लोकेन्द्रकी आमा भन्छिन्, ‘जातको कारण छोरोलाई भेरीमा हालिदिए’

दलित अनलाईन ३१ जेष्ठ २०७७, शनिबार १४:३५

जाजरकोट —(मटेला) जाजरकोट र रुकुमलाई छुट्याएर बगेको छ ठूली भेरी । गहिरो भेरीको नजिकै एउटा पिपलको रुखसहितको चौतारो छ । त्यो पिपलबोटबाट पाँच मिनेट दायाँ उकालो हिडेपछि बाटोसँग जोडिएको सानो बजारको नाम हो,मटेला । पैदल हिड्ने हुन् वा गाउँका बासिन्दा, घामले पोल्दा त्यही पिपलको फेदमा सुस्ताउँछन् । हिउँद होस् वा वर्षा, रातदिनको समागमले यहाँका बासिन्दालाई भेरीको लवज कण्ठै छ । भेल आउँदा पनि पानी खेलेरै वारीपारी गर्न गाह्रो छैन उनीहरुलाई । छोरी मान्छेले पनि भेरी खेल्नु चलनचल्ती नै हो ।
जाजरकोटको भेरी नगरपालिका–११, मटेलाको त्यही चौतारो छेऊमा एकतले झुप्रो छ । यो झुप्रो उनी लोकेन्द्र सुनारको हो । तर जग्गा हैन । ढुंगा माटोको गाह्रो । छानोमा जस्ता विछ्याइएको छ, तर जस्ता ढुंगाले किचेर अड्याइका छन् । घरमा जम्मा दुई वटा कोठा छन् । घरभित्र धेरै सामान पनि छैनन् ।
त्यो घरले दुई वर्षअघि नै घरमुली गुमायो । घरमा एउटी छोरी र आमामात्रै छन् । दिनभरि श्रम गरेर चुलो बल्छ, नत्र धौ–धौ छ । त्यही घरमा जन्मेर भेरीको तालमा खेलेका लोकेन्द्र अन्ततः भेरीमै नै बगे । ऊनी आफ्नो घरैमुनिबाट बगे । १८ वर्षसम्मको भेरीसँगको नाता जनम् जनम्को बन्यो उनका लागि । अचेल घरछेऊको त्यही चौतारीमा बसेर सुस्ताउँछिन् लोकेन्द्रकी आमा लक्ष्मी सुनार ।
खलंगामा मजदुरी गरेर फर्किदै गर्दा श्रीमान् लक्ष्य सुनारले सवारी दुर्घटनामा परी ज्यान गुमाए । एउटा छोरो मलेसियामा भीसा विनै भागी भागी बसिरहेको छ । लक्ष्मीको जीवनमा परेका बज्रपातको श्रृंखला यतिमै सकिदैनन् ।
सम्पत्तिका नाउँमा ऐलानी जग्गामा बनेको त्यही टहरो मात्र छ । बाबासँगै दुर्घटनामा परी ८ वर्षे छोरी पुनमको हात बांगो छ, टाउकोमा १५ टाका लगाइएको छ । दुवै खुट्टा माथिसम्म पिल्सिएका छन् । पुनमलाई चैतमै परीक्षणका लागि काठमाडौं लैजानुपर्ने भएपनि लकडाउनले रोकिदियो ।

लकडाउनकै कारण सुर्खेत बसेर सुनचाँदीको काम सिकिरहेका लोकेन्द्र चैत्र पहिलो साता घर फर्किए । ‘धेरै पढाउन पनि सकिनँ, बरु पेशा गरेर पैसा कमाउला भनेर सुनको काम सिक्न सुर्खेत पठाएकी थिएँ,’ लक्ष्मी भन्छिन्, ‘बन्दको बेला आएको थियो, फेरि नफर्किने गरी भेरीमा बग्यो ।’ लोकेन्द्र नवराजका आफ्नै सानीआमाका छोरा हुन् ।
१० जेठको विहान नवराजले सानीआमा लक्ष्मीको मोवाइलमा फोन गरे, र लोकेन्द्रसँग कुराकानी गरे । लक्ष्मी भन्छिन्, ‘सधै पनि दाजुभाई कुरा गर्थे, उनीहरुले के कुरा गरे ? मलाई थाहा भएन । त्यस्तो घटना हुन्छ भनेर मलाई के थाहा ?’ बेलुकी ७ बजे अचानक दिदी उर्मिलाको फोन आएपछि थाहा भयो, उनीहरु सोती गएछन् ।
लक्ष्मी भन्छिन्, ‘दिदीले मेरो छोरालाई त पिटेर खोलामा हाल्दिए रे भन्दै फोन गर्नुभयो, मलाई चाँहि बेउलालाई मात्रै १÷२ जनाले कुटे होला । भेरी खेल्ने मान्छे, आइहाल्छन् । फेरि मेरो छोरोलाई त केही भएन होला भन्ने लाग्यो । त्यस्तरी कुटीकुटी मारे होलान् भन्ने मलाई के थाहा ?’
त्यही राति नवराजको लास भेटिएपछि पनि लक्ष्मीलाई लाग्यो, मेरो छोरो कतै गएर बसेको होला । त्यसरात उनी लोकेन्द्रलाई पर्खिरहिन् । निद्रा परेन । भोलिपल्ट उनी सानी छोरीलाई लिएरै भएपनि खोजविनमा लागिन् । तर, लोकेन्द्र भेटिएनन् । ‘कोही साथीको बस्यो होला, भोलि आउँला, पर्सि आउँला भन्ने भयो । तर, कहिल्यै नआउने गरी गएको रहेछ,’ लक्ष्मी भन्छिन् ।
११ जेठको साँझ साढे पाँच बजे नवराजसँगै गएका टिकाराम नेपालीको शव भेटियो । त्यसपछि लक्ष्मीलाई पक्का भयो, कि आफ्नो छोरालाई पनि त्यसै छाडेनन् । लक्ष्मी भन्छिन्, ‘मेरो छोरो राम्रो भेरी खेल्थ्यो, त्यसपछि पनि आउँला कि ? भन्ने चाँहि लागिरह्यो ।’ तर, लक्ष्मीको आश आशामै सीमित भयो । लोकेन्द्र १४ जेठको दिउँसो साढे १ बजे भेरीमा बग्दै गर्दा भेटिए ।

भेरीको किनारमै उनको घर छ, उनी घरैअघि बाट बगेर झण्डै ३० किमि तल पुगेका रहेछन् । लक्ष्मीको जीवनमा अर्को बज्रपात प¥यो । काम सिकेर छोराले कमाउँला र घर खर्च चलाउन सहज होला भन्ने उनको आशा त्यही वेला निमेट भयो ।
‘विदेशमा बसेको छोरा न कमाउन सकेको छ, न घर फर्किन पाएको छ,’ लक्ष्मी भन्छिन्, ‘यहाँ भएको अर्को छोरोलाई भेरीमा हालिदिए, अब यो सानीको उपचार कसरी गर्नु ? मैले कसको आशमा बाँच्नु ?’ धेरै रुनु परेर होला, उनलाई दुःख पचाउने बानी परेको । आफ्नै दिदीको छोरोले बुहारी लिन साथी लगेकाले उनलाई दोष लगाउने ठाउँ पनि छैन । तर, दलित भएकै कारण कुटी कुटी मारेर भेरीमा फाल्नेहरुमाथि उनलाई ठूलो आक्रोस छ ।

‘मेरो छोरोलाई त दुवै हात पछाडि बाँधेर कुटेछन्, बग्दै गर्दा समातेर बाहिर निकाल्दा फुस्किएछ, पुलिसले मुचुल्कामा पनि त्यो लेखेनन्,’ उनी भन्छिन्, ‘अनुहार त चिन्नै नसकिने थियो । मैले त कपडाले मात्रै मेरो छोरो हो भनेर चिनेँ ।’ ‘अहिलेको जमानामा पनि दलित भनेर कुटेर मार्नु ? यो कति जायज हो ? यस्तालाई पनि कारवाही गर्न आनाकानी गरेको सुन्दा नराम्रो लाग्छ ।,’ उनले भनिन् ।
१० जेठ शनिबारको दिउँसो चौरजहारी नगरपालिका–४ की प्रेमिका सुष्मा मल्ललाई भगाएर विहे गर्न गएका नवराज विक र उनका पाँच जना साथीहरु ठुली भेरीको छालसँगै बगे । उनीहरुसँगै उनीहरुको सपना र परिवारको खुसी पनि बग्यो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, गैरीज्यूलामा गाउँलेको आक्रमणमा वेपत्ता भएकाहरुको शव भेरीमा भेटिएको थियो ।
घटनामा परी जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षे नवराज विक, २२ वर्षे सन्जु विक र १९ वर्षे गणेश बुढामगर, भेरी नगरपालिका–११ मटेलाका १८ वर्षे लोकेन्द्र सुनार र १७ वर्षे गोविन्द शाही तथा चौरजहारी नगरपालिका–१ का २० वर्षे टिकाराम सुनारको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank