नाकाबन्दी लागेपछि कुनै पनि पसलेलाई सामान बेच्न दिइएन । दलितहरूलाई सामान बेचे सामाजिक बहिष्कार गर्ने भनेर लहान बजारमा समेत माइकिङ गरिएको थियो ।
हामीलाई यसको खासै फिकर लागेको थिएन । किनभने, अरूकै जमिनमा काम गरेर पाएको ज्यालाको भए पनि केही दिन खान पुग्ने चीज घरमै थिए । जब नुन र तेल सिद्धिन थाल्यो, अनि बल्ल नाकाबन्दीको मतलब समझमा आयो । नुन–तेल किन्न जाँदा कसैले दिएन । त्यस दिन बल्ल मलाई थाहा भयो, हामी दलितको त एउटा किराना पसलसम्म रहेनछ ।’
सप्तरीको भारदहनजिकै कनकपुरमा उनलाई भेट्न पुग्नेलाई बलदेव राम यो कुरा सुनाइरहन्थे । २०५६ साल चैत १० गते लहानमा चमारबाहेकका ११ जातिको बैठकले सिनो उठाउन अस्वीकार गर्ने चमारहरूविरुद्ध नाकाबन्दी लगाउने निर्णय गरेको थियो ।
यो नाकाबन्दी नेपाली समाजमा व्याप्त छुवाछूत र अन्यायको एउटा प्रकट स्वरूप थियो । बलदेवले यस्ता नाकाबन्दी अन्य स्वरूपमा धेरैपटक भोगेका थिए । चाहे त्यो भूमि अधिकारको माग गर्दा कांग्रेस केन्द्रीय कार्यालयमा अनशन बस्दा होस् वा एमाले नेताहरूसँग उनीहरूका वाचा सम्झाउँदा होस् । ‘हामी पार्टी कार्यालयहरूमा अनशन बसिरहेका थियौं । कांग्रेस कार्यालयमा अनशन बस्नेलाई पिउने पानी माग्दा हामीलाई ट्वाइलेट देखाए । त्यहींको पानी खाऊ भने,’ उनले भन्थे ।
सिरहा र सप्तरीमा चमारमाथिको नाकाबन्दीको कथा २०५६ को साउनमा सुरु हुन्छ । २०५६ को असार–साउनमा बलदेव रामले सिरहाका १२ गाविसका दलितको भेला बोलाए । धाँती बजारमा भएको यो भेलाले निर्णय गर्यो— आइन्दा चमारले सिनो नउठाउने, खत्वेले डोली नबोक्ने, मुसहर र डोमले सुँगुरको खोर घरदेखि टाढा बनाउने, डोमलेभोजको जुठो नखाने र रक्सी खान अनि मुर्दाको कपडा लगाउन छोड्ने ।
यो निर्णयको असर केही दिनमै देखियो । साउनमा मधुपट्टी–९ कुदमाहा गाउँका किसुनलाल कलवारको घरको गाईको बाच्छी मर्यो । त्यसै वडाका ढोढाई रामलाई बाच्छीको सिनो उठाउन भनियो । तर, उनले सिनो उठाउन इन्कार गरे । यो कुरीतिविरुद्ध उनी उभिए । समानता र स्वाभिमानको आन्दोलनमा एउटा झिल्को बनेर निस्किएका ढोढाई रामको तापलाई त्यहीं दबाउन खोजियो । सामाजिक परम्परा तोडेको भन्दै उनलाई सार्वजनिक बहिष्कार गर्ने निर्णय गरियो । उनलाई सार्वजनिक बाटो हिँड्न, खेतमा मजदुरी गर्न, कसैको आँगन टेक्न, पैंचो माग्न र धारा–इनारमा पानी भर्न प्रतिबन्ध लगाइयो ।
यहींबाट सुरु भयो, सिनो बहिष्कार आन्दोलन । यो नाकाबन्दीविरुद्ध बलदेवको नेतृत्वमा दलितहरूले जिल्ला प्रशासनमा उजुरी दिए, मानवअधिकार र मौलिक हकको हनन भएको भन्दै । ढोढाई रामविरुद्धको नाकाबन्दी खुल्यो । कलवारले आफ्नो गोठमा मरेको बाच्छी आफैंले गाडामा राखेर खोलामा फाले ।
बलदेवले मुख्यतः तीन किसिमले योगदान दिए । पहिलो– जातपात र छुवाछूत तथा यसकै आधारमा गरिने आर्थिक र सामाजिक विभेदविरुद्ध राँको बालेर । दोस्रो– दलितहरूलाई भूमिको अधिकारबाट वर्षौंदेखि वञ्चित गरिएको भन्दै भूमि अधिकारको मागलाई बुलन्द गरेर । तेस्रो– लोकतन्त्र र जनताका अधिकारका लागि शान्तिपूर्ण आन्दोलनमा दलितहरूको नेतृत्व गरेर ।
त्यसपछि त के, सबै चमारले सिनो उठाउन छोडे । दौलतपुर क्षेत्रका पाँच सय चमारले एकैचोटि सिनो उठाउन छोडेपछि माहोल तात्यो । सिनो बहिष्कार संघर्ष समिति बन्यो । यसको अध्यक्ष बलदेव राम नै थिए ।
संघर्ष समितिले आन्दोलन चर्काएपछि ११ जातिको बैठकले लहानबाट नाकाबन्दीको माइकिङ थालेका थिए । १५ दिनको कडा र त्यसपछि बिस्तारै नरम हुँदै गएको यो नाकाबन्दी मानवअधिकार दिवसका दिन त्यस क्षेत्रमा ठूलो जुलुस निस्किएपछि निष्क्रिय भएको थियो ।
सिनो बहिष्कार आन्दोलनले तराईंका दलितहरूमा जागरण ल्यायो । २० वर्षअघिको त्यो आन्दोलन नेपालमा भएका केही ठूला र प्रभावकारी सामाजिक आन्दोलनमध्ये एक थियो । यसको मुख्य सन्देश थियो— सामाजिक परम्पराका नाममा चलिआएका कुरीतिविरुद्ध एकजुट हुने हो भने दलितहरूले जस्तोसुकै सफलता पनि पाउन सक्छन् । आफ्नै देशभित्र कुनै एउटा जातविशेषलाई लगाइएको नाकाबन्दी दलितबाहेक अरू कसैले भोगेका छैनन् । र यसलाई अरूले तोडेका पनि छैनन् ।
बागलुङका भगत सर्वजित विश्वकर्माले दलित मुक्तिका लागि संगठित पहल थालेको पचास वर्षपछि तराईका दलितको विद्रोहको अगुवाइ बलदेव रामले गरेका थिए । इनारको पिंधबाट आकाशतिर फर्केर बोलेजस्तो, आफ्नो धोद्रो आवाजमा बलदेवले घोषणा गरे, ‘तिमी हामी बराबर हौं, हामी आइन्दा कसैको घरको सिनो उठाउँदैनौं र खाँदैनौं ।’
बलदेवले मुख्यतः तीन किसिमले योगदान दिए । पहिलो– जातपात र छुवाछूत तथा यसकै आधारमा गरिने आर्थिक र सामाजिक विभेदविरुद्ध राँको बालेर । दोस्रो– दलितहरूलाई भूमिको अधिकारबाट वर्षौंदेखि वञ्चित गरिएको भन्दै भूमि अधिकारको मागलाई बुलन्द गरेर । तेस्रो– लोकतन्त्र र जनताका अधिकारका लागि शान्तिपूर्ण आन्दोलनमा दलितहरूको नेतृत्व गरेर ।
देशमा प्रजातन्त्र आएकै वर्ष २००७ सालको पुसमा बलदेव सप्तरीको मधुपट्टी गाविस (हालको कनकपुर) मा जन्मिएका थिए । उनका पिता पृतमदास गाउँ पञ्चायतका सचिव थिए । उनी समाजमा सुधार आवश्यक छ भन्ने ठान्थे । पृतमदासले नै दलितहरूको एउटा अनौपचारिक संगठन बनाएका थिए ।
देशमा प्रजातन्त्र आएपछि अब छुवाछूत र जातभातका कुरा हटाउनुपर्छ भनेर लागेका थिए । आफ्ना पिताबाटै बलदेवले यो चेतना प्राप्त गरेका थिए ।
२०७० सालको एक दिन बलदेवले सप्तरीको आफ्नै घरमा सुनाएको जीवनकथाअनुसार उनी ७ कक्षा पढ्दा भएको एउटा घटनापछि उनले स्कुल जान छोडिदिए । गाई चराउन गएको कुनै दलित युवाले लठ्ठी हान्दा एउटा गाईको बाच्छी मर्यो । त्यो सिनो उठाउन घरबाट किशोर बलदेवलाई खटाइयो । ‘त्यस दिन मलाई लाग्यो— न यो बाच्छी मेरो ? न यसलाई मैले मारेको ? फेरि यसको छाला काढेर मासु लिन मलाई किन पठाइयो ?’
बस, यो प्रश्नको सियोले उनलाई घोचिरह्यो । प्रश्नको सियो कति तिखो हुन्छ भने त्यसले उत्तर पाएन भने मान्छेको मनलाई नै भेदन गरिदिन्छ । बलदेवको मन त्यस दिन चँॅडियो । ‘मलाई यो समाज, व्यवस्था र शिक्षा सबै बेकार हुन् भन्ने लाग्यो,’ बलदेवले सुनाएका थिए, ‘त्यसपछि म जात व्यवस्था र समाज व्यवस्थाबारे बुझ्न थालें ।’
धेरै वर्षको संघर्ष र प्रयासपछि बलदेव र दुखीराम चमारलगायतका उनका साथीहरू सिनो बहिष्कारको सफलतामा आइपुगेका थिए । यो आन्दोलनको शक्तिलाई जोगाइराख्ने अर्को चुनौती थियो । त्यसैले बन्यो— दलित जनजाति पार्टी । यस पार्टीका अध्यक्ष विसवेन्द्र पासवान पनि यहींको दलित आन्दोलनका नेता हुन् । उनी केपी ओलीको पहिलो सरकारमा मन्त्रीसमेत बनेका थिए । तर, यो पार्टीले पछिल्ला चुनावहरूमा धेरै राम्रो उपस्थिति देखाउन सकेन ।
‘यो देशमा दलित पछि पर्नुको मुख्य कारण राजनीतिक शक्ति नभएर हो । हाम्रो एउटै बलियो संगठन नभएर हो । जबजब दलितहरू एक ठाउँमा आउन खोज्छन्, दलका नेताहरूले त्यसलाई तोडिहाल्छन्,’ बलदेव गुनासो गर्थे ।
हृदयाघातका कारण २०७४ को साउन १७ गते बलदेव रामको निधन भयो । देशको राजनीति र दलितको अवस्थामा खास सुधार भएको छैन । यसबीचमा एउटा परिवर्तन भने भएको छ । सरकारले भूमिहीन दलितलाई एकपटकका लागि जमिन दिने बताएको छ । यससम्बन्धी कानुन पनि बनेको छ । यसलाई बलदेवले उठाएको एउटा माग पूरा भएको मान्न सकिन्छ । तर, यसको कार्यान्वयन कस्तो हुन्छ हेर्न बाँकी छ ।
सिनो बहिष्कार आन्दोलनको सफलता देशैभरिका दलितहरूलाई तरंगित बनाउने सफलता थियो । यसले एकजुट भएका खण्डमा दलितकै नेतृत्वमा समाज परिवर्तन गर्न सक्ने आन्दोलन हुन सक्छ भन्ने देखाएको थियो र दलित युवाहरूको आत्मविश्वासलाई बढाएको थियो ।
लगत्तै देशमा बढेर गएको माओवादी द्वन्द्वको डढेलो आइपुग्यो । यसको चपेटामा बिस्तारै मधेसका दलितहरू पनि परे । केही यसमा खरबारीको खरझैं डढेर गए त कोही आगलागीपछि पलाएको नयाँ पालुवाझैं पलाए ।
बलदेवका लागि भने यो समय भूमिको अधिकारका लागि लड्ने समय भएर आयो । माओवादीले तराईमा जमिनदारका जग्गामा झन्डा गाडे र नारा दिए— जसको जोत उसको पोत ।
नेपालमा भएका प्रायः सबैजसो भूमि आन्दोलनको एउटै नारा यही हुने गरेको छ । जमिनमा जसले काम गर्छ, हलो जसले जोत्छ, जमिन उसको हुनुपर्छ । २००७ सालदेखि तुलसीलाल अमात्यको नेतृत्वमा रौतहटबाट सुरु भएको किसान आन्दोलन होस् वा सुदूरपश्चिममा भीमदत्त पन्तले सुरु गरेको किसान आन्दोलन सबैको एउटै उद्देश्य थियो— जमिनमा किसानको हक । बलदेवले यसमा एउटा अर्को नारा थपे— सहरमा बसेर गाउँको जमिन कब्जा गर्न पाइँदैन !
‘माटोमा कहिल्यै झरेको छैन । बेलाबेला गाउँ आएर बाली उठाएर सहर लैजाने तर जमिनलाई सम्पत्तिका रूपमा कब्जा गर्ने एउटा वर्ग छ । अर्को वर्ग यस्तो छ जो बाह्रै महिना जमिनमा गडेर बस्छ । वर्ष दिन मिहिनेत गरेर आधा–अँधिया लिएर जहान छोराछोरी पाल्छ । तर त्यो जमिन कहिल्यै उसको हुँदैन । एउटा छाप्रो हालेर बच्चा पाल्नलाई समेत उसको जमिन छैन । त्यो किसानले के अपराध गरेको छ र उसले चाहिँ जमिन नपाउने ? अनि त्यो सहरमा बस्ने धनी मानिसले के पुण्य गरेको छ र जमिन सधैं उसको हुने ? उसका सन्तानले पनि कहिल्यै जमिनमा पाइला हाल्दैनन्, एक छिन जमिनमा आए भने उनीहरूलाई मैलो लाग्छ तर त्यो जमिन सधैं उनीहरूकै हुने ?’ बलदेवले यो प्रश्न छोडेर गएका छन्, ‘के यो माटो धनीमानीले बनाएको हो ? यो उसका पुर्खाले आर्जन गरेको हो ? कि कब्जा गरेको हो ? एउटै जाति र वर्गको कब्जामा रहेको शासन सत्ताले असमान तरिकाले वितरण गरेको होइन ?’
नेपालमा भूमि उत्पादनको साधन मात्र होइन, सामाजिक प्रतिष्ठादेखि धनको आधार पनि जमिन हो । यस्तोमा जमिनमा काम गर्नेलाई नै त्यसको अधिकारबाट वञ्चित गरेपछि तिनको उत्थान कहिले हुन्छ ? यो प्रश्न लिएर बलदेव धेरै चहारे । राजनीतिक दलदेखि सामाजिक अभियन्ताहरूकहाँ पुगे । बलदेव र साथीहरूको पहलमा २०६१ मा भूमि अधिकार मञ्च गठन भयो । बलदेव यसका संस्थापक अध्यक्ष भए ।
भूमि आन्दोलन चलिरहेका बेला देशमा ठूलो राजनीतिक आन्दोलन सुरु भयो । २०६२ मा सुरु भएको जनआन्दोलनमा बलदेव दलित युवाहरूलाई साथ लिएर सहभागी भए ।
लोकतन्त्र, भूमि अधिकार र दलित अधिकारका लागि उनले सप्तरीको राजविराजमा ४ सय दलितहरूको नेतृत्व गरी ४८ घण्टा लामो अनशन बसे । आन्दोलनकै क्रममा उनको नेतृत्वमा झन्डै २० हजार दलितको जुलुस निस्कियो । राजनीतिक आन्दोलनमा यति मानिसको जुलुस निस्किनु सामान्य होला, तर दलित आन्दोलनका हिसाबले यसको ठूलो महत्त्व थियो ।
बलदेवले जीवनमा २४ वटा त मोही मुद्दा भोगे । उनले छुवाछूतविरोधी, ज्याला वृद्धि, हलिया अधिकार र हरूवाचरुवा प्रथाविरुद्ध आन्दोलन चलाए ।
२०७४ साउन १७ गते हृदयाघातका कारण बलदेव रामको निधन भयो । संयोग कस्तो भने, ६५ वर्षअघि अर्का किसान नेता भीमदत्तको पनि साउन १७ गते नै निधन भएको थियो ।
(यो सामाग्री कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।)
Leave a Reply