देशभर किसानहरू गम्भीर समस्यामा :मानव अधिकार आयोग

दलित अनलाईन २२ बैशाख २०७७, सोमबार १७:४३

काठमाडौँ — मानव अधिकार आयोगले देशभरका कैयौं निजी अस्पतालहरूमा बिरामीहरूलाई भर्ना गर्न र उपचारमा उदासिनता देखाइरहेको पाइएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले आफूले देशभर गरेको अनुगमनका क्रममा निजी अस्पतालहरूको व्यवहारका कारण संविधानको स्वास्थ्यसम्बन्धी हक प्रचलनमा बाधा उत्पन्न भएको पाइएको उल्लेख गर्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगले सोमबार विज्ञप्ति जारी गरी सबै बिरामीको तत्काल उपचार हुने व्यवस्था गरी आकस्मिक स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहुने प्रत्याभूति गर्न सरकारलाई आग्रह गरेको छ । विज्ञप्तिमा स्वास्थ्य सेवामा समान पहुँचको हक स्थापित गर्न तीनै तहका सरकारलाई विशेष आग्रह गरिएको छ ।

आयोगले लकडाउनका क्रममा किसानहरू मलबीउसहित कृषि सामग्रीको अभाव र उत्पादित अन्नपात बिक्री गर्न नपाएर गम्भीर समस्यामा परिरहेको पाइएको उल्लेख गर्दै त्यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

आयोगले विज्ञप्तिमा अनुगमनका क्रममा किसानहरूको जीविकोपार्जन, कृषि उत्पादन तथा नागरिकको खाद्यसम्बन्धी हक प्रचलनमा कठिनाइ उत्पन्न भइरहेको पाइएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले विज्ञप्तिमा लकडाउनका कारण देशभरका किसानले कृषकलाई कृषि उत्पादनका लागि आवतजावत गर्न, अनाजको बेचबिखन तथा उचित मूल्य प्राप्त गर्न कठिनाई उत्पन्न भइरहेको पाइएको जनाएको छ । आयोगले कृषि पेशामा अहिले देखिएको समस्याका कारण निकट भविष्यमा मुलुकमा खाद्यान्न अभावको गम्भीर स्थिति उत्पन्न हुने जोखिम बढिरहेकोतर्फसमेत गम्भीर हुन सरकारलाई आग्रह गरेको छ ।

आयोगले विज्ञप्तिमा खाद्यवस्तुको अभावमा व्यक्तिको जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुन पाउने मौलिक हक कार्यान्वयनमा तीनै तहका सरकारलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank