लकडाउनले बाजुराका हलिया परिवारमा भोकमरी सुरु

दलित अनलाईन २६ चैत्र २०७६, बुधबार १४:४३

बाजुरा – साहुको हलो जोतेर दैनिक ज्याला मजदुरी गरी परिवार पालिरहेका बाजुराका हलिया परिवारमा भोकमरी सुरु भएको छ । नेपाल सरकारले चैत्र ११ गतेबाट‘लकडाउन’ घोषण गरेसँगै हलिया परिवारले काम पाउन छोडेपछि भोकमरी सुरु भएको हो ।
बुढीनन्दा नगरपालिका १ को तिथिचौरस्थित नेपाल सरकारले बनाईदिएको घरमा बसोबास गर्ने १५ घर हलिया परिवार ‘लकडाउन’ घोषणको पछिल्लो दिनमा भोकमरी लाग्न थालेको हो ।
ढुगा गिट्टी फुटाएर, बालुवा चालेर १० जनाको परिवार पाल्दै आएको लकडाउन भएपछि त्यही काम रोकिँदा भोकै बस्नु परेको तितो अनुभव हलिया परिवारका रंगी लुहारले बताए । ’खेतिपाती लगाउन जग्गा छैन । ज्यालादारी गरेर परिवार पालिरहेको छु, जति दिन लकडाउन भयो त्यति दिन पेटभरी खान पाएको छैन ,’ लुहारले भने ।

काम गर्न नहुने र बजार जान पनि नमिल्ने भएपछि आफूलाई सरकारले राहातको व्यवस्था गर्नुपर्ने उनीहरुले बताए। लकठाउन लम्बिँदै गएको र भोको पेट बस्न नसकेपछि मंगलबार तिथिचौरका ७ हलिया परिवारले संयुक्तरुपमा बुढीनन्दा नगरपालिकालाई राहतका लागि निवेदन दिएको स्थानीय रंगी लुहारले बताए ।

नेपाल सरकारले साबिकका जुकोट, वाई, बाँधुको पीपलडाली,कोल्टिको बिरसैनलगायतका गाविसबाट ‘क’ वर्गका १५ हलिया परिवारलाई बुढीनन्दा नगरपालिका १ को तिथिचौरमा जग्गा खरिद गरेर घर बनाइदिएको हो ।
दैनिक गुजारा चलाउन समस्या भएपछि केही परिवार घर छोडेर पुरानै गाउँमा साहुको काम गर्न गएका छन् । हाल ७ परिवार मात्रै तिथिचौरमा बस्छन । तिनीहरु पनि कोल्टि बजारमा दैनिक ज्यालादारी गर्छन्। लकडाउनले उनीहरु समस्यामा परेको नागरिक समाजका अगुवा जनेश भण्डारीले बताए ।

चन्द्या लुहारको १३ जनाका परिवार छ । सबैजना ज्यालादारीबाट पालिएका छन । उनले भने, ‘कहिलै कोल्टी बजारमा दाउरा बेचेर दाल चामल किनेर खायौं, कहिले कसैको खेतमा काम गरेर ,मल बोकेर दैनिकी चलाएँ , लकडाउनपछि कोल्टि बजार बन्द भयो, दाउरा बिक्री हुनै छोड्यो, ’ खेतबारीको काम सबै बन्द भएपछि भोकै बस्नु परेको छ ।’

थिपुचौरमा हाल ७ परिवारका ६५ जना बस्छन्। सबैको समस्या ज्यालादारी नचलेर भोकै बस्नु परेको दलु नेपालीले बताए । सबै कोल्टि, पिलुचौरलगायतका बजारमा ज्यालादारी गरेर साहुको काम गरेर दैनिकी चलाइ रहेका नेपालीले बताए ।
ढुगा गिट्टी कुटेर , दाउरा बेचेर कमाएको रकमले किनेको अन्नपात छाक बिराएर खाँदा पनि नपुगेको धनी लुहारले बताए । ’लकडाउन सुरु भएपछि छाक टार्ने माध्यम नै बन्द भयो, ’स्थानीय मन सार्कीले भने, ’ घरमा नुन, तेल र चामल केही छैन।’

बाजुरामा कुल १ हजार ३ सय ५३ मुक्त हलिया रहेका छन् । ’क’ वर्गमा १ सय ३२, ’ख’ वर्गमा २ सय ४६, ’ग’ वर्गमा १ सय ५० र ’घ’ वर्गमा ८ सय २५ गरि जम्मा १ हजार १ सय ८९ जनालाई सरकारले परिचय पत्र वितरण गरेको छ । अधिकांश हलिया परिवारलाई नोभेल कोरोना रोकथामका लागि विकास निमार्णदेखि सबै काम बन्द भएपछि जिल्लाका हलियाको साँझ बिहानको छाक बन्द भएको स्थानीय गोरख सार्कीले बताए ।
बुढीनन्दा नगरपालिकाका मेयर पदम गिरीले हलिया परिवारदेखि अन्य दैनिक ज्यालादारी गर्नेहरु थप समस्यामा परेको बताए। आपत्कालिन कोषमा ५० लाख रकम बिनियोजन गरेको गिरीले बताए । उनले रकमबाट नगरपालिकाका सबै वडाका मजदुर , ज्यालादारी र हलिया समुदायको तथ्यांक संकलन गरी उचित राहत दिने निर्णय कार्यपालिकाले गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank