शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिको चेतावनी : सरकार दोषी उम्काए मूल्य महंगो पर्छ

दलित अनलाईन असार ६, २०७७

काठमाडौं— जातीय नरसंहारयुक्त घटनाका दोषीलाई तत्काल हदै सम्मको सरकारले कारवाही नगरे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने जनता समाजवादी पार्टी नेपाल अन्तर्गत शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिले चेतावनी दिएको छ ।
शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका मुख्य सचिव डीबी.नेपाली(सोलु)ले जारी गरेको विज्ञप्तीमा रुकुम, रुपन्देही र धनुषामा घटनाहरु योजनाबद्ध भएको भन्दै सरकारले हदैसम्म कानुनी कारबाही गर्नुपर्ने यदि सरकारले दोषी उम्काउँदै कारबाही नगरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइएको हो ।

विज्ञप्तीमा भनिएको छ, रुकुमको सामूहिक जातीय नरसंहारको रगतको खाटा सुक्न नपाउँदै जेठ २७ गते धनुषामा प्रहरी हिरासतमै शम्भु सदाको जघन्य हत्या र रुपन्देहीकी अंगिरा पासीको बलात्कारपछिको हत्याको दोषीलाई हदैसम्म कारबाही नगरे सरकारले चर्को मूल्य चकाउनुपर्नेछ ।

 प्रेस विज्ञप्ति पूर्ण पाठ

शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति
केन्द्रिय कार्यालय बालकुमारी, ललितपुर

 प्रेस विज्ञप्ति
मितिः२०७७/०३/०३

जेठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको १४ वर्ष भएको छ । गणतन्त्र घोषणा भएको १२ वर्ष पूरा भैसकेको छ । छुवाछुतमुक्त राष्ट्र घोषणा भए यता डेढ दर्जन बढी शिल्पी समुदाय माथि जातीय विभेदका घट्ना भएका छन् । गणतन्त्र घोषणा भएको १२ वर्षको अवधिमा श्रृंखलावद्ध रुपमा सतहमा आएका १२ भन्दा बढी जघन्य हत्याहिंसा,बलात्कार,अन्र्तजातीय विवाह जस्ता सामाजिक क्रियाकलापको सन्दर्भमा कुटपिट्,सांघातिक हमला र हत्या समेत हुँदै आएका छन् । आदिम जङ्गली युगको कविला समाजलाई समेत बिर्साउने जातीय नरसंहार गत जेठ १० गते रुकुममा भएको थियो ।
मनुको दण्ड विधानको अध्याय १०को ५३ पदले प्रेम विवाहलाई निषेध गरेको छ । त्यसलाई नै आधार मानेर खस मल्लकी छोरी सुष्मा र कामीको छोरा नवराज वि.क.को प्रेम विवाह आधा बाटोमै समाप्त भएको छ । समाप्त मात्रै भएन नवराज सहित ६ जना होनाहार देशको भविष्य समेत गुमेको छ । परिवारको मियो र मुल खाँबो ढलेको छ । सँगसँगै २१ औंशताब्दीको विज्ञान र प्रविधिको युगमा नेपाली पुरातनवादी समाज जङ्गली युगतिरै फर्केको छ ।
यस अपराधले सगरमाथको शीर झुकेको छ । बुद्धको भातृत्व,प्रेम,दया र करुणाको वैज्ञानिक शिक्षालाई लज्जित बनाएको छ । हिटलरी शैलीको नश्लीय जातिवादी सत्ताको पुनारावृत्ति भएको छ । यस घट्नामा संलग्न अभियुक्त ३४ जना विरुद्ध आजन्म कारावासको सजाय सहित जिल्ला अदालत रुकुममा मुद्धा दायर भएको छ । पाँचजना अझै फरार छन् । बहिष्करणको भुङ्ग्रोमा हिंसा भोग्न बाध्य सीमान्तकृत शिल्पी समुदाय बाध्य छन् । हत्या प्रकरण कस्तो थियो ? दुनियाँको अघि छर्लङ्गै छ । सेटिङमा चलेको जातिवादी राज्यले कर्मकाण्डी पोष्टमार्टम रिर्पोट ल्याउनु नौलो होइन ।
अन्तिम फैसला पीडितको पक्षमा आउला भन्ने रत्तिभर विश्वस्त हुन सकिँदैन । किनकी विगतको घट्ना क्रमले यहि देखाउँछ । रुकुमको सामूहिक जातीय नरसंहारको रगतको खाटा सुक्न नपाउँदै जेठ २७ गते धनुषामा प्रहरी हिरासतमै शम्भु सदाको जघन्य हत्या भएको छ । हिजो हत्याहिंसाको राजनीतिबाट उदाएका नेतृत्वहरुकै साँठगाँठ र मिलेमतोमा । धनुषाको सबैला नगरपालिका वडा नंं. १२ वरकुवा वस्दै आएका २५ वर्षिय शम्भु सदा ट्याक्टर चालक थिए । ट्याक्टर दुर्घट्नामा एक महिलाको मृत्युपछि सदालाई धनुषाधाम इलाका प्रहरी कार्यलयको हिरासतमा राखियो । ट्याक्टर मालिकको योजना अनुसार चालककै हत्या गरिदिए मृतकलाई क्षतिपूर्ति दिनु नपर्ने योजना बन्यो । योजना बमोजिम प्रहरी निरिक्षकको मिलेमतोमा हिरासतमै रातको १२ बजेतिर सदालाई हत्या गरी झुन्ड्याइ दिएको आशंका गरिएको छ । ।
प्रहरी कार्यलय रहेको ५० मिटर नजिक नेकपा नेता मातृका यादवका भाइ कारी यादवको घर रहेको छ । उनकै दबाबमा सदाकी आमालाई रातको २ बजे छोराले भेट्न चाहेको भनी झुक्याएर ल्याएको बुझिएको छ । नशाको सुई लगाएर छोराले आफै आत्महत्या गरेको भनेर सहिछाप गर्न लगाउनु सुरक्षा निकायको कति सम्मको निच कुकर्म हो ? जो जनताले तिरेको करमा बाँचेर जनताको सुरक्षागर्ने कि जनताकै हत्या गर्ने हो ? उक्त इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक चन्द्र भुषण यादव मातृका यादवका सम्धिका छोरा रहेको बुझिएको छ ।
प्रहरी निरिक्षकको कालो कर्तुत र अपराध बचाउनकै लागि एक निर्दोष सदाको हत्यालाई आत्म हत्यामा रुपान्तरण गर्न लाग्नु कानुनी शासनको अन्त्य हो । यसले जङ्गली राज र हिटलरी प्रवृत्तिको झल्को दिएको छ । उक्त हत्याको विरोधमा आन्दोलित १५ जना आन्दोलनकारी प्रहरीसँगको झडपमा सख्त घाइते भएका छन् । घाइतेहरुको स्वास्थ्य केन्द्र र जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको आन्दोलनको अगुवाई गरिरहनु भएका चन्देश्वर दासबाट जानकारी प्राप्त भएको छ ।
यस्तो जघन्य हत्याहिंसा प्रकरणलाई ढाकछोप गर्ने सुरक्षा निकायका अधिकारी र संलग्नलाई हदैसम्मको कारबाही गर्न जसपा, शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति सरकारसँग जोडदार माग गर्दछ । स्थानीय र प्रदेश सरकारको समन्वयमा शम्भु हत्या छानबिनका लागि उच्चस्तरीय संसदीय समिति बनाई निश्पक्ष छानबिन गरियोस । पीडकलाई कानुन बमोजिम कडा कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति र राहत तत्काल उपलब्ध गरियोस । क्षतिपूर्ति र शहिद घोषण गर्ने उधारो सहमतिले मात्रै मृतकले न्याय पाउन सक्दैन ।

देश र जनताको सुरक्षागर्न सपथ खाएका सुरक्षा निकायले आफ्नो जिम्मेवारी,दायित्व र कर्तब्यमा अडिग रहने कसम खाएको क्षण स्मरण गराउन चाहन्छौ । कमजोर वर्ग र समुदायका लागि रक्षक नै भक्षक हुने हो भने समाजमा लोकतन्त्रको ठाँउ जङ्गलीतन्त्रमा रुपान्तरण हुने खतरा रहन्छ । राज्यले अभिभावकत्व नदिँदा केही मुठीभरका टाढाबाठाहरुले शक्तिको दुरुपयोग गरिरहेका छन् । कमजोरहरुको बाँच्न पाउने मानवअधिकार समेत कुण्ठित गर्नु फाँसीवादी निकृष्ट चरित्र हो । जघन्य सामाजिक अपराधको विरुद्ध हुने सबै प्रकारका आन्दोलन र अभियानहरुमा प्रदेश समितिको ऐक्यवद्धता र समर्थन सदैव रहने व्यहोरा अवगत गराउँदछौं ।
रुपन्देहीकी अंगिरा पासीलाई बलात्कार गर्नेलाईनै जिम्मा लगाए पछि भएको हत्या, कैलाली लम्किचुहा नगरपालिका वडा नं. १ मा क्वारेन्टाइनमा बसेकी महिला माथि भएको सामूहिक बलात्कारको घट्नाप्रति समितिको गम्भिर ध्यानाकर्षण भएको छ । अपराधमा संलग्नलाई कानुन बमोजिम कडा कारबाहीका लागि सरकारसँग जोडदार माग गर्दछौ ।
समाजमा जङ्गली राजको अन्त्य गरी कानुनी राज्यको स्थापना र लोकतन्त्र बलियो बनाउनु बाहेक अर्को विकल्प छैन । यस्ता जघन्य नरसंहारकारी हत्याहिंसा, बलात्कार र अपराधमा संलग्न अपराधीहरुलाई विगतकै जस्तो टालटुले कारबाही गरी आँखामा छारो हालिन्छ भने प्रदेश समिति जस्तोसुकै शसक्त आन्दोलन गर्न बाध्य हुनेछ । अपराधमा संलग्नहरुलाई हदै सम्मको कडा कारबाहीका लागि यसै प्रेस विज्ञप्ति मार्फत सरकारको विशेष ध्यानाकर्षण गर्न चाहन्छौ । शिल्पी समुदाय माथि हत्याहिंसाको श्रृंखला जारी रहेकोले सम्बन्धित सबै पक्ष चनाखो र सचेत रहन पनि विशेष अपिल गर्दछौ ।

डीबी.नेपाली(सोलु)
मुख्य सचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank