जातीय विभेद गर्ने कर्मचारी पक्रन आनाकानी

दलित अनलाईन २६ फाल्गुन २०७६, सोमबार १३:३७

काठमाडाैं- भाडामा बस्ने विद्यार्थीलाई जातकै कारण कोठा छाडेर जान दबाब दिने सरकारी कर्मचारीलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको छ । पीडित छात्रा दीपा नेपालीले सीमा प्रशासन कार्यालय लामाबगर दोलखाका प्रमुख श्रीकृष्ण बिडारीसहित चारजनाविरुद्ध २० फागुनमा महानगरीय प्रहरी वृत्त बालाजुमा उजुरी दर्ता गरेकी थिइन् । प्रहरीले २१ फागुनमै पक्राउ पुर्जी लिएको थियो । तर, आइतबार साँझसम्म पनि अभियुक्तहरू पक्राउ परेका छैनन् ।

दीपाले बिडारी, बिडारीकी पत्नी राधिका, सोही घरमा डेरा बस्ने जनक ढुंगाना र उनकी श्रीमती सन्तोषीविरुद्ध गत मंगलबार जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरेकी थिइन् । बालाजु वृत्त प्रमुख डिएसपी रञ्जितसिंह राठोरले मुद्दा दर्ता भएको भोलिपल्टै पक्राउ पुर्जी जारी भएको बताए । ‘कतिपय मुद्दामा तुरुन्तै पक्राउ गर्नुपर्दैन, अनुसन्धान जारी छ,’ डिएसपी राठोरले नयाँ पत्रिकासँग भने । पीडितले भने गृहकै कर्मचारी भएकाले प्रहरीले उजुरी गर्न पनि अटेरी गरेको र अहिले कारबाहीका लागि पनि आनाकानी गरिरहेको गुनासो गरिन् ।

पीडित छात्रा नेपालीले घटनाको अनुसन्धान र पीडकलाई कारबाहीको दायरामा ल्याउन सहयोगको माग गर्दै राष्ट्रिय दलित आयोगमा समेत निवेदन दिएकी छिन् । पीडितले न्याय पाउनुपर्ने भन्दै उजुरीका लागि समेत प्रहरीकहाँ पुगेका उपेक्षित उत्पीडित दलित वर्ग उत्थान समितिका कार्यकारी निर्देशक बुद्धि नेपालीले भने प्रहरीले पीडकलाई हाजिर हुन खबर गरेको र नआए गिरफ्तार गर्ने जानकारी दिएको बताए ।

सीमा प्रशासन प्रमुख बिडारीको घर काठमाडौंको तारकेश्वर नगरपालिका–१० नेपालटारमा छ । उनको घरमा दुई कोठा भाडामा लिएर १३ मंसिरदेखि भाइबहिनीसहित बसेकी दीपालाई जात थाहा पाएपछि बिडारी परिवारले भोलिपल्टबाटै कोठा छोडेर जान दबाब दिएको थियो । त्यसयता पीडितले पानीसमेत प्रयोग गर्न पाएका छैनन् । विभिन्न बहानामा गालीगलौज र अभद्र व्यवहार गर्ने गरेको पीडितको गुनासो छ । बिडारीले १२ फागुनमा भने विभिन्न कारण देखाउँदै घर खाली गर्न सूचना टाँसेका छन् । दुई वर्षदेखि कैलालीबाट काठमाडौं आएर पढ्दै गरेकी दीपा यसअघि छात्रावासमा बस्थिन् । हाल उनी त्रिवि केन्द्रीय क्याम्पसमा अंग्रेजी स्नात्तकोत्तर र नेपाल ल क्याम्पसमा एलएलबी  अध्ययनरत छिन् ।

(यो समाचार नयाँपत्रिका दैनिकाबाट सभार गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank