पैसा नभएपछि सासु र बुहारी एक महिनादेखि अस्पतालमा बन्धक,सुत्केरी भोकै

दलित अनलाईन ८ चैत्र २०७६, शनिबार १९:१९

विराटनगर- उपचार खर्च तिर्न नसक्दा एक सुत्केरी महिला एक महिनायता विराटनगर अस्पताल -विराट नर्सिङहोम)मा बस्न बाध्य भएकी छन् ।
माघ २९ गते भर्ना भएकी झापाको विर्तामोड नगरपालिका- ३ सुकुम्बासी बस्तीकी २२ वर्षीया चेली सुन्दास राजवंशी अस्पतालमै बस्न बाध्य भएकी हुन् ।

प्रसूतिपछि अस्पताल भर्ना भएकी उनलाई अस्पतालले एक सातापछि डिस्चार्ज दिएको थियो । तर उपचारका क्रममा उठेको बिल तिर्न नसक्दा असपतालमै छिन् । उनीसँगै सासु आमा अमृता सुन्दासपनि अस्पतालमै छन् । उनका श्रीमान अनिल सुन्दास भने अस्पतालको बिल तिर्न ऋण खोज्न भौतारिरहेका छन् । तर गाउँमा ऋण नपाएका कारण उनी अस्पताल आउन सकेका छैनन् ।

माघ २९ गते सात महिना नै छोरालाई जन्म दिएपछि सुत्केरी र शीशुको स्वास्थ्य अवस्था नाजुक बनेको थियो । अनिलले उपचारका लागि विर्तामोडकै मनमोहन अस्पताल पुर्‍याएका थिए, तर त्यहाँ उपचार गर्न नसक्ने भनेपछि एम्बुलेन्स चालकले विराट नर्सिङहोम ल्याए । नर्सिङहोममा भर्ना भएको एक दिनपछि शिशुको मृत्यु भयो ।

उपचारपछि सुन्दास राजवंशी भने निको भइन् । तर घर जान पाएकी छैनन् । ‘महिना नपुगी जन्मिएका कारण छोरालाई महंगो बेडमा राख्नुपर्छ भन्थे’ उनले भने ‘आफूसँग पैसा नभएपछि छोरो बित्यो ।’

उपचारका क्रममा एक लाख ८० हजारभन्दा बढी बिल उठेको छ । तर पैसा तिर्न नसक्दा अस्पताल बस्न बाध्य छिन् । र, उनको उपचार खर्चमा पनि दैनिक १५ सय रुपैयाँ थपिने गरेको छ ।

भोकभोकै सुत्केरी
सुन्दासका श्रीमान अनिल कपडा सिलाउने काम गर्छन् । अस्पतालबाट डिस्चार्ज गराउन नसकेका उनी ऋण खोज्न गाउँ गएका थिए ।

तर गाउँमा ऋण पाउन सकेनन् । अनिलले भने उपचार गर्ने पैसा नभएका श्रीमतीलाई अस्पतालबाट डिस्चार्ज गर्न नसकेको बताए । ‘बुबा बित्नु भएको धेरै भयो, आमालाई अस्पतालमा राखेर म पैसा खोज्न आएँ’ उनले भने ‘धैरै तिर धाएँ, पैसा जुटेको छैन ।’

यता अस्पतालमा उनकी आमा र श्रीमती भोकभोकै बस्नुपर्ने अवस्थामा छन् ।

खर्च नभएपछि अमृताले होटलमा भाडा माझेर सुत्केरी बुहारीलाई लागि खाना खुवाउँदै थिइन् । तर बिल नतिरेको भन्दै अस्पताल प्रशासनले होटललाई काम नदिन भन्यो । होटलले काम नदिएपछि उनीहरु भोकै बसेका हुन् ।

‘अस्पतालले भनेपछि होटलले काम दिएन’ अमृताले भनिन-‘होटलमा काम सघाएर बुहारीका लागि खाना ल्याउँथ्यो, त्यो पनि बन्द भयो ।’

भोकभोकै बसेका सुत्केरी बुहारी र सासुलाई शुक्रबार बिहान अस्पतालकै कर्मचारीले दुई सय रुपैयाँ दिएपछि खाना खाएका थिए । विराटनगर अस्पतालका प्रशासन प्रमुख पदम बिनाडी अस्पतालले डिस्चार्ज दिएपनि उपचार खर्च नतिरेका कारण जान नदिइएको बताए । विरामीका आफन्तले पैसा ल्याएपछि अस्पतालले केही छुट गरी डिस्चार्ज गरिदिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank