पोखरामा किरियापुत्री भवन प्रयोग गर्न माग गर्दा कुटिए मोहन सुनार

दलित अनलाईन १४ बैशाख २०७७, आईतवार १३:२२

काठमाडौं– पोखरा महानगरपालिका १६ वाटुलेचौरका मोहन सुनारमाथि जातीय रुपमा गाली बेइजती गरी कुटपिट भएको छ ।
चैत २६ गते भाईको दाहसंस्कार गरेपछि घर नजिकै रहेको किरियापुत्री भवन प्रयोग गर्नका लागि चाबी माग्न जाँदा दलित समुदायले किरियापुत्री भवन प्रयोग गर्न नमिल्ने भन्दै स्थानीय जनक थापाको समूहबाट कुटपिट भएको थियो ।
घटना भएको १२ दिनपछि सोही जनक थापाको समूहले आइतबार फेरी सुनारमाथि कुटपिट गरेका छन् । आफुमाथि जातीय विभेद भएको भन्दै मोहन सुनारले वडा १ मा रहेको प्रहरी चौकीमा उजुरी दर्ता गरेका छन् ।
मोहन सुनारका अनुसार घर नजिकैको सार्वजनिक थलोमा बनेको किरियापुत्री भवन प्रयोग गर्न माग्न पुगेको थिए । तर त्यहाँ एकले अर्कोलाई सोध्नुपर्ने भन्दै भवन नदिने मनशाय देखाए । त्यो पनि केही भएन भनेर हामी केही समय कुरेर बस्यौं । तर जनक थापाको समूहले सानो जात कामीको हैसितमै बस्नुपर्ने भन्दै उल्टो कुटपिटमा उत्रिए । हामी दुई जना भएपनि उनीहरु चार जना थिए । एक दुई हात उनीहरुले हानेपछि हामी ज्यान जोगाएर घरमा आयौं । हामीले उनीहरुले किरियापुत्री भवन प्रयोग गर्न नदिएपछि कालिखोलामै किरियापुत्रीलाई राखेका छौं । आज फेरी कालिखोलामा जाने बाटो छेकेर कुटपिटमा जनक थापाको समूह उत्रियो । अनि मैले प्रहरी चौकीमा गएर उजुरी दर्ता गरेको छु । किरीयापुत्री भवन प्रयोग गर्न चावि माग्दा केहि व्यक्तिले क्षेत्रीहरुले वनाएको हो, दलितलाई दिन मिल्दैन भनेर अपमान मात्रै गरेनन्, हातै हाल्न पनि आईलागे,’ पीडित मोहनले भने,‘सार्वजनिक ठाउँमा राज्यको सहयोगमा बनेको भवन एउटा जातिको मात्रै हो, दलितले मिल्दैन भन्दै शोकमा वसेको मान्छेलाई हातै हाल्न आउनु कतिसम्म अन्याय हो ।’

पोखरा वाटुलेचौरको वरवोट गैहको कोलमा रहेको किरियापुत्री भवन स्थानीय क्षेत्री समाजको अगुवाईमा वनेको थियो । करिव २५ लाखमा सार्वजनिक जग्गामा वनाईएको भवनका लागि वडा कार्यालय, सांसद कृष्ण थापाले समेत वजेट दिएका थिए । किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष राम जिसीले क्षेत्री समाजको अगुवाईमा भवन बनेकोले समाजका केहि सार्थी अरुलाई दिन नहुने भन्दै विरोध गरेको वताए । उनले व्यक्तिगत रुपमा किरियापुत्री भवन सवैले प्रयोग गर्न पाउनु पर्ने भएपनि एक्लैले केहि गर्न नसकेको भन्दै दुःख व्यक्त गरे ।
पोखरा १६ का वडाध्यक्ष जीवनराज आचार्यले सार्वजनिक थलोमा बनेको किरियापुत्री भवन दलित समुदायलाई प्रयोग गर्नबाट बन्चित गरिनुले राम्रो सन्देश नदिएको वताए । उनले किरियापुत्री भवन प्रयोग गर्नवाट बन्चित गरिएको घटना आफु कहाँ आए पनि विस्तृत रुपमा बुझ्न र छलफल हुन नपाएको वताए । उनले वहुल जातजाति, धर्म, संस्कृति मिलेर वनेको समाजमा एकले अर्कोलाई सम्मान गर्नुपर्ने र विभेद, अपमान हुने काम कसैलाई नगर्न अनुरोध गरे ।
गरिवी र अशिक्षाले ग्रसित ग्रामिण भेगमा अनेक विभेद जस्तै जातिय विभेदका घटना भईरहेका हुन्छन् । केहि घटना सार्वजनिक भए पनि अधिकांश गाउँमै गुपचुप पारिन्छन् । मिलापत्रमा टुंग्याईन्छन । संविधान, ऐन, कानुन र भाषणमा त जातिय विभेदको अन्त्य गरी सभ्य, समतामुलक समाज घोषणा गरेको दशकौं वितिसकेको छ । तर जातिय विभेदको कुप्रथा अझै पनि मानिसहरुको मनमस्तिष्क र व्यवहारवाट हटेको छैन । जतिसुकै ऐन, कानुनले छुवाछुत प्रथालाई दण्डनीय भने पनि यो निर्मुल हुन सकेको छैन ।
नेपालको संविधान २०७२ ले कसैलाई पनि जातिय छुवाछुत गर्नेलाई कार्वाहीको व्यवस्था गरेको छ । धारा २४. छुवाछूत तथा भेदभाव विरुद्धको हक ः (१) कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन ।
(२) कुनै वस्तु, सेवा वा सुविधा उत्पादन वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई खरीद वा प्राप्त गर्नबाट रोक लगाइने वा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्री वितरण वा प्रदान गरिने छैन ।
(३) उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank