काठमाडौं —प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् ।
शुक्रबार साँझ राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुख झाले शपथ लिएका हुन् । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट प्रदेश प्रमुखमा झा नियुक्त भएका हुन् । नवनियुक्त प्रदेश प्रमुख झा ‘राजेश अहिराज’ को नामले परिचित छन् । मधेश मामिलामा विद्यावारिधी गरेका झा पत्रकारितामा समेत संलग्न छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरेकी थिइन् । परियारलाई पदमुक्त गरेपछि रिक्त ठाउँमा झालाई नियुक्त गरिएको हो ।
को हुन् राजेश झा ?
राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गरेकी राजेश झा राजेश अहिराजका नामले परिचित छन् । पेशाले पत्रकार उनी मधेशबाट पृथक धारको बहस चलाउँदै आएकामा पर्छन् । झाको स्थायी घर रौतहट हो ।
मधेश मिडियो हाउसमा सक्रिय राजेश झाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी धारलाई साथ दिदै आएका थिए । उनी संघीयताको अध्यासबारे समेत आलोचना गर्थे । उनले आज मात्र टेलिभिजन अन्तवार्तामा संघीयताको नाममा खण्डीकरण गराइदिएको र तीन तहको सरकारको नाममा तीन तहको लुटेराहरुको समूह पठाएको अभिव्यक्ति दिएका थिए । संघीयताको नाममा जनतालाई करको मारमा पारिएको भन्दै आलोचना गरेका थिए ।
Leave a Reply