कञ्चनपुर – शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा अब गरिबीको कारणले कोही भोकै मर्ने नपर्ने बताएकाे चार दिन नवित्दै कञ्चनरुप नगरपालिका–५ पथरी रामपुर टोलका एक जना मुसहर समुदायको गरिबीका कारण मृत्यु भएको छ ।
‘अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । यो सरकारको प्रतिबद्धता हो,’सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले शुक्रबार भनेकी थिइन् । तर झण्डै दुई महिनादेखीको लकडाउनका कारण खान नपाएर ५० वर्षिया मलरा सदाको मंगलबार मृत्यु भएको स्थानीयले बताएका छन् ।
मृतक सदाका छिमिकी विश्वनाथ सदाका अनुसार लकडाउन सुरुभएपछि गत सोमबार एक दिन गाउँकै एक किसानको खेतमा जोत्न गएका थिए । धेरैदिन दिनदेखि मलरा सदाले खान पाएका थिएनन् । मृतक मलरा सदाका तीन छोरा राजेश,सोनी र साजन कामका लागि भारतको गुजरात गएका छन् । उनीहरु लकडाउनका कारणा उत्तै फसेका छन् । तीन छोराको विवाह भ्यसकेका छन् । उनीहरु छुट्टा–छुट्टै बस्दै आएका छन् । मृतक मलरा सदा र उनको श्रीमती जलेश्वरी सदा दैनिक गुजरा गरेर पेट पाल्दै आएका थिए । तर कोरोना भाइरस(कोभिड–१९)का कारण गत चैत्र ११ गतेदेखीव लकडाउन सुरु भएपछि सदा दम्पतीलाई छाक टार्न समस्या भइरहेको थियो ।
स्थानीयहरुले चन्दा संकलन गरेर कात्रो खरिद गरी मृतक सदाको दाहसंस्कार गरेको छिमिकी विश्वनाथ सदाले बताए । उक्त टोलमा करिब २२ घर सदा,३५घर सरदार र १५ घर राम समुदायको बसोबास रहेका छन् । उनीहरु सबै कञ्चपुर बजार,बेरियर लगायतका ठाउँमा दैनिक ज्यालादारी गरेर गुजरा गर्दै आएका थिए ।
कञ्चनरुप नगरपालिकाले लकडाउन भएको दुई महिनामा एक पटक १५ किलो चामल र एक सय २० रुपैया नगद राहत वितरण गरेको थियो । कञ्चनरुप नगरपालिका–५ का वडाअध्यक्ष कैलाश साहले मलरा सदा गरिब रहेकाे बताए । उनले भने,‘ मेरो वडामा ५० प्रतिशतभन्दा बढी घरधुरी दलित समुदायको छ । गरिवीका कारण सबभन्दा बढी हाम्रो वडा प्रभावित भएको छ ।’ वडाअध्यक्ष साहले नगरपालिकामा दोस्रो चरणको राहत वितरण गर्न कुरा उठाएपनि बैठक कहिले राख्ने निश्चित नभएको बताए ।
Leave a Reply