अम्बेडकरवादी विचारधाराबाट मात्रै दलित मुक्ति सम्भव छ

विद्या मण्डल २२ आश्विन २०७७, बिहीबार २१:५६

 

बहस: नेपालमा दलित भविष्य

मनुवादीशास्त्र वर्ण व्यवस्थामा आधारित एकल जातिय वर्चस्व राज्यसत्ताका कारण सामाजिक, साँस्कृतिक, आर्थिक, शैक्षिक, राजनीतिक लगायत मानवीय जीवनको समग्र क्षेत्रमा पछाडि पारिएका दलित समुदायमाथि शोषण, दमन, अन्याय, अत्याचार, हत्याहिंसा र उत्पीडन हुँदै आईरहेको छ । यो अन्यायको जंजिरबाट मुक्त हुन र अधिकार सहितको मानवीय जीवनमा बाँच्ने आशले दलित समुदायले नेपालमा भएका हरेक राजनीतिक परिवर्तनको आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आफनो रगत, पसिना बगाएर योगदान गरे । तत्पश्चात पनि दलितहरु न त अन्याय अत्याचारको दलदलबाट मुक्त हुन सके न त राज्यसत्ता मै स्थापित हुन सके । नेपालमा दलितको रगत पसिनाले बनेको बलिदानीलाई प्रजातान्त्रिक तथा कम्युनिस्ट आन्दोलन गर्नेहरु भजाउदै सत्तामा पुग्ने र उल्टै दलितमाथि बेइमानी राजनीति गर्दै आईरहेका छन् । जसका कारण उत्पीडित दलित समुदाय राज्यसत्ताबाट उपेक्षित नै भईरहेका छन् र यिनीहरुमाथि दिन प्रतिदिन अन्याय अत्याचार बढिरहेको छ ।

दलितहरुको ठुलो हिस्सा हालसम्म पनि आफ्नो मुक्तिको लागि कांग्रेस, कम्युनिष्ट र मधेशवादी विचारधाराका पछाडि लागेर संघर्ष गरिरहेका छन् तर ती विचारधाराको आधारमा गरिएको संघर्षबाट केवल दलितलाई नै प्रताडित गरिरहेका जाति वा समुदायलाई मात्रै अझै मजबुत र सम्पन्न बनाईरहेको देखिन्छ । कुनै पनि विचारधारा कतिको उपयोगी छ भन्ने कुरा काल र परिस्थिति अनरुप छ कि छैन आकंलन गरी हेर्नुपर्ने हुन्छ । नेपाल र भारतको सामाजिक संरचना एवं व्यवस्था समान छ, यी दुईटै देशमा वर्ण व्यवस्थामा आधारित समाजिक संरचनाकै कारण दलितहरुको समस्या समान छ, यसको उपचार अर्थात समाधान पनि केवल एउटै विचारधाराबाट मात्रै हुन्छ । दलित समुदाय जुन वर्ण व्यवस्थाबाट प्रताडित छन, त्यो वर्ण व्यवस्था आज भन्दा ३५ सय वर्ष अघिदेखि भारतीय उपमहाद्धिप अर्थात आजको भारतमै उत्पति भएको शोषणकारी व्यवस्था हो । यो वर्ण व्यवस्थालाई ध्वस्त पार्न र दलित समुदायको अधिकारमा बहुआयामिक क्रान्ति ल्याउने कार्यको विचारधारा पनि भारतमै प्रतिपादन वा फलैफुलैका छन् । जुनकि रुढीवादी परम्परा, अमानवीय एवं असमान सामाजिक व्यवस्थाबाट प्रताडित भएका मानवहरुलाई यसै जुनीमा आन्दोलनद्धारा मुक्ति गराएर समता – स्वतन्त्रता र बन्धुत्वमा आधारित व्यवस्था स्थापित गराउने मानवतावादी विचारधारा हो, जसको नाम अम्बेडकरवाद हो । अम्बेडकरवाद संसारको सबैभन्दा प्रतिभाशाली र विकसित विचारधारा हुनुका साथै वैज्ञानिक तथ्यको आधारमा मानवीय उत्थानको लागि गर्ने एक आन्दोलन एवं प्रयास हो । यो विचारधाराबाट संसारको जुनसुकै समस्याको समाधान सहजै गर्न सकिन्छ । साथै अम्बेडकरवाद सामाजिक रोगको त्यो अचुक उपचारविधि र औषधि हो जुन रोगको लागि संसारको कुनै पनि वादसँग समाधान छैन ।

अम्बेडकरवाद विचारधारालाई प्रतिपादन गर्ने पात्र र समाज उत्थानका लागि उनीद्धारा गरिएका प्रयास र संघर्षको बारेमा नेपाली दलितहरुले बुझनु र जान्नैपर्छ । बाबा साहबको नामबाट विश्वभर प्रख्यात डा. भिमराव अम्बेडकरको दार्शनिक विचार र उनीद्वारा तमाम उत्पीडित बहुजन समुदायका लागि गरिएका सामाजिक आन्दोलनको उपज नै वास्तवमा अम्बेडकरवाद हो । बाबा साहब डा. भिमराव अम्बेडकर एउटा समाज सुधारक, दार्शनिक, राजनितिज्ञ, अर्थशास्त्री, इतिहासकार, वकिल, प्राध्यापक, लेखक, पत्रकार, सम्पादक, कानुनविज्ञ हुनुको साथसाथै विश्वस्तरको विधिवेत्ता र भारतीय संविधानका मुख्य निर्माता थिए । बुवा रामजी सतपाल र आमा भीमाबाई सतपालको १४ औं र अन्तिम सन्तानको रूपमा १४ अप्रिल १८९१ मा भारतको मध्य प्रदेश ईन्दोर नजिकै रहेको महु छावनी भन्ने गाउँमा भएको थियो । डा. अम्बेडकरका परिवार समाजमा अछुत बनाएका महार जातिका थिए र उनीहरु महाराष्ट्रको रत्नागिरि जिल्ला अम्बाडे गाँउका स्थायी वासिन्दा थिए । उनको विवाह १५ वर्षकै उमेरमा सन् १९०६ मा ९ वर्षिय रमाबाई सँग भएको थियो । रोगबाट ग्रस्त रमाबाईको मृत्यु सन् १९३५ मा भएपछि डा. अम्बेडकर खराब स्वास्थ्य स्थितिका कारण सन् १९४८ मा डा.सवितासँग दोस्रो विवाह गरेका थिए । भारतको तात्कालिन सामाजिक व्यवस्थालाई चिर्दै सन् १९०७ मा म्याट्रिक परिक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भई मुम्बईको एलफिन्स्टन कलेजमा भर्ना हुँदा उनको अब्बल पढाई र किताब प्रतिको लगावबाट प्रभावित भएर समाजसेवी एवं शिक्षाप्रेमी दादा केलुस्करले उनलाई आफनो साथमा लिएर बडौदाका महाराज सयाजीराव गायकवाड तेस्रो कहाँ पुगे र उनको बारेमा सबै कुरा बडौदाका महाराजलाई सुनाए पछि महाराजले बाबा साहेबलाई केहि प्रश्न तेर्साए र सो प्रश्नमा अम्बेडकरद्धारा आएको जवाफबाट सन्तुष्ट भएर अझै धेरै विषयहरुमा शिक्षा हासिल गर्न उनलाई प्रति महिना रु. २५ को छात्रवृति दिई अमेरिका अध्ययन गर्न पठाएका थिए । उनले समाजशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र र मानव विज्ञान विषयमा विभिन्न युनिर्भसिटिबाट विद्यावारिधी शिक्षा हासिल गरेका थिए । बाँम्बे युनिर्भसिटीबाट बिए, अमेरिकाको कोलम्बिया युनिर्भसिटीहरुबाट एम.ए. र पिएच.डी. लंदन स्कूल अफ इकोनोमिक्सबाट एम.एससी, डि.एस.सी, ग्रेज इनबाट बैरिस्टर कोर्स (विधि अध्ययन ) गरी विद्यावारिधी शिक्षा आर्जन गरेका थिए । बाबा साहेब डा.भिमराव अम्बेडकरले अध्ययन गरेका स्कुल, विश्वविद्यालयहरु आज पनि उनलाई सबैभन्दा मेधावी विद्यार्थीको रुपमा चित्रण गरिन्छ ।

भारतको सामाजिक, आर्थिक, राजनितिक तथा साँस्कृतिक पद्धतिबाट नेपाली समाज धेरै प्रभावित छ, त्यसकारण भारतमै हुर्केका मानवतामा आधारित अम्बेडकरवादलाई अंगाल्नुको विकल्प छैन । अब हामीले नेपालको दलित मुक्ति आन्दोलनको मार्गदर्शक सिद्धान्त अम्बेडकरबादलाई बनाउनु पर्छ । नेपालको दलित आन्दोलनलाई सहि दिशामा डो¥याउन र बलियो एवं परिणाममुखि बनाउन दलित अगुवा र आम दलित जनसमुदायले अन्य विचारधारालाई त्याग गरि अम्बेडकरवादी विचारधारा अपनाएर हुबहु प्रचार र स्थापित गरे मात्रै दलितको मुक्ति हुनेछ ।

 

अमेरिकाको कोलम्बिया युनिर्भरसिटिले त उनलाई सिम्बल अफ नलेज अर्थात ज्ञानको प्रतीकको रुपमा सम्मान दिएका छन् । बाबा साहेबले करिब ४५ हजारभन्दा बढी किताबहरु अध्ययन गरेका थिए र अनगिन्ती लेख , अनेकौं किताब, थेसिस, र सोधपत्रहरु लेखेका थिए । मनुवादी व्यवस्थाका समर्थकहरुद्धारा उनीसँग विद्यालय देखि जागिर गर्ने स्थल सम्म छुवाछूत भेदभाव गरिएको थियो, यो भेदभावले उनको मन मस्तिष्कमा अति नै आघात पु¥यायो र उनले वर्ण व्यवस्था र वर्ण व्यवस्थाद्धारा सिर्जीत यावत समस्याहरु विरुद्ध लड्ने प्रण लिए । बाबा साहब डा. भिमराव अम्बेडकरले भगवान बुद्ध, सन्त कबीर, महात्मा ज्योतिबा फुले लगायतका सामाजिक सुधारवादीहरुको आदर्श, उपदेश र प्रेरणाका साथ भारतमा उत्पीडनमा परेका अछुतहरुको नेतृत्व गर्दै अन्याय तथा शोषणविरुद्ध अश्पृश्यता विरोधी आन्दोलनको शुरूवात महाराष्ट्रबाट गरेर भारतभर फैलाए र त्यहाँका १६.५ प्रतिशत दलितहरुलाई अलग्गै राजनैतिक हैसियत दिलाउन सफल भए । वहाँ सामाजिक आन्दोलन र स्वतन्त्रता आन्दोलनमा सरिक हुँदै भारतीय संविधान निर्माण गर्नका निमित्त बनेको संविधानसभाको संविधान मस्यौदा समितिको अध्यक्षमा चयन भएर भारतको संविधान लेखे । उनी स्वतन्त्र भारतको प्रथम कानुनमन्त्री समेत भएका थिए । उनले संसदमा पेस गरेको हिन्दु कोड बिल संसदबाट पास नभएकोले मन्त्री पदबाट राजीनामा समेत दिएका थिए । डा. अम्बेडकरले आफ्नो सम्पुर्ण जीवन वर्ण व्यवस्थाबाट समाजमा व्यापत रहेको जातिय व्यवस्था र आवाजविहीन उत्पीडित समुदायको बराबरी अर्थात समानताको हक अधिकारका लागि संघर्षमा बिताएका थिए । सन् १९५६ मा लाखौं दलित अनुयायीका साथ मानवतावादी बुद्ध धर्म अपनाएर बुद्ध धर्मको प्रचारप्रसारमा लागे । बाबा साहब डा.अम्बेडकरलाई मधुमेह रोग सहित गम्भिर स्वास्थ्य समस्याका कारण सन् १९५६ मे ६ तारिखका दिन ६५ वर्षको उमेरमा निजको आफनै निवास दिल्लीमा मृत्यु भयो । मरणोपरान्त धेरै समयपछि भारत सरकारले सन् १९९० मा भारतको सर्वोच्च सम्मान “भारत रत्न” बाट उनलाई सम्मानित गरेको थियो । डा. अम्बेडकरको सम्मान र आर्दशमा धेरै सार्वजनिक संस्थान, विश्वविद्यालयहरु र स्थानहरुको नामाकरण गरिएको छ । उनीद्धारा लिखित संविधानको जगमा भारत आर्थिक रुपले महाशक्ति राष्ट्र बन्नमा कृयाशिल र संसारकै सबैभन्दा ठुलो लोकतान्त्रिक राष्ट्रको रुपमा रुपान्तरण भएको छ । बाबा साहबले “शिक्षित बनौं, संगठित होऔं र संघर्ष गरौ” को नारा दिएर दलित बहुजन समुदायलाई आफ्नो अधिकार प्राप्ति गर्न बाटो देखाए । दलितहरुको मुक्तिका लागि उनले शिक्षामा सबैभन्दा बढि जोड दिएका थिए, उनले शिक्षालाई पहिलो शर्तका रूपमा लिएका थिए । ज्ञान र सीप आर्जन गरी जागिर खानु मात्रै शिक्षा होईन बल्कि शिक्षाको लक्ष्य व्यक्तिगत र सामाजिक रुपान्तरणका लागि हुनुपर्छ भन्ने उनको मान्यता थियो ।

सामाजिक न्याय सहितको समतामूलक समाज निर्माणको लागि आवाज उठाउने र परिणामसम्म पु¥याउनेमा बाबा साहेब डा. भिमराव अम्बेडकरको भुमिका अग्रणी छ । उनले अमानवीय वर्ण व्यवस्थाको अन्त्य गर्नका लागि बलियो विचारधारा दिएका छन् । साथै उत्पीडित बहुजन समुदायलाई माथि उठाउन आरक्षणको नीति आवश्यक छ भनेर सम्पुर्ण विश्वलाई नै सन्देश दिए । आरक्षण नीतिकै कारण भारतका करौडौं दलित बहुजनका सन्तानहरुले शिक्षा र सरकारी सेवामा प्रशस्त अवसर प्राप्त गरेका छन् भने त्यहाँका दलितहरुले छुट्टै राजनीतिक हैसियत प्राप्त गर्न सफल भएको छ, जसको परिणामस्वरुप भारतमा दलित समुदायबाट दुई वटा राष्ट्रपति, सयौं सांसद, मन्त्री, राजदुत, विधायक र हजारौं उच्च अधिकारीहरु भएका छन् । यस नीतिकै कारण त्यहाँका दलितहरुको सामाजिक, शैक्षिक स्थिति, आर्थिक अवस्था र राजनैतिक हैसियतमा व्यापक परिवर्तन हुँदै राज्यसत्तामा दलित स्थापित भएको छ । दलित बहुजन समुदायको मुक्ति लागि संविधानमा अभुतपुर्व संबैधानिक व्यवस्था गर्दै मानव भएर मानवीय जीवनका साथ जीवन गुर्जान दलितलाई बुद्ध धर्म अंगाल्नु पर्ने बाटो देखाएका छन । भारतका बुद्ध धर्मका दलितहरुको जीवनशैली र सामाजिक, आर्थिक, राजनैतिक लगायत जीवनका हरेक क्षेत्रमा त्यहाँका हिन्दु दलितहरु भन्दा दिनप्रतिदिन दु्रतगतिमा व्यापक परिवर्तन भईरहेका छन् । डा. अम्बेडकरद्धारा लिखित संविधान लागु हुनु पुर्वको भारत र आजको भारतमा दलितको अवस्थालाई हेर्ने हो भन्ने अम्बेडकरवादका कारण अभुतपुर्व परिवर्तन भएको छ । भारतसँग नेपालको सर्दियौंबाट नुन देखि सुन र रोटी देखि बेटिको गहिरो सम्बन्ध छ । त्यहाँबाट हाम्रो नेपालमा अनेकौं कुराहरु समेत सदियौं देखि आयात हुँदै आईरहेका छन् । तर समाजको सबैभन्दा तल राखिएका समुदाय र समुहलाई माथि उठाउँन प्रयोगमा ल्याएको आरक्षण नीति भारतमा संवैधानिक रुपमा लागु भएको ६ दशक पछि मात्रै नेपालमा आयात गरि अभ्यासमा ल्याएका छन् । नेपालमा यस आरक्षण नीतिलाई दलितको हकमा वास्तविक जनसंख्याको आधार एवं दलितमाथि गैर दलित र राज्यसत्ताबाट विगत देखि गर्दै आईरहेको विभेदको क्षतिपुर्ति बापत समग्रमा २५ प्रतिशत आरक्षण कायम गरि यसलाई अझ बढि फराकिलो गर्दै निजी संस्थान र क्षेत्रहरुमा समेत लागु गर्नुपर्ने लगायतका सुधारवादी कदमहरुको मुद्दा पनि दलित आन्दोलनले उठाउँनु पर्छ ।

वर्ण व्यवस्था विरुद्ध नलडेसम्म समाज साच्चिकै प्रगतिशील हुने सक्दैन । दलितको यावत पिडा र समस्याको समाधानसँगै स्वभिमान र अधिकारको माध्यमबाट दलितिकरण हटाउन केवल अम्बेडकरवादले मात्रै गर्न सक्छ, यसर्थ अम्बेडकरवादको अति नै आवश्यकता नेपालमा छ । अर्को हामी सम्पुर्ण दलितहरुले बुझ्नु पर्ने कुरा यो हो कि दलित मुक्तिका लागि सत्ता प्रधान विषय हो । सत्तामा स्थापित हुन र दलित समुदायको छुट्टै राजनीतिक हैसियत प्राप्त गर्न केवल अम्बेडकरवादी विचारधाराबाट गरिने मुभमेन्ट र आन्दोलनले मात्रै सार्थक हुनेछ । हुन त सन् १९५६ मा बाबा साहेब डा. भिमराव अम्बेडकर र्वल्ड बौधिष्ट सम्मेलनमा भाग लिन काठमाडौं आएका थिए । काठमाडौमा तात्कालिन दलित नेताहरुले वहाँलाई नगर परिक्रमा गराएर भब्य स्वागत पनि गरेका थिए । बाबा साहबले त्यतिबेलै नेपाली दलितहरुले पनि वर्ण व्यवस्था र आफ्नो अधिकार पाउनका निमित्त अम्बेडकरवादी विचारधाराबाट आन्दोलन गर्नेपर्ने भनेका थिए, साथै अधिकार मागेर पाईदैन, संगठित संघर्ष गरेर खोस्नु पर्छ भनेर उद्घोष गर्दा पनि तात्कालिन नेपालका दलित नेताहरुले अम्बेडकरवाद विचारधारा मान्न आवश्यक ठान्नेन जसको परिणाम स्वरुप दलित मुक्ति आन्दोलन दिशाहिन र कमजोर बन्दै गयो । नेपालका बहुसंख्यक दलित आन्दोलनकर्मीहरु आजका दिनसम्म पनि गैर अम्बेडकरवादी विचारधाराबाट ग्रसित छन, जसको फलस्वरूप दलित आन्दोलन झनै कमजोर र परिणामहिन बन्दै गईरहेको अवस्था छ । भारतको सामाजिक, आर्थिक, राजनितिक तथा साँस्कृतिक पद्धतिबाट नेपाली समाज धेरै प्रभावित छ, त्यसकारण भारतमै हुर्केका मानवतामा आधारित अम्बेडकरवादलाई अंगाल्नुको विकल्प छैन । अब हामीले नेपालको दलित मुक्ति आन्दोलनको मार्गदर्शक सिद्धान्त अम्बेडकरबादलाई बनाउनु पर्छ । नेपालको दलित आन्दोलनलाई सहि दिशामा डो¥याउन र बलियो एवं परिणाममुखि बनाउन दलित अगुवा र आम दलित जनसमुदायले अन्य विचारधारालाई त्याग गरि अम्बेडकरवादी विचारधारा अपनाएर हुबहु प्रचार र स्थापित गरे मात्रै दलितको मुक्ति हुनेछ । अब दलितहरु काङ्ग्रेसी, कम्युनिस्ट, र मधेसवादी बन्नुको सट्टा अम्बेडकरवादी बन्नुपर्छ । तसर्थ नेपालका तमाम दलित आन्दोलनकर्मीहरुले अम्बेडकर र अम्बेडकरवादलाई राम्रो सँग बुझौं र आम दलित समुदायलाई बुझाउँदै एक बलियो एकीकृत अम्बेडकरवादी आन्दोलन निर्माण गरेर अगाडि बढे मात्रै नेपालको दलित मुक्ति आन्दोलन बलियो र परिणाममुखी हुन्छ ।
(लेखक बहुजन दलित महिला अभियन्ता हुन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank