
एक सातादेखि गरुडामा प्रदर्शन
रौतहट — प्रहरी हिरासतमा मृत्यु भएका विजय महराका परिवारलाई न्याय दिलाउन र दोषीलाई कारबाहीको माग अघि सार्दै दुई पूर्वसांसद विश्वेन्द्र पासवान र राष्ट्रियसभाका पूर्वसदस्य रामप्रीत पासवान आमरण अनशन सुरु गरेका छन् ।
सांसदद्धयले मंगलबार रातिबाट इलाका प्रहरी गरुडाको मुख्य गेटकै आडमा अनशन सुरु गरेका हुन् । आमरण अनशन बसेका पूर्वसांसद विश्वेन्द्र पासवानको स्वास्थ्य अवस्था खराब हुन थालेपछि स्लाइन दिइएको थियो ।
विजय रामको हत्यामा प्रहरीकै हात रहेको भन्दै प्रहरीमाथि कानुन अनुरुप कारबाही हुनेपर्ने माग अनशनरत विश्वेन्द्र पासवानले बताए । हाम्रो अनशन दलितमाथि भएका उत्पीडन र प्रहरी ज्यादतीविरुद्ध हो,पीडित परिवारको लागि न्याय दिलाउने लडाई हो ।’
निर्दोष मान्छेलाई फसाउने प्रहरीको रणनीतिले दोषी उम्काउनका लागि योजनाबद्ध रुपमा विजय रामको कुटपिट गरी हत्या गरेको भन्दै दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने राष्ट्रियसभाका पूर्वसदस्य रामप्रीत पासवानले बताए । ‘दलित समुदायमाथि सुनोजित रुपमा हत्याका श्रंखृलाहरु बढ्दो छ, आन्दोलनलाई थप बल पुगोस् भनेर अनशनमा बसेका हौँ ।’
महराको परिवारलाई न्याय दिलाउन गठित संघर्ष समितिले घटनाको छानबिन, दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्तिसहित दश बुँदे माग राखी एक सातादेखि गरुडामा प्रदर्शन गरिरहेको छ । प्रहरी हिरासतमा रहेका विजय रामको प्रहरी कुटाईबाट उपचारको क्रममा हस्पिटलमा मृत्यु भएपछि विजय महरा हत्याकाण्ड संघर्ष समिति गठन गरेर प्रहरीविरुद्ध चरणबद्ध आन्दोलन भइरहेको छ । साउन ९ गते प्रहरी कुटाईबाट प्रहरी हिरासतमा रहेका विजय रामको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्त र दलित अधिकारकर्मीहरुले घटनामा संग्लन प्रहरीमाथि नै कारबाहीको माग गदै आन्दोलन सुरु गरेका थिए । यातना दिन संलग्न रहेका भनिएका प्रहरीहरू निलम्बनमा परिसकेका छन् ।
साउन ३१ गते भएको निरञ्जन रामको हत्यामा संलग्न रहेको आरोपमा विजय राम लगायत सात जनालाई प्रहरीले पक्राउ परेका थिए । साउन ९ गते निरञ्जन रामका हत्या कबुल सावितका लागि विजय रामलाई प्रहरीको कुटाईबाट हत्या गरिएको परिवार र दलित अधिकारकर्मीहरुका दावी गरेका छन् । दश बुँदे माग लिएर आन्दोलन चर्काउँदै लगेका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिका संयोजक सोनेलाल रामले बताए ।
स्थानीय प्रशासनले उनीहरूलाई आन्दोलन छाडेर वार्तामा आउन आग्रह गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कुनै पनि समस्याको समाधान वार्ताकै माध्यमबाट हुने भएकाले पीडित परिवारलाई मागसहित छलफलमा आउन भनेको बताए । ‘हामीले पटकपटक आन्दोलनरत पक्षलाई छलफलमा बसौं भनेका छौं,’ उनले भने, ‘तर उहाँहरू मान्नुभएको छैन ।’
Leave a Reply