हिन्दु समाजमा कुकुरलाई पुजा : दलितलाई अपमान !

टिका कुमारी विश्वकर्मा २८ कार्तिक २०७७, शुक्रबार १७:१७

कुकुरलाई सम्मान र दलितलाई अपमान

नेपाली समाजमा बहुजाति, बहुसांस्कृतिक, बहुभाषीक र बहुधार्मिक चरित्रको प्रतिबिम्वन कै रुपमा अनेकौं चाडबाड, पर्व र उत्सवहरु मनाउने गरिन्छ । लामो समयदेखि हिन्दु धर्मद्धारा निर्देशित र संचालित समाज भएको हुनाले अरु धार्मिक चाडपर्वको तुलनामा मुख्यतः हिन्दुहरुले मान्ने दशैं तिहारलाई विशेष महत्वका साथ मनाउने प्रचलन रहँदै आएको छ । तिहार वा दिपावली पर्वलाई नेपाल र भारतमा निकै धुमधामसँग मनाउने गरिन्छ । विभिन्न हिन्दु धार्मिक ग्रन्थहरुकै आधारमा हिन्दु समाजमा दलित समुदायलाई अछुत बनाइएको छ । यही धर्मले घरपालुवा जनावर कुकुरलाई पुजा गरेर भान्सा कोठा र चोटामा लगेर राख्न सिकाएको छ भने सीप र कलाका पारखी श्रमजीवी दलित समुदायलाई अछुत बनाएर अपमान र घृणा गर्न सिकाएको छ । यस लेखमा तिहारको सन्दर्भमा हाम्रो नेपाली समाजमा देखिएको र भोगिएको धार्मिक विकृतिलाई कोट्याउने प्रयत्न गरिएको छ ।
हिन्दु धर्ममा तिहार
तिहारलाई नेपाली समाजमा हिन्दु धर्मालम्बीहरुले दोस्रो ठूलो चाडको रुपमा मनाउने गर्दछन् । तिहारको पहिलो दिन कागलाई यामराजको दूतको संवाहकको रुपमा लिएर पुजा गरिन्छ । दोस्रो दिन यमराजको बाहनको रुपमा कुकुरलाई पुज्ने चलन छ । कुकुर घरपालुवा जनावरभित्रको पनि अत्यन्त विश्वासिलो र कर्तव्यनिष्ट प्राणी हो । यसले एक गाँस कलोको भरमा घरको रखबारी गर्नुको साथै जंगली जनावरहरुलाई लखेटेर आफनो डिउटी पुरा गर्दछ । त्यसपछि तेस्रो दिन गाईलाई लक्ष्मीको रुपमा पुजा गरिन्छ भने चौंथो दिन गोरुको पुजा गरिन्छ । अन्तिम पाँचौं दिन दिदीबहिनीहरुले भाईको पुजा गरेर निधारमा पानी र तेलको घेरा हालेर रक्षा बन्धन गरी टिका र माला लगाईदिने प्रचलन छ ।
नेपाली समाजमा काग, कुकुर अनि गोरुलाई पनि धुमधामसँग वर्षमा एकचोटी धार्मिक परम्परा अनुसार पुजाआजा गरी मान्ने प्रचलन छ । तर, समाज विकासको प्रक्रियामा निकै नै महत्वपूर्ण भूमिका खेल्दै आएका सीप र कलाका पारखी दलित समुदायलाई फेरी सधैंभरी अपमान गरेर हुर्मत लिइन्छ । आखिर नेपाली समाजका असली संबाहक शक्ति दलितमाथि किन यति धेरै ज्यादती गर्ने गरी परम्पराको थालनी भयो त ? कुकुरलाई घरको रखबारी ग¥यो, विश्वासिलो र गुनिलो जनावर भनेर पुजा गर्ने, गोरुलाई जमिन भास्न सक्ने, जोत्न सक्ने भनेर शक्तिको प्रतिकको रुपमा पुजा गर्ने अनि दलित समुदाय जो मान्छे हो, विवेकी छ र सिङ्गो समाजलाई संचालन गर्दछ, उसलाई अछुत बनाउने ? यो किन र कसरी भयो त भन्दा उत्तर सहज छ कि यो हिन्दु धर्मको गलत नीति, मान्यता र संस्कृतिको कारणले गर्दा हामी दलित समुदायमाथि अपमान भएको हो ।

कुकुरलाई पुजा दलितलाई तिरस्कार
हाम्रो समाजमा मानिने चाडबाड र पर्वहरु मध्ये कतिपय धार्मिक चरित्रका छन् भने कतिपय सांस्कृतिक महत्वका पनि छन् । त्यस्तैगरी कतिपय सामाजिक अन्तरवस्तुका पनि छन् । हरेक चाडबाडका पछाडि तिनका केही ऐतिहासिक, सामाजिक, आर्थिक पृष्ठभूमिहरु पनि जोडिएका छन् । आखिर जे भएपनि चाडबाडहरु मानिसका थकाई मेट्ने, खुशियाली मनाउने, पारिवारिक भेटघाट गरी सामाजिक पुनर्मिलन हुने र मिठो मसिनो खाएर दुःख–सुख साटासाट गर्ने उत्सव हो । हाम्रो देश नेपाल विभिन्न जातजातिको बसोबास रहेको सांस्कृतिक विविधताले भरिएको सप्तरङ्गी फुलको बगैंचा हो । यहाँका सबै जात, जाति र समुदायको आफ्नै धार्मिक र सामाजिक–सांस्कृतिक विशेषता झल्कने चाडबाड र पर्वहरु छन् । तर, विडम्बना नै मान्नु पर्दछ कि समाजका असली श्रमजीवी दलित समुदायको आफ्नै छुट्टै चाडबाड नै छैन । युगौंदेखि हिन्दुवादी राज्यसत्ताले दमनमा राखेर अमानवीय उत्पीडन गरिएर राखिएको हुनाले उनीहरुको आफ्नो छुट्टै पर्वको विकास नै हुन सकेन । हिन्दु धर्मले यतिसम्म ग¥यो कि बरु पशुपंक्षी वर्गमा पर्ने काग, कुकुर र गोरुको पुजाआजा गर्ने र सम्मान गर्ने प्रचलन बसाल्यो तर दलितलाई भने अछुतको अछुतै बनायो । यसर्थ, हिन्दु धर्मको नितान्त गलत, मिथ्या र विभेदकारी नीति, विधान र परम्परा तथा संस्कृतिलाई हामीले अब च्यातेर मिल्काउन तयार हुनुपर्दछ । हाम्रा पिता पुर्खाले नजानेर, नबुझेर, नसकेर सहे तर हामी अब सचेत भईसकेकोले यी शासकहरुका सबैखाले उत्पीडन र ज्यादतीका विरुद्ध सबै एकजुट भएर संघर्षमा जुट्न आवश्यक छ ।

दलित हुँदाको भोगाई र पीडाको अनुभूति
हाम्रो समाजमा हिन्दु धार्मिक कुसंस्कारको गहिरोे प्रभाव परेको छ । यस संंस्कारले कुकुर र बिरालोलाई छोइछिटो गर्दैन, ती जनावरहरुलाई घरको कोठा र चोटामा जताततै जान र बस्न दिन्छ । तर, दलितहरुलाई भने छोइछिटो हाल्ने मात्रै होइन कि छि–छि र दुर–दुरको अत्यन्त अमानवीय व्यवहार गरिन्छ । जब दलित समुदायको बच्चा जन्मँदादेखि नै गाउँघर, टोलछिमेकमा उनीहरुको वालमनस्थितिमा नकारात्मक असर पर्नेगरी ती वालबच्चामाथि दुव्र्यवहार शुरु गरिन्छ । म क्षेत्री–बाहुन समाजमा हुर्केकी हुनाले मलाई अहिलेसम्म पनि राम्रोसँग याद छ कि सानैदेखि मसँगै हुर्केका, पढेका, खेलेका र असाध्यै मिल्ने क्षेत्री–वाहुन साथीहरु थिए । हामी दुई यति धेरै मिल्थ्यौंकि खाना बनाउँदा पनि उनको घरमा उनी आफ्नो घरभित्र भान्सामा पसेर खाना पकाउँदा म भने उनको घरको झ्यालबाट हेर्ने गर्दथें । हामीलाई उनीहरुको घरमा पस्न दिईंदैनथ्यो ।

पानीको प्यास लाग्दा उनले अम्खराबाट नछोइकन माथिबाट राखिदिन्थन् भने मैले अँजुली थापेर पानी खान्थें । उनी हाम्रो घरमा चाहिँ भित्रै पसेर हामीसँगै मिलेर खाना बनाउँदथ्यौं तर तिनी साथीले हाम्रो घरमा कहिल्यै पानी पनि खाँदैनथिन् । त्यतिबेलाको चेतनामा मलाई विभेदको नरमाईलो अनुभूति भए पनि सहजै लाग्दथ्यो । तर, जब म समाज र राजनीतिलाई बुझ्ने भएपछि समाजको यो असमानता र विभेद डरलाग्दो भएको अनुभूति भयो । ति साथी अहिले पनि भेट हुँदा हामीले छोएको खाँदिनन् । वास्तवमा यो कुनै व्यक्ति विशेषको दोष नभएर सिङ्गो सामन्तवादी संस्कृति र संरचनाको दोष थियो । हामी दलित समुदायमाथि हुने गरेको अपमान र विभेदको कु–संस्कृतिले समाजका सबै समुदायका वालबच्चाको मनोविज्ञानमा गहिरोसँग विभेदको जरा गाडेको प्रष्ट हुन्छ ।  हामीले यो कुसंस्कृति र विकृतिको एउटा पनि जरो नरहने गरी उखेल्नु पर्दछ ।

हिन्दु धर्मले यतिसम्म ग¥यो कि बरु पशुपंक्षी वर्गमा पर्ने काग, कुकुर र गोरुको पुजाआजा गर्ने र सम्मान गर्ने प्रचलन बसाल्यो तर दलितलाई भने अछुतको अछुतै बनायो । यसर्थ, हिन्दु धर्मको नितान्त गलत, मिथ्या र विभेदकारी नीति, विधान र परम्परा तथा संस्कृतिलाई हामीले अब च्यातेर मिल्काउन तयार हुनुपर्दछ ।

हामीहरुलाई कसैले बाटो हिँड्दा होस् वा जताकतै दमाई, कामी, सार्की भनेर सम्बोधन गर्दा पनि विभेदको अनुभूति हुने गर्दछ । ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा कुँई’ गरेर कराएझैं दलित समुदायमाथि बच्चैदेखि उत्पीडन र ज्यादती गरिएको हुनाले कुनै पनि रुपको विभेदका विरुद्ध विद्रोही भावना आउनु स्वभाविक हुन्छ । हाम्रो नेपाली समाज यस्तो छकि आफूभन्दा जतिसुकै उमेरले वा पदले ठूलो भएपनि दलित समुदायका मान्छेलाई गैरदलितले “तँ र तिमी” भनेर बोलाउने गर्दछन् । यसो हुनुको मुख्य कारण भनेको कुकुर र गोरु वा कागलाई पुजा गर्ने तर दलितलाई अपमान गर्ने प्रचलन र मनुवादी विचारको विकास हुनु नै हो । कोही पढेलेखेका गैरदलित युवाले दलित बुबा वा हजुरबुबालाई ‘तँपाई र हजुर’ भनेर सम्बोधन गरे भने उसलाई घरमा गएपछि ती युवालाई परिवारका सबै सदस्यले “त्यो जाबो दलित बुढालाई पनि तँपाई भनेर सम्बोधन गर्ने हो ?” भनेर गाली गर्ने हामी नेपालीको परम्परा रहिआएको छ । यसरी दलितलाई सदैव हेप्ने परम्परा नै बन्दै आएको छ ।

सांस्कृतिक रुपान्तरणको खाँचो
हाम्रो नेपाली समाज सामन्तवादी समाजबाट हुर्केर विकास भएको समाज हो । सामन्तवादी कालमा जस्तै दलित र महिला समुदायमाथि हेप्ने, हेलाहोचो गर्ने र विभेद गर्ने चलन अझै पनि उस्तै छ । गाउँघरमा मात्रै नभएर शहर बजारमा पनि छोरा र छोरीका बीचमा भेदभावको व्यवहार कायम छ । देश संघीय गणतन्त्रमा गएर सिंहदरबारको अधिकार गाउँगाउँमा आए पनि पुरानो रुढीवादी चेतना र सोंच हरेक व्यक्तिमा अझै पनि छँदैछ । दलितमाथि गरिने पुरानै अमानवीय व्यवहार र विभेदका रुपहरु जस्ताको तस्तै छन् । त्यसकारण केन्द्रीय सरकारको रुपमा रहेको नेपाल सरकार र प्रदेश तथा स्थानीय तहका नगरपालिका र गाउँपालिकाहरुले दलित र महिलामाथि हुने गरेका विभिन्न प्रकारका ज्यादती र उत्पीडनका विरुद्ध नीतिको विकास गर्नुपर्दछ ।
संविधानले स्थानीय तहलाई सबैभन्दा तल्लो तहको सरकारको भूमिका दिएको हुनाले अबका दिनमा पालिकाहरुले दलित समुदायमाथि हुँदै आएका छुवाछूत र विभेदका स्वरुपहरुलाई अन्त्य गर्नको लागि नीति नियम बनाएर छुट्टै बजेटको समेत विनियोजन गर्नुपर्दछ । प्रत्येक वर्ष हरेक गाउँपालिकाहरुले छुवाछूत विरुद्धको सामाजिक अभियान चलाउनका लागि आवश्यक निश्चित वजेट छुट्याएर सबै वार्डहरुमा छुवाछूत विरोधी सांस्कृतिक अभियान चलाउनु पर्दछ । त्यसैगरी पालिकामा काम गर्ने सबै गैरसरकारी संस्थाहरुले पनि अनिवार्य रुपमा दलित समुदाय र महिलाको पक्षमा काम गर्नुपर्ने कानुनी प्रावधानको व्यवस्था गरिनुपर्दछ । यसरी राज्यका तीनै तह संघ, प्रदेश र स्थानीय तहका सरकारले छुवाछूत विरुद्ध र महिला हिँसाका विरुद्धको वजेटसहितको सांस्कृतिक रुपान्तरणको अभियान चलाएर मात्रै कुकुरलाई सम्मान र दलितलाई अपमान गर्ने गलत संस्कृतिलाई उल्ट्याउन सम्भव छ । यसको लागि राज्य र सबैपक्षको प्रतिवद्धताको आवश्यकता छ ।

(लेखकः अखिल नेपाल महिला संघ (अनेमसंघ) की केन्द्रीय सदस्य तथा बाग्लुङ्गकी दलित अधिकारकर्मी हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank