दलित बालिका हत्या प्रकरण : बलात्कारपछि हत्या गरिएको भन्दै किटानी जाहेरी

दलित अनलाईन १० आश्विन २०७७, शनिबार २२:०१

काठमाडौं — १२ वर्षीय दलित बालिकाको बलात्कारपछि हत्या भएपछि पीडित परिवार र दलित अधिकारकर्मीहरुले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेका छन् ।
मष्टा गाउँपालिका-२ खिकाला गाउँकी १२ वर्षीय सम्झना कामी बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी गएका बेला बलात्कारपछि हत्या गरिएको भन्दै किटानी जाहेरी दर्ता गरिएको हो ।
बालिका शरीरको तल्लो भागमा लुगा नभएको र यौनांगमा रगत बगेको अवस्थामा भेटिएकी थिइन । प्रहरीले बिहीबार स्थानीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो ।
शुक्रबार बालिकाका बाजेले राजेन्द्रविरुद्ध जबर्जस्ती करणी गरी हत्या गरेको अभियोगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए । ‘किटानी जाहेरी दर्ता भइसकेको छ । घटनाको तीव्र रूपमा अनुसन्धान भइरहेको छ । अब अपराधी उम्केर भाग्न सक्दैन,’ डिएसपी खड्काले भने । ‘घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने देखिन्छ,’ घटनास्थल पुगेका उनले भने, ‘अपराधमा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’

सम्झनाको ‘हत्या’ ले कामी परिवार मात्र होइन, खिकाला गाउँ नै शोकमा डुबेको छ । घटनाको वास्तविकता तत्काल छानबिन गरी दोषीउपर कडा कारबाहीका लागि प्रहरीलाई दबाब दिन खिकालावासी सदरमुकाम चैनपुर पुगेका थिए । विभिन्न अधिकारकर्मी संघसंस्था, राजनीतिक दल र तिनका भ्रातृ संगठनले अपराधीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै विज्ञप्तिसमेत निकालेका छन  ।
आमाबाबु चार वर्षदेखि भारतको बेंग्लोरमा रहेकाले सम्झना दुई बहिनीसहित बाजेबज्यैसँग बस्दै आएकी सम्झना बाजेबज्यैकी साहारा थिइन् ।
सम्झनालाई कसैले नियन्त्रणमा लिएको र केही तल रहेको सिममाडौं मन्दिरभित्र लगेर उनको बलात्कारपछि हत्या गरिएको परिवारको दाबी छ । उनले बोकेको नाम्लो र डोको मन्दिरभन्दा करिब सय मिटर तलको खोंचमा फालिएको अवस्थामा भेटिएको उनका काका ईश्वर कामीले बताए । घटनास्थल पुगेका स्थानीयका अनुसार मन्दिरभित्र हत्यारासँग सम्झनाको निकै घम्साघम्सी परेको जस्तो देखिने र छटपटाउँदा भुइँ खुट्टाले खोस्रिएको अवस्थामा रहेको छ ।

न्यून आर्थिक अवस्था भएका सम्झनाका बाजे गोरख बुढेसकालमा पनि आरनको काम गर्छन । आरनमा कृषिऔजार बनाउने र मर्मत गरेबापत पाइने अन्न (खलो) को सहाराले कामी परिवारको गुजारा चलिरहेको छ । आफूहरूको आर्थिक अवस्था र पहुँच कमजोर भएका कारण अपराधी उम्किने हो कि भन्ने गोरखलाई चिन्ता छ । ‘हामी त आरनको काम गरी खाने मान्छे, हाम्रो लागि बोलिदिने न मान्छे छन्, न पैसा । कतै पैसा पेलेर अपराधी उम्काउने हुन् कि भन्ने चिन्ता छ । ’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank