जनार्दन शर्मालाई खुल्लापत्र : कमरेड जातीयतामा शीर निँहुराउनुपर्ला !

सज्जन कुमार सिंह १९ जेष्ठ २०७७, सोमबार २३:२६

प्रिय कमरेड जनार्दन अभिवादन

म तपाइको ठुलो फ्यान हुँ अनि विचारको अनुयायी पनि । यी शब्दहरु लेखिरहँंदा मन निकै खिन्न भएको छ । कताकता आक्रोशको ज्वाला उठेको छ ज्वालामुखी उठे जस्तै । अपराध र विभेदले भरिएको नेपाली समाजमा जन्मिनु परेकोमा कताकता आफुलाई पश्चाताप लागेको । मानवतावाद र विकासबारे विश्व समुदायसंग बहस गर्ने ल्याकत राख्ने म आज अन्तरजातीय प्रेमकै कारण भएको नरसँहार जस्तो निकै लज्जित विषयमा तपाइलाई पत्र लेख्नुपर्दा दुखी छु ।
हो कमरेड ,जब तपाईले राम्रा कदम चाल्नु हुन्थ्यो हामी त्यसलाई बुट्टा हानेर अनि तेजाबले सुन टल्काएझै गरेर बढाइ चढाइ प्रचार गरिन्थ्यो । तपाई विरुद्ध कुनै गलत कुरा गर्नेलाई हामी प्रतिकार गथ्र्यौ । अझ यसो पनि भनौ। तपाईका हामी अन्धा समर्थक थियौ र तपाई हाम्रो एउटा आइडल ।
सिंगो क्रान्तिको नाक काट्ने गरि युद्धको उद्गम भुमि रुकुम तपाईकै आफ्नो जिल्लामा भएको नरसंहारले तपाइ अरुभन्दा अझै बेसी दुखी हुनुभएको छ । तपाइलाई यो पनि भनिदेउ कि अहिले सिंगो उत्पिडित समुदाय तपाइको भुमिका देखेर अझै बढि दुखी भएको छ । तपाइकै कार्यशैली प्रति सशंकित भएका छन् । विश्वास नलागे तपाइको प्रतिक्रिया पछि उत्पिडित समुदायले तपाइप्रति देखाएको आक्रोश हेर्नुस् ।
जनयुद्धमा तपाइलाई जोगाउन, तपाइलाई हानिएका गोली छातीमा थापेर हाँसीहाँसी मृत्युवरण गरेका दलित समुदायका योद्धाहरुको आत्मा अहिले भड्किएको हुनुपर्छ , ग्वां ग्वां रोइरहेको हुनुपर्छ तर म सँग शहिद बनेका मान्छेहरु रोएको देख्ने दुरबीन छैन ।
तर अन्तरजातीय प्रेमसम्बन्धकै कारण ढालिएका ६ जना कलिला युवाहरुलाई देख्न हामीलाई नत दुरबिन चाहिन्छ नत टेलिस्कोप नै । त्यो हरेक नेपालीको आँखाआँखामा छाएको छ । चारैतिर छाएका छन् कमरेड ।
हो कमरेड ,तपाईको स्पष्टमा पहिलो पटक प्रश्न उठ्न थालेको महसुस गरेको छु । त्यसैले पनि हामीलाइ बढि दुख लागेको छ । विस्तारै तपाइको निष्ठा , स्वच्छन्दता र समानतावादी परिचयमा शँकाका धर्साहरु कोरिन थालेका छन् सेतो तन्नामा काला रेखाहरु तानिएझै ।
तपाइले भन्ने गरेको मान्छे अन्र्तराष्ट्रिय जातिको परिभाषाले सायद अब हामीलाई कुरीकुरी गर्न थालेको छ । मान्छे अन्र्तराष्ट्रिय जाती ठान्ने दर्शन आफैमा चाहि लागु नहुँदो रचकि भन्ने पनि लागेको छ । हुन त मान्छे आफु परिवर्तन हुन चाहदैन तर अरु परिवर्तन भएको हेर्न चाहन्छ भन्ने पनि त हामीले सुन्दै आएको हो । तर त्यसो हुनहुन्न ।
र अर्का कुरा पनि सुन्दै आएको छु सिद्धान्तका माछा खाना हुन्न तर खोलाका माछा त खाना हुन्छ नि । कतै सिद्धान्त र खोलाका माछाको यो कथन सावित हुन त लागेन मलाइ शँका लाग्दैछ ।

मुस्ताङको उपल्लो भेगको भेडिगोठमा दिनभर सँगै चर्ने भेडा र बाख्राहरु साँझ परेपछि आफ्ना बथानतिर लाग्छन् कतै कठिन परिस्थितीको यो घडिमा तपाई पनि आफ्नै बथानमा केन्द्रित हुन थाल्नु भएको होकी ? धेरैले यस्तै सोच्न थालेका छन्। तर कमरेड त्यस्तो कदापि हुने छैन किनकी तपाई न्यायको पक्षमा हुनुपर्छ । कोहि पनि पिडीतको आंँशुका तालहरुमा पौडिने अवस्था बन्नुहुन्न ।
यतिखेर तपाईको अनुहारमा जातिवादको हिलो जबरजस्त छ्यापिएको छ । मेरो आग्रह छ अनुहारमा छ्यापिन लागेको यो पापयुक्त आरोपलाई पिडितको न्यायको जाले रुमालले पुछेर जनयुद्धको तातो भट्टिबाट पोलिएर निस्किएको प्रभाकर सावित गर्ने क्षमता राख्नुहोला , घटनाका दोषीलाई कारबाही गराउने काममा कुनै अवरोध नहोस् । घटनामा राजनीतीको तुरुप नफ्याकियोस् ।
यतिखेर देशमा कोरोनाको प्रकोप छ तर यो समाजमा कोरोना भन्दा पनि ठुलो जातिय विभेदको भाईरस विद्यमान छ र त विभेदको भाइरस विरुद्ध कोरोना भाइरसलाई पर हट भन्दै माइतीघर मण्डला र देशभरमा आम दलित र मानव अधिकारकर्मीहरु सडकमा उत्रिएका छन् ।

कमरेड , यो पत्र मैले सम्माननीय प्रधानमन्त्री केपी ओलीको नाममा लेख्न पनि सक्थे । तर उहाँलाइ दलितहरु मोरेकोमा एउटा समवेदना लेख्ने फुर्सद छैन किनकी उहाँ अहिले सम्वृद्ध नेपालका गीतहरु लेख्न व्यस्त हुनुहन्छ र एउटा गीत त आज मात्रै पत्रिकामा पढँे । अब कोहि नेपाली मर्न पर्दैन । उहाँको कविता पनि रुकुमको यो अवस्था देखेर कुनै डायरीभित्र भक्कानिदै छ होला ? या त उहाँलाई नै गिज्याउँदै होला । प्रमज्यू अलि विरामी मान्छे सायद उहाँ सम्वृद्ध देश र सुखी नेपालीको सपना साकार पार्न दिनरात खटिदा यस्ता झिना मसिना कुरामा अल्झिन चाहना राख्नु हुन्न क्यारे । उहाँले दलित समुदायका युवाहरु मर्दा श्रद्धाञ्जली लेख्न जरुरी ठान्नु भएन उहाँलाइ जरुरी लागेन पनि त होला । बरु दलितले बुढो गोरु काट्यो भने पानी मुनी पुगे पनि पक्रेर लिने आदेश चाहि उहाँको सरकारले दिदै आएको छ र गोरु काटेर भोका पेट भरेका लिम्बु र केहि दलितहरु नभएको देशका कुनै जेल छैन कमरेड ।
त्यसैले तपाइलाई नै यो पत्र लेखियो र यसको तात्पर्यता त तपाइले छर्लङ्गै बुझ्नु भएको छ । किनकि तपाइ त निकै दुरदर्शी पनि त हुनुहुन्छ नि ।

फ्रान्सियो बाकेनले भने जस्तै यदि हामीले न्याय राख्दैनौ भने न्यायले हामीलाइ सधै राख्दैन भन्ने नै हुन्छ । पीडित समुदायले पनि कानुनको पालना गर्नुपर्छ भन्ने हुदैन । तसर्थ, आसा गरौं यो घटनाले सिङ्गो मानव समुदायको मनमा लाएको घाउलाई न्यायिक निकायको फैसलाले मल्हम लगाउनेछ र यसमा कमरेडहरुको विशेष भुमिकाले तपाईको महानताको उचाई अझ बढ्नेछ । यदि त्यसो हुन सकेन भने यसको मुल्य भविष्यमा निक्कै महङ्गो पर्नेछ भन्ने कुराको हेक्का समेत राख्न जरुरी छ ।

छोरा गुमाएका आफन्त र पिडित परिवारको विलापहरुले मलाई मनै देखि झक्झकाएको छ । यो युगमा दलित भएकै कारण प्रेम गर्दा मारिनुपर्ने अवस्थाले फेरि म भित्रको चेतनाले विद्रोह सुरु गरेको छ । म भन्दा बढि त्यी आक्रोशित छन् जसले भर्खरै फक्रदै गरेका फूलरुपी आफ्ना सन्तान गुमाए । अझै बढि दुखी त गोपाल बिकहरु छन् , जो जातिय विभेदको दासताबाट मुक्ति पाउने आशामा तपाइसंगै दाङ,रोल्पा र जाजरकोटको युद्ध मैदानमा लडे । उनीहरुले त्यतिबेला तपाइको पछि लागेर गल्ति गरिएछ कि भन्ने आशयका आक्रोशित शब्द लेखेर कतारबाट तपाइलाई गाली गर्दै छन् । मलेसियाको क्वारेनटाइनबाट आक्रोश पोख्दै छन् । कमरेड ती गोपालहरुको आक्रोशको आगोमा घ्यु नथपिदिनुहोला ।
चार दिन अघि १२ औ गणतन्त्र दिवस थियो । तपाइहरुले गणतन्त्र दिवसको अवसर पारेर दिप प्रज्वलन गर्दै गर्दा कथित उपल्लो जातकी केटीलाई प्रेम गरेकै कारण मरेका नवराजको चिता भेरिको किनारमा बल्दै थियो । छेउमा उसकी आमा र बैनीको बिलाप हेर्न सकिएन । उनीहरु ज्युँदै मरेका थिए ।
लाग्यो उनको चितासंगै ७० लाख दलित समुदायको मुक्तिको सपना जल्यो, विभिन्न कालखण्डमा गरेको त्याग र बलिदान बग्यो अनि यो खोक्रो गणतन्त्र पनि जल्यो । प्रेम गरेकै कारण मर्नुपर्ने दलितका लागि गणतन्त्र कहिले आउँछ होला कमरेड ? मलाइ सारै सोध्न मन लागेको छ ।
सर्वहाराबर्गको सत्ता लिन हिँडेकाहरु मध्ये धेरै देशका मुख्य पदमा पुगे । तिनलाई यो घटनाले दुखेन । दलित कै मुक्ति गर्न हिँडेका दलितका बालिघरेलाइ पनि दुखेको महसुस भएन । तपाई पनि त दुईदुई पटक मन्त्री हुनु भयो नि हैन र ? गणतन्त्र स्थापना र देशमा नयाँ सँविधान जारी भएपछि पनि १४ जना बढि दलित समुदायका व्यतिहरुले ज्यान गुमाए । कथित उच्च जातकी केटी विहे गरेकै कारण मारिएका अजित मिजारको कुहेँको लास अझै टिचिङमा सडेको छ उनको शव अझै उठ्न सकेको छैन । पानी छोएको निहुँमा , मन्दिर पसेको निहँुमा आज पनि उनिहरु पिटिन्छन् , बलात्कारमा पर्छन अनि मर्छन् पनि । यो श्रृंखला अझे बढेर गएको छ ।

फेरि अहिले रुकुमको अति निष्कृष्ट नरसंहार पनि जातकै कारणमा आएर जोडिएको छ । र त्यो घटनामा तपाइले लिनु भएको जातीय पक्षधरताको चर्चा झनै चुलिदै गएको छ । आग्रह गर्न चाहन्छु घटनामा कुनै पनि अपराधीलाई कुनै पनि ढंगले ढाकछेप नगरियोस् । लासहरुमाथि कसैले राजनीति नगरुन् । हो कमरेड तपाईले संसदको रोस्टममा उभिएर भन्नुभएको थियो घटनामा राजनीति हुन्न । यो शब्द कसैलाई स्पष्टीकरण थियो वा आफैभित्रबाट अकस्मात निस्किए होला मलाइ अचम्म लागेको छ ।
जनार्दन कमरेड तपाई उज्यालो नेपालको अभियान्ता हो यसमा दुईमत छैन । तपाईले केहि समयअघि रातारात कोरोना अस्पताल बनाउँदा पनि खुब खुसी लागेर तपाइप्रति श्रद्धा जागेर आएको थियो । दक्षिण कोरियाबाट फर्कने दिनमा तपाईले घाँटीमा पैराएको खाँदा अझ पनि म संग सुरक्षित छ र त्यो भन्दा पनि बेसी तपाइले भन्ने गरेको सर्वहारा बर्गको मुक्ति र उत्पिडित समुदायको पक्षमा गरेको हुंँकार यी कानकानमा गुञ्जिएका छन् ।

तपाई सदनमा उभिएर रुकुम घटना बारे बोल्दा लाखौ मान्छेका आँखा कान तपाईमा केन्द्रित थिए । तपाईलाई निकै कठिन भएको महसुस गरेको थिए । गला निकै अबरुद्ध भएको पनि त थियो नि हैन ? मास्कले मुख छोप्नु भएको थियो तर त्यो भन्दा पनि बढि त जातीवादी कालो पर्दाले तपाईको चिन्तन र सिद्धान्तलाई छोपेको तपाईको प्रस्तुतीमा देखिन्थ्यो ।
तपाईका दुईवटा आँखालाई सघाउने अझै दुइवटा सिसाका आँखा थिए । ती चश्मा भन्दा पनि समाज व्यवस्था र मान्छेलाई हेर्ने माक्सवार्द र साम्यवादको मुख्य शक्तिशाली आँखा त झन तपाईको मगजमा थियो तर ती आँखाहरुलाई बन्द गरेर तपाइले जातीयताको एउटा आँखा खोल्नु भयो । त्यो जातीय आँखाले भर्खरै कोपिलामा खेल्दै गरेको दलितका छाउराहरुलाई थिचिथिचि कोपिलामै निमोठेको देख्न सकेन । नत उनीहरु मर्नुको यथार्थ कारण दिनुभयो बरु घटनालाई भवितव्यतिर मोडिदिनु भयो ,दार्जिलिङको घुम्तीमा रेल मोडे जसरी । अनि फ्याट्ट भनिदिनु भयो वडा अध्यक्षले प्रहरीलाई बोलाए झडपको अवस्था भयो अनि ज्यान बचाउन केटाहरु भेरीमा हाम फाले ।
हो कमरेड राजकुमार बगरले लेखेको एउटा गीत सुनेको थिए ।
पराइले ढुंगै हानोस् एकछिन दुख्छ निको हुन्छ
आफ्नाले फूलले हानोस् जीवनभरी दुखी नै रहन्छ ।
आफ्ना ठानेकाले सानो कुरामा चित्ता दुखाउँदा पनि धेरे दुख्दो रहेछ । किनकि हामीले तपाइलाई आफ्नो ठानेका थियौ र आम उत्पिडित समुदायले तपाइलाई आफ्नो ठानेको थियो तर तपाइले आफ्नालाई मात्र आफ्नो ठान्नु भयो ।
संसदमा तपाइको घटना ब्रिफिङको गलत प्रस्तुतीले न्यायको निम्ति हात थापेर बसेका मृतक परिवारको अञ्जुलीभरि आँशु भरिएको थियो । छातीमा असैह्य पिडा भएको थियो । उनीहरुले भने आफ्ना आफन्त छाडेर, आफ्नो जिल्ला छाडेर किन हामी पिडितको बारेमा बोलुन भनेर रुदै प्रश्न गरेका भिडियो बाहिरियो ? कतै यो जघन्य अपराध अन्तै मोडिन्छ कि कतै शक्तिशाली नेता आफन्त पिडकको पक्षमा उभिएर न्याय मिल्दैनकि भन्ने त्रासमा छन् पिडित परिवार ।

तपाइले संसदमा उभिएर बोलिरहँदा बाघ जस्तै प्रस्तुत हुने तपाइको शिर झुकेको पहिलो पटक मैले अनुभव गरेको थिए । मान्छेलाई मनमा सत्य कुरा राखी ,मुखबाट झुट बोल्न कति कठिन हुँदोरहेछ भन्ने प्रमाण तपाईको अवस्थाले देखाउँथ्यो । त्यत्रो जनयुद्धमा तोप र मृत्युसँंग नझुकेको तपाइको त्यो शिर कसरी झुक्यो होला कमरेड ?
अझै लाजमर्दो त के भयो भने नि उग्र क्रान्तिकारी माओवादि र कम्युनिष्टहरु अपराधका पक्षमा र पुरातनवादी भनेर तपाई हामीले आरोप लगाउने काँग्रेसीहरु विभेदको विरुद्धमा उभिए जस्तो देखिनु । ओहो यो भन्दा ठुलो लज्जा के हुन सक्ला र ? यस्तो लाग्यो कि त्यो बेला त दश वर्षे युद्धले पनि नाक छोप्दै हुँदो हो ।
हो कमरेड ,सत्य थाहा नै नभएको भए झुट नबोल्नु पथ्र्यो । ती युवाहरु आफै भेरीमा हेलिन अवश्य गएका थिएनन् होला । यदि नदि मै हेलिन गएको भएपनि हेलिनुपर्ने कारण छ होला नि । हेलिन बाध्य किन बनाईयो भन्ने पनि त थियो होला नि होईन र ?
तपाई त गृहमन्त्री भैसकेको मान्छे तपाईको सम्पर्कमा देशभरका प्रहरी प्रशासन छन् । अझ नरसंहार भएको ठाउँ त तपाईको आफ्नै जिल्ला अझै अघि बढेर भन्ने हो भने तपाइको आफन्त नातागोता पनि त रहेछन् त्यो ठाउँमा । कतै यसैले पनि तपाइलाई अप्ठ्यारो भएको होकी ? बोल्दा घाँटीमा ती आफन्तको अनुहार आएर पो अल्झिए छ कि कमरेड तर यस्तो पासविक घटनाका दोषी जो हुन् तिनलाई कारवाही नगरे भेरीमा तैरिएका युवाका लासहरूले पोल्ने छ आफैले खाएको कसमले पोल्ने छ ।
धेरै मिडियाहरुले यति धेरै समाचारहरु ,भिडियो र अन्तर्वार्ता छापेका छन् । हात बाँधेर खोलामा फ्याँकिएयो कुरा लास भेट्याउने पौडिबाज जनक रोकाएलाइ सोध्नुस् । लाशको अवस्था के छ अस्पतालमा शब पोस्टमार्टम गर्ने डाक्टरलाई सोध्नुस् । अब त भन्नुपर्छ युवाहरुलाइ कुटेरै भेरीमा हेलिएको हो ।
हो आफ्नाको माया लाग्छ । किनकी हामीमा केहि न केहि त आफ्नो पनको माया छ । अझै आफ्नो रुकुमेली माटोको माया पनि लाग्छ नि । नेता भएकोले भोट त झन सँरक्षित गर्ने परिगो । भोटहरुको हिसाबकिताबले मन बहकियो कि कमरेड तर त्यस्तो कदापि नहोस् र हुन दिनुहुन्न कमरेड तपाईका समर्थक केवल रुकुमको सोतीमा मात्र छैनन् । भाइको ससुराली भएपनि । सोतिका मल्लहरुको मात्र जीँवन होइन जाजरकोट राना गाउका दलितहरुको पनि त जीवन हो, गोपाल थाप उनका बाउ अनमाको मुटुमा उनीएको झिरमा नुन चुक नदलियोस्ँ ।
त्यसैले कमरेड यो घटना केवल भाइको सालो र मेयरको भतिजसंग मात्र जोडिएको छैन । यो त मान्छे बाच्न पाउने नैसर्गिक अधिकारसँग जोडिएको छ । छ वटा निमोठिएका जिन्दगी र त्यी जिन्दगी संगका सुन्दर सपनासंग जोडिएका छन् ।
स्वतन्त्रपुर्वक प्रेम गर्न पाउने अधिकारसँग जोडिएका छ । घटनामा विभेद मात्र जोडिएन सिंगो सोती गाउँको मानवता , रुकुमलाइ हेर्ने दृष्टिकोण र जनयुद्धको सफलता असफलताका अनेकौ पाटाहरु पनि जोडिएको छ ।

हिजो अत्याचारको विरुद्ध बारुद पिएर रगत ओकल्न सिकाउनु भयो । तपाईका जोशिला भाषणले खेतमा कुटो खन्दै गरेका युवाहरु युद्धमा होमिए । छुवाछुत र विभेद मुक्तिको निम्ति दलितहरुको मनोविज्ञानलाई रिस र आक्रोशको बम बनाएर बिस्फोट गराइदिनु भयो । तिनै सर्वहारालाई भर्याङ बनाएर सत्तामा पुगेको कुरा बिर्सनु भएको छैन होला । हो कमरेड विर्सनु हुदैन कदापि किनकी त्यो कुरा विर्सिनु भनेको आफैलाइ विर्सनृु हो ।
यदि विर्सनु भयो भने महान जनयुद्धमा रगत बगाउने दलितहरुको रगतमाथी उपहास हुनेछ । सोध्नुस् तपाइलाई भोट हाल्ने त्यी दलितहरुलाई । अनि सध्नुस झुटो बोलेको आफ्नो आत्मालाई ।।
त्यहि भेरि नदिका किनारहरु अझै साक्षी छन् तपाइले अन्याय अत्याचर र विभेद विरुद्ध गरेका प्रतिबद्धताहरु केके थिए ? जनयुद्दमा मारिएका वरपरका त्यी मान्छेहरु कोको थिए ? यसो आँखा चिम्लेर सोच्नुहोला । खोला तरेर लौरी बिर्सने भनेझै रुकुमबाट काठमाण्डौ पुगेपछि लौरो नविर्सिनु होला ।
भेरि नदिको उर्लदो भेलमा बगिरहेका कम मगज र अपरिपक्व जोस भएका अल्लारे युवाहरुलाइ विधी बारे थाहा थिएन पक्कै । केहि गल्ती उनीहरुबाट भएका पनि होलान् तर घर नजिकको जनताको सरकारका स्थानीय प्रधानमन्त्री डम्मर मल्लकै नेतृत्वमा सिँगो गाउँ नै उठेर गरिएको यो नरसँहारलाइ जति निन्दा गर्दा पनि कमी हुन्छ । रमिते बनेको प्रहरी त अझै दोषी छैन र ? यदि तपाइलाई गलत सुचना प्रहरीले दिएको हो भनि त्यी सबैलाई कारबाही हुनुपर्छ ।
भनिन्छ मौकामा हिरा फोर्न सक्नुपर्छ । कुशल नेतृत्वको परिक्षा विशेष समयमा हुन्छ र यहि घटनाले तपाईको परिक्षा लिने छ । सबै नाताबाद कृपावादबाट माथि उठ्ने महानता देखाएर दोषीलाई कारबाही गराउन भुमिका खेलौ । म जस्ता लाखौ तपाईका समर्थकहरुको विश्वासको धरहरा भत्किन नपाओस् ।

यतिबेला मल्ल ,शर्मा ,जिल्ला र माटोसँग माया लागेर आउनुहुन्न मान्छे आफ्नो हुन सक्छ तर अपराध कहिल्यै आफ्नो हँुदैन ।
उनीहरुले गरेको अपराधको सजाय उनीहरुले पाउनुपर्छ भन्ने सबैको माग छ ।निष्पक्ष छानविनमा सघाएर दोषीलाई कारवाही गराउन तपाई अग्रमोर्चामा उभिनुपर्छ ।
जनताको सबै भन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारका अध्यक्ष नै यो घटनाका मुख्य जिम्मेवारी देखिन्छन् तसर्थ उनी लगायतका सम्पुर्ण दोषीहरुलाई सजाय होस् । जसले गर्दा कानुनी राज्यको महशुस हुनेछ । यदी यसो हुन सकेन र यसलाई विभिन्न बाहानामा दोषीहरुले बिगतमा जस्तै उन्मुक्ति पाए भने बर्तमान सरकार र यो सरकारको नियमनकारी निकायले घटनाको अनुसन्धान फेरि पनी तथाकथित उपल्लो भनिने जाती र वर्गको एकलौटी सत्ता र शक्तिको छत्रछायामा पर्यो भन्ने कुरा प्रस्ट हुनेछ । फ्रान्सियो बाकेनले भने जस्तै यदि हामीले न्याय राख्दैनौ भने न्यायले हामीलाइ सधै राख्दैन भन्ने नै हुन्छ । पीडित समुदायले पनि कानुनको पालना गर्नुपर्छ भन्ने हुदैन । तसर्थ, आसा गरौं यो घटनाले सिङ्गो मानव समुदायको मनमा लाएको घाउलाई न्यायिक निकायको फैसलाले मल्हम लगाउनेछ र यसमा कमरेडहरुको विशेष भुमिकाले तपाईको महानताको उचाई अझ बढ्नेछ । यदि त्यसो हुन सकेन भने यसको मुल्य भविष्यमा निक्कै महङ्गो पर्नेछ भन्ने कुराको हेक्का समेत राख्न जरुरी छ ।
तपाइको शुभचिन्तक हाल बागलुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank