सुत्केरी, गर्भवती सहितको ७५ मुसहर परिवारहरूले पाए एकिकृत राहत

दलित अनलाईन १० जेष्ठ २०७७, शनिबार २१:०३

धनुषा– धनुषा जिल्ला कमला नगरपालिका – ५ भलुवाहाका घोघी सितुवा मारेर जीवन धाउन बाध्य मुसहर समुदाय भोकको कारण कुपोषणको शिकार बन्दै गएको गर्भवती र सुत्केरी सहित ७५ परिवारले पौष्टिक आहार सहितको एकिकृत राहत वितरण गरिएको छ ।
कोरोना विश्वव्यापी महामारीबाट बच्न सरकारले गरेको २ महिना लामो लकडाउनको कारण भोकमरीको सिकार भई सप्तरी जिल्लाको कञ्चनपुर नगरपालिका—५ पत्थरीका मलरा सदाको निधन भएपछि गाउँलेले चन्दा दिएर दाहसंस्कार गरे । मलरा सदा जस्तै कैयौ परिवार भौकै सुत्ने गरेका छन् र उनी जस्तै अरु धेरै जना मर्न सक्ने सम्भावना प्रवल रहेकाले त्यस्तो परिवारलाई बचाउनको निम्ति शुरु देखी नै भोर, अनुसन्धानमा आधारित अभियानी संस्थाले पहल गरी कोरोना भाईरसबाट बच्न अपनाउनुपर्ने सावधानीहरु र भोकै वसेका परिवारलाई राहत वितरण गरेको हो ।


बेसिक हेल्प फोर नेपालको सहयोगमा भोकको कारण कुपोषणका सिकार बन्दै गएको २३ सुत्केरी तथा गर्भवतीलाई विशेष पोषण प्याकेज अन्र्तगत घरेलु चामल, दाल, तेल, नुन, अण्डा, ज्वानो, तरकारी तथा फलफुल वितरण गरेका छन् । त्यस्तै घोघी, सितुवा मारी दैनिक गुजारा गरिरहेका ५२ परिवारलाई पनि १५ केजी चामल, १ केजी दाल, १ किलो नमक, १ लिटर खाने तेल सहित तरकारी र तरबुजा वितरण गरेका छन् । वितरण गर्ने क्रममा भोरका अध्यक्ष पचुलाल माझी, महासचिव सरोज प्रसाद दुलाल, सदस्य विनय मडंल, स्थानिय जनप्रतिनिधी, प्रहरी तथा संचारकर्मीको उपस्थिति रहेको थियो ।


पोषण प्याकेज पाएकी सन्चो देवीले घुंघटबाट भुईमा हेर्दै भनिन् – राम्रो सित खान नपाएर दुध नै आईरहेको थिएन्, बच्चा धेरै रोईरहेको थियो, हामी त भोकै बस्न सक्छौ तर दुध खाने बच्चा कसरी बस्न सक्छ ? बच्चालाई रोएको हेर्दा म पनि रोइहाल्थे । मलाई त विश्वास नै लागेन अण्डा सहित तरकारी चामल पनि दिइन्छ किनकी नगरपालिकाले त कुहिएको ५ किलो चामल र आलु मात्रै दिएको थियो । म सहित सबै जना धेरै खुशी छन् ।

पोषण प्याकेज पाएकी गर्भवती रुविता सदाले पनि खुशी हुदै भनिन् –स्वाथ्य चौकी जाँदा अण्डा, फलफुल खानु डाक्टर दिदीले भनेकी थिइन् तर आठौ महिना चलिरहँदा पहिलो पटक म एक क्यारेट अण्डा खान पाइरहेको छु ।
स्थानीय रामसागर मण्डलले थप्दै भने, कमला नगरपालिका नेपालको मुगु, हुम्ला, जुम्ला जस्तै विकट एरिया हो, यता राहत होस् या विकास मुखमै सिमित हुन्छ तर तपाईहरु सबैले घरलाई समेटी राहत दिनुभएकोमा धेरै धन्यवाद छ ।
भोकै बसेका परिवारले राहत पाएको देख्दा सहयोगी हातलाई सन्तुष्टि हुन्छ भने घर र खेतबारीमा लगाएको सामग्री विक्री हुदाँ कृषक पनि खुशी हुन्छ र पहल गरी वितरण गर्दा भोकै बसेका परिवारले दुई छाक खान पाएको हेर्दा सन्तुष्टि हुने गरेको राजकुमार महतोले बताए ।
भौतिक दुरीलाई मध्यनजर गर्दै भोर अनुसन्धानमा आधारित अभियानी संस्थाले भोकै बसेका करिब हजार गरिब, विपन्न, दलित, वृद्ध र बालबालिकाहरु, गर्भवती र सुत्केरी परिवारलाई खाद्यान्न सामग्री वितरण गरिसकेको छ । अझै हजारौ परिवार खान नपाएर मलरा जस्तै मर्न सक्ने सम्भावना धेरै रहेकोले जो जहाँ हुनुहुन्छ त्यहाँ, जे जति सक्नु हुन्छ त्यति सक्दो सहयोग गरि जो कोहीलाई भोकै मर्नबाट बचाउन भोरका अध्यक्ष पँचुलाल माझी मुसहरले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank