लोपोन्मुख साबर प्रविधिको कथा : सार्कीको व्यथा !

डीबी.नेपाली १० जेष्ठ २०७७, शनिबार १४:०२

हजारौ वर्ष अघिदेखि मानवलाई खाली खुट्टाबाट जुत्ता लगाइ यातायातमा सहज बनाइदिने यहि साँवर प्रविधि र सार्की जातिको देन थियो । इन्द्र बहादुर सार्कीका अनुसार दैलेखका २२ घरे सार्कीका पुर्खाहरू लम्जुङ्गबाट बसाइँ सरेर आएका थिए । जहाँ मग्राती,बयलकोटी,बस्याल,विशुंखे र रम्तेल परिवार बस्दथे । विं.संं. २०१२ सालमा विशुंखे परिवार दैलेखबाट त्यसबेलाको जगन्नाथ गा.वि.स. वडा नं ७,अहिलेको भगवतीमाई नगरपालिका वडा नंं. ४ मा बसाइँ स¥यो । प्रायः अरु समुदाय गाँउबाट शहर छिर्छन ।
तर, यो परिवार आफ्नो पुख्¥र्यौली पेशालाई निरन्तरता दिनकै लागि सदरमुकामबाट गाँउ छिरेको थियो । पिता नरबहादुर सार्की र माता सेतु सार्कीको कोखबाट भद्र विशुंखेको जन्म वि.संं. २०१२ सालमा भएको थियो । भद्रको छ दाजुभाइ र दुई दिदीहरू रहेका छन् । भद्र साँइला हुन । जेठा र माइला दाजुको मृत्यु भइसकेकोे छ । एक वर्ष अघि मात्रै उनका भाइ दिल बहादुर विशुंखेको मृत्यु भइसकेकोे छ । उनले पनि यहि साबर प्रविधिकै काम गरिरहेका थिए । मृत्युसँगै उनले प्रयोग गरेको खाडलहरू सुक्न थालेको छ । अहिले यो प्रविधि एउटा परिवारमा सीमित भएको छ ।

पारिवारिक वातावरणनै शिल्प(मानव)सभ्यता,सीप–कलामा पारंगत र पोख्त भएकोले भद्रले साबर प्रविधिको काम १० वर्षकै उमेरबाट शुरु गर्न थालिसकेका थिए । यो काम गर्न भने त्यति सजिलो छैन् ।
गाई,भैंसी, पाडो,गोरु,राँगो,घोरल,रतुवा,चित्तल,थार,जरायोको काँचो छलालााई साँवर प्रविधिबाट तयार गर्न ६ महिना १० दिन जति लाग्दछ । अहिले जस्तो सजिलो पहिला थिएन । छालाजुत्ताको आवश्यक कच्चा पदार्थ र सरसामग्री लिनको लागि २२ दिन सम्म हिँडेर भारतको कानपुर गएर ल्याइन्थ्यो । अहिले प्रायः सबै कच्चा पदार्थ बजारमै उपलब्ध छन् । पहिला सबै कुरा आफैले नै तयार गर्नुपथ्¥यो । एक वर्ष अघि सम्म दाजुभाइले साबर बनाउँथे । तर, भाइको मृत्युपछि यो प्रविधिको काम गर्ने भद्र एक्लै भएका छन् । भद्र भन्छन्–मेरा छोराहरूले यो काम गर्न सिकेका छैनन् । र,अरु कसैले पनि । राज्यको उपेक्षाको कारणले मैले पनि सिक्न प्रेरित गरिन । काँचो छालालाई मानव प्रयोजनको लागि प्रयोग गर्न मिल्ने बनाउने सम्मको सारा प्रक्रियालाई नै साबर भन्ने गरिन्छ ।
नेपाली समाजका कतिपय जातिलाई सम्मानपूर्वक संवोधन गरिए जस्तै सार्कीलाई आदरसुचकको रूपमा मिजार भन्ने पद दिएका थिए (पन्त,२०७१ः३६८) । साबर (रसा युनिकलर) हिमालयको दक्षिण ढालमा पाइने मृग हो । दैलेखी साबर जुत्ता पनि यसैबाट बन्छ । ‘पवित्र’ मृगको र मयलपोससँग रङ्ग मिल्ने भएर पनि यसले मान्यता प्राप्त ग¥यो ।
सार्की शब्द तिब्बतको साँ¥हाकबाट आएको भन्ने भनाइलाई मान्ने हो भने तिब्बती प्रभाव मान्नुपर्ने हुन्छ । मिजारको अर्थ हुन्छ रातो रङ्गले छाला रङ्गाउने व्यक्ति(सौरभ, २०७१ : ४, ११८) । तर, सार्की शब्द जुम्ला बाटै उत्पत्ति भएको हो भनिन्छ । स्थानीय भक्त बहादुर सार्कीका अनुसार जुम्ला जिल्लाको पहिलाको कुडारी गाविस सँगै ‘सराक’ नामको पहाड रहेको छ । त्यहि पहाडको नाम बाटै‘सराक, साराक’ अपभ्रंश हुँदै सार्की शब्दको उत्पत्ति भएको बलियो मान्यता पनि रहि आएको छ । विभिन्न मतमतान्तर रहे पनि सार्की जाति नेपालकै पुरानो मंगोल मूलको मिश्रित नश्लका मूलवासी हुन् ।
इन्द्रका अनुसार वि.संं. २०२५ सालतिर जुम्लीहरू आएर प्रतिगोटा दुई, तीन रूपैयाँमा डोकोमा बोकेर जुत्ता लगेको बताउनुहुन्छ । पहिला दैलेखी साबर निकै चर्चामा थियो । राणा,राजा,महाराजा र मन्त्रीहरूको प्रथम रोजाइँमा यहि साबरको जुत्ता पर्ने ग¥थ्यो । जुनबेला आधुनिक जुत्ताचप्पल आइसकेको थिएन । यसले गर्दा पनि दैलेखी साबरले चर्चा पाउनु स्वभाविकै हो । साबर निर्माण गर्न विभिन्न चरण पार गर्नुपर्दछ । जुन यस प्रकार रहेको छ ।

१) चुन निर्माण प्रक्रिया
पहिला १५ देखि २२ जनाको समूहमा सरौ वा पर्मको रूपमा चुनखानीमा काम गर्न जाने गरिन्थ्यो । यस क्षेत्रमा सार्की पुर्खाहरूले प्रयोग गदै आएको दुई वटा चुन खानी रहेको छ । दैलेखको जार्जखोला, राँजीगाँउ र जाजरकोटको मर्पिङ भीरमा । पुरुषहरू भीरमा बञ्चरो,झ्याम्पल र विभिन्न ज्यावलको प्रयोग गरी चुन काटेर निकाल्ने गर्दछन् । महिला र केटाकेटीहरू भने वस्तुभाउको खर्क र चरणहरूमा सुकेका गोबरका गुँइठा सकंलन गर्नतिर लाग्दछन् । चुना र गोबरका गुँइठा सङ्कलन पछि उपर्युक्त ठाँउको छनौट गरी ५ देखि ६ फुटको उँचाइ र ३ देखि ४ फुटको गोलाइमा गुँइठालाई चाङ लगाइन्छ ।
गुँइठा नलडोस भनेर जगको वरिपरि १ फुट जति अग्लो ढुंगाको गारो पनि लगाइन्छ । चाङ लगाँउदै बीच–बीचमा चुनलाई राख्दै गोबरको गुँइठाले छोप्ने गरिन्छ । क्रमिक रूपमा यसो गर्दै चाङलाई पुरा उठाइन्छ । चाङ लगाइसके पछि चाङको माथिबाट झ्यासझुस राखेर आगो सल्काइन्छ । यस पछि केही पुरुषहरू रुँग्नलाइ यहिँ बस्छन् भने महिला र केटाकेटीहरू घरतिर फर्किन्छन् । खानपिन कार्यक्षेत्रमै गर्ने गर्दछन् । आगो लगाइ सकेपछि पुरा चुन पाक्नलाई २४ घण्टा जति लाग्ने गर्दछ ।
आगो निभ्दै गएपछि गुँइठा फ्यास–फ्यास फुट्छ भने चुनलाई छानेर निकालिन्छ । सेलाए पछि सबै जना मिलेर डोकोमा बोकेर घरमा ल्याइ घाम पानी नपर्ने उपर्युक्त ठाँउमा भण्डारण गर्ने गरिन्छ । यसरी तयार गरेको चुनलाई वर्षौसम्म पनि प्रयोग गर्न सकिन्छ । आफ्नै देशमा रहेको उद्योगधन्दाको उत्खनन्मा राज्यको उपेक्षाभावले खानी मासिँदै गइरहेको छ ।
अर्कोतर्फ पछिल्लो समयमा यो पेशा र प्रविधिमा लाग्ने प्राविधिक मान्छेहरू नभएकोले यो झन्झटिलो चुन उत्पादन गर्नै छोडिसकेका छन् । निर्यात भन्दा आयतमा रमाउन बानी परिसकेको छ । अहिले तयारी चुन बजारमा सहजै पाइने भएकोले नेपाली चुन उत्पादक र खानीहरू लोप भइसकेकोे छ।

२) साबर निर्माणको पहिलो चरण
साबर उत्पादन र निर्माणको लागि सबै भन्दा पहिला दुईवटा खाडलको आवश्यक्ता पर्दछ । भित्तामा आड पारेर ३ फुट गहिरो र ३ फुट चौडाई भएको खाडल खनी तयार गरिन्छ । खाडलबाट पानी बाहिर नछिरोस भनेर भित्रबाट चुनाले पोत्ने र लिप्ने गरिन्छ । पानी सिधै खाडलमा नपरोस भनी खाडलको सतहबाट पूर्वतिर १ फुट जति अग्लो पारिन्छ । जसले गर्दा पानी सजिलै तर्किन सकोस । खाडल तयार भएपछि विभिन्न जनावरहरूको छालालाई खाल्डोमा चुना छर्कँदै छाला राख्दै गरिन्छ । यसरी नै क्रमैसँग ८ देखि १० वटा छाला राख्न सकिन्छ ।
चुना धेरै राख्दा छाला कुहिने भएकोले होशियारी अपनाउनु पर्दछ । सबै छाला राखिसकेपछि छाला भन्दा माथि तीन चार केजीको ५देखि ६ वटा ढुंगा राखिन्छ । र, छालाबाट ६ इन्च जति माथि आउने गरी पानी राखिन्छ । यसले गर्दा जंगली जनावर र कुकुरले सजिलै निकाल्न नपाओस । आकासे र बाहिरको पानी सिधै खाल्डोमा नपरोस भनी खाल्डो माथि भाटा वा साटो राखी बोरा वा प्लाष्टिकले छोपी पानी बाहिर तर्काइन्छ । पहिलो खाल्डोमा सबै प्रकारको छालालाई चार महिना चुन पानीमा राखिन्छ । हरेक ८ देखि १० दिनमा चुनपानी फेर्दै,छाला माड्ने पनि गर्नुपर्दछ ।


३) साबर निर्माणको दोस्रो चरण
पहिलो खाल्डोबाट चार महिना पुरा भए पछि सफा पानीले छालालाई पखाली दोस्रो खाल्डोमा सारिन्छ । छालालाई कस्तो रंग हाल्ने त्यसको निर्णय गरी आवश्यक रंग तयार गरिन्छ ।
१) गाढा रातो रंगको लागि बूढो उत्तिसको बोक्रा ढिकीमा कुटेर धुलो पारिएको बोरको प्रयोग गर्नुपर्दछ ।
२) पहेंलो रंगको लागि औले लोदको पात सुकाई कुटेर धुलो प्रयोग गर्नुपर्दछ ।
३) सेतो रंगको लागि लेखाली लोदको पात सुकाई कुटेर धुलो वा सेतो मकैको पिठो प्रयोग गर्नुपर्दछ । यो खाल्डोमा दुई महिना सम्म राख्नुपर्दछ ।
यहि समय हो छालामा रंग चढाउने अवधि । ६ देखि७ वा ८ देखि ९ दिनमा सफा पानी र आफूलाई चाहिएको रंग (बोर) को धुलो पनि फेर्नुपर्दछ । पानी र रंग फेर्दा सँगसँगै चुनेटपनि लगाउँदै जानुपर्दछ । गोलो मोटो लठ्ठी वा साटोमा छाला बेरेर किलोमा झुन्ड्याएर बटारी छालामा रंग छिराउने विधिलाई नै चुनेट लगाउनु भनिन्छ । खाल्डो नजिकै बलियो सखुवा वा अन्य काठको खाँबो जमिनबाट ५देखि ६ फुट अग्लो गाडिन्छ ।
खाँबोको टुप्पोतिर छालाको बीच भागलाई बेरेर लुगा निचोरे जसरी नै बटारिन्छ । डोरी वा दाम्लो बाट्दा नयाँ चोया वा पयो थपे जस्तै दोस्रो छाला पहिलो छालामा गाँसी हल्का बटारेर चारफुट जति लामो गोलो साटोमा छालाको टुप्पो अड्काएर फनफनी दाहिने बटारेर पानी बाहिर निकालिन्छ । यसो गर्दा छाला भित्र रंग मजाले पस्ने गर्दछ । यसबाट आफूले चाहेको जस्तो रंग प्राप्त गर्न सकिन्छ । बटारेर पानी पुरा गइसकेपछि छालालाई तन्काएर पुनः पहिलाकै तरिकाले छालालाई खाल्डोमा राख्नुपर्दछ । दुई महिनासम्म यहि प्रक्रिया जारी रहन्छ ।
४) साबर निर्माणको तेस्रो चरण
तेस्रो चरणमा छालालाई बाबियोको डोरीले तुनेर ठाडो थैलो बनाइन्छ । त्यसभित्र पानी र आवश्यक रंग छनौट गरी थैलोभित्र राखेर रंग निकाल्न बेस्सरी ढुंगाले खिप्ने काम गरिन्छ । बिहान खिपेकोलाई बेलुका थैलोलाई तलको मुख माथि र माथिको मुख तलपारी तुनेर त्यहि पानी राखी खिप्ने गरिन्छ । दुई पट्टी नै खिप्नलाई दुई दिन जति लाग्दछ । अरु थैलोमा पनि त्यहि रंग तीन चार पटक सम्म प्रयोग गर्न सकिन्छ । ढुंगाले राम्ररी खिपी सकेपछि छालालाई तन्काएर सुकाउनु पर्दछ । राम्रो पारिलो घाम लागेको छ भने एकै दिनमा पनि साबर सुक्नसक्छ ।

४) साबर निर्माणको चौथो चरण
चौथा चरण साबर निर्माणको अन्तिम चरण हो । सुकेको छालालाई हल्का ओसिलो बनाउन मुखमा सफा पानी राखी छालाको चारैतिर पर्नेगरी दुबैतिर पुरर्र–पुरर्र छर्किने गर्नुपर्दछ । यसपछि चारकुना मिल्ने गरी साबरलाई पट्याउनु पर्दछ । यस पछि हल्का माड्ने र थिच्ने गरिन्छ । यसपछि पल्याँटी सम्म परेको चिल्लो मिलेको ढुंगामाथि राखेर फागले सावधानीपूर्वक दुवैतिर खुर्कनुपर्दछ । नसा,रेसा र चोटलाई विशेष ख्याल गर्दै खुर्कनुपर्दछ । यसरी तयार भएको साबरलाई बाकस वा लुगामा बेरेर लामो समय राख्न सकिन्छ । यसरी तयार गरेको साबर छाला टिकाउ र बलियो हुन्छ ।
खुल्ला ठाँउमा पनि राख्न सकिन्छ । पुरा साबर निर्माण प्रक्रिया ६ महिना १० दिन जति लाग्दछ । एउटा मृगको छालाबाट ठूलो छ भने दुई जोर जुत्ता बन्दछ । सानो छ भने डेढ जोर अर्थात् तीन ओटा जुत्ता बन्न सक्छ । एक कुशल कालीगढले एक दिनमा दुई जोडी सम्म तयारी जुत्ता बनाउन सक्छन् । अरु विभिन्न जनावरको छालाको भन्दा राम्रो साबर मृगको हुन्छ । इन्द्र बहादुर यो प्रविधिलाई विकास र बिस्तार गरी उद्योगमा परिणत गर्न विभिन्न सरकारी कार्यलय धाइरहे ।
विभिन्न तहका सरकारी निकायमा हारगुहार गरिरहे । तर, सम्बन्धित निकायबाट कुनै सुनुवाई हुन् सकेको छैन । सीमान्तकृत शिल्पी÷दलित समुदायका परम्परागत मौलिक शिल्पसभ्यतामा आधारित पेशालाई विस्थापित हुन दिनुहुन्न् । नेपालकै एक मात्रै जीवित साबर प्रविधि दैलेखमा अन्तिम सास फेरिरहँदा राज्य बेखबर जस्तै छ । अनि नेपालमा औद्योगिकरण्को विकास कसरी हुन्छ ?


५) नीतिगत अवरोध
भद्र विशुंखे भन्नुहुन्छ–पुख्र्यौली सीप–कला जानेको यहि हो,अरु केही जानेको छैन । बुढेसकालमा अरु के काम गरुं मँ ? सरकारले हामीलाई नीतिगत रूपमा साबर उत्पादन गर्नमा रोक लगाएको छ । किन कि मृगलाई मार्न बन्देज लगाएकोले रोक लगाएको हो । सबैको पहिलो रोजाइँमा दैलेखी साबर नै पर्ने गर्दछ । तर,उत्पादनमै रोक लगाए पछि के गर्ने ? यो कसरी न्यासंगत भयो र ?उहाँ गुनासो र दुखेसो पोख्नुहुन्छ ।
हामीलाई सरकारले के गर्न खोजेको हो ? हाम्रो परम्पारगत मौलिक सीप–कला र प्रविधिमा यस्तो अवरोध गरेर हामीले के काम गरेर खाने ? यसरी सीप–कलाको विकास र समृद्धि कसरी हुन्छ ?
६) साबरले पुर्नजीवन यसरी पाँउछ
साबरलाई पुर्नजीवन दिनको लागि स्थानीय र प्रदेश सरकारले विशेष सहयोग गर्न सक्छन् । बाधा,व्यवधान र असहयोगी नीति नियमलाई समयानुकूल परिमार्जन र संशोधन गर्न दुबै सरकारले पहल लिन जरुरी छ । जंगली जनावर मृगलाई संरक्षण गरिनुपर्दछ । यसमा कसैको पनि दुईमत हुनुहुँदैन । तर,नीतिगत रूपमै मृगलाई व्यवसायिक पालन गर्ने नीति बनाई दिएमा धेरै सहज हुनसक्छ । यसो गरिएमा पालिएका मृगलाई व्यवस्थित रूपमा साबर उत्पादनमा प्रयोग गर्ने ।
जंगलमा खुला रूपमा रहेकालाई संरक्षण गर्ने । यसो भएमा मृग पनि बच्यो,लोपोन्मुख साबर प्रविधि र सीप–कला पनि बच्यो । यो मध्यमार्गी उपायले दुबै पक्षको विजय हुन्छ । यसले मानव इतिहासकै जीवित सभ्यतालाई पनि बचाउँछ । संग्राहलयमा थन्किनबाट बचाइ व्यवसायिक उत्पादनमा पनि फड्को मार्न सक्छ । स्थानीय र प्रदेश सरकारले सहयोगी भूमिका खेलेर यो सीप र प्रविधिलाई किन नबचाउने ? सम्बन्धित सबै पक्षको बेलैमा ध्यान जानुपर्दछ ।
७) साबरको अन्तर्राष्ट्रिय ब्रान्डिङ
सम्भावनाको खानीमाथि बसेर कर्णाली प्रदेश अहिले सहयोगको याचना गरिरहेको छ । कृर्षि,पर्यटन,जलविद्युत जस्तै अर्को विशेष क्षेत्र सीप र कलाको प्रवद्र्धन प्रमुख क्षेत्र हो । प्रदेश र स्थानीय सरकारको समन्वय, सहकार्य र सहमतिमा साबरलाई अन्तराष्ट्रिय निर्यातमुलक वस्तुमा ब्रान्डिङ गरिनुपर्दछ । यसको व्यवसायिक उत्पादन सरकारी लगानीमै थालिनुपर्दछ । यसको लागि प्राविधिक र आर्थिक सहयोगलाई एकद्धार प्रणाली मार्फत काम गर्न जरुरी छ । साबर उत्पादनमा चाहिने आवश्यक कच्चा पदार्थ,सर्वसुलभ जनशक्ति उपलब्धता र नीतिगत रूपमा आमूल परिवर्तनको माध्यमबाट व्यवसायिक उत्पादनमा फड्को मार्न सकिन्छ ।
कम्तिमा यो कार्य जति सक्दो छिटो प्रदेश र स्थानीय सरकारले गरिदिनुपर्छ । अहिले दैलेख जिल्लाको एउटा परिवारमा सीमित लोपोन्मुख साबरले शानका साथ अन्तर्राष्ट्रिय ब्रान्डिङ्गको रूपमा विश्व बजारमा सहज रूपमा प्रवेश गर्न सक्ने प्रशस्त आधारहरू रहेको छ । जसरी इटालीको रोयल लेदर भनेर छालाजन्य उत्पादनका सामग्रीमा अहिले संसार प्रसिद्ध भएको छ । इटालीमा पनि छालाको काम गर्ने सार्की समुदायलाई त्यहाँको सरकारले नै विशेष सहयोगी भूमिका खेलेर रोयल लेदरले प्रसिद्धि पाएको हो । हाम्रो देशमा पनि दैलेखी साबरलाई यसै गरी अन्तर्राष्ट्रिय ब्रान्डिङ किन नगर्ने ?

 

८) साबर उत्पादकहरू के चाहन्छन ?
साबर उत्पादन हिजो आज सिकेको सीप–कला र प्रविधि पनि होइन । हिजो आधुनिक जुत्ता नआउँदा र खाली खुट्टाले हिँड्ने समयमा हाम्रै पुर्खाहरूले स्थानीय र राष्ट्रिय जुत्ताचप्पलको मागलाई धान्दै आएका हुन् । आज किन अवरोध र प्रतिबन्ध लगाइन्छ ? भद्र विशुंखे भन्नुहुन्छ–यो शिल्पसभ्यता,सीप र प्रविधिलाई सरकारले बेलैमा चासो नदिने हो भने मेरो जीवन पछि मसँगै मरेर जान्छ । कच्चा पदार्थको सहज उपलब्धता र व्यवसायिक रूपमा मृग पालनका थालनी गरिनुपर्दछ । आधुनिक प्रविधि र पूँजीको उचित व्यवस्था गरिनुपर्दछ ।
युवा जनशक्तिलाई विदेश पलायनबाट रोकी यहि काममा आकर्षित गर्ने सरकारी नीति हुनुपर्दछ । अहिले सम्म कुनै पनि सरकारी अधिकारी र स्थानीय जनप्रतिनिधि सोधखोज गर्न नआएको भद्र विशुंखे बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ– “हाम्रो सीप–प्रविधि र व्यवसायमाथि पनि यो हदसम्मको विभेद र उपेक्षाले यो देशको प्रगति कसरी होस ?” कसरी उँभो लागोस ? यो देश चलाउने शासकहरू अझै पनि हामी प्रति संवेदनशील र सकारात्मक हुन सकेका छैन,विशुंखे दुःख पोख्नुहुन्छ (शिल्पी पहिचान पुस्तक–२०७६) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank