चुलिमालिका माई मन्दिरमा पहिलो पटक चढ्योे दलितहरुको फुल चामल

रमेश सुनार १९ श्रावण २०७७, सोमबार १७:२८

कालिकोट– परापुर्व कालदेखि देविदेवताको मन्दिरमा नचढेको दलित समुदायको फुल चामल र भेटी पहिलो पटक देवीको मन्दिरमा चढेको छ ।
दलित समुदायहरु देवीको मन्दिरमा गएमा देवी–देवता रिसाएर बीच बाटोमै मर्ने, नराम्रो हुने, परिवारमा अछल हुने, पुरानो परम्परागत धार्मिक अन्धविश्वासलाई चिर्दै, कर्णालीकै चर्चित धार्मिक तथा पयर्टकीय तीर्थस्थल चुलिमालिका माईको मन्दिरमा जिल्लाका दलित अधिकारकर्मी पहिलो पटक पुगेर फुल चामल र भेटी चढाएर दर्शन गरेका हुन् ।

साउन १७ देखि १८ सम्म लागेको पुजामा खाँडाचक्र नगरपालिका ४ का वडाध्यक्ष धनिसिंह कामीको नेतृत्वमा जिल्लाका दलित अधिकारकर्मीको टोलीले पहिलो पटक मन्दिरमा फुल चामल चढाएर पुजा गरेका हुन् ।
कालिकोट र जुम्ला जिल्लाको सिमाना पर्ने धार्मिकस्थल चुलिमालिका माईको मन्दिरमा यस अघि दलित समुदायको भेटी र फुल चामल चढ्ने थिएन् ।
वडाध्यक्ष कामीले भने, ‘अहिलेसम्म देवीदेवताको मन्दिरमा पुजा गर्न पाएका थिएनौँ ,आफ्नो देवीदेवतासंग भाकल गर्न पाएका थिएनौँ, अव दलितहरुले पनि खुल्ला रुपमा मन्दिरमा सबैसँग पुजा गर्न पाउने भएका छन् ।’
चुलिमालिका मात्र होईन, जिल्लाका मध्य तथा सुदुरको चर्चित धार्मिकस्थल बडिमालिका माईको मन्दिरमा पनि अहिलेसम्म दलितले पुजा गर्न पाएका छैनन् । अव आफुहरुले चुलिमालिका माईको मन्दिरबाट पुजा गर्न सुरुवात गरेको वडाध्यक्ष कामीले दलित अनलाईन डटकमलाई बताए ।
मान्छे एउटै, रगत एउटै, तर, जातजातिले गर्दा आफुहरु सदियौँदेखि विभेद र आफ्नो अधिकार खोसिदै आइरहेको स्थानीयहरुले बताएका थिए । पहिलो पटक आफुले मन्दिरमा चढाउन लिएको फुल चामल मन्दिरमा चढ्यो, मन्दिरमा पुजा गर्न गएका दलित अगुवा बसन्त सुनारले बताए । उनले भने, ‘मन्दिरका पुजारीले पनि दलितको फुल चामल सहजै रुपमा चढाए, धार्मिक अन्धविश्वास सामाजिक परम्पराले गर्दा मन्दिरमा गएनौँ, उनले भने, ‘सामाजिक रुपमा मानिसहरुले नै गरेको विभेदकारी संस्कारको अन्त्य भएको छ । ’

मन्दिरमा लगाउने लिंगो, राँगो बलि चढ्ने, तर, दलितको फुल चामल मन्दिरमा नचढ्ने यस्तो परम्परा तोडेको दलित अधिकारकर्मी रमेश कुमार सोनीले बताए । एकाइसौ शताब्दीमा पनि दलितहरुले मन्दिरमा जान नपाइने धार्मिक पराम्परालाई आफुहरुले चिरेको बताए । चुलिमालिका मात्र होइन, जिल्लाका अधिकांश मठमन्दिरमा दलितलाई दर्शन गर्न नमिल्ने धार्मिक अन्धविश्वास रहिरहेको बताउँदै मठ मन्दिरमा पुजा पाठ गर्ने गरी अभियान नै संचालन गर्नुपर्ने सोनीले बताए ।
चुलिमालिका मन्दिरका पुजारी भिम प्रसाद चौलागाईका अनुसार, परम्परागत धार्मिक अन्धविश्वासले अहिलेसम्म दलित समुदायको फुल चामल मन्दिरमा नचढेको जानकारी दिए । ‘पहिलो पटक दलितको फुल चामल र भेटी मन्दिरमा चढेको छ , यो समाज रुपमान्तरणका लागि गर्विलो कुरा हो । ’
तत्कालिन नेकपा माओवादी र सरकारबीचको दशवर्षे युद्धको वेला केहि दलितहरु मन्दिरमा आए, त्यसपछि दलितहरु मन्दिरमा आफै पनि आउदैनथे, अहिले जनप्रतिनिधिको नेतृत्वमा दलितअधिकारकर्मीले मन्दिरको दर्शन गरेका छन् । यो राम्रो पक्ष हो । हामीले पनि उनीहरुले चढाउन ल्याएको फुल चामल र भेटी सहजै मन्दिरमा चडाई दिएका छौँ, पुजारीले भने,‘ दलितमाथिको विभेदलाई हटाउन मन्दिरहरुमा खुल्ला गरिनुपर्छ ।’
मन्दिरको दर्शन गर्न वडाध्यक्ष, धनसिंह कामी, दलितअधिकारकर्मीहरु जयबहादुर विक, शिक्षक हर्ष सुनार, अनिपाल विक, वडा सदस्य ललित विक लगायतका संयुक्त टोली माईको मन्दिरमा पूजा र दर्शन गर्न पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank