‘लकडाउन’ मा किसान

चन्द्रकिशोर २० चैत्र २०७६, बिहीबार १३:४४

 जताबाट भात चिसो हुँदै जान्छ प्रायः उतैबाट खाने गरिन्छ । चुल्होबाट ओरालिएको भात पकाउने हाँडी ढिलोचाँडो ठण्डा हुन्छ नै ।

कोरोनाको कारण सहरी क्षेत्रमा कामबाट वञ्चित भएका ज्यालामा काम गर्ने असंगठित मजदुरहरूको पीडा बढी छचल्किँदै छ, सहानुभूति पनि उर्लिंदै छ । देशी–विदेशी सहरहरूबाट मजदुरहरू गाउँ फर्किंदै छन् । गाउँमा निश्चिन्त भइन्छ भन्ने आम बुझाइ छ । कतिपय सन्दर्भमा त्यो हो पनि, गाउँको कृषि अर्थतन्त्रले आखिरमा जोगाइदिन्छ भन्ने भाव जो छ । तर जसरी ‘लकडाउन’ ले अवसरहरू बिस्तारै चौपट्ट पार्दै लगेको छ, यो लम्बिँदै गए अन्तमा भात पकाउने हाँडी नै ठन्डाराम हुने जोखिम छ ।

किसानले खेतमा अन्न मात्र छर्दैन, उसले सँगसँगै आफ्नो सपनाको बीउ पनि छर्दै गरेको हुन्छ । खेतको बालीमा सपना झुन्डिएको हुन्छ । तर त्यो सपना साकार हुन कैयौं चरण गुज्रिनुपर्छ । समयमै बीउ छरिनुपर्‍यो, बेलैमा मल–पानी हाल्न सक्नुपर्‍यो, ठीक समयमा काट्नुपर्‍यो, भण्डारण वा बजारसम्मको उचित मेसो मिल्नुपर्‍यो वा किसानको आफ्नै भकारीमा पुग्नुपर्‍यो । यो सबै प्रक्रियाको आफ्नै लय छ जसले आफ्नै गति खोजेको हुन्छ । यसमा कतै पनि अर्द्धविराम लागे किसानको अंकगणित बिग्रिन्छ । अहिले कारोना संकट आइपुगेको छ । कोही किसान भन्छन्, ‘खेतमा गहुँ र रबी फसल पाकेका छन्, काट्न जाओ कि नाई । घरमा बसौं खेतमा बाली कुहिन्छ, बाहिर निस्कौं जिन्दगी कुहिने डर ।’ खेतमा लागेको बालीको मात्र चिन्ता छैन, कोही सुसाउँछन्, ‘मान्छे त बरु एक–दुई छाक भोकै बस्ला तर गाईबस्तुको के गर्ने ?’ देहातमा कतिपयले दैनिक घाँस काटेर गाईबस्तुको आहाराको जोहो गर्छन् ।

खेती किसानी गर्ने मजदुरहरूका लागि ‘वर्क फ्रम होम’ को व्यवस्था कारगर हुँदैन । घरबाटै खेतको काम गर्न/गराउन सकिँदैन । यस्तोमा किसान वा खेतीहर मजदुरले घरमै बसेर खेतको आवश्यकता र मागलाई टुलुटुलु हेर्नुको विकल्प हुँदैन । यसले सम्पूर्ण कृषि व्यवस्थालाई मरणासन्न बनाइदिँदै छ । खेत अथात् खलिहानको काम नै एकअर्कामा परस्पर आश्रित हुन्छ । एकले अर्काको नजिक नपुगी काम नै हुँदैन । यस्तोमा जनशक्तिको अनुपस्थितिले संकट देखियो । कतै खेतमा पाकेको बाली काट्न र दांइँ गर्न सकिएको छैन, कतै बजारबाट बीउ ल्याएर छर्न सकिएको छैन, कतै सिँचाइ गर्न गाह्रो छ । यस्तोमा किसानहरू भन्छन्, ‘फुटल किसनवा के भाग !’

खेती किसानी गर्ने मजदुरका लागि ‘वर्क फ्रम होम’ को व्यवस्था सम्भव हुँदैन । घरबाटै खेतको काम गर्न गराउन सकिँदैन ।

खेती एउटा चक्र पनि हो । एउटा बाली बेचेपछि जुन पैसा निस्किन्छ, त्यसले अर्को बाली लगाउन पुँजीको काम गर्छ । आउँदो बालीका लागि आफ्नो पुँजी न उठेपछि किसानका लागि कर्जा लिनु नै विकल्प हुन्छ । किसानको क्रयशक्ति उपज बेचेर नै उत्पन्न हुन सक्छ । एउटा बाली खेर जानु भनेको किसानका लागि चक्र नै अवरुद्ध हुनु हो । किसानको टाढा बजारसँगै छेउछाउका गाउँबीच समेत सम्पर्क रहन्छ, जसले आन्तरिक गति दिइरहेको हुन्छ । यो गतिमा लकडाउनले विराम लगायो । उत्पादन सही समयमा बजार पुग्न नसके, त्यसको भाउ घट्छ र लागत मूल्यसमेत फिर्ता हुँदैन ।

उखु अझैं कैयौं ठाउँमा खेतमै छ । चिनीमिलहरूले पहिलेकै पैसा चुक्ता गर्न सकेका छैनन् । लकडाउन हुनुपूर्व केही ठाउँमा बेमौसमी मुसलधारे वर्षा त कतै असिनाले खेतको बालीलाई असर पुर्‍याएको थियो । गहुँ, सर्स्यूं, मटर, मुग, मसुरो, रहर, चना, प्याज, मकै, चैतेधानको भविष्य लकडाउनसँग गाँसिन पुगेको छ । जुन उत्पादन लकडाउनपूर्व किसानको घरमा आइपुगेको छ, त्यो भण्डारणका लागि पठाउन सकिएको छैन, जस्तो— आलु र प्याज । बिचौलियाहरूको मोलमोलाई तेज छ । यस्तोमा किसानले न्यून भाउ पाउने निश्चित छ । कुखुरा र माछापालन अनि पोल्ट्री उत्पादनको माग कम भएपछि यो व्यवसायसँग जोडिएको दानाको कारोबार पनि सेलायो । दूध उत्पादन चौपट हुँदै छ । महको उत्पादन प्रभावित छ । कृषि उत्पादनमा माग र दामको साइनो जोडिएको हुन्छ । राजविराजको दूध बजार होस् वा कलैयाको दही बजार अहिले सुनसान छ । आमको यसपटक राम्रो मुजुरा लागेको छ तर कीराले नखाओस् भनेर औषधि छर्न सकिएको छैन । तरकारी उत्पादनले अपेक्षित बजार पाइरहेको छैन । गाउँले हाटहरूले जसोतसो स्थानीय तरकारीको बिक्रीको बाटो कतैकतै खोले पनि त्यहाँ समुचित स्वास्थ्यसम्बन्धी सुरक्षा पूरा हुन सकेको छैन ।

उत्पादन ठप्प भएपछि बेरोजगारी बढ्यो । खेतीहर मजदुरहरू जो बनिबुतो गरेर गुजारा चलाउँथे, तिनका लागि लकडाउन अनिकाल भो । यदि समय छँदै स्थानीय तहले समझदारी देखाएन भने लकडाउन लम्बिँदै जाँदा भोकमरी हुन सक्छ । भुइँतहमा यस्तो ठूलो वृत्त छ जसको दैनिकी नै कुवा खनेर तिर्खा मेटाउनु हो । ग्रामीण तहमा छोटाछोटा कारोबार हुन्छन्, जो खेती–किसानीसँग जोडिएको छ । घर–घरबाट दूध संकलन वा बिक्री गर्ने, फसल किन्ने, पशु उपचारजस्ता अनेकन काम ठप्प भएका छन् ।

किसान तीन प्रकारका छन् । पहिलो, जो आफैं खेती गर्दैन, हुन्डा, बटैया, अँधियामा खेत अरूलाई दिन्छन् । दोस्रो, जोसँग आफ्नै सानो जग्गाको टुक्रा छ र खेती पनि आफैं गर्छन् । यो समूहभित्र यस्ता पनि छन्, जसले अर्काको जग्गा पनि अनुबन्ध तहत लिएको हुन्छ । तेस्रो, ती खेतीहर मजदुर हुन जो भूमिहीन छन् । खेतीहर मजदुरको सम्पत्ति भनेकै श्रम हो । दोस्रो र तेस्रो वर्गका मध्ये आफ्नो थातथलो छाडेर बाहिर कमाउन जानेहरू पनि कम छैनन् । कोरोनाको सम्भावित संक्रमणले जब तिनीहरूलाई रोजगारीबाट टाढा पुर्‍याइयो तब तिनीसँग आफ्नो ‘माटो’ मात्रै बच्यो । थातथलो मात्र सुरक्षित देखिए । यस्तोमा रोजगार गुमाएकाहरू निस्किसकेका छन् तर कुन हालतमा घर आइपुग्ने हुन्, ठेगान छैन । रोजगारीका लागि बाहिरिएकाहरू भारतीय सहरहरूबाट मात्र होइन, नेपालकै विभिन्न ठाउँबाट पनि फर्किनेहरू छन् । मनभित्रका दुःख आफ्नो परिवारसमक्ष पुगेर सुखमा बदलियोस्, यही आस छ तिनीहरूसँग । तर, भारततिरबाट फर्किंदै गरेका कतिपयलाई सीमामै रोकिएको छ । कोही नाकाहरू छल्दै अघि बढेका छन् ।

जो नेपालीहरू सीमामै रोकिए, तिनीहरूसँग जोडिएर केही प्रश्न उठ्न थालेका छन् । आखिर यो देश कसको हो ? देश भनेको भूगोल हो कि जनगणको मनमा लुकेको मानचित्र हो ? राष्ट्रिय सुरक्षा भनेको सरहदभित्र रहिरहेका नागरिकहरूको सुरक्षा मात्र होइन, ती नागरिकहरुको पनि हो जो सरहदबाहिर श्रम गरेर भविष्य खोजिरहेका छन् । भारतमा मजदुरी गर्न जाने मजदुरहरूलाई विरलै दिल्लीस्थित नेपाली दूतावासको बारेमा थाहा छ । केही ठूला भारतीय सहरहरूमा नेपालका केही दलका सम्पर्क संगठनहरू छन् र तिनका आफ्नै सीमा र सम्भावनाहरू छन् । यस्तोमा मजदुरहरू का–कहाँ फसे, कहाँ बिनातलब नै हिँडे भन्ने पत्ता लगाउन, कम चुनौती छैन । लकडाउनमा भुइँमान्छेहरूको समस्या गाँठैगाँठो परेर जेलिँदै गएको छ । जसका आफन्त बाहिर फसेका छन् वा फर्किंदै छन् तिनका विरह कम छैनन् । बेलाबखत आँसुसँगै छचल्किन्छ ।

‘सैया–बेटबा के बाहर से बोला द पारवती बम–भोला, कहत भिखारी भयानक लागे हमरा गाँव देहात के टोला ।’ खेतीहर  मजदुर जो अत्यन्त विपन्न छन्, तिनीहरूलाई दैनिक छाक टार्न गाह्रो हुँदै गएको छ । सबै ठाउँमा स्थानीय सरकार पुग्न सकेको छैन । भुइँमान्छेमा डर छ । यहाँ त तन्त्र पनि कमजोर अनि डर बिसाउने कहाँ ?

देहातमा अनेकथरी अन्धविश्वास चलेको छ । सञ्चारले यस्ता अफवाहहरू एक ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउँदै लगेको छ । यो अन्धविश्वास धार्मिक आवरणमा यिनै विपन्न मजदुर वर्गको घरदैलोमा बढी पुग्दै छ ।

लकडाउनको अवस्था सबैतिर एकनासको छैन । कतै किसानहरू पातलो संख्यामा खेतीको काम गर्दै छन् । जहाँ जनशक्तिले काम चल्ने हो, त्यहाँ जेनतेन पाकेको बाली भित्र्याइँदै छ तर मेसिनले हुने काममा तेलको अभाव छ । राम्रो बीउको अभाव छ, किनकि बजार खुला छैन । रैथाने बीउ जो किसानहरूले पारम्परिक रूपमा सञ्चय गर्दै आएका थिए, त्यो चलन हराउँदै गएको छ । कतै मान्छेले खेत खलिहान गरिरहेका छन् तर मेसिन सञ्चालन रोकिएको छ । सबैतिर प्रविधिको प्रयोग सहज र सम्भव पनि छैन । प्रविधि एकदम ठप्प भएको ठाउँमा पाकेको बाली भित्र्याउने र अर्को बालीको तैयारी पनि ठप्प छ । यस्ता किसानहरू भन्छन्, ‘कोनो बाट नै सुझत हय’ अर्थात् कुनै बाटो देखिँदैन ।

नेपालको पहिचान कृषिप्रधान मुलुकको हो । यहाँको संस्कृति, भाषा, भाव, रीतिरिवाज, मान्यता र परम्पराहरू कृषिसँगै गाँसिएको छ । कोरोना कहरले अहिलेको कृषि व्यवस्थालाई तहसनहस पार्दै गएको छ । ‘खेतीको लागत कसरी उठाउने ?’ यो यक्षप्रश्न कोरोनाभन्दा बढी खतरनाक छ । खेतीपातीको स्वास्थ्यको असर अर्थतन्त्रमाथि पर्नेछ । किसानलाई अन्नदाताको उपाधि दिइएको छ । खेती जोगिए बाँकी सबै सप्रिन सक्छ । खेती यस्तो हो– जसको उत्पादन र आर्जनको हाँडी एकपटक चुल्हाबाट तल झरेपछि पुनर्ताजगीका लागि लरतरो रणनीतिले काम चल्दैन । देहाततिर एउटा कहावत छ, ‘उचित दूरी, बहुत जरुरी ।’ अहिले खेतीलाई लिकमा राखिराख्न आवश्यक बन्दोबस्तीका लागि यही सूत्र प्रयोग गर्ने कि ? लकडाउनले भुइँतहको आर्थिक जीवनमा जुन खालको शून्यता खडा गर्दै छ त्यसको भर्पाई सजिलो छैन ।

(याे लेख कान्तिपुर दैनिकबाट साभार गरिएको हो।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank