गोविन्दकी आमा भन्छिन्, ‘त्यत्रो कुटिञ्जेल छोराले कति पटक आमा भन्यो होला ?’

दलित अनलाईन ५ असार २०७७, शुक्रबार १२:०१

जाजरकोट (मटेला) पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीगाउँकी गैरदलित किशोरीसँग दलित युवकको प्रेम सम्बन्धकै कारण भेरीमा रगत बग्यो । दलितले छोरी भगाउने थाहा पाएपछि जाजरकोटबाट गएका युवाहरुमाथि सोतीगाउँ अन्धाधुन्ध खनियो, आक्रमणमा दलितले मात्रै हैन, दुई गैरदलित युवाले पनि ज्यान गुमाए ।
घटनाको कारण अन्तरजातीय प्रेम र जातीय विभेद रहेको प्रहरीले निष्कर्ष निकालिसेकेको छ । तर, घटनामा ज्यान गुमाउनेमध्ये चार दलित र दुई गैरदलित युवा थिए । गैरदलित परिवारका सदस्यहरुले घटनामा गैरदलित पनि मारिएको भन्दै आफुहरुले पनि न्याय पाउनुपर्ने माग गरेका छन् । उनीहरुको प्रश्न छ, ‘सबै दलितकालागि बोल्छन्, अनि गैरदलितकालागि कसले बोलिदिन्छ ?’
भर्खरै १७ वर्ष टेकेका भेरी नगरपालिका–११ मटेलाका गोविन्द शाही १० जेठको विहान काफल खान जाने भनेर घरबाट निस्किएका थिए । उनले नवराजलाई चिन्दा पनि चिन्दैन थिए । १८ जनाको टोलीमा नवराजलाई नचिन्नेमा शाहीमात्रै भने थिएनन् । उनी नवराजका सानीआमाका छोरा लोकेन्द्रका साथी हुन् । लोकेन्द्रसँगै मटेलाबाट निस्किए, तर गन्तव्य थाहा थिएन । दिनभरि साथीसँग खेलेपनि साँझ परेपछि घर आउँथे गोविन्द । फुपु यमुना शाहीका अनुसार त्यो नै पहिलो साँझ हो, उनी घर नफर्किएको । तर, त्यसपछि भने कहिल्यै नफर्किने गरी गए ।
गोविन्दसँग नजिकै घर भएका अर्का गोविन्द सुनार पनि गएका थिए, तर गोविन्द सुनार आफ्ना साथी गोविन्द शाही र लोकेन्द्र सुनारलाई छाडेर एक्लै फर्किए । उनलाई साथीहरु कसरी मारिए ? या कसरी मरे ? भन्नेसम्म थाहा भएन । न बचाउन नै सके । आफ्नो ज्यान जोगाउन भाग्दा भाग्दै समातिए । गाउँलेको कुटाईले उनी शिथिल बनिसकेका थिए ।

यो घटनामा अन्तरजातीय प्रेम कारण होला, तर दलितमात्रै मारिएका छैनन्,’ फुपु यमुना भन्छिन्, ‘दलितलाई मात्रै न्याय मागेर आन्दोलन भइरहेको छ, अनि गैरदलितकालागि कसले बोलिदिन्छ ?’

साथीसँग काफल खाने, घुम्ने र आउने भनेर हिडेका उनलाई परिवारले ११ दिनसम्म पर्खिरह्यो । तर, उनी कहिल्यै फर्किएनन् । उनको शव सबैभन्दा अन्तिममा २० जेठको दिउँसो साढे तीन बजे भेरीमा मिसिने खोदाखोलाको छेऊमा फेला प¥यो । घटनाको ११ दिनपछि भेटिएको उनको शव त्यति नै दिनदेखि भेरीमा नबगेको परिवारको दाबी छ । ‘जहाँ लास भेटियो, त्यहाँ वरपर पटक पटक हामीले खोज्यौं, पहिले त्यही ठाउँमा थिएन, पछि त्यही ठाउँ भेटियो, यत्तिका दिनसम्म बगिरहेको भए, लास त्यहाँ भेटिन्थेन, यो त मारेर लास भेटिएको दुई तीन दिनअघि मात्रै फालेको हुनुपर्छ,’ फुपु यमुना शाहीले भनिन् ।


त्यतिका दिनपछि भेरीमा बग्दै गर्दा भेटिएको उनको शवबाट रगत बगिरहेको थियो । उनकी आमा भीमकुमारी शाही भन्छिन्, ‘ओठ च्यातिएको थियो, नाक, मुख कुच्चिएको थियो, अरुका पहिले पहिले नै लास भएपनि भेटियो, हाम्रो त कसैले खोज्न पनि सघाएन ।’ भेरीमा वेपत्ता भएको भएपनि प्रहरीले समेत शव खोज्न नघाएको परिवारको गुनासो छ । परिवार अझै शोकबाट मुक्त भइसकेको छैन ।
भीमकुमारी भन्छिन्, ‘घटनापछि देशैभरि दलितका लागि आन्दोलन छ, न्याय र अधिकार मागिरहेका छन्, मेरो छोरोको चाँहि के दोष थियो र ? मेरो छोरोको त नाम पनि आउँदैन, कसैले सोध्दैन, हामीलाई कसले न्याय दिन्छ ?’ आफ्नो छोराको शवको अवस्था देखेपछि विछिप्त बनेकी आमा भीमकुमारी भन्छिन्, ‘उनीहरु त राक्षस नै हुन् कि जस्तो लाग्छ । कति धेरै कुटी कुटी मार्न सकेका होलान् ?’


भीमकुमारीका तीन छोरा छन् । गोविन्दका दाजु सन्देश आफैं लागेर भाई र अरुहरुको शव भेरीमा भेटाएका हुन् । गोविन्दका बुवा भने जेलमा छन् । गोविन्द सबैभन्दा कान्छा हुन् । आफ्नो हुर्किसकेको सानो छोराको कालगतिले पनि हैन, कसैले कुटेर मारेको देखेपछि आमाको मन विक्षिप्त नहोस् पनि कसरी ? आँखाभरि आँसु पार्दै भीमकुमारी भन्छिन्, ‘त्यत्रो कुटिञ्जेल मेरो छोराले कति पटक आमा भन्यो होला ?’
श्रीमान् पनि जेल परेपछि भीमकुमारीको घर चलाउने आश ती नै छोराहरुमाथि छ । घरमा सानो होटल छ । मटेलाको प्रहरी चौकी नजिकै सडक छेऊमा रहेको उनीहरुको होटलमा बाटो हिड्ने बटुवा र गाउँका मानिसहरुले सामान किन्छन् । खाना खाजा खान्छन् । दुई पैसा त्यही होटेलबाट कमाई हुन्छ । त्यही कमाईले घर चलेको छ । घटनापछि दलितमात्रै मारिएको जस्तो गरी भएका आन्दोलनका विषयमा थाहा पाउँदा भीमकुमारीको चित्त दुख्छ ।


भन्छिन्, ‘जो दलितको लागि ज्यान गुमाएको छ, उसको चाँहि नाम समेत आउदैन, यो त दुःखको कुरा भो नि सर ?’ उनले सबैलाई बराबरी न्याय र राहत लगायत सरकारी घोषणा हुनुपर्ने माग गरिन् । मटेलामा पनि दलित बस्ती छ । तर, शाही परिवारले छोइछिटो नगर्ने दाबी गरे । ‘यो घटनामा अन्तरजातीय प्रेम कारण होला, तर दलितमात्रै मारिएका छैनन्,’ फुपु यमुना भन्छिन्, ‘दलितलाई मात्रै न्याय मागेर आन्दोलन भइरहेको छ, अनि गैरदलितकालागि कसले बोलिदिन्छ ?’
१० जेठ शनिबारको दिउँसो चौरजहारी नगरपालिका–४ की प्रेमिका सुष्मा मल्ललाई भगाएर विहे गर्न गएका नवराज विक र उनका पाँच जना साथीहरु ठुली भेरीको छालसँगै बगे । उनीहरुसँगै उनीहरुको सपना र परिवारको खुसी पनि बग्यो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, गैरीज्यूलामा गाउँलेको आक्रमणमा वेपत्ता भएकाहरुको शव भेरीमा भेटिएको थियो ।


घटनामा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षे नवराज विक, २२ वर्षे सन्जु विक र १९ वर्षे गणेश बुढामगर, भेरी नगरपालिका–११ मटेलाका १८ वर्षे लोकेन्द्र सुनार र १७ वर्षे गोविन्द शाही तथा चौरजहारी नगरपालिका–१ का २० वर्षे टिकाराम सुनारको ज्यान गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank