दलित समुदायमा जातिय अपमान, हलीहरुको ज्याला वृद्धि अभियान
संकल्पहरुमा दमित जीवनः विवेक कति नभएको पशु जस्तै बनायो, सोचौ हाम्रो यो चाला कस्ले गरायो।
भर्खर पँचायत ढलेर राजासहितको प्रजातन्त्र उदाउँछ । बहुदल भनेपनि पंँचहरुको बिगबिगि नै हुन्छ । बहुदलको आगमनमा ठुलो भाग कांगे्रसतिर र सानो भाग कम्यूनिष्ट तिर लाग्छन् । यहि बहुदलको आगमनमा दलित अपमानमा चेतनाको जुनकिरी बाल्न निरन्तर उनीहरुसँग यो पंक्तिकारको साक्षात्कार हुन्छ । दमित जीवनलाई नजिकबाट बुझन आफुलाई उनीहरु संगै रुपान्तरित भएर खाने बस्नेमा समाहित हुँदा दलित पनि गाउँ हल्लन्छ, जिल्लामा खैलाबैला छाउँछ,। अहिले स्मरण गर्दा, चुपचाप बसेको पोखरीमा ढुंङ्गा हान्दा तरङ्ग पैदा भए जस्तै भएछ । दलित बस्तीसंग संबाद गर्ने र साक्षात्कार हुने एउटा माध्यम अपनाईयो, दिनभर काम गरि खाने दमित मानिसहरु सँग बेलुका प्रौढ जागरण कक्षा, बिहान बाल जागरण कक्षा । यसको एउटै उद्देश्य संकल्प हुन्छः जुगौ देखि दमित पारिएको वर्गको जीवन पढनु र पढाउनु । यो कक्षाको माध्यमबाट पाँच वर्ष दलित जीवनले भोगेको उत्पीडनको समस्याका खाडलहरु पहिचान स्वयं आफैले गर्नु, जुगौंदेखिको समस्याको कारण र समाधानको जुक्तिको विकल्प पहिल्याउनु । यसको लागि सामुहिक छलफल गरी दलित मनको चेतनालाई धारिलो बनाई बहिस्कृत र तिरस्कृत जीवन प्रति घृणा पैदा गर्नु । मेरो आफनो जातिय वर्गीए रुपान्तरणमा आफु पनि दमित जीवनमा रुपान्तरण भएर अन्यायको जातो मुनी पिल्सिएको दलित जीवनप्रति ईख जगाउनु । दलित जीवनगाथालाई नपढेका भनेर हेला गरिएकाहरु, गरीब भनेर पन्छाइएकाहरु, अछूत भनेर टक्टक्याइएकाहरु, यति हुँदा पनि अचेत र असंगठित भनेर घोक्रयाइएकाहरु एक दिन सचेततापूर्वक संगठित भएर आवाजबिहिनहरुको आवाज बनेर आफनै लागि उभिने छन् ।
मानव मर्यादामा जीउन उठ्ने छन् । पुस्तौ अछुत बनाइएर अरुको लागि बली भएर मरेकाहरु बिस्तारै एक दिन आफनै लागि आफैले बलिदानपूर्वक होमिने छन् । संर्घषमय यात्रा लगातार हिड्न उड्ने छन् र मान्छे भएर ज्यूँने छन् । दलित जीवन बदल्ने यहि संकल्पको आँसु र खुसीको भाकामा सील्मी गाउँमा तीन वर्ष सम्म लगातार जीवन पढ्ने जागरण कक्षा, छलफल संबाद, प्रशिक्षण र भ्रमण चलिरहन्छ । दलितहरुको कहालीपूर्ण वर्तमान देखेर आफैंलाई थाहा हुनुको पीडाले हुटहुटी पैदा भएर मनमा तरङ्ग पैदा हुन्छ । सील्मी गाउँको दलित जीवनमा बहुदलको परिर्वतन भएपनी चु शोषण उत्पीडन र विभेदलाई बदल्न चुक घोप्टिएको जस्तै अंधमुष्टि अध्याँरो जीवनमा जीवन्त तारा चम्काउन, जुनकिरीको बाल्ने एक संकल्प । संकल्पले गाउँ जाग्न थालेपछि दलित स्वयंमा केहि सुधारले एकता, खैलाबैला, जीवन फेर्ने अभियान उकाली ओराली अक्कर अक्करहरुमा लगातार हिँडिरहेको थियौं सील्मीको दमित बस्ती । जहाँ छोईछिटो मेटनु छ, हेलाहोचोको पर्खाल तोडनु छ । पशुवत बनाइएको जीवनलाई मान्छे भएर जीवन सघाउनु छ ।
गाउँको कष्टपूर्ण जनजीवन र हलि अभियानः
जहानको भोक सम्झेर, नानीको आङ्ग सम्झेर, साहुको हलो माईयो निको देखेर
सील्मी गाउँको नाउमा लेखिएको यो यात्रा र संकल्प सील्मी मात्र नभएर पर्वत र बागलुङ्ग जिल्लाको केहि गाउँ यहि मनोदशामा हामी हिँडिरहेका थियौं । तर सील्मी गाउँ पश्चिमाञ्चलको पर्वत जिल्ला, तत्कालीन पकुवा गाविस अन्तर्गत पर्ने एउटा बस्ती थियो, हाल कुश्मा नगरपालिका । राजनितिक हिसाबले नेकपा मशालको थलो । यो ठाउँ दुर्गम हिँडेर पोखराबाट कार्की नेटा हुँदै पर्वतको सदरमुकाम कुश्मा पुगेर २ दिनमा पुगिन्थ्यो । जहाँ पोखरा बागलुङ्ग राजमार्ग निर्माणाधिन। यहाँ दलित अमानुसको संज्ञा दिइएको सार्कि नेपाली भनिने करीब ४५ घर बस्ती छ । बस्तीको माथि हुनेखाने बाहुन, क्षेत्री जात तल उनै बिष्ट बराजुको सुन जस्तै धान झुल्ने रहर लाग्दो खेतको फाँट। जहा पहुने भनेर पन्छाइएका हेला गरिएका यिनै दलितहरुले बर्ष भरी श्रम गरेर तिन बाली फलाउँछन। दमित जीवन दैनिकी यहि खेतमा पसिना बगाएर पनि जीविका धान्न धौ धौ पर्ने एउटा माध्यम । यहि माध्यमले जातको नाममा श्रम शोषण, अपमान, श्रमको फलमा सम्मान बिहिन भएर बाँचिरहनुपरेका दलित जीवन। यसो त सिल्मीको दलित जातिको अर्को थियो भारीको खेपहरु ओसारेर जीवन गुजारा गर्न सघाउने । सील्मीको बस्तीका केहि यूवा खच्चडको साथि बनेर भारीको खेप बोक्न जान्थे, भरीयाँ बनेर ।
यो जीवनले पनी दलितको उत्पीडन भएपनीे श्रम गरि हातमुख जोर्न सहयोगी बनिरहेकै थियो । त्यो रोजगारी पनी निर्माणधिन पोखरा बागलुङ्ग राजमार्ग बनेपछि ठुला धनी साहु र उपल्लो जात भनाउँदाहरुले ट्रक, डम्फर र बसले खोसिदियो । यसले भरीयाकोे भारी बिसाउने चौपारी मात्र मासिएन, आफ्नो ज्यान भन्दा अग्लो भारी बोकेर भएपनि जीवनको साहारालाई निर्माणाधिन सडक र साहुबाको गाडीले दलितको जीवनमा खहरे खोलो झैं सुकाईदियो । परापुर्व मानिसले मानिसलाई श्रम विभाजन गरेर छुटाइएपछि गरिने छालाको काम यहाँको सार्कि जातीले जिविकाको सारथी नबनाएका होईनन् । तर यस वस्तीमा पनि आधुनिक विकासको शैलीले स्थानिय छालाको कामहरु लोप हुँदै जानु स्वभाविक थियो । ठालुको शासन व्यवस्थाले आधुनिक कारखानाबाट उत्पादनको विकल्प नखोजिनु दलित ईतिहांसको दमित शोषण थियो । जस्ले सील्मीको जातिय पेशा लोप गराउँदा उनीहरुको जातिय अपमान सँंग यो साईनो देखिन्थ्यो । २०४६को बहुदल आगमन हुँदा सम्म अझै छालाको काम एकाध नाम्ला र दाम्ला, हल्लुडो सम्म पुराना एकाध घर सार्कि जातीहरुले बनाउने भएता पनी यो व्यावसायिक थिएन । व्यवस्था परिर्वतन संगै बाह्य अयातित वैज्ञानिक र आधुनिक विकासको आगमनले दलितको पेशा भने लुटिएको खोसिएको थियो । उनीहरु छालाको काम बाट विमुख भएपनि यसको मनोवैज्ञानिक शोषण भनेको बिष्ट बराजुका गाई बस्तु मरे तरो लाउनुपर्ने सामाजिक मान्यताको शिकार अर्को कथा बन्ने छ । यसरी श्रृंखलाबद्ध पेशाको हरणले दलित जातिय समुदाय कतिले बली दिए होलान् सहज अनुमान गर्न सकिन्छ । शोषणको मुख्य जातिय विन्दु आर्थिक हुन्छ र यो वर्गीय हुन्छ । यहि जातिय वर्गीय अपमानको साङ्गलामा बेरीन बाध्य थियो सिल्मीको दमित गाउँ । हामीले चलाउने जीवन पढने शिक्षाले यिनै जातिय अपमानित शोषण लाई सैद्धान्तिक र व्यवहारिक भोगेको जीवन लाई पढाउँछ र जीवनलाई वास्तविक खिचेर भएको जीवन्त छलफलमा हामी आँसुको भाकामा गीत गाउँथ्र्यौ । सील्मीको वर्तमान जातिय वर्गीय शोषणको अपमान भनेको हलो जोत्ने पेशा । परापूर्वकालदेखि नै हिन्दुधर्म र जातव्यवस्था अनुसार बाहुनले खेत जोत्न हुँदैन भन्ने परम्परा मानिसको मानस पटलमा जरा गाडेको आभाष हुन्थ्यो । यहि परम्पराको कसिमा व्राहमणवादको सत्ता दलितलाई हली बनाएर कजाईरहेको थियो । अरु ठाउँ भन्दा हलिया प्रथामा ठगिएको यस गाउँमा यस विषयले छलफलमा प्रवेश पायो । यहाँको दलितहरुले परम्परादेखि बर्ष भरी अधियाँमा हैन तेउमा जोत्नुपर्ने बाध्यता छ । तेउ भनेको दलितहरुले बाली फलाएर दुई भाग राम्रो अन्न छानेर बिष्ट बराजु लाई दिनुपर्ने एक भाग बाकिरहेको आफनो घरमा ल्याउन पाउने ।
आन्दोलनको एक ढिक्का हुने र सील्मीका हामी दलित बस्तीले ज्याला बढाएर छोड्ने निधो भयो । महिलाको नेतृत्व जिरी नेपाली, र बेलकुमारी नेपाली लगायतले गरेका थिए । पुरुष समुहमा भिम बहादुर र गंगा नेपाली थिए । सील्मीकै जातले दलित भए पनि वर्गीय हिसाबले बाहुनसँग मिलेको छबिलाल नेपालीको परिवारले यस आन्दोलनलाई सधै अस्वीकृत गरिदिएको थियो ।
यो पनि जातिय अपमानसँग जोडिएको चर्को श्रम शोषण लाई स्वभाविक रुपमा लिईरहे पनि छलफलबाट आएको चेतले अपमान भएको महशुस हुन थालेको थियो । बेलुकी दलितको जीवन पढने जागरणको छलफलमा यस विषयलाई मात्र तीन महिना जति लिएको थियो । ब्राहमणवादको सत्ताले दलितको अरु पेशा हरण भएकाले हलीया पेशाको शोषणलाई सिंगो समाजले पढनु , बोध गर्नु र ढाल्न सक्नु एक मात्र तत्कालीन विकल्प र चुनौती विद्यमान देखियो । परम्परा देखि बालिमा काम गर्दा पनि दैनिक र वार्षिक ज्याला नबढेको दुई दशक भएको थियो ।यता महँगीले आकाशै छोईरहेको थियो । हलो जोत्ने हलीलाई चाडबाड आउँदा र बालि भिञयाउँदा दिने सहयोग पनी कटौती भएर अपमानित जीवन खेपिरहेको थियो । हलीले हलो, हल्लुडो, जुवा पनि आफै बनाएर लैजानुपर्ने, समयमा हलीलाई खाजाको ब्यवस्था नहुने, ज्याला दिँदा छापे मानाले दिने, महिला पुरुषबिच ज्यालामा असमानता हुने लगायतको समस्या सील्मी दलित माथि श्रममाथि गरिएको जातिय अपमान भएको ठहर भयो । यति मात्र हैन छुवाछुत, हेलाहोचो,गरीबी, श्रम शोषण, सामाजिक बहिस्कार र तिरस्कारको श्रृंखला , असंगठित र नेतृत्व अभावले हामी दलितहरु अमानुस भएर जीउन बिवश भएकोमा चेतनाको टुसा पलाएको बोध हुँदै थियो ।
एकातिर दलितजातिहरुको पेशा लोप हुँदै जानु, अर्कोतिर महँगी बढ्नु, श्रम गर्न कठिनाईहरु थपिनु जमिनको उत्पादकत्व घटनुले पनि दलितलाई पिरोलेको थियो । आधुनिक विकासले विद्यालय अध्ययन, उपचार, गाडि भाडा, टेलिफोन लगायतमा आर्थिक बोझ थपिनु जस्ता समस्या दलित जीवनको चुनौति लाई बुझदा उनीहरुको मन झस्कीरहेको थियो । आधुनिक विकासमा कतै दलित लाई रोजगारी थिएन, दलितले पढ्न हुदैन भनि यहाँ एसएलसी सम्म पास गर्ने कोहि पनि थिएनन् । अझै पनि गाउँमा बर्षेनि जन्मने असरल्लै केटाकेटी नजिक विद्यालयको शिक्षाको घाम बाट विमुख भएको महसुशीकरण हुन थालेको थियो । नजिकै विद्यालय भएपनि पढ्न जान सुझाएन । यसो त दलित बस्ती पढाउन सक्ने चेतना र आर्थिक हैसिएत दुबैबाट विमुख थिए । सबै कुरामा ग्रहण लागेको यस दलित बस्तीमा जुनकिरीको दिप बाल्न अपमान लाई खाडलमा पुर्नको लागि आर्थिक अभाब एउटा ठुलो समस्या बनेको जीवन पढने शिक्षाले चेतना भने पैदा भयो । यहि चेतनाले जन्मियो सिल्मीमा जातिय अपमान हलीहरुको ज्याला वृद्धि अभियान ।
कसरी भयो जातिय अपमानमा अभियानको सार्थकताः
धेरै भयो निदाएको अब जाग्नु पर्छ ज्यूँदा मान्छे न्याय निम्ति आफै लड्नुपर्छ
सिल्मी गाउँमा जीवन पढने कक्षा र दलित माथि जुगौदेखि गरिएको अपमान लाई बुझन पनी बर्षौको छलफलले उनीहरु माथिको अन्याय बोध भयो । यसले पलाएको चेतनाले दलितहरु संगठित हुदै गए । तालिम र भ्रमणमा गएर जीवनमा नयाँ कुरा र नयाँ ठाउँ देखँे । यसले उत्पीडनको वास्तविकतामा झिनै भएपनि विश्वास पैदा भयो । दैनिक खेपिरहेको श्रमको अपमान र जीवनलाई मानव बनाउन आन्दोलित हुने र वर्तमानमा केहि गर्ने अठोट गरे । यसो त उनीहरुले आमा समुह पुरुष समुह गठन गरि बचत गर्ने, गाउँ सर सफाई गरी करेशाबारी गर्ने, एक आपसमा सहयोग र एकताभाब देखाउने पनि गर्न थालेको थिए । चेतना र संगठनले जुर्मुराएको सील्मीको दलित बस्तीमा हलि आन्दोलन गर्ने निधो भयो । यस बिषयमा साँझ आमा समुह र पुरुष समुह जुटेर लामै छलफल भएपनि बालुवाको मुटठी पर्दैन दलितको मतो मिल्द्रैन भनेर पन्छिने काम यहाँको बुढाबुढीहरुले भनिरहन्थे । यति मात्र होईन दिन भर जोतेर दिएको पैसाले रक्सीले मातेपछि बिष्टले फकाएर सोधेपछि आन्दोलनको सबै भनिदिन्थे । किनकि जीवनभर देउता जस्तै मानेको बिष्ट बराजु लाई एकै पटक आन्दोलन गरेर लात हान्नु बन्दुक चलाउनु जस्तै थियो । यस्तो सवाललाई छलफल चलाउनु उसबेलाको लागि सबैको आखाँको तारो बनिन्थ्यो । जातिय र वर्गीय अपमानलाई भत्काउन गरिने हली आन्दोलन सफल बनाउने निधो भयो । यसको लागि उमेर ढल्केका बुढा पुरुषहरु हो त भन्थे तर बुढाको होस युवाको जोस आवश्यक थियो । छलफलले पेचिलो रुप लिएपछि आन्दोलन घोषणा गर्न तिन रात बैठक र छलफलहरु भयो । छलफलले समस्या अनुसार ज्याला बढाउने र दलितलाई परम्परा अनुसार सम्मानित सहयोग गर्नुपर्ने माग लिखित गरियो । आन्दोलनको एक ढिक्का हुने र सील्मीका हामी दलित बस्तीले ज्याला बढाएर छोड्ने निधो भयो । महिलाको नेतृत्व जिरी नेपाली, र बेलकुमारी नेपाली लगायतले गरेका थिए । पुरुष समुहमा भिम बहादुर र गंगा नेपाली थिए । सील्मीकै जातले दलित भए पनि वर्गीय हिसाबले बाहुनसँग मिलेको छबिलाल नेपालीको परिवारले यस आन्दोलनलाई सधै अस्वीकृत गरिदिएको थियो ।
हिउँदमा गहुँ छर्न ढिला भैसकेको थियो । एक्कासी एक झर पानी पर्दा खेतधनी खुसीले गद्गद् देखिन्थे । दिन भर त्यहि खेतमा काम गरेर बेलुकि खाने दलितहरु पनी नियाउरो खुसी भने छाएकै थियो । पानी परेको भोलि पल्ट खेतभरी दलितह सबैले गोरु ननार्दा बिष्टहरु छक परे। खेत बांझो हुने भयो बाली नफल्ने भयो यसले गाउँदेखि जिल्ला सम्म खैलाबैला भयो । मुखिया, बिष्ट नेता बाहुनहरु दलितलाई गाली गर्न थाले । थुईया तल्ला जातको बुद्धि अब मर्ने भईस् आदि । तर हलो जोत्न चाहिने हल्लुडो र केहि जुवा गाउँका आमा समुहले लुकाएर अलप पारेका थिए । बाहुन नेताहरु लाठी र ढुँङ्गामुढा गरेर खेत जोत्न जान दबाब दिए । अनेकानेक रङ्गग रोगनमा आफैले रैति दास बनाएको दलित लाई सम्झाए, फकाए, तर्साए । बाहुनहरुलाई आफु भन्दा तल्लो र आफुले दास ठानेको पुस्तौनि हलीले गरेको व्यवहारमा कसरी लात मार्ने सबै जुक्ति लगाए । तर दलित र दमित समुदाय झुकेन । विगत लामो समयदेखि जातिय र वर्गीय अपमानको विरुद्धमा बलेको जुनकिरीको ज्योति, ताराको प्रकासले उज्यालो छाईरहेको थियो । दलितहरुले उद्घोष गरि भनिदिए धारिलो चेतना र संगठित आवाजले अरुको लागि बली भयौ बिष्ट तर अब आफनै लागि बली हुन तयार भएको बताए ।
यो तल्लो जातिलाई कहाँ बाट आउछ बुद्धि भनेर मलाई यामानको ढुंङ्गगा र ठुला लाठी बर्साइयो । तर सर्किनि आमा र भाउजुहरुको मजेत्रो, गुनियाहरुले भएपनि लुकाएर जोगाए । उनीहरुले कुट्न ल्याएको ढुंङ्गा खोसेर फालिदिए । मलाई मायाको साथ लुकाएर सुरक्षा दिएर खान बस्न दिए । दिनभर हलीलाई फकाउने तर्साउने सबै भए । साँझ दलित बस्तीमा यसलाई निरन्तरता दिन बैठक बस्यो । बिहान सखारै माग लेखेर टाँस्ने निधो भयो । माग पुरा नगरे सम्म खेत बाँझै राख्ने बरु भोकै बस्ने पनि निधो भयो । भोलिपल्ट बिहानै ज्याला बढाउन, तेउमा हैन अधिया गर्न, हलीलाई उचित सम्मान गर्न जस्ता माग भिम बहादुर नेपाली र गँगा नेपालीले लगेर विद्यालय लगायत सार्वजनिक स्थानमा टाँंसे । यसरी नै तीन दिन सम्म खेत जोत्ने काममा हड्ताल भयो । बाहुनबादले साम, दाम दण्ड भेद गरेपनि ज्याला बृद्धि आन्दोलन टसको मस गरेन । अब ब्राहमणहरुलाई ज्याला बढाउन बाध्य भए । यता दलित गाउँमा उता बाहुन गाउँमा राति बैठक भैरहेको थियो । तीन दिन पछि ब्राहमणवादको सत्ताले घुँडा टेक्यो । उनीहरुले दलितहरुलाई सम्मानित व्यवहार गर्ने, चाडपर्व लगायत दिईदै आएको सहयोग सबै दिने । ज्यालामा आशिक वद्धि गर्ने, ज्याला वृद्धि आन्दोलनलाई गरिएको गाली अपमान फिर्ता लिने लिखित सहमति भयो । सबै दलित गाउँको मुहारमा खुसीको चमक देखिन्थ्यो । दलित आमाहरु केटाकेटीलाई पेटभरी खान पाउने खबरले रमाए । अधिकार खोजेर पाईदो रहेछ, मागेर नपाईने रहेछ भन्ने शिक्षा लिए । हिजो अरुको लागि बलि भएर रगत चढाउने दलितहरु आफनै लागि बलिदान दिएर लडि अधिकार पाएको बोध भयो । यस पछि पनि यस सिल्मीको दलित गाउँमा सामाजिक सांस्कृतिक रुपान्तरणको लागि जुनकिरीको दिप बाल्ने क्रम जारी रह्यो । त्यस दिन पनि साँझ जुनकिरी बलीरहेको थियो, ताराहरु एकाध टल्कीरहेको थियो । बस सील्मीको दलित समुदायको मुहारमा पनी यहि किरण देख्न सकिन्थ्यो ।
थापा सामाजिक अभियन्ता एवंं लेखक हुन् ।
Leave a Reply