बहस : नेपालमा दलित भविष्य
कुनै समय भारतको तत्कालीन केरेला राज्यमा दलित समुदायमाथिको विभेद उत्कर्षमा पुग्यो । जातको विषयमा यति रंग भरियो कि, कथित उच्च जातका नेतृत्वले तल्लो जातका महिलामाथि खुलेआम शोषणको नीति बनाए । तल्लो जातका महिलाहरुले स्तन ढाक्न नपाउने आदेश जारी भयो । ब्राह्मण महिलाले मात्र शरीरको माथिल्लो भाग ढाक्ने सुविधा थियो । अन्यले ढाकेमा स्तनको स्वरुप र बनावट अनुसार राज्यले तय गरेको अत्यधिक कर तिर्नुपथ्र्यो । केरेलाका दलित महिलाहरुलाई आफ्नै स्तन अभिषाप भयो । १८ औं शताब्दीको अन्त्य र १९ औँ शताब्दीको सुरुवाती समयको यो घटनाले त्यहाँको दलित समुदाय त्रसित भयो । किनभने, अधिकांशसँग राज्यले तोकेको मुलाकरम (स्नत कर) तिर्नसक्ने क्षमता थिएन ।
सन् १८०३ मा नांगेली नामक एक दलित जातकी महिलाले समाजको निर्णय विरुद्व विद्रोह गर्ने निर्णय गरिन् । अत्यन्तै विपन्न परिवारकी नांगेलीले समाजको सभ्य, अग्रज र उच्च भनिएका व्यक्तिबाट पटकपटक पीडा भोग्नु परेपछि शरीरको माथिल्लो भाग छोपेर हिँड्ने निर्णय गरिन् । त्यसको अर्थ, राज्यलाई कर तिर्ने उद्देश्य उनको थिएन । विद्रोह गर्ने निर्णय थियो । निर्णयलाई उनका श्रीमान चिरुकण्डनले साथ दिए । तर, विद्रोह लामो समय टिकेन । स्थानीय अधिकारीहरुले नांगेली र उनका श्रीमानलाई शरीरको माथिल्लो भाग ढाकेवापतको कर तिर्न पटक–पटक दवाव दिए । दवाव सहन नसकेर नांगेली आफैंले आफ्ना दुबै स्तन काटेर केराको पातमा राखी स्थानीय अधिकारीलाई बुझाईन् । उनको तत्कालै मृत्यु भयो । नांगेलीको स्तनबाट बगेको रगतले केरेलामा विद्रोहको सुरुवात गर्यो । त्यसमाथि, उनकै चितामा देह त्याग गरेर उनका श्रीमान चिरुकण्डनले कथित उपल्लो जात र सत्तालाई चुनौति थपिदिए ।
स्तन कर र राज्यको विरोधमा पटक–पटक आन्दोलन भए । विद्रोहमा केही उच्च जातका महिला र गैर दलित पुरुषहरुको सहभागिता भयो । सहज थिएन विद्रोह । गुम्साहट तोडिन ५ दशक लाग्यो । तर, नांगेली घटनाले समाजलाई जागरुक गरायो । तल्लो जातका महिलाहरु एकजुट भए । आफ्नो शरीर ढाक्न पाउनुपर्ने माग गर्दै ठूलो विद्रोह गरे । केरेलामा दलित महिलाको विद्रोह, आसपासका राज्यको दवाव र अंग्रेजको दवावका कारण तत्कालीन नेतृत्वले सन १८५९ जुलाई २६ मा सबै महिलाले शरीरको माथिल्लो भाग ढाक्न पाउने निर्णय भयो ।
समाज र सामाजिक सेवाको विषयमा कलम चलाउँदै गर्दा यहाँ कायम रहेको विभेद, अन्याय, अत्याचार, शोषण र दमनको विषयहरु साथै जोडिएर आउँछन् । समाजलाई रुपन्तरण गर्न, समाजलाई शिक्षित बनाउन, समाजलाई सभ्य बनाउन नेपालमा पनि थुप्रै सामाजिक आन्दोलनहरु भए । धेरै सामाजिक अभियानताहरु जन्मिए । प्रभाव कस्तो रहयो त ? हामी सामाजिक अभियानताको भूमिका कस्तो रह्यो ? विभेद, अन्याय र अत्याचारको विरुद्वमा आवाज उठाउन हामीले नांगेलीको स्तरमा काम गर्न सक्यौं कि सकेनौं ?
नेपाली समाजमा विद्यमान जातीय विभेदको विषयलाई केलाउने हो भने तत्कालीन केरेलाको समाज र अहिलेको समाजमा कुनै फरक देखिन्न । राज्यले औपचारिक घोषणा नगरेको मात्र हो, दलित समुदायलाई पाइला पाइलामा कर तिरेजस्तै अनुभूति छ । पाइला पाइलामा नङ्ग्याइने शैलीकै विभेद छ । पाइला पाइलामा शरीरको स्तन काटिएजस्तै अन्याय र अत्याचार छ । शोषण छ । दमन छ । समाज शिक्षित भयो होला भन्यो, परिवर्तन होला भन्ने कल्पना गर्यो । पिटिक्कै शिक्षित छैन समाज, परिवर्तन भएकै छैन । विभेदको नाममा शैली मात्र फेरियो । हिजो केरेलामा स्तन खुल्ला राख्ने आदेश दिइयो, नेपालमा छुन, हेर्न र बाटो काट्न बञ्चित गरियो । मन्दिर प्रवेशमा रोक लगाइयो । घर प्रवेशमा रोक लगाइयो । विषयहरु उस्तै–उस्तै हुन् । स्वरुप उस्तै–उस्तै हो । केही फरक छैन । त्यसका लागि आन्दोलन ? त्यसका लागि विद्रोह ? सामाजिक रुपान्तरणका लागि अभियान ? शैली ? त्याग ? अनि, निरन्तरता ?
वि.सं. २००३ सालमा पहिलोपटक भगत सर्वजीत विश्वकर्माले दलित मुक्तिको लागि आन्दोलन गरे नेपालमा । नेपालमा सामाजिक आन्दोलनको पहिलो औपचारिक विद्र्रोह थियो सर्वजीतको । उनले विश्व सर्वजन संघ नामक संगठन स्थापना गरे । छोएको आधारमा कुटपीट गर्नेसँग प्रतिवाद गरियो । उक्त घटनाले समाजलाई थोरै झक्झक्यायो । दलितहरुको पनि ब्रतबन्ध हुन थाल्यो । मन्दिरमा प्रवेश गर्न दिइयो । सहभोजका कार्यक्रमहरु सुरु भए । नेपालमा कांग्रेस पार्टीको २००४ र नेकपाको २००६ सालमा स्थापना भएको । राजनीतिक दलहरुको स्थापना हुनुभन्दा अघिबाट सुरुभएको नेपालको दलित आन्दोलन अहिले कहाँ पुग्यो त ? कस्तो शैलीमा निरन्तरता पायो त ? त्यसयता धेरै व्यवस्था फेरिए । धेरै सरकार फेरिए । नीति फेरियो । कार्यक्रम फेरियो । समाजको स्वरुप फेरियो । तर, विभेद फेरिएन । विभेदको शैली थोरै फेरियो । सोच फेरिएन । संस्कार फेरिएन । कारण ? नेपालमा सामाजिक परिवर्तनको लागि सर्वजीतपछि कसैले आन्दोलनको नेतृत्व गर्नै सकेनन् । नेपाली समाजमा विभेद, अन्याय र अत्याचार विरुद्ध साँच्चिकैको आन्दोलन हुनै सकेन । अहिलेसम्म ।
भेदभाव मानिसको मानसिकतासँग जोडिएको विषय हो । जबसम्म मानिसको दिल, दिमाग, मन र मनस्थिति परिवर्तन हुँदैन, तबसम्म भेदभाव अन्त्य हुने र सामाजिक रुपान्तरणको विषय निकै कठिन बन्छ । मान्छेले मान्छे छुँदा गंगास्नान गरेर चोखिनुपर्ने कुप्रथा र अन्धविश्वासहरुलाई समाजले संस्कार बनायो । इज्जतसँग जोड्यो । पहिचानसँग जोड्यो । भेदभावलाई पूर्वजन्मको कमाई र भाग्यवादसँग जोडेर दलित समुदायलाई तल्लोस्तरको र नीच व्यवहार भइरहेको छ । सुकिलो मुकिलो देखेपछि ‘तपाई’ सम्बोधन गर्ने कथित उपल्लो जातका मानिसहरु दलित भन्ने जानकारी पाएलगत्तै ‘तँ’ र ‘तिमी’मा झर्छन् । म आफैं कयौंपटक प्रताडीत भएको छु ।
सामाजिक आन्दोलनमा होमिएका गैरदलित नेतृत्वहरुले समाजिक रुपान्तरणका मुद्धालाई उठाइरहेका छन्, शब्दमा । व्यवहारिक रुपमा उनीहरुले आफ्नो परिवारलाई समेत बुझाउन सकेनन् । कोशिस नै गरेको देखिदैन । आज पनि भेदभावको विरुद्व कार्यक्रमहरु हुन्छन् । दर्जनौं संघसंस्थाहरु मैदानमा छन् । अधिकांशको नेतृत्व गैरदलितले गरेका छन् । तर, सबै कार्यक्रमहरु उपभोक्ताबादी चिन्तनबाट ग्रसित भएको देखिन्छ । परिवर्तनको अपेक्षा नै गरिएको हुँदैन । व्यक्ति आफैं परिवर्तन हुन चाहँदैन । आफ्नो सोचलाई समयअनुकुल बनाउन सक्दैन । सर्वजीतले २००३ मा गरेको सामाजिक आन्दोलनको फोटोकपि आज पनि सामाजिक अगुवाहरुबाट भइरहेको छ । सबै कर्मकाण्डि, देखाउनका लागि । परम्पराको निरन्तरता मात्र । आज पनि समाजमा सहभोजका कार्यक्रमहरु कतैकतै हुन्छन् । सबैलाई बोलाइन्छ । थोरै गैरदलितहरुको उपस्थिती हुन्छ । उपस्थितमध्ये ५ प्रतिशतले पनि सहभोजमा प्रत्यक्ष सहभागिता जनाउँदैनन् । भोज खाने समय छलिएर हिँड्छन् । बाहना बनाउँछन् ।
राजनीतिक दलहरुको स्थापना हुनुभन्दा अघिबाट सुरुभएको नेपालको दलित आन्दोलन अहिले कहाँ पुग्यो त ? कस्तो शैलीमा निरन्तरता पायो त ? त्यसयता धेरै व्यवस्था फेरिए । धेरै सरकार फेरिए । नीति फेरियो । कार्यक्रम फेरियो । समाजको स्वरुप फेरियो । तर, विभेद फेरिएन । विभेदको शैली थोरै फेरियो । सोच फेरिएन ।
बिडम्बना, सामाजिक आन्दोलनको नेतृत्व गरिरहेकाहरुलाई सहभोजको शैली परिवर्तन गरेर सपरिवार सहभोज गरौं भन्दा विरोध हुन्छ । सम्भव छैन भनिन्छ । अस्वीकार गरिन्छ । त्यसको अर्थ, संविधान कानुनले दिएका अधिकारहरुसमेत वास्ता गरिदैन । ती सामाजिक रुपान्तरणको अभियानमा लागेका गैरदलितहरु दलित र गैरदलितबीच मागी विवाह गर्न तयार छन् ? सार्वजनिक मन्दिरहरुमा दलितलाई पुजारी राखौं भन्न तयार छन् ? आज पनि समाजमा गैरदलितको मृत्यु हुँदा दलितलाई बोक्न दिइँदैन । गैरदलितको शव दलितले छुनहुन्छ भनेर व्यवहारिक प्रयोग गराउन अभियान्ताहरु तयार छन् ? सार्वजनिक कार्यक्रहरु जस्तै विवाह, ब्रतबन्धमा दलितलाई छुट्टै खुवाउने प्रचलन तोड्न तयार छन् ? सामाजिक रुपान्तरणका लागि लागेका गैरदलितहरुसँग आज पनि यसप्रकारका प्रश्नहरुको कुनै जवाफ छैन । यी अनुत्तरित प्रश्नहरुको जवाफ भविष्यको गर्वमै छ ।
दुई पक्षले सामाजिक दृष्टिकोण परिवर्तन हुन सकेन । पहिलो, सामाजिक आन्दोलनका शैलीहरु हिजो जस्तो थिए त्यस्तै मात्र भए । समय अनुकुल परिवर्तन हुन सकेनन् । कार्यक्रम र शैलीहरु नयाँ आउन सकेनन् । दोस्रो, सामाजिक अभियान्ता भनिएकाहरु आफैं परिवर्तन हुन सकेनन् । परिवर्तनका लागि माथिल्लो तहबाट सोचिएन । हाम्रो पुस्ताले विभेदको कारण सामाजिक संरचना भन्दै गर्दा परिवर्तन कसले थाल्ने ? धार्मिक र सामाजिक अन्तरघुलन कहाँबाट सुरु गर्ने ? कसले सुरु गर्ने ? २०४६ साल यता परिवर्तनका लागि सर्वजीत जस्ता हजारौं व्यक्ति अघि सरे । सयौं संघसंस्थाहरु खुले । तर, भएका दुईचार सकारात्मक कर्मको पनि अनुसरण गर्न सकिएन । हिजो महानन्द सापकोटा र छविलाल पोखरेल जस्ता विद्वान पण्डितले गरेको सामाजिक परिवर्तनलाई कसैले पनि संस्थागत गराउन सकेनन् ।
सामाजिक अभियान र आन्दोलनलाई जिविकोपार्जनसँग जोड्ने, लाभ र हानीको कुरा गर्नेहरुलाई कसी (ढुंगो)मा घोट्ने समय आएको छ । कसीमा घोट्दा चौविस क्यारेट ठहरिनेहरुलाई पुरस्कृत गरिनुपर्छ । सामाजिक अन्तरघुलनका निम्ति थप योजना बनाउन उनीहरुलाई हौसला दिनुपर्छ । कसीमा घोट्दा नक्कली ठहरिनेहरुलाई दण्डित गरिनुपर्छ । नालायक घोषणा गर्नुपर्छ । यदि यसो गर्न सकियो भने नेपालको सामाजिक आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउन सहज हुनेछ । आन्दोलनको समीक्षा गर्ने वास्तविक ‘प्लेटफर्म’ बन्नेछ र बनाउनु अनिवार्य भएको छ । अन्यथा, चानचुने र टालटुले सुधारका अभियानहरु निरन्तर अघि बढिरहे भने नेपालका सामाजिक आन्दोलनहरु दीगभ्रमित हुने बाटोबाट मुक्त हुने छैन ।
समाज रुपान्तरणका लागि आफ्नो ठाउँबाट सबैले काम गर्नुपर्छ । नत्र सामाजिक अन्तरघुलन सम्भव छैन । त्यसो त, परिवर्तनको कल्पना गर्दै खोलिएका सामाजिक संघसंस्थाहरु राजनीतिक दल जति पनि समावेशी हुन सकेनन् । प्रोजेक्ट हुनजेल चहलपहल गर्ने, सकिएपछि तथस्ट बस्ने । नियत नै खराब देखियो । परियोजनाका लागि मात्र बोल्ने, नत्र नबोल्ने । यसले नेपालमा सामाजिक संघसंस्थाबाट सामाजिक विभेद अन्त्य गर्ने वा सामाजिक अन्तरघुलनलाई व्यवहारमा ल्याउन योगदान दिन सकिदैन कि भन्ने प्रश्न जटिल रुपमा उठेको छ । धार्मिक र सामाजिक अन्तरघुलनलाई व्यवहारमा ल्याउन दलित गैरदलित सबैले बुझ्न आवश्यक छ । धर्ममा विभेद गरिएको छैन भने त्यसको पुष्टि गराउन सबै लाग्ने कि नलाग्ने ? मान्छे मान्छे एउटै हो भने फरक जातबीच अन्तरघुलन गर्ने कि नगर्ने ?
आज पनि समाजमा विभेद बढ्दो क्रममा छ । पुरानो पुस्ताले विभेद अनि छुवाछुतलाई काखमा खेलाउँदै आयो । फ्याल्नै चाहेन । पछिल्लो पुस्तामध्ये अधिकांशमा विभेदकै रगत मिसिएको छ । दलितसँग पुग्दा ‘तपाईलाई अन्याय भइरहेको छ’ भनिन्छ । गैरदलितसँग पुग्दा ‘अहिले नै दलितहरुलाई माथि उठाइहाल्नु हुँदैन, साइजमै राख्नुपर्छ’ भनिन्छ । केही अध्ययन गरेका अनि बुझेका व्यक्तिहरु तथस्ट बस्छन् । त्यसबाहेक अत्यन्तै थोरै संख्यामा रहेका व्यक्तिहरु सँँच्चिकै सामाजिक रुपान्तरणको पक्षमा छन् । विभेदलाई अन्याय र अपराधसँग तुलना गर्दै त्यसविरुद्ध लड्नुपर्ने मन्द मन्द आवाज उठाउँछन् । साँचो अर्थमा सामाजिक न्यायमा आधारित समाज निर्माण गर्ने हो भने गैरदलित समुदाय भित्रको पहिलो र दोस्रो पुस्तोको सोच परिवर्तन गर्नका लागि विभेद विरुद्व आवाज उठाइरहेको तेस्रो पुस्तासँग सहकार्य गर्दै अन्तरघुलन उपयुक्त विकल्प हो ।
तत्कालीन केरेलामा नांगेलीले गरेको विद्रोहलाई नै अन्त्य मानिन्थ्यो भने सायद् अहिले पनि त्यहाँको समाज त्यस्तै हुन्थ्यो । नांगेलीको त्याग पश्चात समाज उठ्यो । समाज जागरुक भयो । दलितले मात्र होइन, गैरदलित समाजले पनि विभेद भइरहेको अनुभूति गर्यो । सहज ढंगले परिवर्तन कहिल्यै हुँदैन । पाँच दशकसम्म ठूलो आन्दोलन भयो । तर, ढिलो भए पनि परिवर्तन संस्थागत भयो । अर्की नांगेलीले स्तन काटनु परेन । चारुकण्डनले जिउँदै सती जानु परेन । नेपालमा जातीय विभेद र छुवाछुतको सन्दभर्मा पनि यस्तो आन्दोलन, यस्तो विद्रोहको परिकल्पना गर्नुपर्यो कि, यसले सिंगो समाजलाई जुरुक्क उठाओस् । श्रम, सीप चल्ने तर पानी नचल्ने विषय सधैंका लागि अन्त्य होस् । शारीरिक शोषण चल्ने, विवाह नचल्ने संस्कारमा परिवर्तन आओस् । एउटा जातले अर्को जातलाई, एउटा व्यक्तिले अर्को व्यक्तिलाई सम्मान र माया गर्न सिकोस् । यो आवाज, यो विद्रोह, यो आन्दोलनको नेतृत्व यहाँ कार्यरत सामाजिक संघसंस्थाहरुले गर्न सकुन् ।
Leave a Reply