विश्वव्यापी रुपमा कोरोनाको प्रभाव

दलित अनलाईन ८ भाद्र २०७७, सोमबार ११:१२

काठमाडौ — २ सय १३ मुलुक र यसका अधीनस्थ क्षेत्रलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणले गाँजेको छ। सबैजसो मुलुक नै कोरोनाबाट मुक्ति पाउन संघर्षरत छन्। आधा विश्व घरभित्रै सीमित छ भने बाँकी ठाउँमा पनि अवस्था सामान्य छैन।

विश्वमा आइतबार साँझसम्म कोरोना संक्रमितको संख्या २ करोड ३४ लाख १० हजार ९ सय ८८ पुगेको छ। ८ लाख ९ हजार १ सय ४२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

कोरोनाको उद्गमस्थल चीनको हुवेई प्रान्तको राजधानी वुहान भने संसारलाई अचम्मित पार्दै सामान्य अवस्थामा फर्किएको छ। वुहानमा एक साता लामो बियर पार्टी र पोखरी पार्टी मनाइएको छ। जहाँ न भौतिक दूरी देखिन्थ्यो न त कसैले मास्क लगाए। कोरोना संक्रमण सुरु भएको आठ महिना पुग्नै लाग्दा पनि विश्वमा यसको न औषधि पत्ता लागेको छ न खोप नै। यहाँ केही देशको वस्तुस्थिति प्रस्तुत गरिएको छ।

अमेरिका

विश्वमा सबैभन्दा बढी संक्रमित भएको मुलुक हो, अमेरिका। अमेरिकामा आइतबार साँझसम्म संक्रमितको संख्या ५५ लाख ९८ हजार ५ सय ४७ पुगेको छ। मृत्यु हुनेको संख्या १ लाख ७४ हजार ६ सय ४५ छ। जुन महिनाको पहिलो सातासम्म संक्रमितको संख्या अहिलेको तुलनामा कम थियो। जुन १ मा दैनिक संक्रमितको संख्या जम्मा १६ हजार रहेकामा त्यसपछिका दिनमा भने बढेको देखिन्छ। जुलाई १७ मा अहिलेसम्मकै धेरै एकै दिन ७५ हजार ८ सय २१ संक्रमित भेटिएका थिए। अगस्ट २२ मा ४६ हजार १ सय ८३ संक्रमित भेटिएका छन्। पछिल्ला दिनमा संक्रमितको संख्या ओरालो लाग्दो छ। सबैभन्दा बढी संक्रमित न्युयोर्कमा कोरोना नियन्त्रण उन्मुख देखिएको छ। न्युयोर्कमा दैनिक संक्रमितको संख्या १ हजारमुनि छ।

न्युजिल्यान्ड

मार्चको मध्यतिर कोरोना भाइरस महामारीले युरोप र अमेरिकामा महामारीको रूप लिँदै गर्दा न्युजियान्डकी प्रधानमन्त्री जसिन्डा अर्डरनले आफ्नो देशलाई दुई विकल्प दिइन्। एउटा, कोरोना भाइरसलाई चुपचाप स्वागत गर्ने। अर्काे, सीमा नाका बन्द गरेर कडाइ गर्ने। पर्यटन नै प्रमुख आयस्रोत भएको न्युजिल्यान्डका लागि दोस्रो विकल्प पक्कै पनि सहज थिएन। तर, प्रधानमन्त्रीले दोस्रो विकल्प नै रोजिन्। त्यतिबेला त्यहाँ जम्मा २८ वटा मात्रै कोरोना केस थिए। संक्रमितको संख्या बढेर १ सय २ पुगेपछि राष्ट्रव्यापी लकडाउन घोषणा गरियो।

सात हप्ता लकडाउन गरियो। त्यसले कोरोना नियन्त्रणमा ठूलो मद्दत गरेको थियो। त्यसपछिका १ सय दिन समुदायस्तरमा कोरोना संक्रमण शून्य बन्यो।

तीन महिनामा पहिलोपटक फेरि समुदायस्तरमा कोरोना संक्रमणको केस भेटियो। त्यसपछि सबैभन्दा बढी जनसंख्या भएको अकल्यान्ड सहरमा फेरि लकडाउन गरिएको छ। शनिबार ३ वटा नयाँ केस भेटिएकोमा १ जना समुदायस्तरमा भएको पाइएको हो। २ जना विदेशबाट आएका व्यक्ति हुन्। न्युजिल्यान्डमा आमनिर्वाचन पनि स्थगन गरिएको छ। जुन इतिहास एकदमै कम समयमा स्थगित भएको छ।

आइतबारसम्म न्युजिल्यान्डमा १ सय १४ वटा सक्रिय केस छन्। २२ जनाको मृत्यु भएको छ। वल्र्डोमिटरका अनुसार न्युजिल्यान्डमा अहिलेसम्म जम्मा १ हजार ६ सय ७४ संक्रमित भेटिएका छन्।

बेलायत

बेलायतमा आइतबारसम्म संक्रमितको संख्या ३ लाख २४ हजार ६ सय १ छ। ४१ हजार ४ सय २३ जनाको मृत्यु भएको छ। दैनिक संक्रमित हुने दर औसतमा १ हजार छ। शनिबार २२ अगस्टमा १ हजार २ सय ८८ नयाँ संक्रमित भेटिए। अघिल्लो दिन १ हजार ३३ संक्रमित फेला परेका थिए। त्यस्तै २० अगस्टमा १ हजार १ सय ८२ थियो भने १९ अगस्टमा ८ सय १२ जना संक्रमित थपिए। अप्रिलमा कोरोना संक्रमण उच्च रहेको बेलायतमा जुलाईमा क्रमस ओरालो लाग्दो थियो। तर लकडाउन खुला गरेपछि फेरी संक्रमण दर बढ्न थालेकोमा चिन्ता बढेको छ।

चीन

कोरोना भाइरसको उद्गम मुलुक हो चीन। चीनबाट सुरु भएको कोरोना अहिले विश्वव्यापी बनेको छ। चीनको हुवेई प्रान्तको राजधानी वुहान सहरमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो। अहिले हुवेईमा कोरोना संक्रमण शून्य भएको छ। हुवेईमा ६८ हजार १ सय ३५ संक्रमित भेटिएकोमा ६३ हजार ६ सय २३ जना निको भएका हुन्। ४ हजार ५ सय १२ जनाको मृत्यु भएको थियो। वुहान अहिले सामान्य अवस्थामा फर्किसकेको छ।

विश्व कोरोना महामारीसँग जुधिरहेका बेला वुहान भने पार्टीमा व्यस्त छ। गत साता बियर फेस्टिभल र पोखरी पार्टीहरूको भव्य आयोजना भयो जहाँ न भौतिक दूरी न अनिवार्य मास्क। संसारलाई जिल पार्ने गरी बुहान पुरानै दैनिकीमा फर्किसकेको छ।

चीनभर संक्रमितको संख्या ८४ हजार ९ सय ५१ रहेकोमा ७९ हजार ८ सय ९५ जना निको भए। अहिले चीनभर जम्मा ४२२ मात्रै सक्रिय केस छन्। चीन सरकारले राजधानी बेइजिङमा बाहिर जाँदा मास्क अनिवार्य लगाउनुपर्ने नियम पनि हटाइसकेको छ। दोस्रो व्यक्तिसँग भेट्दाबाहेक मास्क अनिवार्य छैन। चीनमा कडा अनुशासन नै कोरोना पराजय हुनुको मूल कारण मानिएको छ।

इटाली

कोरोनाबाट सबैभन्दा प्रभावित युरोपेली मुलुकमध्ये इटाली पनि एक हो। त्यहाँ संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ३६। ३५ हजार ४ सय ३० जनाको मृत्यु भएको छ। १७ हजार ५ सय ३ वटा सक्रिय केस रहेको इटालीमा कोरोना संक्रमण फेरी बढ्ने हो कि भन्ने आशंका गर्न थालिएको छ। मे १० देखि अगस्ट १८ सम्म दैनिक संक्रमितको संख्या ५ सयमुनि रहेकोमा पछिल्ला तीन दिनमा संक्रमितको संख्या बढेको छ। अगस्ट २० मा संक्रमितको संख्या ८ सय ४० रहेकोमा दोस्रो दिन बढेर ९ सय ४७ पुग्यो भने अगस्ट २२ मा १ हजार ७१ पुगेको छ। इटालीमा मार्च र अप्रिलमा कोरोना संक्रमण निकै बढेको थियो। मार्च २१ मा एकै दिन ६ हजारभन्दा बढी संक्रमित भेटिएका थिए।

जापान

जापानमा दैनिक कोरोना संक्रमितको संख्या १ हजार हाराहारीमा छ। आइतबार ७ सय ४४ संक्रमित थप भेटिएका हुन्। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या ६२ हजार ६ सय ५८ छ। कोरोनाबाट १ हजार १ सय ८८ जनाको मृत्यु भएको जापानी सञ्चारमाध्यम जापान टाइम्सले जनाएको छ। मृत्यु हुने संख्या कुल संक्रमितको १ प्रतिशत हो। निको हुने प्रतिशत ७७ छ। जुनसम्म नियन्त्रणमा रहेको कोरोना संक्रमण जुलाई सुरुदेखि बढेको देखिन्छ। कोरोना संक्रमण बढ्दै गएपछि सरकारको आलोचना हुन थालेको छ। त्यहाँ १३ लाख २१ हजार ७९ जनाको कोरोना परीक्षण गरिएको छ।

भारत

भारतमा आइतबारसम्म ३० लाख ४४ हजार ९ सय ४० जना संक्रमित भेटिएका छन्। त्यसमध्ये २२ लाख ८० हजार ५ सय ६६ जना निको भएका छन्। ७ लाख ७ हजार ६ सय ६८ वटा सक्रिय केस छन्। कोभिडबाट मृत्युको संख्या ५६ हजार ७ सय ६ पुगेको छ। जुन कुल संक्रमितको १.८६ प्रतिशत मात्रै हो। भारतमा संक्रमितमध्ये झन्डै ७५ प्रतिशत निको भएका छन्।

भारतमा ३ करोड ५२ लाख ९२ हजार २ सय २० जनाको कोरोना परीक्षण गरिएको छ। शनिबार एकै दिन ८ लाख १ हजार १ सय ४७ जनाको कोरोना परीक्षण गरिएको थियो। भारतमा सर्वाधिक कोरोना परीक्षण शुक्रबार गरिएको थियो जहाँ एकै दिन १० लाख २३ हजार ८ सय ३६ जनाको परीक्षण गरियो। भारतमा औसत दैनिक ३ लाख ५० हजारको हाराहारीमा कोरोना परीक्षण हुने गरको छ।

त्यहाँ कोरोना संक्रमणदर दैनिक ६० हजारभन्दा माथि छ। पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा अगस्ट १६ (अघिल्लो आइतबार)मा संक्रमितको संख्या ६३ हजार ४ सय ९० थियो भने अगस्ट २२ (शनिबार)मा ६९ हजार ८ सय ७८। लकडाउन हटाइएको छ तर भीडभाड हुने गतिविधिमा रोक लगाइएको छ। त्यहाँ सार्वजनिक सवारी, मेट्रो, रेल सञ्चालनमा छन्।

 (एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank