जहाँ छन् दलित पुजारी !

दलित अनलाईन १५ फाल्गुन २०७६, बिहीबार २२:५५

सुदूरपश्चिम प्रदेशका सबैजसो मन्दिरमा गैरदलित पुजारी भए पनि जिल्लाको शिखर नगरपालिका–२ कालागाढमा रहेको प्रसिद्ध शक्तिपीठ सालमुनि मन्दिरमा पुजारी नै दलित समुदायका छन् । यहाँ दैनिकजसो सयौँ भक्तजन पूजापाठ तथा पशुबलि दिन आउने गर्दछन् ।

यहाँ आएका भक्तजन दलित समुदायका पुजारीका हातबाट टीका, प्रसाद र आशीर्वाद थाप्नुका साथै पशुबलिसमेत दिएर फर्किन्छन् । यतिमात्र नभइ उक्त मन्दिरमा दलित समुदायका पूजारीले मात्रै पूजा गर्ने र गैरदलित समुदायका व्यक्तिले भाकल गरेका पशुबलि पनि दलित समुदायकै पुजारीले औसेक छर्की शुद्ध पार्ने र बलि दिने परम्परा कायमै छ ।

आफूले भाकल गरेको सफल भएका तथा मनोकामना पूरा भएका भक्तजन वर्षेनी सालमुनि देवतालाई बलि चढाएर खुशी पार्न तछाडमछाड गर्ने गर्दछन् ।

उक्त मन्दिरमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र छिमेकी मुलुक भारतका पञ्जाब, बरेली, पलिया, लखनऊसम्मका स्थानीयवासी पूजाआजा गर्न तथा पशुबलि दिन आउने गरेको स्थानीय राम कार्कीले बताए । डडेल्धुराको स्याउलेबजारदेखि दिपायल जोड्ने डा केआइसिंह राजमार्गसँगै जोडिएको उक्त सालमुनि मन्दिरमा स्थानीय दास (बादी)परिवारका पुरुषले वर्षौँदेखि पुजारीको काम गर्दै आएका छन् ।

अलाड भन्ने क्षेत्रबाट सेती नदीमा सालमुनि देवता बग्दै आइरहेका बेला छोपेर मुडेगाउँको कालागाढमा प्रतिस्थापन गरेकाले मन्दिरमा आफूहरूको हकभोग रहेको मन्दिरका पुजारी भीमबहादुर दासले बताए ।

पुर्खौँदेखि दास परिवारले मात्रै मन्दिरमा विधिवत पूजाआजा तथा धूप–आराधना गर्दै महिमा जोगाउँदै आएको उहाँले जानकारी दिए। प्रत्येक दिन बिहानै आएर मन्दिरको सरसफाइ, धूप, पूजा तथा भक्तजनलाई टीका, प्रसाद दिन दास जातिका पुजारी जहिले पनि खटिने गरेका छन् । उक्त मन्दिरमा जहिले पनि पुजारी कम्तीमा पनि पाँचभन्दा बढी खटिएका हुन्छन् ।

उक्त मन्दिरमा अन्य मन्दिरजस्तो मुख्य पुजारी हुँदैनन् । जसको हातमा जे काम आउँछ, समझदारीमा सबैले आआफनो काम गर्ने गरिएको अर्का पुजारी तेजबहादुर बादीले बताए । मन्दिरमा दिनभरि चढाइएका भेटी, नगद र बलि दिइएका बोकाका टाउका पुजारीले बेलुकी बाँडेर घर लैजाने गर्दछन् । दलितमाथि अन्यत्र जिल्लाका मन्दिरमा गरिने दुव्यर्वहार सालमुनि मन्दिरमा गरिँदैन ।

जिल्लाका अन्य ठूला मानिएका मन्दिर तथा धेरैजसो मन्दिरमा ब्राह्मण समुदायका मानिस पुजारी हुने भए पनि यो मन्दिरमा भने दलित समुदायका व्यक्ति परापूर्वकालदेखि पूजारी रहँदै आएको शिखर नगरपालिका–१ का वडाध्यक्ष खड्कबहादुर शाहीले बताए । दलित समुदायका व्यक्ति पुजारी रहे पनि उक्त मन्दिरमा महिलालाई भने पूजाआजाका लागि मन्दिरभित्र प्रवेश निषेध गरिएको छ ।

उक्त मन्दिरमा पशुबलि दिन भक्तजन आएको खण्डमा बादी समुदायको कुनै पनि व्यक्ति पुजारी हुने भएकाले एक बादी समुदायको व्यक्ति बोलाएर पूजाआजा गर्ने चलन छ ।

उक्त मन्दिरको संरक्षण तथा संवद्र्धनका लागि दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयपवासीले वर्षेनी सहयोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank