मल्ल परिवारलाई स्वीकार्य थिएन नवराज र सुष्माको प्रेम, त्यहीकारण लखेटेको स्वीकार

दलित अनलाईन २८ जेष्ठ २०७७, बुधबार २२:४६

स्थानीय भन्छन्, ‘प्रहरीले लास खोज्नसमेत सघाएन’

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटना नवराज र सुष्माको प्रेम सम्बन्धकै कारण भएको परिवारले स्वीकार गरेको छ । प्रहरीले पक्राउ परेका अभियुक्तहरुले दिएको वयानमा सुष्मा मल्लसँग जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकको प्रेमसम्बन्धकै कारण हातपात गरेको स्वीकार गरेको जनाएको छ ।
१० जेठको साँझ सोतीगाउँ वरिपरिका चार गाउँ मिलेर नवराज र उनका साथीहरुमाथि सांघातिक आक्रमण भएको थियो । हसिया, बञ्चरो, खुकुरी, दाउरा र ढुंगाले आक्रमण गरेका थिए । घटनामा नवराजसहित ६ जनाको शव चोट लागेर क्षत्विक्षत् भएको अवस्थामा भेरीमा भेटिएका थिए भने अरु १२ जनाले भागेर ज्यान बचाएका थिए ।
प्रहरीकाअनुसार युवतीकी आमा प्रकाशी मल्लले घरमुनि डाँडामा आएका नवराज विकसहितका केटाहरुलाई ‘तँ डुम फेरि आइस्, अब मरेर मर्छस्…..’ भनेर गाली गरेकोसमेत स्वीकार गरेकी छिन् । घटनामा संलग्न २७ जनाविरुद्ध किटानी जाहेरीपछि प्रहरीले २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बुधबार थप दुई जना पक्राउ परेका छन् ।
उनीहरुको प्रेमसम्बन्धकै कारण घटना भएको स्पष्ट भएपछि अब प्रहरीले केटालाई लिन केटीले बोलाएको वा नबोलाएको ? आक्रमण नियोजित भए, नभएको ? मृतकहरुलाई कुट्दै कुट्दै खोलामा पु¥याएको वा मारेर फालेको भन्नेबारे अनुसन्धान केन्द्रित गरेको छ ।
हत्या काण्डका दोषीहरु पत्ता लगाउन प्रहरीले सीआईबीसमेतको सहयोगमा अनुसन्धान गरिरहेको घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय, नेपालगन्जबाट आएका प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेलले दलित अनलाइनलाई जानकारी दिए । ‘प्राप्त तथ्य प्रमाणको विश्लेषण, घटनाका प्रत्यक्षदर्शी, स्थानीय, घाइते, पीडित, प्रहरी लगायतको सोधपुछ र वयान लिइएको छ, केही मोवाइलहरु फरेन्सिक परीक्षणकालागि पठाइएको छ, कल ट्रेसिङ गर्ने काम पनि भइरहेको छ,’ उनले भने ।

सुरुमा सुष्माको परिवारले नवराजसँगको प्रेम सम्बन्ध थाहा नपाएको, थाहा पाएपछि मोवाइल बोक्न नदिएको, सम्पर्क गर्न नदिएको खुलेको प्रहरीले जनाएको छ । ‘उनीहरुको प्रेम सम्बन्धकै कारण युवतीलाई दबाब दिइएको छ, सम्बन्धकै कारण वुवाले उनको मोवाइल नम्बर बद्लिदिएका छन्, एक पटक भाइको नम्बरपनि बोक्न दिइएको छ,’ एसएसपी पोखरेलले भने, ‘थप परीक्षण र अनुसन्धान भइरहेको छ ।’ वुवाले मोवाइल लिनु अगावै सुष्माले दुई वटा सिम कार्ड फेरेकी छिन्, त्यसबारे बुवाआमालाई थाहा छैन ।
प्रहरीकाअनुसार नवराज जेठ १० गतेअघि नै तीन पटक पुगेका छन् । तेश्रो र चौंथो पटक जाँदा उनीमाथि आक्रमण भएको छ । प्रहरीकाअनुसार उनी चैत र बैशाखमा पनि सोती पुगेका छन् । युवतीपनि मंसिरमा मेला भर्न र पुस १२ गते नवराजकी आन्टीका छोराको जन्मदिन मनाउनपनि गएकी प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीले घटनास्थलमा एउटा भाँचिएको लाठी र अर्को एउटा लाठीबाहेक केहीपनि भेटेको छैन । घाइतेहरुले भनेजस्तो कुन कुन हतियार प्रयोग भयो भन्नेमा प्रहरी स्पष्ट भएको छैन । एसएसपी पोखरेलले घटनास्थलमा भने छोटो समयमात्रै घटना भएको अनुसन्धानबाट खुलेको बताए । ‘मृत्यु भएका ६ जनाको कसरी मृत्यु भयो ? वा कसरी नदीमा पसे ? शवमा कति चोट थियो ? कसरी चोट लाग्यो ? पानी खाए कि खाएनन् ? लगायत शवको प्रकृतिको बारेको रिपोर्ट विज्ञले दिने हो । पोष्टमार्टम रिपोर्टबाट मात्रै यो कुरा खुल्छ,’ उनले भने ।
प्रहरीकाअनुसार भेटिएका सबै लासमा चोट देखिएका छन् । सबै लास भेरीमा बग्दै गर्दा पानीको चाप कम भएका ठाउँ, ढुंगा र चेपमा भेटिएका छन् । सबैले लगाएका जुत्ता लासमा छैनन् । खाली खुट्टा भेटिएका छन् । सबैको लासमा घाँटीभन्दामाथि चोट लागेको देखिएको छ । टाउको र जिऊमा पनि चोट छ । तर, सबैको टाउको बढी चोट छ ।
प्रहरीकाअनुसार नवराज र सन्जुको शरीरको पछाडिको भागमा बढी चोट छ । स्थानीय मुक्ति पौडेल भन्छन्, ‘मैले सबै शव देखेँ, सबैको घाँटीभन्दा माथि चोट छ, धेरैको अनुहारमा नाक,मुख, आँखा कुच्याइएको छ, निधार र टाउकोमा गहिरो चोट लागेको छ, लोकेन्द्र र गणेशको अण्डकोष सुन्निएको छ ।’ उनले सबैलाई धारिलो हतियार प्रयोग हुनसक्ने अनुमान लगाए ।

स्थानीय भन्छन्, ‘प्रहरीले लास खोज्नसमेत सघाएन’
घटनामा परी मृत्यु भएका सबैको लास प्रहरीले भेटाएको हैन । स्थानीय युवाले नै शव फेला पारेको खबर गरेपछि मात्रै प्रहरी शव भेटिएको स्थानमा पुगेर मुचुल्का उठाएको हो । घटना रुकुममा भएपनि सबै लास जाजरकोटमा भेटिएका थिए ।
जाजरकोट प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सबै शव स्थानीय युवाले नै खोजी गरी प्रहरीलाई खबर गरेको पुष्टि गरे । ‘प्रहरी खटिएको थियो, तर सक्षम जनशक्ति नहुँदा पौडी खेलिरहने स्थानीय युवाले नै सबै लास भेटेका हुन्,’ दलित अनलाइनसँग उनले भने । शशस्त्र प्रहरीको गोताखोर टोली आएपनि टोलीले लास भेटाउन सकेन ।


प्रहरीले लास खोज्न कम चासो दिएको पीडितको गुनासो छ । गोताखोर टोलीले पौडिएर पानीमा जान नसकेको र उनीहरुको बोटसमेत पल्टिएकाले शव फेला नपार्दै टोली फर्किएको स्थानीयको भनाइ छ । ‘उपकरणसहित आएका गोताखोरले काम गर्न सकेनन्, बरु लाइफ ज्याकेटसमेत नलगाएरै यहीका भाइहरुले शव भेटाए,’ स्थानीय संघर्ष समितिका सहसंयोजक छवि पन्तले भने । शव खोजीमा भेरी नगरपालिका–११, मटेलाका जनक केसी, सन्देश शाही, सुवर्ण रोकाया, हरि कार्की, ज्ञानु शर्मा लगायतको टोली खटिएको थियो । प्रहरीले भने दक्ष र पर्याप्त जनशक्ति नहुँदा शव खोज्नमा कमजोरी भएको स्वीकार गरेको छ ।
१० जेठको साँझ घटना भएपछि करिब एक किमि तल नवराजको शव राति ११ः४५ बजे भेरी नदीको धल्ला पुल नजिकै भेटिएको थियो । यस्तै, टिकाराम सुनारको शव ११ जेठको साँझ ५ः३० बजे खोदाखोलामा, गणेश बुढामगरको शव १२ जेठको बेलुका ४ बजे फेरामा, लोकेन्द्र सुनारको शव १४ जेठको दिउँसो १ः३० बजे राक्सेमा, सन्दीप भनिने सन्जु विकको शव १५ जेठको दिउँसो ३ बजे कालाभीरमा र गोविन्द शाहीको शव २० जेठको दिउँसो ३ः३० बजे खोदाखोलामा भेटिएको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank