जातीय विभेद अन्त्य नभएसम्म सामाजिक न्याय प्राप्त हुँदैन : प्रदेश प्रमुख तिलक परियार( पूर्ण पाठ)

दलित अनलाईन ८ चैत्र २०७६, शनिबार ११:२१

काठमाडौं– प्रदेश २ का प्रमुख तिलक परियारले संविधानमा दलित समुदायका लागि मौलिक हकलगायतका व्यवस्था सुनिश्चित गरिए पनि दलित समुदायमाथि गरिने छुवाछूत–भेदभावमा कमी आउन नसक्नु, छुवाछूत–विभेदकै कारण कुटपिट, हत्या घटनाहरु सार्वजनिक हुनु सामाजिक लज्जा र चिन्ताको विषय भएको बताएका छन् ।

५५ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (२१ मार्च)को अवसरमा जातीय विभेद र उत्पीडनमा परेका जनसमुदायको मानवअधिकार, आत्मसम्मान, न्याय र समानताका पक्षधर प्रदेश नम्बर दुईलगायत स्वदेश तथा विदेशमा रहनुभएका आम दिदीवहिनी तथा दाजुभाइहरुमा शुभकामना सन्देश जारी गदै दलित समुदायमाथिको उत्पीडनमा कमी आउन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

प्रदेश प्रमुख परियारले छुवाछूत उत्पीडनका अतिरिक्त लैङ्गिक विभेद, भाषिक विभेद तथा क्षेत्रीय उत्पीडनलगायतका विभेदहरुको जबसम्म सम्पूर्ण रुपमा अन्त्य हुँदैन, तबसम्म कसरी सामाजिक न्यायसहितको समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल हुन सक्छ र ! भन्दै मानिसले मानिसमाथि गर्ने कुनै पनि रुपको विभेद सम्पूर्ण रुपमा अन्त्य हुनुको विकल्प नरहेको बताएका छन् ।

के छ शुभकामना सन्देशमा ?

मिति : २०७६÷१२÷०८
हार्दिक शुभकामना

५५ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (२१ मार्च)को अवसरमा जातीय विभेद र उत्पीडनमा परेका जनसमुदायको मानवअधिकार, आत्मसम्मान, न्याय र समानताका पक्षधर प्रदेश नम्बर दुईलगायत स्वदेश तथा विदेशमा रहनुभएका आम दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
दक्षिण अफ्रिकाको गोरा सरकारले काला जातिका मानिसहरुबिरुद्ध रङ्गभेदी नीति लागू गर्दा सन् १९५९ मार्च २१ मा विशाल विरोध प्रदर्शन भएको थियो । सो प्रदर्शनमा प्रशासनको अन्धाधुन्दा गोली प्रहारबाट ६९ जना नागरिकहरुको मृत्यु भएको घटनाको प्रभावस्वरुप सन् १९६६ मा सबैप्रकारका जातीय विभेद उन्मूलनसम्बन्धी अन्तराष्ट्रिय महासन्धी पारित गरिएको थियो । त्यसपछि हरेक वर्षको मार्च २१ लाई अन्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको रुपमा मनाइने गरिन्छ ।
नेपालमा लामो समयदेखि छुवाछूत विभेद र उत्पीडनमा परेका नागरिकहरु विशेषगरि दलित समुदायमाथि राजनीतिक, आर्थिक, सामाजिक–सांस्कृतिक तथा मनोवैज्ञानिक विभेद गरिदै आएको पाइन्छ । छुवाछूत–विभेदजस्तो अत्यन्तै उत्पीडनकारी व्यवस्थाको मारमा परेका दलित समुदायले यस दिवसलाई विशेष महत्व दिएको पाइन्छ । त्यसो त यो दिवस लैङ्गिक, भाषिक, क्षेत्रीय उत्पीडनमा परेका जनसमुदायले पनि विशेष रुपमा मनाउने गरेको देखिन्छ ।
नेपाली जनताको लामो समयदेखिको पटक–पटकको जनसङ्घर्ष विशेषगरी दश वर्षको जनयुद्ध तथा ०६२÷६३ को ऐतिहासिक जनआन्दोलनपछि नेपालको पुनस्र्थापित संसदले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । २०६८ सालमा व्यवस्थापिका संसदले जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन पारित गरेको थियो । नेपालको संविधान–२०७२ मा दलित समुदायका लागि मौलिक हकलगायतका व्यवस्था सुनिश्चित गरिए पनि उनीहरुमाथि गरिने छुवाछूत–भेदभावमा कमी आउन नसक्नु, छुवाछूत–विभेदकै कारण कुटपिट, हत्या र नाकाबन्दीजस्ता घटनाहरु सार्वजनिक हुनु सामाजिक लज्जा र चिन्ताको विषय हो ।
छुवाछूत उत्पीडनका अतिरिक्त लैङ्गिक विभेद, भाषिक विभेद तथा क्षेत्रीय उत्पीडनलगायतका विभेदहरुको जबसम्म सम्पूर्ण रुपमा अन्त्य हुँदैन, तबसम्म कसरी सामाजिक न्यायसहितको समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल हुन सक्छ र ! तसर्थ, मानिसले मानिसमाथि गर्ने कुनै पनि रुपको विभेद सम्पूर्ण रुपमा अन्त्य हुनुको विकल्प छैन । त्यसका लागि नेपालको संविधानले व्यवस्था गरेका प्रावधानहरुको प्रभावकारी कार्यान्वयन गर्दै सबैप्रकारका जातीय विभेद तथा उत्पीडनको पूर्ण अन्त्यका लागि एकीकृत पहलको जरुरी देखिन्छ । तवमात्र जनताले नेपालको संविधानले सुनिश्चित गरेको मौलिक हक, समानुपातिक समावेशी, गणतन्त्र, धर्मनिरपेक्षता तथा संघीयताजस्ता उपलब्धीहरुको महशुस गर्नसक्नेछन् ।
अन्त्यमा, संसारमै त्रास फैलाईरहेको नोवल कोरोना भाइरस (कोविड–१९)बाट आफू, आफ्नो परिवार तथा समाजलाई जोगाउन र आफ्नो स्वास्थ्यलाई ख्याल गर्न सबैसँग अपिल गर्दछु ।

तिलक परियार
प्रदेश प्रमुख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank