प्रचण्डको प्रश्‍न : शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ?

दलित अनलाईन २८ माघ २०७७, बुधबार २०:१८

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को पल्ट बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।
बुधबार राजधानीमा आयोजित विशाल विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई यस्तो चेतावनी दिएका हुन् । ‘केपीजी अर्कोपल्ट १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउनु नपरोस्’, प्रचण्डले भने । उनले ओलीले घोषणा गरेको चुनाव नौटंकी मात्र भएको भन्दै यो प्रतिगमनविरुद्धको लडाइँ जित्ने विश्वाससमेत व्यक्त गरेका छन् । ‘यो लडाईँमा हामी जित्छोँ । केपीको चुनावी नौटंकी हुनेवाला छैन’, उनले भने, ‘त्यसको भ्रममा नपरौँ ।
प्रचण्डले नेपाली जनतालाई हेप्ने गल्ती नगर्न निर्वाचन आयोगलाई चेतावनीसमेत दिएका छन् । मंगलबार मात्र प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगमा पुगेर धम्क्याएको भरमा निर्णय गर्ने गल्ती नगर्न उनले आयोगलाई चेतावनी दिएका हुन् ।

‘केपी ओलीले गएर धम्क्याउँदा मात्र त्यसलाई ठूलो मान्ने गल्ती निर्वाचन आयोगले गर्नु हुँदैन । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ । अढाई सय वर्ष पुरानो सामन्ती शासन फाल्ने जनता यिनै हुन् । यो सत्य कुरा हो । यही हो जित । खेलाची कसैले नठाने हुन्छ’, प्रचण्डले भने, ‘संवैधानिक निकायमा पुगेका मान्छेले खेलाची ठाने देश र जनताले दुःख पाउँछन् ।’

ओलीको प्रतिगामी कदम पछिको अवस्था सर्वोच्च अदालत र न्यायाधीशहरुले समेत हेरेको भन्दै सर्वोच्च अदालतले न्याय, संविधान र लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास रहेको प्रचण्डले बताए । ‘लाखौं जनताको उपस्थिति सर्वोच्च अदालतका न्यायाधीशले पनि राम्रोसँग देख्नुभएको छ । जनताले के चाहेका छन्, यो जनभावनालाई हेर्नुभएको छ र ढिलो नगरी लोकतन्त्र र संविधानको पक्षमा फैसला दिनुहुनेछ’ प्रचण्डको भनाई छ । उनले जनताको भावनाविपरित केही काम गरियो भने दूर्भाग्य हुने चेतावनी पनि दिए । ‘शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ?’ प्रचण्डको प्रश्न छ ।
उनले आफुहरु कानुनी राज्यको मान्यतामा दृढ रहेको भन्दै त्यसैका लागि नयाँ संविधान बनाइएको बताए । ‘नेपालको लागि कस्तो संविधान बनायो भने राजनीतिक स्थयित्व र जनताको हित हुन्छ भनेर बनाइएको हो । यदि त्यसो भएन भने आँधी आउँछ हुरी चल्छ’ प्रचण्डको चेतावनी छ ।

प्रचण्डले  राममन्दिर र अयोध्या बनाउने हो भने अनुसन्धान गरेर गर्न ओलीलाई चुनौती दिँदै भने, ‘तपाईंका नाटक तीन वर्षमा मैले चिने । पुरातात्विक अनुसन्धान गराउनुस्, मेरो विरोध छैन तर, तपाईंले ठुलो गल्ती गर्नुभयो केपीजी ।’ उनले गलत व्यक्तिका हातमा नेतृत्व गएको भन्दै अब त्यस्तो हुन नदिने बताए ।

उनले केपीले भूमिसम्बन्धी आयोग बनाएर षड्यन्त्र गरेपनि त्यसले माखो नमार्ने बताए । ‘म तपाईंहरुको अगाडि फेरि एक पटक प्रतिज्ञा, संकल्प फेरि दोहोर्याउन चाहान्छु । मेरो जीवन र मेरो समकक्षी नेताको जीवनमा यो देशलाई सुन्दर, शान्त र विशाल, विकसित र सम्मृद्ध बनाउनुबाहेक हाम्रो कुनै सपना छँदैछैन, हुनै सक्दैन’ प्रचण्डको भनाई छ । उनले बाँकी रहेको जीवन प्रधानमन्त्री र कुर्सीका लागि नभई जनताका लागि समर्पित गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank