दलित भन्दै डेरा छाड्न दबाब

दलित अनलाईन २० फाल्गुन २०७६, मंगलवार १६:०९

काठमाडौँ – कानुनले जातीय विभेद गर्नु अपराध हो भन्छ । नयाँ मुलुकी ऐन, २०२० ले छुवाछूतलाई गैरकानुनी घोषणा गरेको थियो । त्यतिले पनि समाजमा छुवाछूत नहटेपछि संविधानले ‘छुवाछूत तथा भेदभावविरुद्धको हक’ को व्यवस्था गर्‍यो । जातका आधारमा निजी तथा सार्वजनिक ठाउँमा कसैले कसैलाई छुवाछूत गर्नु पनि अपराध हो । तर अझै व्यवहारमा भने छुवाछूत हट्न सकेको छैन ।

राजधानीको नेपालटारमा डेरा गरी बस्ने चार विद्यार्थी छुवाछूतको पछिल्लो सिकार भएका छन् । दलित भएको थाहा पाएपछि घरबेटीले आफूलाई डेरा छाड्न निरन्तर दबाब दिएपछि उनीहरूले कानुनी कारबाही थाल्ने निर्णय गरेका छन् । ‘दलित भन्ने थाहा पाएकै दिनदेखि घरबेटीले हामीलाई घरबाट निक्लन दबाब दिँदै आएका छन्,’ त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अंग्रेजी विषयमा स्नातकोत्तर गरिरहेकी दीपा नेपाली भन्छिन्, ‘अस्ति त म नभएका बेला भाइबहिनीलाई निकालेर कोठामा ताल्चा मार्ने काम भएछ ।’ अति भएपछि आफू छुवाछूतविरुद्ध कारबाहीमा उत्रन लागेको उनको भनाइ छ ।

कैलालीकी दीपा त्रिविको छात्रावासमा बस्दै आएकी थिइन् । गाउँबाट भाइबहिनी पनि पढ्न काठमाडौं आउने भएपछि उनी तारकेश्वर नगरपालिका–१० मा पर्ने नेपालटारमा श्रीकृष्ण बिडारीको घरमा दुई कोठा भाडामा लिएर बस्न थालिन् । उनी मंसिर १३ गतेदेखि भाइबहिनी र साथी धना परियारका साथ बस्दै आएकी छन् । ‘त्यसै साँझ कविता भन्ने घरबेटीकी छोरी हामीसँग परिचय गर्न आइपुगिन्, उनले हामी दलित भएको कुरा बुबालाई लगेर सुनाइछन्,’ दीपा भन्छिन्, ‘भोलिपल्ट बिहान ६ बजे नै उनका बुबा आएर हामीलाई निक्लन भन्न थाले ।’

‘तपाईंहरू दलित हुनुहुँदोरहेछ, टोलछिमेक र घरैका अरू डेरावाललाई पनि असर गर्छ, त्यसैले आजै कोठा छाडेर जानुस्,’ घरबेटीलाई उद्धृत गर्दै दीपाले सुनाइन्, ‘यही वर्ष आमा पनि बित्नुभएकाले दलितलाई त यहाँ बस्न दिनै मिल्दैन ।’

मुखैमा आएको परीक्षाको तयारी गर्नु कि अर्को डेरा खोज्नु भन्ने प्रश्नले दीपालाई रन्थनायो । कानुनमा स्नातक पनि पढ्दै गरेकी उनलाई यो विभेदविरुद्ध उजुरी गरूँ भन्ने लागेकाले मानवअधिकार आयोगमा गुनासो गर्न पुगिन् । ‘आयोगले तुरुन्त घरबेटीलाई फोन गरेर यसो नगर्नू भनेर सम्झाए,’ उनले भनिन्, ‘त्यसपछि हामीले बस्न त पायौं तर दिनहुँ निक्लेर जाओ भनेर कचकच भने गरिरहन्थे ।’

फागुन ४ गते भने उनी कलेज आएका बखत घरबेटी आमैले ढोकामा ताल्चा लगाइदिइन् । ‘त्यसपछि अति भएर हामी कानुनी कारबाहीका लागि तयार भएका छौं,’ उनी भन्छिन्, ‘दु:खलाग्दो त के भने घरबेटी स्वयं अनुसन्धानका कर्मचारी रहेछन्, निक्लेर जाओ भन्ने छोरी नै डाक्टर हुन् ।’

पढेलेखेकैबाट समेत जातीय छुवाछूत भोग्नुपरेकामा थप अपमानित भएको भन्दै दीपाले भाइबहिनी र साथीका साथ सोमबार पत्रकारै सम्मेलन गरेर न्यायको अपिल गरिन् । राष्ट्रिय मानवअधिकार आयोगले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

(यो सामाग्री कान्तिपुरबाट साभार गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank