कोरोना संक्रमणका कारणले मुलुकको बिभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा जारी छ । देश, सञ्चार माध्यम र सामाजिक सञ्जाल कोरोनामय छन् । त्यस्तै तीनै तहका सरकार समेत कोरोना नियन्त्रणका लागि प्रयत्न गरिरहेको आभाष गराउने प्रयत्नमा रहेको देखिन्छ । यद्यपि कोरोना नियन्त्रणका नाममा केहि पदाधिकारी र व्यक्तिहरुको आगामी दिन उज्जवल हुने प्राय निश्चित छ । भ्रष्टाचार संस्कृति भएको देशमा यसलाई कसरी पो अन्यथा भन्न सकिएला र ? सबै क्षेत्रबाट सबैमा अनुरोध भए जस्तो लाग्छ, सुनिन्छ अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कौ । अर्थात घरमै बसौ, सुरक्षित बसौं । सायद यस्तो अवस्थामा सुरक्षित बस्ने चाहाना सबैको हुन्छ होला । आखिर यो अत्यावश्यक काम सबैका लागि समान हुन्छ कि पृथक ? करिब ६ महिना पुग्न थालेको यो बन्दाबन्दीमा अत्यावश्यक काम कुलिन,सभ्रान्त,सरकारी सेवामा रहेका, ब्यापारी, गैरसरकारी क्षेत्र र दैनिक मजदुरी गरि आफनो आधारभुत आवश्यकता पुरा गर्ने वर्गका बीचमा फरक फरक हुन सक्दछन् कि सक्दैन ? र त्यही अनुसार नागरिकले आफुलाई व्यवस्थापन गर्ने प्रयत्न गरेको हुन्छन् । कसैलाई वर्क फ्रम होम हुन सक्दछ, कसैलाई ब्याज र श्रृणमा सहुलियत हुन सक्दछ, कसैलाई घर भाडा मिनाहा हुन सक्दछ, कसैले बर्षौसम्म विभिन्न तरिकाले कमाएको धन प्रयोग गर्न सक्दछ, कसैले भर्चुअल बैठकबाटै काम चलाएको हुन सक्दछ, कसैले कोरोनाकै बीचमा कमाई रमाएको हुन सक्दछ, कसैले खरिदमा कमिसन पाएको हुन सक्दछ र कसैले नियुक्ती तर दैनिक ज्यालादारी गरि खानेहरुले के गरि जिविकोपार्जन गरेका होलान् र उनीहरुका लागि अत्यावश्यक के होला र त्यसको परिपुर्ति कसरी होला भन्ने तर्फ ध्यान कसैको खासै गएको देखिदैन । केवल अत्यावश्यक काम बाहेक बाहिर ननिस्कोै भन्ने उपदेश मात्र छ ।
अत्यावश्यक काम सबैका लागि समान हुँदैन । सञ्चित धन र प्रविधिको प्रयोगले काम चलाईरहेका हरुका लागि अत्यावश्यक कामको पहिचान फरक हुन सक्दछ । अर्थात घर बाहिर निस्कनाका कारण र अवस्था फरक हुन सक्दछ । कसैका लागि दैनिक उपभोगका लागि बजार गई उपभोग्य सामान खरिद गरि घर ल्याउने प्रयोजन अत्यावश्यक काम हुन सक्दछ । कसैका लागि दैनिक मजदुरी गरि कमाउनु अत्यावश्यक काम हुन सक्दछ । के यी दुई अवस्थामा समानता छ ? नियमित रुपमा नेपाल सरकार, सामाजिक सञ्जालबाट प्रवााह हुने सन्देशले दैनिक मजदुरी गरि खाने हरुको वर्तमान अत्यावश्यक काम के हो भन्ने पहिचान गर्न आवश्यक छैन ।
उनीहरुसँग श्रम, शारीरीक श्रम बाहेक अन्य कुनै विकल्प छैन । यसका लागि उनीहरु घर बाट बाहिर निक्लनु पर्ने बाध्यता छ । यस्ता अवस्थामा सरकारमा बस्नेहरुले दैनिक जीवन धान्न नै कठिन भएका समुदाय पहिचान गरी उनीहरुको गाँसको व्यवस्था गर्न आवश्यक छ ।
भोक शान्त गर्नका लागि प्राणी अन्तिम हदसम्म जान सक्दछ यो प्राकृतिक नियम हो । भोक व्यवस्थापनका लागी चेतनशिल भनिएको मानिससमेत जे पनि गर्न तयार हुन्छ । भोकले विद्रोह जन्माउछ । यो स्थापित तथ्य हो । भोकका अगाडी कोरोनाको त्रासले समेत केहि अर्थ राख्दैन । त्यसैले भोकको विकल्प दिने कि नित्य बाहिर ननिस्कौं मात्र भन्ने यस तर्फ सरकार सचेत हुन आवश्यक छ । विकल्प बिना को आज्ञा, आदेश र अनुरोधको कुनै अर्थ रहदैन । मानिस रहरले खतरामा जाँदैन र जान चाहान्न तर केहि मुल्यहरु छन जसका लागी जस्तो सुकै खतरा संग भिड्न समेत मानिस तयार हुन्छ । घरमा साना छोराछोरी छन जसले ३,४ दिन देखि खान नपाई टोलाईरहँदा बाबु आमाको कुन चाहि काम अत्यावश्यक होला ? अतः गोश्वारामा अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कोैं भन्ने भनाई कसका लागि के अर्थ लाग्छ र लगाउने ।
घरबाट बाहिर निस्कने बिषय सबैका लागी समान हुँदैनन् । नेपालमा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने वर्ग र निम्न मध्यम वर्गका व्यक्तिहरु आफु र आफनो परिवारको पेट भर्नकै लागि बाहिर निस्कनै पर्ने अवस्था श्रृजना भै सकेको छ र उनीहरुको अत्यावश्यक काम भनेकै भोकबाट मुक्तिका लागि प्रयत्न हो । यस्तो अवस्थामा घरबाट बाहिर ननिस्कौं, घरमै सुरक्षित बसौं आदी इत्यादी भय मिश्रित सुचनाले के नै अर्थ राख्ला र ?
सरकार नेपालमा आज कमाएरै आजै खाने हिस्सा ठुलो छ । उनीहरु घर बाहिर ननिस्केको निकै भयो । अब उनीहरु सँग २ वटा विकल्प मात्र छन् । यात भोकै मर्ने या त बाहिर निस्कने । यस्तो अवस्थामा उनीहरु घर बाहिर निस्कने विकल्प नै रोज्ने छन् र मलाई लाग्दछ सत्तामा बसेर नियमित रुपमा सरकारी सेवा सुविधा लिई विभिन्न माध्यमबाट अत्यावश्यक काम बाहेक बाहिर ननिस्कौ भन्नेहरु समेत यस्तो अवस्था भए दोस्रो विकल्प नै रोज्ने थिए । त्यसैले यात बाँच्न पाउने आधारभुत संवैधानिक अधिकारको प्रत्याभूति दिन सक्नुप¥यो , होइन भने नागरिक कसरी भोकै घरमा बस्न सक्दछन् । त्यसैले अत्यावश्यक काम सबैका लागि समान हुदैन भन्ने तर्फ सचेत हुन आवश्यक छ ।
वर्तमान कोरोना संकटकाबीच समाजका विविध क्षेत्रले जसो तसो प्रविधि लगायतका सहयोगमा विभिन्न विकल्पको विकास गरी जीवन धानी रहेको अवस्था छ । तर यहि समाजमा रहेका पछाडि पारिएका दैनिक कामबाट जीवन निर्वाहा गर्नेहरु संकटमा छन् । उनीहरुसँग श्रम, शारीरीक श्रम बाहेक अन्य कुनै विकल्प छैन । यसका लागि उनीहरु घर बाट बाहिर निक्लनु पर्ने बाध्यता छ । यस्ता अवस्थामा सरकारमा बस्नेहरुले दैनिक जीवन धान्न नै कठिन भएका समुदाय पहिचान गरी उनीहरुको गाँसको व्यवस्था गर्न आवश्यक छ ।
Leave a Reply