथ यो लेखको तयार पारिएको हो ।

त्यस्तै समिश्रणलाई केलाउने वर्तमान सामाजिक तथा राजनैतिक अवस्थालाई पनि विश्लेषण गर्नपर्ला । पहिले के देखिन्छ, त्यसबाट सुरु गरौं । कोही दलित अगुवाहरु नवराज विकको हत्याकाण्डमा पश्चिम रुकुम, जुम्ला, सुर्खेत वा अरु कर्णालीका सडक आन्दोलनमा आएर समग्र दलित आन्दोलनसँग ऐक्यबद्धता जनाउँदै न्यायको बोली फुटाउन पनि सकेनन् । लाग्यो अर्को चुनावको निमित्त भोट माग्न र फेरी समुदायलाई धुजा धुजा पार्न समृद्धिको रटान रट्दै रामराज्य जोगाउन स्वरहरु बचाईरहेका छन् । मधेसमा अँगीरा पासी, राजु सदा मारिंदा समेत धेरै पहाडिया दलित अधिकारकर्मीहरु कोही काठमाडौंमा या कोही जाजरकोट मै व्यस्त थिए । पक्कै पनि कोही कोहीले जातव्यवस्था र त्यसका विविध स्वरुपलाई नै विर्सेको होला । कोही दलित र कसैलाई शिल्पी शब्द प्यारो लाग्दो हो । कसैले एनजीओले दलित समुदायमा गएर धारा बनाएको र जागिर पनि दिएको भन्दै एनजीओले राम्रै गरेको छ भन्दै तर्क गर्ने पनि होला । कसैले एनजीओको विशेष परिस्थिति र भूमिकालाई अन्र्तराष्ट्रिय बजार वा साम्राज्यवादको नयाँ अनुहारको रुपमा बुझेको र त्यस्ता असामाजिक संरचनाले समाजमा नयाँ परिधिको विकास गर्ने हुनाले पनि गैरसरकारी संस्थाहरुको विरोध नगरेको पनि हैन । त्यसैको एउटा स्वरुप भनेको अहिलेको राजनैतिक अवस्थामा ओलीको पछाडि, दाहालको पछाडि, भट्टराईको पछाडि, देउवाको पछाडि र आहुती, वैध्य र विपलवको पछाडि विभाजित दलित समुदायहरु प्रष्टै पाउन सकिन्छ । त्यसैमा कोही कर्णालीका दलित अगुवाहरु पनि वैज्ञानिक समाजवाद भन्दै छन् त कोही दलित नयाँ जनवाद, र कोही प्रजातान्त्रिक समाजवादको भाष्य र व्यवहार निर्माण गर्दै छन् । यी विभाजित संघर्षहरुले पनि नेपालको दलित आन्दोलनको विभिन्न कालखण्ड पक्कै पनि दश्र्याउँछ होला । पक्कै पनि हरेक अगुवाहरुले विशेषगरि कर्णाली दलित अगुवाहरुको योगदान बारे हरेक इतिहास खण्डमा कमै अभिलेखिकरण गरे पनि उनीहरुको भूमिकालाई कम आँक्न मिल्दैन र हालको राजनैतिक परिवर्तनमा पनि अनदेखा गर्न मिल्दैन ।

लोकतन्त्रका लागि निरन्तर संघर्ष, बलिदानी र योगदान गरेको भए पनि सामाजिक न्याय, आत्मसम्मान र मुक्तिका लागि सीमान्तकृत समुदायले फरि संघर्ष गर्नुलाई निर्णायक बनाउन पनि दलितहरु सँगठित हुनुको विकल्पा छँदै छैन । विशेषगरि कर्णाली प्रदेश भित्रका विभिन्न जिल्लामा छरिएर रहेका सबै दलितहरुलाई एक ठाउँमा ल्याउन सकिने स्थान र ज्ञान, सम्बन्ध र क्रान्ति निर्माण गर्न सक्ने थलोको पनि अतिवाश्यक देखिन्छ ।

 

अर्कोतिर, यी माथिका सामाजिक यथार्थहरुमा कर्णालीका दलित अगुवाहरु प्रष्टै चिनिने अवस्थामा नदेखे पनि राजनैतिक हिसाबले दलित अगुवाहरु छरिएर रहेको यथार्थ पनि हो । संरचनागत हिसाबले नवराज वा सोती हत्याकाण्डका विरुद्ध आमाबुबा र आफन्तहरु काठमाडौंको सडकसम्म आन्दोलन गर्न आउँदा पनि दोषीहरु धरौटी र साधारण तारेखमा छुटेको र प्रकाण्डजस्ता दलितका नेताहरु समाँतिंदा ५० दिन कैदमा राखेको र १० वटा अदालतमा घुमाइयो र जेलमा थुनाइयो भन्ने वास्तविकताले पनि कर्णालीका दलित समुदायहरुमा नेपालको दलाल साम्राज्यवादी पूँजीवादी गणतन्त्र र परम्परागत संसदीय व्यवस्थाबाट न्याय पाउने विश्वास उडीसकेको पनि चित्रण गर्छ । साथै, समाजमा व्याप्त पारिवारिक तथा सामाजिक विभेदहरु र मनोबल गिराईदिने घटनाहरु जस्तै निश्चित ठाउँमा कर्णालीका दलित नेताहरुले जिते पनि अर्को छिमेकी समुदायहरुले कार्यक्रममा नबोलाउने र इतिहासै खाइदिन्छ कि भन्ने डर र चिन्ता प्रकट गराउने अवस्थाले पनि कर्णालीका दलितहरुलाई चुनावै जिते पनि असहयोग हँुदो रहेछ भनेर बुझ्नै पर्ने हुन्छ । अझ पार्टी भित्रकै शिषर्थ बाहुन, क्षेत्री, ठकुरी र जनजाति नेताबाट प्रत्यक्ष रुपमा हुने पार्टीको टिकट नदिने, समानुपातिकमा महिला भनेर कथित उच्च जातिको महिलालाई मात्र महत्व दिने र कर्मचारीतन्त्र र मिडिया र विभिन्न सरकारी तथा गैरसरकारी विभागमा तिनै कथित उच्च जातको उपस्थितिहरु र संयन्त्रले पनि वर्तमान कर्णाली दलित अगुवाहरुको अवस्थालाई नाजुक बनाईदिएको छैन भन्ने ठाउँ नभएको नै हो । सैद्धान्तिक हिसाबले विशेषगरि अहिलेको सन्दर्भमा कोही अगुवाहरु ओलीको पक्षमा, कोही प्रचण्डको पक्षमा र कोही आहुती, वैद्य, कट्टेल र विप्लवको पक्षमा रहेको देखिन्छ । ओली र प्रचण्डको समाजवाद भनेतापनि अहिलेसम्मको डिस्कोर्स र कामहरु हेर्दा धेरै विश्लेषकहरुले साम्राज्यवादी दलाल पूँजीवादी नै हो भन्दा फरक नपर्ला । यसमा ओलीको भर्खरैको पशुपतिनाथको दर्शन, राज्य ढुकुटीबाट करोडौंको दान, राममन्दिर मात्र नभई सीता, लक्ष्मण, र हनुमानमा रुमल्लिएको हिन्दु राजनैतिक चरित्र र त्यसबाट निर्माण हुने सामाजिक, राजनैतिक तथा आर्थिक विचार र संरचनाको पक्षपोषणले समाजवाद नभएर भारतको आरएसएसको नाइके वा प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहलाई खुशी पार्न हिन्दु राज्यको निर्माण गर्न लागि परेका छन् भन्ने कुरा सर्वविदित्तै छ । कोही नेपालका दलितहरु त्यस्ता वैचारिक र व्यवहारिक राजनीति निर्माणको पक्षमा हिन्दुवादी र नवउदारवादी राज्यव्यवस्थालाई मात्र सहयोग गर्नको साथै हरेक दमन, हत्या र हिंसाको यथार्थमा दलितहरु नै थप दमनमा परेको यथार्थलाई उजागर गर्दै दलित आन्दोलनलाई नै असर पारि रहेकै हुन्छ भन्नेमा प्रष्ट हुन जरुरी छ ।

त्यसैले पनि स्वघोषित माथिल्लो जात र तिनका प्रतिनिधिहरु र त्यसबाट सिर्जना भएका व्यवस्थाहरु र समृद्धिका भाष्य तथा भौतिक परिवर्तनलाई मलजल गर्ने दलित अगुवाहरुले जातव्यवस्थालाई कसरी आफुले मलजल गरिरहेको छ भनेर गहन तरिकाले सोच्ने मात्र नभई उक्त व्यवस्थालाई कसरि विनाश गर्न सकिन्छ भनेर गृहकार्य गर्नैपर्ने हुन्छ । एउटा दलित कुटिन्छ या मारिन्छ भने उक्त दलितलाई दोष दिनको साटो आफ्नो समाजले उक्त परिस्थिती सिर्जना गर्न कस्तो भूमिका खेल्यो र खेल्दै आएको छ भनेर शुरुवात गर्न सकिन्छ । आफूसँग जे छ विशेषगरि शारिरिक तथा भौतिक हिसाबले दलितका आन्दोलनलाई नै सहयोग गर्नैपर्ने वाध्यकारी अवस्था आफैंमा र आफ्नो समाजमा सिर्जना गर्न पर्यो । लोकतन्त्रका लागि निरन्तर संघर्ष, बलिदानी र योगदान गरेको भए पनि सामाजिक न्याय, आत्मसम्मान र मुक्तिका लागि सीमान्तकृत समुदायले फरि संघर्ष गर्नुलाई निर्णायक बनाउन पनि दलितहरु सँगठित हुनुको विकल्पा छँदै छैन ।

विशेषगरि कर्णाली प्रदेश भित्रका विभिन्न जिल्लामा छरिएर रहेका सबै दलितहरुलाई एक ठाउँमा ल्याउन सकिने स्थान र ज्ञान, सम्बन्ध र क्रान्ति निर्माण गर्न सक्ने थलोको पनि अतिवाश्यक देखिन्छ । यसमा केही काम भएपनि अभै पनि यो निर्माण प्रक्रिया माथिल्लो कर्णाली हिमाली समुदायका दलितहरुमा पुग्न नसकेकै हो । सिटि युनिभर्सिटीका प्रध्यापक रुथ विल्सन गिल्मोरका अनुसार समाजभित्रको जटिलताहरुलाई जति विश्लेषण गर्न सक्यो त्यति नै भोलि मुक्तिको बाटो सहज हुने स्वीकार्छन् । विगतका सम्बन्धहरु र नयाँ समयमा त्यसै सम्बन्धहरुबाट उत्पन्न हुने थुप्रै सम्भावनाहरुलाई प्रष्ट पार्न पनि सकिन्छ । जातव्यवस्थाले कसरी असर पारिरहेको छ, कर्णालीका दलित समुदायहरुलाई ? के आधारमा अहिले वैज्ञानिक समाजवाद कर्णालीका दलितहरुलाई उपयुक्त हुन्छ ?  हुँदैन भने किन  हुँदैन ? त्यस्को विकल्प के ? पक्कै पनि उक्त सँगठन विस्तार गर्ने संगठन र संगठनभित्रको निर्वललाई संघर्षशील बनाउँदै आन्दोलनलाई दूरगामी बनाउने क्रममा सत्ताको कानूनी तथा गैरकानूनी विभिन्न आधुनिक निगरानी यन्त्र, संयन्त्र तथा षड्यन्त्रहरुबाट कसरि बचाउन सकिन्छ भन्ने पनि सोच्नैपर्ने हुन्छ ।

अर्कोतिर, अम्बेडकरले जातको विनाशै हुनैपर्छ भनेर तर्क गरेका छन् । तर दलितहरु नै मारिने समाजमा जातको विनाश कसरि गर्न सकिन्छ भनेर अम्बेडकरका कृतिहरु केही हदसम्म अनुत्तिरत छन् । रिग्वेद जस्ता साँस्कृतिक ग्रन्थहरु जलाए पनि दलित मार्ने त एउटा निश्चित समाजले सुरक्षा दिईरहेको मान्छे र संयन्त्रले होला नी ? या भनौं दलितहरुले समुदाय रक्षाको निमित्त बन्दुक उठाओ भनेर आव्हान गरेको यो पंक्तिकारले हालसम्म भेटाएको छैन । साथै, के विभिन्न पार्टी, गैरसरकारी संस्था र व्यवसायिक संस्थाहरुमा दलितहरु छरिने छन् भनेर सोचेको थियो ? के दलितले मान्छे मार्न सक्छन् वा वर्तमान व्यवस्थालाई ललकार्न सक्छन् भनेर अम्बेडकरले सोचेको थियो ? पक्कै पनि नवउदारवाद र साम्राज्यवादको विभिन्न आर्थिक राजनैतिक सम्बन्धले कसरि विभिन्न दलितहरुलाई बजारको सम्र्बधन गर्ने र कहिले काहीं प्रतिरोध गरेपनि निश्चित राज्य र बजारले तोकेको सीमा र समयमा शान्त स्वभावले गर्ने छन् भनेर सोचेको थिएनन् होला । विशेषगरी दलितहरुको विभिन्न सँगठनहरु सँगै माथिल्ला समुदाय विशेषगरी हिन्दुत्वको पैरवी गर्ने र हिन्दु महासँघको खोल ओडेर गँगा स्नान गर्ने वा वैतर्नी नदी तर्ने मनसुवा र व्यवस्थाको सुरक्षा गर्ने सेना, सशस्त्र र पुलिस तैनाथै रहनेछन् भनेर सोच्न नसक्नु पनि अम्बेडकरको वैचारिक सीमा हो भनेर तर्क गर्न सकिन्छ । के भारतको दलित प्यान्थर अमेरिकाको ब्ल्याक प्यान्थरको इतिहास विना कल्पना गर्न सकिन्छ ? अझ अम्बेडकर आफैं नश्लिय विभेदको विरुद्ध लडिरहेका अश्वेत विज्ञ डब्लु इबी डीबुआलाई चिठ्ठी लेखेका भएपनि डीबुआको एउटा प्रमुख सन्देश जसमा काला समुदायहरुले बन्दुक राख्दै आफ्नो समाजको सुरक्षा गर्न पर्छ भन्नेलाई पनि नकारेको देखिन्छ । डीबुआ मात्रै नभएर प्रख्यात लेखक इडा बी वेल्स र ब्ल्याक प्यान्थर समुहका अध्यक्ष फ्रेड ह्याम्टनले कालाहरुले बन्दुक राख्दै समाजको सुरक्षा गर्न पर्ने सुझाएका छन् । किन अम्बेडकरले यो पक्षलाई नकारेको होला ? पक्कै पनि यस्ता दृष्टिकोण र प्रयासलाई ओझेलमा पार्न साम्राज्यवादी व्यवस्था र त्यस्ले सुरक्षा गरेका नवउदारवाद बजार र त्यस्ता बजारमा निर्भर रहेका बौद्धिक समुहहरुको भूमिकालाई पनि नकार्न मिल्दैन । जसले सुधारवादी मार्टीन लुथर किंङ र हिन्द स्वराजलाई छोप्दै अहिंसाको माला जप्ने गान्धीको महीमा गाउने र गान्धीको जस्तै शान्तीको बाटो अपनाउन पर्छ भन्ने बुज्रुक लेखकहरु हाम्रै सामु नभएका पनि हैनन् ।

अमेरिकी साम्राज्यमा विगत केही वर्षदेखि झन् अश्वेतहरुको हत्या हँुदै र व्हाइट सुप्रमेसी बढ्दै गईरहेको सन्दर्भमा विशेषगरी दमनमा पारिएका समाजको भौतिक सुरक्षाका निमित्त पनि विभिन्न आन्दोलनहरुमा सशस्त्र समुह देखिन थालेका छन् । आलोचनात्मक बौद्धिकहरुले उक्त लडाकू समुहहरुलाई समर्थन मात्रै गरेका छैनन्, त्यस्ता समूहरुको आवश्यकता अत्यन्तै महत्वपूर्ण रहेको पनि स्वीकारेका छन् । त्यसैले पनि हिंस्रक समाजमा उत्पीडित समुदायहरुले प्रतिरोध गर्दै आईरहेको यथार्थमा नेपालका दमनमा पारिएका समुदायहरुले विशेषगरि कमल थापा र ओलिले नेतृत्व गर्ने रामराज्य र उक्त कल्पनाले हिन्दु अतिवादीहरुलाई फाइदा त छँदै छ, नेपालका उत्पीडित समुदायहरु नै मारिने र विविध तहबाट थप दमनमा पर्ने सत्यतालाई चिर्न पनि दमनमा पारिएका समुदायमा लडाकूहरुको आवश्यकतालाई कदापि नकार्न मिल्दैन । आन्दोलनका इतिहासलाई पनि केलाउने हो भने पनि दलितहरुले समाज परिवर्तनका निमित्त बन्दुक उठाएको र शाहदत्त प्राप्त गरेको कैयौं भेटाउन सकिन्छ । यस विषयकै सेरोफेरोमा वर्तमान समयमा दमनमा पारिएका समाजलाई कसरी सैद्धान्तिक र भौतिक हिसाबले थप बलियो बनाउन सकिन्छ विमर्श हुन अति आवश्यक छ । के दलितहरुले गोली खाने मात्रै हो ? अहिले तुरुन्तै बन्दुक बोक्न नसके पनि इतिहासको कालखण्डमा दलितहरुले किन बन्दुक बोके भन्ने प्रश्नको उत्तरको वरिपरि ज्ञान निर्माण गर्दा पनि भविष्यमा दलित समुदायले सोचेको र गृहकार्य गरेको खण्डमा क्रान्तिको बाटोलाई सहजै होला ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank