केपीले गर्ने भनेको पञ्‍चर्‍याली बाहेक केही पनि हुँदैन : प्रचण्ड

दलित अनलाईन २२ माघ २०७७, बिहीबार २०:४४

सबै लोकतन्त्र विरोधी निरंकुशताका पक्षपातीहरूलाई बढार्छ

 

हामी पनि आन्दोलनको पक्षमा थिएनौँ, यो हाम्रो बाध्यता हो । संविधान, नियम, कानुन मिचेर सर्वसत्तावाद चलाउन खोजिएको छ । त्यसको प्रतिवाद गरिएन भने ७० वर्ष लडेर ल्याएको संविधान, लोकतन्त्र धरापमा परेको हुनाले यो बाध्यात्मक स्थिति हो । हामीलाई थाहा छ, जनताको यस्तो नभइदिए हुन्थ्यो भन्‍ने भावना र चाहना छ । त्यो हामीले बुझेका छौ, सम्मान पनि गर्छौ । तर, कहिलेकाही यस्तो बाध्यात्मक अवस्था आउँछ, यो जनताकै लागि हो, लोकतन्त्रकै लागि हो, गणतन्त्रकै लागि हो । यो जनताको अधिकार स्थापित गर्ने आन्दोलन भएकाले केही दुःख र अप्ठ्यारो भएपनि साथ दिनुहुन्छ भन्‍ने हाम्रो विश्‍वास छ ।

सरकारले जसरी संविधान मिच्ने काम गरेको छ, त्यसले लोकतन्त्रमाथि प्रहार भएको छ । गणतन्त्रमाथि प्रहार भएको छ । त्यसको विरोधमा देशका सबै राजनीतिक दलहरू, नागरिक, पत्रकार, बुद्धिजीवी, साहित्यकार, कवि, कलाकार सबै नै उत्रिसकेका छन् । सबैले विरोध गरिरहेका बेलामा सरकार आफैंले जुलुस निकाल्ने भनेको मैले सुरु देखिनै भन्‍ने गरेको छु हिजो पञ्‍चायतको बेलामा पञ्‍चहरूले पञ्‍चर्‍याली निकाल्थे, भएभरका व्यूरोक्रेसीका मानिसहरू ल्याएर र पैसामा मान्छे खरिद गरेर । २०४६ सालको आन्दोलन अगाडि म अहिले पनि सम्झन्छु ठूला-ठूला पञ्‍चर्‍याली हुन्थे, लाख, डेढलाख, दुई लाखका । त्यो पञ्‍चर्‍याली निभ्ने बेलाको बत्ती थियो ।

आफैले संविधान मिच्‍ने, आफैले संविधानमाथि प्रहार गर्ने अनि आफैँ मान्छे बटुलेर जुलुस गर्ने भनेको पञ्‍चर्‍याली बाहेक केही होइन । हामीले गरेको जनप्रदर्शन हो । केपीले गर्ने भनेको पञ्‍चर्‍याली बाहेक केही पनि हुँदैन । उहाँले जुन दिन संविधान मिचेर प्रतिनिधि सभा विघटन गर्नुभयो, अहिलेपनि हिजो संवैधानिक परिषदबाट सिफारिस गर्दा, न त्यसको प्रक्रिया पुगेको छ, न त्यो ऐन अनुसार छ, न नियम अनुसार छ जबरजस्ती सपथ खुवाएका छन् ।

संवैधानिक नियुक्तिका सम्बन्धमा अहिले अदालतमा रिट परेको छ, त्यसको सुनुवाइ गर्नु पनि छैन, सुनुवाइ समिति पनि छैन भनेपछि त्यो प्रतिगमनको पनि असाध्यै भद्दा रूप देखियो । मैले यसलाई जंगली राजको सुरुवात भएजस्तो ठानेको छु । त्यसकारण बन्दले नेपाली जनतालाई केही अप्ठेरो भएपनि आन्दोलनमा उहाँहरू साथमा हुनुहुन्छ ।

यो आन्दोलन केपी शर्मा ओली र प्रचण्डबीचको जुहारी हुँदै होइन । यो नेपाली जनताले ७० वर्ष लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्ने कि नगर्ने भन्‍ने मुद्दा हो । एकाथरिले प्रचण्ड र केपीबीचको, या माधवकुमार नेपाल र केपीबीचको लडाइँ भन्न खोजेका छन्, त्यो सत्य होइन । संविधान मिचिएको हुनाले के नेपाली कांग्रेस, के जनता समाजवादी पार्टीलगायतका सबै राजनीतिक दल पनि त यो असंवैधानिक, अलोकतान्त्रिक काम गर्‍यो सरकारले भनेर सडकमै छन् । नागरिक आन्दोलन सडकमा छ भने यसलाई केपी र प्रचण्डबीचको जुहारी भनेर बुझ्नु नै गल्ती हुन्छ । यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइ हो । यो गणतन्त्र र गणतन्त्र विरोधीको लडाइ हो । यो समावेशी, समानुपातिक देशका सबै जाति, क्षेत्र, लिंग सबैको हक अधिकारको रक्षा गर्ने या त्यसलाई सिध्याउने भन्‍नेबीचको लडाइ हो ।

हाम्रो आन्दोलन अझ सशक्त हुँदै जान्छ । यो त हामीले हिजो संवैधानिक परिषद् र भूमि आयोगसम्बन्धी निर्णय बलमिच्याइ गरेर, निरंकुशताको परकाष्टा नागरेर गर्‍यो त्यसैको जानकारी जनतालाई दिन हामीले यो उपाय अपनाएका हौं । हामीले माघ २८ गते गर्ने भनेको शक्ति प्रदर्शनको कार्यक्रम कायमै छ । त्यती हुँदा पनि समस्या समाधान भएन भने हामी अब ठूलो आन्दोलनमा जान्छौ ।

हामीले नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका राजनीतिक दल र अन्य सबै संघसंस्थासँग छलफल गरिरहेका छौं । सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुन्छ, त्यसपछि केपी सकिन्छन् । ठूलो जनआन्दोलन हुनेवाला छ । केपीले नजरअन्दाज नगरून् र पश्‍चाताप गरेर पछि हट्नुमै उनको भलाई छ । त्यसले सबै लोकतन्त्र विरोधी निरंकुशताका पक्षपातीहरूलाई बढार्छ भन्‍ने मेरो विश्‍वास छ ।

म साथीहरूसँगै विरोधमा सहभागी छु । म पनि सँङ्गै सडकमा नाराबाजी गरिरहेको छु । ‘प्रतिनिधि सभा पुनस्र्थापित गर, आदेश देउ प्रचण्ड हामी लड्न तयार छौँ,’ भन्‍ने नारामा म पनि साँच्चिकै भावुक भएको छु । प्रतिगमन मुर्दावाद, गणतन्त्र जिन्दावाद लोकतन्त्र जिन्दावाद, संविधानको रक्षा गरौ । निरंकुशतन्त्र चाहिंदैन !!!

(सातदो बाटोमा निस्केको जुलुसमा प्रचण्डले राखेको मन्त्वय )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank