राष्ट्रिय खेलाडी चन्द्रकलामाथिको कुटपिटमा प्रहरीको अनुसन्धान फितलो भयो : दलित अधिकारकर्मी

दलित अनलाईन १४ भाद्र २०७७, आईतवार १९:२१

काँकडभिट्टा— एथलेटिक्सकी राष्ट्रिय खेलाडी चन्द्रकला लाम्गादेलाई जातीय विभेद गर्दै कुटपिट गरिएको घटनालाई प्रहरीले असहयोग गरेको दलित अधिकारकर्मीले दावी गरेका छन् ।
दलित अधिकारकर्मीहरु पत्रकार सम्मेलन गर्दै जातीय आधारमा निर्घात रुपमा कुटिएको घटनामा प्रहरीले फितलो अनुसन्धान गरेको दाबी गरेका हुन् ।
८ भदौमा मेचीनगर– १३ चारआलीका छिमेकी दुर्गा श्रेष्ठक र उनकी श्रीमती विष्णुबाट सात महिनाकी गर्भवती चन्द्रकला र उनका श्रीमान् सुमन खातीलाई जातीय विभेद गर्दै कुटपिट गरिएको थियो । श्रेष्ठदम्पतीले स्थानीय राजन दर्जीलाई जातीय रूपमा होच्याउँदै कुटपिट गर्दा चन्द्रकलाले प्रतिकार गरेकी थिइन् । सोही क्रममा चन्द्रकला र उनका श्रीमान् सुमनलाई उनीहरूले कुटपिट गरेका थिए ।
इलाका प्रहरी कार्यालय धुलाबारीले प्रहरीकै खेलाडीमाथि कुटपिट हुँदा जातीय विभेद नभएको बताउँदै अनुसन्धान गर्न आनाकानी गरिरहेको अधिकारकर्मीले बताएका छन् । घाइते चन्द्रकला पाँच दिन अस्पताल बसेर शुक्रबार घर फर्किएकी छन् । ‘उपचारपछि पनि शरीर कमजोर छ । डाक्टरले पेटको बच्चालाई ठीक छ त भनेका छन्, तर ढुक्क हुने अवस्था छैन । धेरै पेट दुख्यो भने सिजर गर्नुपर्छ भनेका छन्,’ चन्द्रकलाले भनिन् ।
जातीय आधारमा तुच्छ शब्दको गालीगलौज गरी कुटपिट भएका प्रत्यक्षदर्शीले बयान दिँदा समेत इलाका प्रहरी धुलाबारीका निरीक्षक कैलाश चौधरीले घटना जातीय नभई कुटपिट र अभद्र व्यवहारको मात्र भन्नु दोषी उम्काउनु रहेको दलित अधिकारकर्मी हुकुमसिंह नेपालीले बताए ।
प्रहरी निरीक्षक चौधरीले संविधान र कानुनको समेत अपव्याख्या गर्दै मुद्दा चलाउन कमजोर रहेको भन्दै अभिव्यक्ति दिनु गलत भएको देखाएको अधिकारकर्मी सुरेश बराइलीले बताए । ‘इन्स्पेक्टर सा’बले जातीय विभेद होइन भन्ने प्रमाणित गर्ने प्रयत्न गरिरहनुभएको छ,’ उनले भने, ‘उहाँले हामीलाई पीडितलाई कारबाही हुन्छ ढुक्क हुनुस् भन्न पनि सक्नुभएन ।’
मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य निरू परियारले जातीय विभेद भयो भनेर सबै टिपाउँदा पनि प्रहरीले अभद्र व्यवहारमा जाहेरी लेखेको र निरन्तर दबाब दिएपछि मात्र जातीय विभेदमा मुद्दा दर्ता भएको भन्दै प्रहरीको घटनालाई गम्भिर रुपले नलिएको बताइन् । ‘यो घटनालाई जसरी प्रहरीको गम्भिता र चासो हुनुपर्ने थियो, तर उल्टो अभद्र व्यवहारमा मात्रै जाहेरी लिने उद्देश्य प्रहरीको राख्नु नै घटना दबाउनु हो । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank